+
+
ब्लग :

विजातीय गठबन्धनः चरम अवसरवादको नमूना

हरि ज्ञवाली हरि ज्ञवाली
२०७९ असोज ३० गते १६:०५

मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि राजनीतिक दलहरू सत्तापक्षीय पाँचदलीय गठबन्धन र विपक्षी गठबन्धन प्रतिस्पर्धा गर्दैछन् । केपी शर्मा ओलीले संसद् विघटन गरेपछि बनेको दुवै गठबन्धन पाँचदलीय गठबन्धन र हालै एमाले नेतृत्वमा भएको तीनदलीय चुनावी तालमेलका बारेमा विभिन्न टीकाटिप्पणी भइरहेका छन् ।

गठबन्धन र तालमेलका नाममा भएका यस्ता प्रयासका कारण देशमा सुशासनयुक्त विकास र सामाजिक न्याय हराउँदै जान थालेको अनुभूति हुँदैछ भने अर्कोतिर गठबन्धन वा तालमेल बचाउने बहानामा राज्यका महत्वपूर्ण तीन प्रमुख अङ्गलाई समेत यसले खलबल्याएको देखिन्छ । मुलुकको दूरगामी भविष्यका लागि यो गठबन्धन र तालमेल दुवै हानिकारक र खतरनाक प्रमाणित हुँदैछन् ।

त्यसो त प्रतिपक्षी पार्टीहरूले सत्तापक्षीय पार्टीका विरुद्धमा गठबन्धन गर्ने प्रचलन हरेक लोकतान्त्रिक मुलुकमा देखिन्छ । यो सामान्य र स्वाभाविक प्रयास हो । तर, हामीकहाँ भने सत्ताधारी पार्टीहरूले प्रतिपक्षी पार्टीका विरुद्धमा गठबन्धन गरेर चुनाव लड्ने अस्वाभाविक र अनौठो संस्कार देखाउँदैछन् । यो संस्कार र प्रवृत्ति त्यति तर्कसंगत, न्यायपूर्ण र उचित भने मान्न सकिंदैन ।

यतिखेर पाँचदलीय सत्तापक्षीय पार्टीहरू यतिसम्म भयभित र त्रस्त देखिएका छन् कि एक्लाएक्लै चुनावमा गए प्रतिपक्षी पार्टी नेकपा एमालेसँग पराजित भइने मानसिकता छ । उता नेकपा एमाले गठबन्धनसँग यतिसम्म सशंकित भएको छ कि एक्लै चुनावमा जान डराइरहेको छ । सबैजसो दलहरू न आफ्नो पार्टीगत जनाधारप्रति ढुक्क हुनसकेका छन् न त एक्लाएक्लै चुनाव जित्ने हिम्मत नै । त्यसैले त उनीहरूले गठबन्धन र तालमेलको बैसाखी टेक्नुपरेको छ ।

राजनीतिक दल नै आधारभूत संवाहक

बहुदलीय राज्य व्यवस्थामा राजनीतिक दलहरू नै मुलुकका आधारभूत संवाहक हुन् । राजनीतिक दलबीचको स्वस्थ प्रतिस्पर्धा नै उन्नत लोकतान्त्रिक व्यवस्था हो । तर, सत्तापक्षीय र प्रतिपक्षी दलहरू भने फगत सत्तास्वार्थ र आफ्नो अस्तित्व रक्षाका लागि विभिन्न मोर्चाको सहारा लिंदै सीमित नेताले चुनाव जित्ने कसरतमा लागेका छन् ।

देशमा विकसित भएका नयाँ राजनीतिक चिन्तन र सोचका कारण पनि उनीहरू आफ्नो अस्तित्व समाप्त हुने सन्त्रासमा पिरोलिएकोले एकआपसको बैसाखीमा भर पर्न खोज्दैछन् ।

राजनीतिक गठबन्धन वा तालमेल भनेको राजनीतिक दल वा शक्तिहरूबीच विशिष्ट राजनीतिक लक्ष्यका निमित्त संयुक्त प्रयासमा गरिने मञ्च हो। तर प्रमुख प्रतिपक्षी दललाई एक्ल्याउनकै लागि सरकारमा रहेका दलहरूको स्वार्थपूर्ण र औचित्यहीन सत्ता–समीकरणले विचार र आस्थाका आधारमा दलीय प्रतिस्पर्धा गर्ने लोकतन्त्रको मर्म र उद्देश्यसमेत समाप्त पार्न लागिरहेको अनुभूति यतिखेर जनमानसमा हुँदैछ । प्रतिपक्षी पार्टीले तीनदलीय तालमेलको सहारामा आफ्नो अस्तित्व रक्षा गर्न खोजिरहेको छ यो पनि जायज मान्न सकिन्न ।

किन निरीह बन्दैछ नेपाली कांग्रेस ?

