+
+

फोटो एल्बम : हराउँदै यादहरुको संगालो

विकास रौनियार विकास रौनियार
२०७९ कात्तिक ११ गते १२:३८

पहिले पहिले घरमा कोही आगन्तुक आएमा चिया-बिस्कुटसँगै अघिल्तिर फोटो एल्बम राखिदिने चलन थियो । आफ्नो घरपरिवारले विभिन्न कालखण्डमा कैद गरेका ती फोटोहरु हेरेर पाहुनाले समय कटाउँथे ।

अहिले समय फेरिएको छ । घरमा कोही आगन्तुक आउनासाथ उनीहरुको स्वागतमा कुनै पेय पस्कनुअघि पासवर्ड दिनुपर्ने हुन्छ, वाइफाइको । वाइफाइ भएपछि पाहुना पनि मोबाइलमै एकोहोरिन्छन् । कतिसम्म भने सामान्य भलाकुसारी गर्ने अनुकूलता पनि मिल्दैन ।

हात-हातमा मोबाइल, मोबाइलमा क्यामेरा । बस्, फोटो खिच्न र संग्रह गर्न कुनै आइतबार पर्खिरहनु पर्दैन । एक क्लिकमै कामकुरो फत्ते हुन्छ । डिजिटलाइज्ड हुँदै गएको यो समयमा फोटो एल्बम भने कुनै कुनामा थन्को लागेको छ । कुनै खास क्षणलाई क्यामेरामा कैद गर्ने, फोटो प्रिन्ट गर्ने र त्यसलाई जतनसाथ संग्रह गर्ने प्रचलन हराउँदैछ । यससँगै विस्मृत हुँदै गएका सुदूर अतीतका कतिपय क्षण अतीतमै मेटिंदैछ । त्यसलाई ताजा गराउने फोटो संग्रहित हुन छाडेका छन् ।

विकास रौनियार

विगतमा फोटो खिच्ने जुन उपकरण थियो, फोटो धुलाउने जुन प्रविधि थियो आज त्यो एकादेशको कथाजस्तै भएको छ । जसै चाडपर्व आउँथ्यो, ‘रंगीन फोटो धुने हिकोला’ भन्ने विज्ञापन बज्न थाल्थ्यो र यसले छुट्टै रौनक ल्याउँथ्यो । रिल हालेर फारो गरी गरी फोटो खिच्नुपर्ने, रिललाई निकालेर कलरल्याबमा धुलाउनुपर्ने हुन्थ्यो । यसरी लामो प्रक्रिया र समयपछि मात्र प्रिन्ट भएर आउने सग्लो फोटो हेर्न पाइन्थ्यो, जसले सधैं कौतुहलता पैदा गर्थ्यो । यसरी खिचिएका फोटो एल्बममा सजाएर जतनसाथ राख्ने प्रचलन थियो ।

म विगत ४० वर्षदेखि फोटाग्राफीमा सक्रिय छु । मेरो अनुभवमा पहिले फोटोमा छुट्टै आत्मीयता, भावना, झुकाव र कौतुहलता हुन्थ्यो । अहिले त्यस्तो हुँदैन ।

अहिले फोटो खिच्न र हेर्न सहज अनि सर्वसुलभ भएको छ । तुरुन्तै खिचेर हेर्न सकिन्छ । जति पनि खिच्न सकिन्छ । यही कारण मान्छेमा फोटोप्रतिको आत्मीयता हराउँदै गएको मेरो ठम्याइ छ ।

काकाले खिचेर लगेको फोटो हेर्नका लागि छ महिनासम्म कुरेको अनुभव छ मसँग । त्यतिबेलाको फोटोसँग मान्छेको छुट्टै ‘अट्याचमेन्ट’ थियो । आफ्नो फोटोलाई पटकपटक हेर्ने, जतनसाथ राख्ने, आफन्त-आगन्तुकलाई देखाउने प्रचलन हराउँदै गएको छ ।

