+
+
Shares
अनुवाद :

ऋषि सुनकको पद भारतीयको प्रताप होइन, विविधता स्वीकार्ने बेलायती नीति हो

बेलायतमा एक हिन्दु नागरिक सत्तासीन हुने अवसरलाई बेलायती समाजमा हिन्दुत्व वा भारतीयको प्रतापको रूपमा नभई त्यहाँ विविधता र विभिन्नताप्रति क्रमशः बढिरहेको स्वीकृतिको परिणामको रूपमा हेरिनुपर्छ। टोरी पार्टीले सुनकको सट्टा साजिद जाविदलाई आफ्नो नेता चुन्न सक्छ।

अपूर्वानन्द अपूर्वानन्द
२०७९ कात्तिक १३ गते १४:१७

बेलायतको नयाँ प्रधानमन्त्रीको रूपमा ऋषि सुनकको नामको घोषणा पछि भारतीय समाचार एजेन्सीहरू र एक प्रमुख अंग्रेजी अखबारले रिपोर्ट गरे, ‘भारतका लागि ब्रिटिश उच्चायुक्तले आफ्नो हिन्दुत्वलाई रेखांकित गर्न हिन्दी प्रयोग गरे।’ हिन्दु-हिन्दीको यो अन्तरनिर्भर सम्बन्धलाई भारतीयहरूले मात्र जोड दिन सक्छन्। के हिन्दी हिन्दुहरूको भाषा हो ?

तपाईं यो प्रश्न यसरी पनि सोध्न सक्नुहुन्छ: के हिन्दी हिन्दुहरूको भाषा हो ? के यो त्यही हो जसका हिन्दु पुर्खाहरू गुजरानवालाबाट करिब सय वर्षअघि अफ्रिका गएका थिए ? ती पञ्जाबी खत्रीहरूको भाषा त्यतिबेला पनि हिन्दी थियो ?

बेलायती उच्चायुक्त यही भएर उनलाई ‘ऋषि’ कि ‘रिशि’ लेख्ने भनेर कुनै समस्या परेन भन्दैथिए। सायद सुनक महोदय वा ब्रिटिश उच्चायुक्तलाई सही हिज्जे सुनाएर धेरै हिन्दी भाषी जनताको द्विविधा हटाउनुपर्नेछ।

ऋषि सुनकले सार्वजनिक रूपमा आफ्नो हिन्दुत्वको बढावा दिने गतिविधि गर्छन्। उनले गाईको पूजा गर्दा इस्कोन मन्दिरका पुजारीले खुट्टा छुने तस्बिरहरू देख्न सकिन्छ। क्रिस्चियन, गोरा बहुसंख्यक बेलायतका राजनीतिज्ञले यो गर्न सक्छन्। के यो हिन्दु धर्मको महानता हो वा ब्रिटिश समाजको सकारात्मक सहिष्णुता ? जुन जतिसुकै अप्ठ्यारो लागे पनि उनीहरू स्वीकार्छन्।

गाईको मासु खाने जनसमुदायले अलिकति विस्मयकारी हास्यको साथ गाई पूजा हेर्न सक्छन्। यसले न त गाईको न यो ‘हिन्दु’ रिवाजको श्रेष्ठता प्रमाणित गर्दछ। र, सुनक आफैंले आफ्नो भोजन अभ्यास र गाई पूजामा कुनै विरोधाभास नदेख्नु पनि स्वाभाविक नै मान्नुपर्छ।

भारतीय मूलको एक हिन्दु मानिस बेलायतको प्रधानमन्त्री बनेको छ, यसमा धेरैले प्रतिशोधको आनन्द लिइरहेका छन्। ट्वीटरवादी हल्लाखोर नेताहरू लेखिरहेका छन्, ‘लगान से लगाम तक!’

हिन्दु भारतीय दिमागले यसलाई बेलायतमाथि भारतको विजयको रूपमा पनि हेरिरहेको छ। केही मानिसहरूले अंग्रेजले भारत छोडेपछि कानुनी रूपमा भारतीयहरूले देशलाई सम्हाल्नेमा शंका गर्ने चर्चिलले जवाफ पाएको लेखिरहेका छन्। उनीहरूले बेलायतका गोरा जनतालाई खिल्ली उडाइरहेका छन् र भनिरहेका छन्, ‘तपाईं जुन दलदलमा फस्नुभएको छ त्यो दलदलबाट बाहिर निस्कनका लागि तपाईंले धुस्रे ‘भारतीय’ हिन्दुको शरण लिनुपरेको थियो।’ डाउनिङ स्ट्रिटमा दीपावलीमा बलेको बत्ती देखेर धेरै जना खुसी छन्।