लोकतन्त्रको पर्याय मानिने नेपाली कांग्रेस नेपालको पुरानो पार्टी हो । २००७ सालको क्रान्ति र २०४६ सालको जनआन्दोलनको नेतृत्व गरेको नेपाली कांग्रेसले नेपालको लोकतान्त्रिक आन्दोलनमा सबैभन्दा महत्वपूर्ण भूमिका खेलेको छ ।

त्यसो त नेपाली कांग्रेसग इतिहास र वर्तमान सबै छ । महामानव बीपी कोइरालाको सिद्धान्त र आदर्श नेपाली कांगे्रससँग छँदैछ । लौहपुरुष गणेशमानको अठोट र समर्पण पनि छ । सादगी जीवनका कृष्णप्रसाद भट्टराई र सुशील कोइरालाको त्याग र तपस्या पनि नेपाली कांगे्रससँगै छ । अनि गिरिजाप्रसाद कोइरालाको अडान र दृष्टिकोण पनि छ । तर विडम्बना, नेपाली कांग्रेस आज यति निरीह बन्दैछ कि गठबन्धनका नाममा अन्य दलको बैसाखी टेक्दैछ ।

नेपाली कांग्रेसको इतिहास गर्विलो छ । प्रजातन्त्र प्राप्तिपछि भएका निर्वाचनदेखि वर्तमानसम्मका संसदीय निर्वाचनहरूमा कांग्रेस एक्लैले धेरैपटक बहुमत ल्याएको छ । इतिहासको विरासत बोकेरै नेपाली कांग्रेसले हालसम्म तीन पटक संसदीय र दुईपटक स्थानीय निर्वाचनमा एक्लै स्पष्ट बहुमत प्राप्त गरेको छ ।

सबैजसो दल न आफ्नो पार्टीगत जनाधारप्रति ढुक्क हुनसकेका छन् न त एक्लाएक्लै चुनाव जित्ने हिम्मत नै । त्यसैले त उनीहरूले गठबन्धन र तालमेलको बैसाखी टेक्नुपरेको छ ।

२०४६ सालपछिको ३३ वर्षमा लगभग १७ वर्षसम्म सरकारको नेतृत्व पनि गरेको छ । इतिहासको यो यथार्थका बीचमा एक्लै चुनाव लडेर सरकार चलाइरहेको नेपाली कांग्रेस आज किन अरूको बैसाखी टेक्ने अवस्थामा पुग्दैछ ? किन कांग्रेस एक्लै चुनाव लड्न नसक्ने अवस्थामा पुगेको छ ? यो अत्यन्तै आश्चर्यजनक र रहस्यमय विषय हो ।

यतिखेर न सत्तापक्षीय पाँचदलीय गठबन्धनका दलहरूबीचमा कुनै सैद्धान्तिक र वैचारिक समानता देखिन्छ न त प्रतिपक्षीय तीनदलीय तालमेलका बीचमा नै । उनीहरूबीच एकआपसमा तमाम अन्तरविरोध छन् ।

वर्ग शत्रु र मित्र सम्बन्धी सैद्धान्तिक दृष्टिकोण, बुझाइ, स्कुलिङ, गन्तव्य र व्यवहारमा उनीहरूबीच ठूलो अन्तर छ । राजनीतिक आदर्श र सैद्धान्तिक मतभेदका कारण हिजो एक–अर्कालाई सिध्याउनतिर लागेकाहरू आज फगत सत्ता स्वार्थका लागि एक भएका छन् । नेपालका राजनीतिक दलहरूको यो चरम अवसरवादको नमूना हो । गठबन्धनका मुख्य घटक नेपाली कांग्रेस र माओवादी केन्द्रका बीचमा कतै पनि विचार र सिद्धान्तको मेल पाइँदैन ।

एमाले पनि उस्तै

उता तालमेल भनेका एमाले र राप्रपाबीचमा पनि कुनै सैद्धान्तिक आधार फेला पर्दैन । गठबन्धन र तालमेल जे भने पनि उनीहरूबीच राजनीतिक आदर्श, नीति, सिद्धान्त र गन्तव्यबीच आकाश–जमिनको फरक छ । नेपाली समाजको संघर्ष, क्रान्ति, रूपान्तरणको अभियान, मूल समस्याका बारेमा सबै पार्टीका दस्तावेज भिन्नभिन्न छन् । पार्टीका लक्ष्य र गन्तव्यसमेत फरक छन् ।

वर्गशत्रुहरूको सफाया गर्ने नीति र विद्रोहीहरूको टाउकाको मूल्य तोक्ने पार्टीहरूको यो क्षणिक मिलन र गठबन्धन जनतालाई ठग्ने र सत्तामा रमाउने चलखेलबाहेक अरू केही मान्न सकिन्न । नितान्त सत्तास्वार्थका लागि गरिएका यस्ता अपवित्र मिलनले ती पार्टीहरूको राजनीतिक पतन, नैतिकहीनता र अवसरवादको चरम नमूना स्पष्ट पार्दछ ।