कुनै पनि कुरा जति दुर्लभ हुन्छ, त्यसको मोल उत्ति नै हुने भनेजस्तै विगतमा फोटो खिचाउनु र त्यसको प्रति हात लाग्नु सजिलो थिएन । त्यसैले पनि फोटोप्रति मान्छेको झुकाव बढी रहने गरेको मेरो अनुभव छ ।

पहिले स्टुडियो वा ल्याबबाट आएको फोटो हेर्न हारालुछ चल्थ्यो । फोटो हेर्न पाउने कुराले बेग्लै उत्साह ल्याउँथ्यो । अहिले जस्तोसुकै फोटो हेर्दा पनि त्यस्तो महसुस हुँदैन । अहिलेको फोटोमा खास कौतुहलता नै हुँदैन ।

आफ्नो मात्र होइन, अरुको फोटो हेर्न पनि खुब आनन्द आउँथ्यो । किनभने फोटो एल्बम पल्टाइरहँदा उनीहरुको विगतको जीवनभोगाइबारे पनि छर्लङ्ग हुन्थ्यो । कुनै सिनेमा हेरेजस्तै स्वाद आउँथ्यो ।

विगतमा कुनै खास अवसरलाई फोटोमा कैद गरिएको हुन्थ्यो, जुन फोटो निकै जीवन्त लाग्थ्यो । अहिले जस्तो फोटोमा कृत्रिमता हुँदैनथ्यो । किनभने विगतमा त्यसरी खिचिएका फोटोले धेरै कुरा बोल्थ्यो । त्यहाँ धेरै कुरा समेटिन्थ्यो । अहिले फोटो खिच्ने, एडिट गर्ने थुप्रै सुविधाले गर्दा फोटोमा प्राकृतिकपन हराएको छ ।

बलिउड अभिनेता स्वर्गीय इरफानसँग विकास रौनियार

बुढ्यौली उमेरमा पुगेका दम्पतीले जब आफ्नो जवानीको फोटो हेर्छन्, कस्तो अनुभूत हुँदो हो ? एउटा वयस्कले जब आफ्नो बाल्यकालको फोटो हेर्छन्, कस्तो लाग्दो हो ? यस्तो थुप्रै अनुभूति पनि समेटिएको हुन्थ्यो फोटो अनि एल्बममा । तर आज यसको प्रचलन हराएको छ ।

हाम्रो विगत कस्तो थियो ? कुन क्षणमा हामी कहाँ र कस्ता थियौं ? हाम्रा आफन्त को थिएँ ? साथीसंगी कस्ता थिए ? यी कुरा फोटोमा समेटिन्थ्यो ।

केही समयअघि फेसबुकमै पनि पुराना फोटो उत्खनन् गरेर लाइक कमेन्ट गर्ने ट्रेण्ड चलेको थियो । पुरानो फोटोले त्यो उत्सुकता र भावना बोकेको हुन्छ, जसलाई सम्झिंदा पनि आनन्द आउँछ ।

आफ्नो पुरानो फोटो भेट्यो भने म अझै सामाजिक सञ्जालमा पोस्ट्याउँछु । ती पुराना फोटोसँगको बेग्लै आत्मीयता र भावना जोडिएको हुन्छ । जसले निकै प्रफुल्लित र आन्निदत बनाउँछ ।

फोटो समय र घटना सम्झिने सबैभन्दा उत्तम विकल्प र माध्यम थियो । यो इतिहासको दस्तावेज हो, जसलाई कुनै पनि समयमा हेर्न अनुभव गर्न सकिन्छ ।

पहिला फोटो एल्बम केवल फोटो राख्ने झोलाको रुपमा मात्रै सीमित थिएन । यसले परिवारलाई संगठित बनाउने, प्रेमभाव जगाउने तथा एकअर्कासँग समय बिताउने माध्यम पनि थियो । तर अहिले एल्बममा फोटो राख्ने चलन हटिसकेको छ । भएका पुराना एल्बम थोत्रा हुन लागिसकेका छन् ।

फोटो खिच्नु मात्रै होइन, त्यसको संरक्षण गरेर भोलिका दिनमा हेर्न सक्ने र भावी पुस्तालाई विगतको रहनसहन, परिवेश, घटना, अवस्था बुझाउन सक्नु महत्वपूर्ण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?