+
+
महोत्तरी ४ बाट स्थलगत :

भोट लिएर गएपछि जयसियाराम !

‘छरछिमेकी टाठाबाठाले त घरमा धारो जोडे, मैले त एउटा कल पनि पाइन, एउटा कल पाएको भए पनि सरकारको पानी खान्छु भन्ने लाग्थ्यो होला, त्यो पनि भएन, भोट लिने बेला यो गरिदिन्छु, त्यो गरिदिन्छु भन्छन् । भोट लिएर गएपछि जय सियाराम !’

बिनु सुवेदी शैलेन्द्र महतो बिनु सुवेदी, शैलेन्द्र महतो
२०७९ कात्तिक ९ गते १९:३५
महावीर सहनी ।

९ कात्तिक, जावख (महोत्तरी) । मनरासिसवा नगरपालिका ४, जावखका ७० वर्षीय महावीर सहनीले हेर्दाहेर्दै देशमा ठूलै परिवर्तन भयो । उनको गाउँ जावखमा पनि सानोतिनो परिवर्तन नभएको होइन, तर उनको दुःखको भारी भने कहिल्यै बिसाउन पाएनन् ।

चुनाव जितेर गएपछि आफूले भोट हालेका नेताहरु गाउँमा नफर्किएको महावीरले गुनासो गरे । ‘पाँच वर्षअघि डाक्टर सुरेन्द्र यादवलाई जिताएर पठाइयो, तर फेरि फर्किएर आएनन् । के छ कसो छ भनेर सोधेनन्’ छठ पूजाका लागि बाँसको ढाकी बुनिरहेका सहनीले अनलाइनखबरसँग भने ‘अहिले गाउँमा आएका छन्, बाबुदादा भन्छन्, जितेर गएपछि सबै उस्तै हुन् ।’

त्यही भएर पनि यसपटक चुनावबारे उति धेरै चासो पनि नभएको बताए महावीरले ।

****

महावीरसँग चुनावबारे गफ गरिहेको थाहा पाएपछि पोखरीको डिलमा बसिरहेकी ६५ वर्षीया सुनीतादेवी सहनी यतै आइन् । उनी पनि चुनावको बेलामा गाउँमा गएर आश्वासन बाँड्ने र त्यसपछि अत्तोपत्तो नहुने नेताहरुसँग दिक्क भएकी रहिछन् । पाँच वर्षअघिको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भोट माग्न पुगेका नेताहरुले दिएको आश्वासन उनले अझै बिर्सिएकी छैनन् ।

बरु नयाँनयाँ सपना बाँड्न आउने, एउटा पनि काम नगरिदिने नेताहरुको शैलीका कारण उनको मनमा चुनावमा भोट माग्न आउने त झुटो पो बोल्दा रहेछन् भन्ने लागेको छ । ‘अघिल्ला चुनावमा नेता आउँदा गाउँकै एउटा पोखरीको बाँध बनाइदिन्छु भनेका थिए’, उनले भनिन्, ‘गाउँका जान्ने मान्छेहरुले तिनै नेतालाई मत हाल्न भने, हामीले उनैलाई भोट दियौं । पछि के भयो थाहा भएन ।’

****

सम्सी गाउँपालिका–६ कन्हवा सीमा नजिकैका रामविलास महतो खेती किसानीबाटै २६ जनाको परिवार चलाउँछन् । १५ भन्दा बढी मत त उनको एउटै घरबाट छ । चुनाव लडेका नेताहरुलाई राम्रै थाहा छ, एक भोटको महत्व कति हुन्छ भनेर । त्यसले चुनावका बेला अनेक आश्वासन देखाएर भोट हान्छन् ।

जितेर गएपछि आफ्नो घरतिर अहिलेसम्म कसैले फर्केर नहेरेकै ले हो राम विलासलाई यसपटक भोट हालौं जस्तो पनि लागेको छैन । ‘छरछिमेकी टाठाबाठाले त घरमा धारो जोडे, मैले त एउटा कल पनि पाइन, एउटा कल पाएको भए पनि सरकारको पानी खान्छु भन्ने लाग्थ्यो होला, त्यो पनि भएन’, रामविलासले भने, ‘भोट लिने बेला यो गरिदिन्छु, त्यो गरिदिन्छु भन्छन् । भोट लिएर गएपछि जय सियाराम !’