खास बेलायतीपनलाई सुरक्षित राख्नको लागि बेलायतले जब ब्रेक्जिट स्वीकार गर्‍यो, त्यसपछि सुरु भएका आर्थिक क्रियाकलापले एशियाली मूलका सामान्य एक व्यक्तिलाई त्यहाँ पुर्‍यायो जसले बेलायतीपनलाई सुरक्षा गर्नुका साथै आर्थिक संकटबाट मुक्ति दिलाउन भूमिका खेल्नुपर्नेछ। झन् यस्तो निर्णय दक्षिणपन्थी टोरी पार्टीले लिएको हो।

तर त्यसअघि बोरिस जोनसनको क्याबिनेटमा धेरै अश्वेत र एशियाली थिए। तीमध्ये जो–कोहीलाई नेता चुन्न सकिन्थ्यो। बाबु र आमाको सम्बन्ध हेर्दा सुनक भारतबाट तीन पुस्ता टाढा छन्। तर उनीहरूका छोराछोरी आफ्नी आमाको कारण भारतबाट एक पुस्ता मात्र टाढा छन्, जसको मातृ गृह बैंगलोर हो।

सुनकले आफू भारतीय मूल भएकोमा गर्व रहेको बताएका छन्। यसको जवाफमा इटालियन मूलकी सोनिया गान्धीलाई भारतीय राजनीतिमा उनको कंग्रेस पार्टीले नेतृत्वमा निर्वाचित गर्ने सम्भाव्यता देखाएको बेला संस्कारी हिन्दु भारतीय सुष्मा स्वराजले दिएजस्तो राष्ट्रवादी धम्की हामीले कुनै बेलायती राजनीतिज्ञले दिएको देखेनौं।

सोनिया गान्धीले आफू इटालियन भएकोमा गर्व गर्छु भनेर पनि भनिनन्। उनी यसरी नै नेतृत्वमा चुनिएकी थिइन् जसरी सुनकलाई टोरी पार्टीले छनोट गर्‍यो। कुनै पनि श्वेत इसाई राजनीतिज्ञले यसका लागि अवकाश लिने वा आत्महत्या गर्ने धम्की दिएनन्। किन ?

कतिपय हिन्दुहरूले यो तुलना असंगत रहेको बताएका छन्। हिन्दु भारतीय जहाँ जान्छन्, उक्त देशप्रति पूर्ण रूपमा बफादार हुन्छन्। अरुको बारेमा पनि यही निष्कर्ष निकाल्न मिल्दैन। साथमा उनीहरू हिन्दु भारतीय जहाँ जान्छ, उसले भारतलाई आफ्नो मुटुमा राख्छ भन्ने दाबी पनि गरिरहेका हुन्छन्। अर्थात् दुवैतिर बफादारी एकसाथ राख्न सकिन्छ। उनीहरूबीच कुनै विवाद छैन।

के यही कुरा गैर हिन्दुहरूमा पनि लागू हुन्छ ? हिन्दुत्ववादीहरू आफैं यो छुट लिन चाहन्छन्, तर अन्य धर्मका अनुयायीलाई यसको अनुमति दिंदैनन्। वा यो बाहिरी देशका हिन्दुहरूलाई त लागू हुनेछ, तर यो न भारतका गैर-हिन्दुहरूलाई लागू हुनेछ, न गैर-भारतीय मूलका मानिसलाई। बाहिर जुन अवसर भारतीय मूलका हिन्दुहरूले पाउनुपर्छ, त्यो भारतमा हिन्दु बाहेकले पाउँदैनन्।

हिन्दु धर्मलाई विशेषाधिकार प्राप्त धर्म मान्ने र आफूलाई चुनिएको मान्छे ठान्ने हिन्दुहरूको संख्या उल्लेखनीय छ। त्यसैले बाँकीलाई उनीहरूले पाउनुपर्ने अधिकारको लागि योग्य ठान्दैनन्। श्वेत क्रिस्चियनहरूमा वर्चस्ववाद पाइन्छ, हिन्दुहरू पनि यसबाट ग्रस्त रहेकोमा कुनै शंका छैन।

बेलायतमा एक हिन्दु नागरिक सत्तासीन हुने अवसरलाई बेलायती समाजमा हिन्दुत्व वा भारतीयको प्रतापको रूपमा नभई त्यहाँ विविधता र विभिन्नताप्रति क्रमशः बढिरहेको स्वीकृतिको परिणामको रूपमा हेरिनुपर्छ। टोरी पार्टीले सुनकको सट्टा साजिद जाविदलाई आफ्नो नेता चुन्न सक्छ। पाकिस्तानी मूलका मुस्लिम साजिदलाई गृह र वित्त जस्ता महत्वपूर्ण मन्त्रालय सम्हाल्न सक्षम मान्न सक्थ्यो भने उनलाई शीर्ष नेतृत्वमा स्वीकार गर्न किन सक्दैन ?

