+
+

महोत्तरी–१ : ह्याट्रिक गरेका गिरिराजमणिलाई छैन सजिलो

नेकपा माओवादी केन्द्रमा लगातार चुनाव जित्ने र सरकारमा पनि अवसर पाइरहने नेता मध्येमा पर्छन्, गिरिराजमणि पोखरेल । यो पटक उनीसँग अघिल्लो पटकको चुनावको सहयात्री नेकपा एमाले छैन, तर कांग्रेस, लोकतान्त्रिक समाजवादी र एकीकृत समाजवादीसँग गठबन्धन छ । त्यसका बाबजुद चर्को दबावमा छन् पोखरेल ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०७९ कात्तिक १३ गते २०:२४

१३ कात्तिक, महोत्तरी । नेकपा माओवादी केन्द्रमा लगातार चुनाव जित्ने र सरकारमा पनि अवसर पाइरहने नेता मध्येमा पर्छन्, गिरिराजमणि पोखरेल । २०६४ र २०७० मा एकल रूपमा महोत्तरी क्षेत्र नम्बर १ मा चुनाव जितेका उनी २०७४ मा वाम गठबन्धनको बलमा मधेशी गठबन्धनलाई हराएर प्रतिनिधिसभामा आए ।

यो पटक उनीसँग नेकपा एमाले छैन, तर कांग्रेस, लोकतान्त्रिक समाजवादी र एकीकृत समाजवादीसँग गठबन्धन छ । त्यसका बाबजुद चर्को दबावमा छन् पोखरेल ।

त्यसको एउटा कारण हो, एन्टी–इन्कम्बेन्सी फ्याक्टर । लगातार तीन पटक चुनाव जितेर पोखरेलले आफ्नो निर्वाचन क्षेत्रमा गरेको कामबारे मिश्रित प्रतिक्रिया छ । कतिपय ठिकै गरेका छन् भन्ने भेटिए भने कतिपय उनको कामप्रति असन्तुष्ट देखिए ।

बर्दिबास नगरपालिका–९ पशुपतिनगरस्थित पथलैया चोकका ७० वर्षका कर्णबहादुर पुलामीले पछिल्लो तीन वटै चुनावमा पोखरेललाई मत दिएका थिए । उनी पोखरेलको कामप्रति सन्तुष्ट छैनन् । ‘हामी त उहाँको पार्टीमा पहिल्यैदेखि बस्या हो । तर चुनाव जितेर गएपछि भेट हुने होइन क्यार !’ उनले गुनासो पोखे ।

कर्णबहादुर जस्तै बर्दिबास नगरपालिका–९ पशुपतिनगर बन्द्रा टोलका ८२ वर्षीय जोगेन्द्र महतो सन्तुष्ट देखिएनन् । घर अगाडिको कच्ची सडकमा कालोपत्रे हेर्ने उनको धोको छ । धुलोले आजित भइसके, अहिलेसम्म सडक कालोपत्रे भएन । ‘गिरिराजमणिले १५ वर्ष लगातार जिते, तर हाम्रोतिर विकास गरेनन्’ उनले भने, ‘उत्तरी बेल्टमा केन्द्रित भए, सडक बनाए । हाम्रोतिर केही गरेनन् ।’

गौशाला नगरपालिका–४ मल्हनियामा १० वर्षदेखि चिया बेच्दै आएकी विमलादेवी साह भने पोखरेलको कामप्रति सन्तुष्ट देखिइन् । भन्छिन्, ‘काम त ठिकठिकै गरेका छन् । रजखोइर टोलमा सडक बनाएका छन् ।’ अब शिक्षा, स्वास्थ्य, रोजगारलगायतमा राम्रो काम होस् भन्ने विमलाको अपेक्षा छ ।

मतादातामा जस्तै असन्तुष्टि सत्ता गठबन्धनमा पनि देखिएको छ, जसले पोखरेललाई दबाव थपेको छ ।

यो क्षेत्रमा कांग्रेस दोस्रो ठूलो दल हो । तर सत्ता गठबन्धनको भागबण्डामा यहाँ प्रतिनिधिसभा न प्रदेश सभा कुनै पनि सिट पाएको छैन । त्यसप्रति असन्तुष्टि समूहबाट पोषण थापाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । र, थापालाई बर्दिबास नगरपालिकाको मेयर, उपमेयर जितेको प्रह्लाद क्षेत्री समूहको समर्थन छ ।