रामगोपालपुर नगरपालिका–४ विसबिसबिट्टीकी मञ्जु सदालाई पनि पाँच वर्षमा आउने चुनाव र चुनावका बेला गाउँ आउने नेताहरुसँग कुनै आश लाग्दैन, भरोसा र विश्वास हुने त झन् कुरै भएन । ‘दुई अढाई सयको रोज जनवन (ज्याला मजदुरी) गरेर खान्छु । मेरो पति बिरामी हुनुहुन्छ, हामी गरिबलाई हेर्ने कोही छैनन्’, उनले भनिन्, ‘अस्ति हाम्रो गाउँमा एक नेता आएका थिए । जो आएपनि गएपनि सबै आफ्ना लागि मात्रै गर्छन् ।’

उम्मेदवार भन्छन् : मैले सबथोक गरेको छु

महावीर सहनी होउन् या सुनीतादेवी, रामविलास महतो होउन् या मञ्जु सदा । उनीहरुले चाहेको परिवर्तनमा उनीहरुको जिन्दगी जोडिएको हुन्थ्यो भने चुनाव उत्सव हुनसक्थ्यो । तर नेताहरुका लागि जनता त्यति महत्वका भएनन्, जति उनीहरुको भोट भयो । तर पनि नेताहरु सबै थोक मैले नै गरेको हुँ भन्न पछि पर्दैनन् ।

महोत्तरी–४ का उम्मेदवार डा. सुरेन्द्र यादव होउन् या महेन्द्रकुमार राय दुबैको तर्क महोत्तरी ४ को विकासका लागि उनीहरुको विशेष योगदान छ भन्ने नै छ । डा. सुरेन्द्र, यो क्षेत्रका प्रत्यक्ष निर्वाचित निवर्तमान सांसद हुन् । उनी स्वास्थ्य राज्यमन्त्री रहिसकेका छन् । पछिल्लो २०७२ को मधेश आन्दोलनमा जनकपुरमा खाद्यान्न संकलन वितरण र घाइेतहरुलाई उपचारमा सक्रिय रही राजनीतिमा उदाएका हुन् । यो पटक जसपाबाट उम्मेदवार रहेका डा. सुरेन्द्रलाई एमालेबाट थपिने मत विजयको आधार बन्छ भन्ने लागेको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रहेका महेन्द्रकुमार राय तेस्रो पटक चुनाव लडिरहेका छन् । सत्ता गठबन्धनका उम्मेदवार भएकाले कांग्रेससँगै माओवादीको भोटले जित्नसक्छु भन्ने लागेको छ । पुराना प्रतिष्पर्धी उम्मेदवारका दाबी उनीहरुकै शब्द :

डा. सुरेन्द्र यादव : कोरोनाकालमा प्रत्येक पालिकामा क्वारेन्टिनको व्यवस्था गरेको थिएँ । यहाँ मृत्यु हुनेको संख्या मात्र दुई जना थियो । म स्वास्थ्य राज्यमन्त्री भइसकेको कारण जाँच उपचारको राम्रो व्यवस्था गरेको थिएँ । हाम्रो क्षेत्रमा शिक्षा र स्वास्थ्य क्षेत्रमा केही थिएन । राज्यमन्त्रीको बेलामा प्रत्येक पालिकामा १५ बेडको हस्पिटल निर्माणको प्रक्रिया अघि बढायौं । तीनवटा विद्यालयमा प्राविधिक शिक्षा लागू गरेँ ।

चारवटा पालिकाको बीच पर्ने पर्साटोलमा दाताहरुलाई ल्याएर मेडिकल कलेज निर्माणको काम अगाडि बढाएको छु । त्यहाँ निजी सुविधासम्पन्न हस्पिटल सञ्चालनमा आएको छ, जनकपुरको भन्दा राम्रो सुविधासम्पन्न, २४ घण्टा विभागीय विशेषज्ञ चिकित्सक हुन्छन् । सस्तो शुल्कमा उपचार हुन्छ । यस क्षेत्रका जनताको स्वास्थ्य उपचारको जिम्मा मैले लिएको छु, यस क्षेत्रका कुनै जनताले भनोस् कि पैसा बिना म उपचारबाट वञ्चित छु ।