यो नभुलौं कि भारतमा बेलायतको पर्यायवाची मानिने सहर लण्डनका मेयर पाकिस्तानी मूलका मुस्लिम छन्। सुनकको चुनावमा ब्रह्माण्डीय हिन्दु उल्लासको नशामा यी तथ्यहरू बिर्सनुहुँदैन।

अर्को एउटा कुरा हिन्दुहरूले ध्यानमा राख्नुपर्छ। सुनकलाई बेलायतमा हिन्दुत्व देखाउँदै राजनीति गर्न कुनै बाधा परेन। तर भारतमा अब्दुल कलामको सम्मान उनको ‘हिन्दु’ आचरणको कारण थियो। सोनिया गान्धीलाई क्रिस्चियनको रूपमा सार्वजनिक रूपमा कहिल्यै देखिएन। उनका फ्यानहरूले पनि उनी पूर्णतया भारतीय वा हिन्दु रंगमा रंगिएको भन्दै प्रशंसा गर्छन्। सोनिया गान्धीप्रति सम्मानको एउटा कारण उनले टाउकोमा पछ्यौरा वा हिन्दु चाडपर्वहरूमा हिन्दु बुहारीजस्तो व्यवहार गर्नु पनि हो।

मुस्लिम वा क्रिस्चियन अभिव्यक्तिलाई हिन्दु अभिव्यक्तिसँग तुरुन्तै सन्तुलन मिलाउनुपर्छ। यसको पछिल्लो उदाहरण एक मुस्लिम टिभी एङ्करले ठोक्किएपछि भेटियो। खस्नबाट जोगिएकोमा ‘धन्यवाद अल्लाह’ भन्दै राहत व्यक्त गरिएको थियो। तर उनी तत्कालै सचेत भइन्। अल्लाहलाई धन्यवाद दिन पर्याप्त थिएन। त्यसपछि रामलाई धन्यवाद दिन आवश्यक ठाने।

ऋषि सुनक प्रधानमन्त्री हुनु बेलायतका लागि अवश्य पनि गौरवको क्षण हो किनकि यसले ‘बाहिरिया’सँगको मित्रतामा ठूलो प्रगति गरेको देखाउँछ। यसमा हिन्दु धर्म वा यसका अनुयायीहरूको विशेष केही छैन। बेलायतले पनि हिन्दु धर्मको फलाम स्वीकार गर्नुपरेको भन्नु नैराश्यताको अभिव्यक्ति हो।

हिन्दुहरूले सोच्नुपर्ने अर्को कुरा पनि छ। यस क्षणले हिन्दु र भारतीयलाई समानार्थी शब्दको रूपमा विचार गर्ने बानीबाट छुटकारा पाउन मद्दत गर्न सक्छ। भारत हिन्दु धर्मको जन्मभूमि हो र त्यसैले हिन्दुको लागि, चाहे त्यो ब्रिटिश होस् वा अमेरिकी वा अफ्रिकी, भारत एक पवित्र भूमि रहनेछ। जसरी मुस्लिमको लागि चाहे त्यो ब्रिटिश होस् वा अमेरिकी वा भारतीय, मक्का वा मदिना पवित्र भूमि हो। यसले उनीहरूको राष्ट्रप्रतिको निष्ठामा कुनै फरक पर्दैन।

ऋषि सुनक बेलायतको प्रधानमन्त्री हुँदा विनायक दामोदर सावरकरको पितृभूमि-पुण्यभूमि सिद्धान्त पूरै खण्डित भएको छ। अब हिन्दु धर्मलाई भारतको क्षेत्रीयवादबाट मुक्त गर्ने समय आएको छ। तर यसले हिन्दु वर्चस्ववादको अन्त्यको ग्यारेन्टी गर्दैन। यसले श्वेत वर्चस्ववादसँग गठजोड गर्न सक्छ र विश्वभर फैलिएको मुस्लिम विरोधी घृणा थप्न सक्छ। यसतर्फ चनाखो हुनुपर्ने आवश्यकता थप बढेको छ।

(लेखक दिल्ली विश्वविद्यालयमा पढाउँछन्। वायरमा प्रकाशित सामग्रीको यो भावानुवाद हो।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?