+
+

कांग्रेसमा शेखर पक्षको असन्तुष्टि सकिएको हो ?

पार्टी सभापति र आफूबीच पटक पटक भेट भएको भन्दै मोरङमा शेखर कोइरालाले भनेका छन्, ‘स्थानीय निर्वाचनमा र महाधिवेशनमा के भयो, त्यो तुषलाई सबैले त्याग्नुस् । तुष मैले त त्यागिसकें, तपाईंहरुले किन नत्याग्ने ?’

लिलु डुम्रे लिलु डुम्रे
२०७९ कात्तिक १ गते २१:१३

१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसमा शेरबहादुर देउवा र डा. शेखर कोइरालाको सम्बन्ध कहिल्यै सौहार्द्ध रहेन । गत वर्ष मंसिरमा भएको १४ औं महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गरेपछि त देउवाले लामो समय सम्वाद नै गरेनन् ।

जबकी डा. शेखरले ४० प्रतिशत मत ल्याएका थिए भने उनको समूहबाट पदाधिकारी पनि चुनिएका थिए । तर, देउवा शेखरलाई नेता मान्न समेत तयार देखिएनन् । शेखरले पार्टी सञ्चालनको शैलीमाथि निरन्तर प्रश्न गरिरहे, देउवाले वास्ता गरेनन् । समानुपातिक पद्धतिको उम्मेदवारको बन्दसूची तयार पार्दासमेत वास्ता नगरेपछि शेखर समूहले छुट्टै भेला गरेर विद्रोहको चेतावनी नै दिएको थियो ।

तर, शेखरको बोली अहिले अकस्मात बदलिएको छ । मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका शेखरले आइतबार सुन्दर हरैंचा पुगेर सभापति देउवा र आफू मिलिसकेको बताएका छन् । महाधिवेशनको तुष आफूले त्यागिसकेको भन्दै उनले कार्यकर्तालाई प्रश्न गरे, ‘जब शेरबहादुर देउवाजी र म नै मिलिसकेपछि वडामा तपाईंहरु किन झगडा गर्नुहुन्छ ?’

शेखरले भनेजस्तो तुष मेटिएकै हो त ? यो समूहका नेताहरुका अनुसार मागेजस्तो ४० प्रतिशत नै भाग  पाइएको छैन, तर हिजो देउवाले शेखरलाई नेता  मान्नै तयार नभएको अवस्थाभन्दा केही बदलाव पक्कै छ ।  शेखरलाई खुसी बनाउन समानुपातिकको बन्दसूची संशोधन गरिएको छ भने प्रत्यक्षतर्फ पनि एकाधबाहेक छुटाउनै नहुने नेताहरुले टिकट पाएका छन् ।

जबकी ३ असोजमा कांग्रेसले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभाको समानुपातिक बन्दसूची एकपक्षीय थियो । शेखर समूहका १२/१३ जनाको मात्र नाम थियो । उनीहरुमध्ये अधिकांशले सांसद बन्ने सम्भावना थिएन । त्यसको विरोधमा खबरदारी सभादेखि पार्टी कार्यालयमा धर्नासमेत दिँदै शेखर समूहका नेताहरुले विद्रोह गर्ने चेतावनी दिएका थिए।

१५ भदौमा संशोधित सूची पेश भयो, जसमा शेखर समूहका नेताहरुलाई पनि यथोचित स्थान दिइएको छ । समानुपातिकतर्फ कांग्रेसले प्राप्त गर्ने कुल सिटमा एक तिहाइ आफ्नो पक्षका नेताहरु पर्ने आंकलन शेखर पक्षको छ ।

प्रत्यक्षतर्फ पनि कांग्रेसको भागमा परेको सिटको करिव २९ प्रतिशतमा आफ्नो समूहले टिकट पाएको नेताहरु बताउँछन् । प्रतिनिधिसभाको १६५ मध्ये ९० क्षेत्र कांग्रेसले पाएको छ । त्यसमध्ये २६ जना उम्मेदवार शेखर समूहका छन् । ‘हामीले ४० प्रतिशत माग गर्दै आएका हौं । न्यायोचित नभएपनि पनि चित्त बुझाएका छौं’ नुवाकोट कांग्रेसका पूर्वसभापति जगदिश्वर नरसिंह केसी भन्छन् । प्रदेश सभातर्फ आफ्नो तर्फका उम्मेदवारको संख्या यकिन नभएपनि २० प्रतिशत बढी रहेको केसी बताउँछन् ।

शेखर पक्षका शीर्ष तहका सबैजसो नेताले टिकट प्राप्त गर्नु तथा विरोधको अगुवाई गर्ने नेताहरु पनि उम्मेदवार हुने अवस्थाले असन्तुष्टि झाँगिन पाएन ।

शेखर समूहका शीर्ष तहका नेताद्धय अर्जुननरसिंह केसी र बलबहादुर केसी दुबै टिकट पाउनेमा संशय थियो । समानुपातिकबाट नाम राखिएका अर्जुनरसिंहलाई नुवाकोट २ को टिकट दिन देउवा तयार भए । बलबहादुर केसीलाई टिकट दिलाउन नेता शेखर र महामन्त्री गगन थापाले नयाँ विकल्प निकाले ।