सिँचाइको लागि खोपी सिँचाइ योजनाको टेन्डर लागिसकेको छ । छठपछि काम अगाडि बढ्छ । यो योजना अघि बढेपछि यस महोत्तरी ४ नम्बर क्षेत्रका आधा भन्दा बढी जग्गाजमिनमा सिँचाइ हुन्छ । प्रत्येक खेतमा सिँचाइको लागि विद्युतीकरण गर्ने योजना छ । नदी तटबन्धको कामहरु गरेको छु । यो क्षेत्रमा सडकको कामहरु पनि भएका छन् । सर्लाहीमा अहिले पनि हुलाकी सडक बनेको छैन, तर मेरो क्षेत्र अन्तर्गत पर्ने सडक बनेको छ ।

एकजना एमडी पढेको व्यक्ति यो क्षेत्रमा आएको छु । जसले जे भनेपनि मेरो विषयमा कसैसंग सोध्नुस्, डाक्टरसाहबले कसैलाई आजसम्म केही हानी गरेको छैन भन्छन् । यहाँ अन्य केही नेता छन् । पावरको बलमा गलत काम गर्छन्, दुःख दिन्छन् । त्यसैले यसपटक पनि चुनाव जित्छु भन्नेमा म विश्वस्त छु ।

महेन्द्रकुमार राय : घरदैलोमा जाँदा जनताहरु प्रश्न गर्छन्, तपाईंहरु जितेर गरेपछि के गर्नु हुन्छ ? म भन्छु, हामी ठूलाठूला कुरा गर्दैनौं, गलत आश्वासन दिँदैनौं । हाम्रो गठबन्धनको मिसन छ, त्यस हिसाबले अगाडि बढ्छौं । संविधानको निर्माण र रक्षा कांग्रेसको नेतृत्वमा भएको छ । विकास भइरहेको छ, नागरिकता समस्या समाधान हुन्छ ।

म क्षेत्रीय चुनाव तीनपटक हारे, तर तपाईं यो भेगको विकासमा काम गरेको छु । हुलाकी सडक रमेश लेखक दाइ यातायात मन्त्री भएको बेला मैले पहल गरी उहाँलाई ल्याएर शिलान्यास गराएको थिएँ । श्रीपुरको पुल विमलेन्द्र निधिले शिलान्यास गर्नुभएको थियो ।

सोनामा, सिंहासनी लगायतमा पुल मैले नै पहल गरेर ल्याएको हुँ । म हारेर पनि यहाँ विकास गरेको छु । पुल, सडक कालोपत्रे, औरहीमा २६ करोडको स्वास्थ्यको योजना आएको थियो । त्यो जानेबाला थियो, तर मैले आफ्नो पैसा लगाएर १४ कठ्ठा जग्गा किनेँ त्यहाँ हस्पिटल निर्माणको ठेक्कापट्टा भयो । त्यसैले गठबन्धनको मत र मप्रतिको विश्वास जनतामा छ । यही नै मेरो जित्ने आधार हो ।

स्थानीय चुनावको अंकगणित

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका उम्मेदवार महेन्द्रकुमार रायलाई ५ हजार ३२८ मत अन्तरले पराजित गर्दै तत्कालिन संघीय समाजवादी फोरमका डा.सुरेन्द्रले जित हात पारे । डा. सुरेन्द्रले १८ हजार ३५३ मत पाउँदा महेन्द्रले १३ हजार २८ मत पाएका थिए । तेस्रोमा  माओवादी केन्द्रका मो. रजिहैदरले १२ हजार ९४५ मत पाएका थिए । सो चुनावमा फोरम र राष्ट्रिय जनता पाटी नेपाल (राजपा) को मधेशी गठबन्धन थियो भने एमाले र माओवादी केन्द्रको वाम गठबन्धन थियो ।

३० वैशाखको स्थानीय निर्वाचनको मत परिणाम केलाउने हो भने यस क्षेत्रमा कांग्रेस पहिलो दलको हैसियतामा देखिन्छ । यस क्षेत्रमा पर्ने वडामा दलका वडाध्यक्षका उम्मेदवारले पाएको मत परिणाम अनुसार कांग्रेसको १७ हजार ७१८ मत छ । यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले ११ हजार ३५३, एमालेले १० हजार ३९६, जसपा ९ हजार ७०९, माओवादी केन्द्रले ७ हजार ८१३ र जनमत पार्टीले ३ हजार ८१८ मत पाएको तथ्यांक छ ।

लेखकको बारेमा
बिनु सुवेदी

बिनु सुवेदी अनलाइनखबर डटकमका एसोसिएट एडिटर हुन् ।

शैलेन्द्र महतो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?