अस्तित्वको संकटमा माओवादी र समाजवादी

यतिखेर एनेकपा (माओवादी) र एकीकृत समाजवादी दुवै दलहरू अस्तित्वको संकटमा देखिन्छन् । सिद्धान्त, नीति र कार्यक्रमका सबालमा उनीहरू अझै स्पष्ट देखिन सकेका छैनन् र नीतिगत सवालमा समेत अन्योलग्रस्त देखिन्छन् ।

पार्टीको जनाधार खस्किंदै गएका कारण माओवादी अध्यक्ष प्रचण्डलाई आफ्नो साख जोगाउनुपर्ने बाध्यता छ । उता जनाधार नै नभएका माधव नेपाललाई एमाले विभाजन गरेको औचित्य पुष्टि गर्नुपर्ने छ । यसर्थ उनीहरू आफ्नो पार्टीको सिद्धान्त र व्यवहारलाई तिलाञ्जली दिंदै कांग्रेसकै फेरो समाएरै भए पनि आ–आफ्नो अस्तित्व धान्न लागिपरेका छन् ।

यतिखेर नेकपा (माओवादी) र एकीकृत समाजवादी कार्यगतरूपमा एक ठाउँमा देखिन्छन् । यद्यपि सैद्धान्तिक रूपमा उनीहरूबीच ठूलो भिन्नता छ । यिनीहरू आफ्नो पार्टीलाई राजनीतिक रूपमा अघि बढाउने भन्दा पनि नेकपा एमालेलाई चुनावमा कसरी हराउने भन्ने उद्देश्यमा केन्द्रित छन् । प्रचण्ड र माधव नेपालको विचार तथा सिद्धान्तमा आधारित राजनीतिक संस्कारभन्दा पनि कसरी चुनाव जित्न सकिन्छ भन्ने आधारमा गठबन्धन र तालमेल भएको हो ।

संयोगले आज महाकाली सन्धिविरोधी माओवादी र सन्धिपक्षधर शेरबहादुर देउवा र माधव नेपाल सत्तामा छन् । तर दुर्भाग्य, यतिबेला न माओवादीले महाकाली सन्धिमा देखेको राष्ट्रघात सच्चिएको छ, न त देउवाले सन्धिमा देखेको राष्ट्रहित नै कार्यान्वयनमा आएको छ ।

गठबन्धन वा तालमेलको उद्देश्य आफूले जित्नेभन्दा पनि विपक्षी मोर्चालाई कसरी हराउने भन्नेमै केन्द्रित देखिन्छ । आफ्नो विचार, सिद्धान्त र नीति नमिल्ने पार्टीका उम्मेदवारलाई भोट हाल्न उर्दी जारी गर्नु भनेको एकातिर आफ्ना कार्यकर्तासँगको राजनीतिक धोका र बेइमानी हो भने अर्कातिर आफूहरू सत्तामा रमाउने फगत षड्यन्त्र र दुष्प्रयास मात्र ।

राजनीतिक दलहरूले विशुद्ध आफ्नै एजेण्डा र कार्यक्रम लिएर एक्लाएक्लै जनतामा जानुपर्ने हो । जनताले वर्षौं लडेर ल्याएको प्रजातन्त्र हुँदै लोकतन्त्र र गणतन्त्रमा पनि आफ्नो स्वतन्त्र मत हाल्नबाट वञ्चित गरिनु एक किसिमको राजनीतिक कुकर्म हो ।

गठबन्धन र तालमेल : राहत कि आहत ?

गठबन्धन र तालमेल न देश र जनताको हितमा देखिन्छन् न त राष्ट्रको आवश्यकता र माग नै । स्वार्थहरूमा अडिएको औचित्यहीन वर्तमान समीकरणले मुलुकलाई झन् अस्थिरतातर्फ धकेलिरहेको घटनाक्रमहरूले प्रदर्शित गरिरहेका छन् ।

हाल देश र जनताले भोग्नुपरेका तमाम समस्याप्रति गठबन्धन र तालमेलको कुनै चासो देखिंदैन । आम जनताले भोगिरहेका पीडा र दुःखप्रति उनीहरूको कुनै वास्ता छैन । देशमा व्याप्त भ्रष्टाचार, महँगी, कालोबजारी, बेथिति र कुशासनप्रति न कुनै सरोकार छ न त कुनै चिन्तन नै । फरक विचार र सिद्धान्त बोकेका दलहरूले आ–आफ्नो विशुद्ध हित र नेताविशेषको स्वार्थबाहेक अन्य केही सोचेको देखिंदैन ।

गठजोड गरी फगत चुनाव जित्ने एकमात्र ध्येयमा राजनीतिक दलहरू लागेकोले गठबन्धन र तालमेल दुवै अपवित्र मोर्चा भन्नैपर्छ । फगत सत्तास्वार्थ र राजनीतिक व्यावसायिक साझेदारीका लागि गरिएका यस्ता प्रयास मुलुक र जनताका लागि घातक नहोलान् भन्न सकिन्न ।

लेखकको बारेमा
हरि ज्ञवाली

रुपन्देहीका शैक्षिक अगुवा विभिन्न विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?