उनको क्षेत्र सोलुुखुम्बु माओवादीको भागमा परेको थियो । तर सोलुसँगै मोरङ–६ को खमा प्रदेशसभा माओवादीलाई दिएर प्रतिनिधिसभाको टिकट बलबहादुर केसीलाई दिने सहमति जुट्यो । संस्थापन पक्षविरुद्ध खबरदारीको अगुवाइ गर्दै आएका नेता गुरुराज घिमिरेले पनि प्रदेश सभाको टिकट पाए । यद्यपि उनी प्रतिनिधिसभाको टिकटको दाबेदार थिए, उनले दावी गरेको मोरङ-४ माओवादीको भागमा परेको छ ।

कांग्रेस नेताहरुका अनुसार शेखर पक्षका नेताहरुलाई उम्मेदवार बनाउन महामन्त्री थापाको सक्रियता बढी थियो । केही नामका सन्दर्भमा संस्थापन पक्ष र इतरवीच भनाभन नै भएको थियो । बर्दिया १ मा सञ्जय गौतम र काठमाडौं ३ मा सन्तोष चालिसेलाई उम्मेदवार बनाउन थापाले निकै संघर्ष गर्नुपरेको कांग्रेस स्रोतको दाबी छ । ‘उहाँहरु दुई जनालाई त देउवासँग बाझाबाझ नै गरेर  टिकट ल्याउनुभयो,’ कांग्रेस स्रोत भन्छ । यद्यपि स्वर्णिम वाग्ले, मिनेन्द्र रिजाल, अमरेशकुमार सिंहलगायतका नेताहरुलाई टिकट दिन देउवा तयार भएनन् ।

स्वर्णिम चितवन–१, काठमाडौं ५ वा गोरखा १ जुन क्षेत्र दिएपनि चुनाव लड्न तयार थिए भने मिनेन्द्र अघिल्लो पटक मोरङ २ बाट निर्वाचित भएका थिए । शेखर समूहकै नेता अमरेशकुमार सिंहलाई टिकट दिने पक्षमा देउवा थिएनन् । उनी अघिल्लो पटक पनि सर्लाही ४ बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।

शेखर समूहका एक नेता भन्छन्, ‘केही नेताहरुलाई टिकट दिलाउन नसके पनि उल्लेख्य साइज लिएँ, एउटा पावर सेन्टर त बनाएँ नि भन्ने आत्मसन्तुष्टि उहाँमा देखिन्छ । मोरङमा दिनुभएको अभिव्यक्तिमा पनि त्यो झल्किन्छ ।’

यसको अर्को पाटो पनि छ, चुनाव जित्ने । १४औं महाधिवेशनका बेला संस्थापन र इतर समूहले तल्लो कमिटीदेखि नै दुई समूह बनाएर प्रतिस्पर्धा गरेको थियो । उनको गृहजिल्ला मोरङमा पनि चर्को कित्ताकाट भएको थियो ।

कांग्रेस नेताहरुका अनुसार ३० वैशाखमा भएको स्थानीय निर्वाचनमा पनि त्यसको असर देखिएको थियो । संस्थापन समूहका नेताहरुले शेखर समूहका नेताहरुलाई अन्तरघातको आरोप लगाएका छन् । यदि महाधिवेशनको त्यो तुष अझै नमेट्ने हो भने शेखरलाई चुनाव जित्न गाह्रो पर्ने मोरङका एक नेता बताउँछन् । त्यसैले शेखरले महाधिवेशनको तुष बिर्सन क्षेत्रका नेता-कार्यकर्तालाई आग्रह गरेका हुन् ।

पार्टी सभापति र आफूबीच पटक पटक भेट भएको र एकअर्काको सुनुवाइ भइरहेको भन्दै उनले भनेका छन्, ‘स्थानीय निर्वाचनमा र महाधिवेशनमा के भयो, त्यो तुषलाई सबैले त्याग्नुस् । तुष मैले त त्यागिसकें, तपाईंहरुले किन नत्याग्ने ?’

संस्थापन पक्षका नेताहरु पनि प्रचार गरिए जस्तो असन्तुष्ट र विद्रोह दुबै नभएको बताउँछन् ।

केन्द्रीय सदस्य दिनेश कोइरालाले चितवन ३ मा स्वतन्त्र उम्मेदवारी मात्र दिएनन्, एमालेको समर्थन जुटाएका छन् । अन्य केही क्षेत्रमा पनि सत्ता गठबन्धनका दलहरुको भागमा परेको क्षेत्रमा कांग्रेस नेताहरुले स्वतन्त्र उम्मेदवारी परेको छ, तर कतिपयले अहिले पनि उम्मेदवारी निश्क्रिय पारिरहेका छन् ।

कांग्रेसमा आन्तरघात र विद्रोह हुन्छ भनेर गरिएको अनुमान फेल आएको भन्दै संस्थापन पक्षका नेता रमेश लेखक भन्छन्, ‘सामान्य असन्तुष्टि त जहिले पनि हुन्छ तर, पार्टीभित्रको असन्तुष्टिले ठूलो असहयोग हुने देखिन्न ।’

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?