३० वैशाखको स्थानीय चुनावमा कांग्रेसले बर्दिबासको मेयरमा माओवादीका राजु खड्कालाई समर्थन गरेको थियो । प्रदेश कमिटीले आफूलाई दिएको टिकट खोसेर पार्टी नेतृत्वले चिरञ्जीवी हमाललाई उम्मेदवार बनाएपछि प्रह्लादकुमार क्षेत्रीले स्वतन्त्र उम्मेदवारहरूको टिम नै बनाए ।

कांग्रेसले भने आफ्ना उम्मेदवार हमाललाई समेत माओवादी उम्मेदवार राजुलाई समर्थन गर्न लगायो । तर एमालेको समेत साथ पाएको यो समूहबाट मेयर, उपमेयरसहित ९ जनप्रतिनिधि निर्वाचित भए । यो टिमको समर्थन पाएका पोषण भन्छन्, ‘म कांग्रेसकै कार्यकर्ता हुँ । कांग्रेसको ८/९ हजार मत मलाई नै पर्छ । एमाले गठबन्धनको मत पनि मलाई आउँछ । यो नै मेरो जित्ने बलियो आधार हो ।’

पोखरेलको आफ्नै दल माओवादी पनि एकढिक्का छैन । माओवादीबाट प्रदेश सभाको दुवै सिटमा बागी परेको थियो । प्रदेश सभा १ मा बागी उम्मेदवारी दिएका राजन ढुंगानाले उम्मेदवारी फिर्ता लिएका छन् । त्यसका लागि पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैंले संवाद गर्नु परेको थियो । तर एकीकृत समाजवादीका सुरेशबहादुर राउतको भने उम्मेदवारी कायमै छ ।

प्रदेश सभा २ तर्फ विष्णु लामाको उम्मेदवारी कायमै छ । उनी र प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका पोषणबीच सहकार्य हुने सम्भावना छ ।

पोषण मात्र होइन, एमाले जसपा गठबन्धनका उम्मेदवार पनि पोखरेलको अर्को चुनौती हुन् ।

उनी २०७४ मा पोखरेलका निकटतम प्रतिस्पर्धी थिए । तत्कालीन संघीय समाजवादी फोरमबाट उम्मेदवारी दिएका लक्ष्मी महतो मधेशी गठबन्धनका साझा उम्मेदवार थिए । यो पटक जसपाबाट टिकट नपाउने देखेपछि अन्तिम समयमा एमाले प्रवेश गरेर उम्मेदवार बनेका हुन् । यो क्षेत्रमा प्रभावशाली भएकै कारण एमालेले पार्टीमा ल्याएर टिकट दिएको हो । उनले जेठा छोरा डा. दीपेन्द्र महतोलाई जसपाबाट गौशाला नगरपालिकामा मेयर नै जिताएका छन् । सत्ता गठबन्धनमा रहेको लोसपाको आफ्नो उम्मेदवार नभएकाले त्यसको लाभ पनि लक्ष्मीले पाउन सक्ने एमाले नेताहरूको बुझाइ छ ।

‘यो पटक म एमालेको उम्मेदवार हुँ । गौशालामा हाम्रो (जसपाको) सरकार छ’ एमाले उम्मेदवार महतो भन्छन्, ‘बर्दिबास नगरपालिकामा स्वतन्त्र सरकार छ । दक्षिणी भू–भागामा मेरो बलियो पकड छँदैछ । त्यसकारण म फराकिलो मतान्तरले जित्छु ।’

तर उनले एमालेकै सबै मत पाउनेमा भने आशंकै छ । किनकि स्थानीय चुनावमा माओवादी छाडेर आएका टेकबहादुर बलम्पाकीलाई उम्मेदवार बनाएकोमा असन्तुष्ट एमाले नेता कार्यकर्ता स्वतन्त्र उम्मेदवारी दिएको प्रह्लाद समूहसँग मिलेको थियो । अहिले पनि लक्ष्मीले अन्तिम समयमा आएर टिकट लिएकाले असन्तुष्टको समर्थन पोषणतिर जाने खतरा रहेको नेताहरू स्वीकार गर्छन् ।

त्यसैले महोत्तरी १ मा पोखरेलले विरासत जोगाउँछन् कि जोगाउँदैनन् भन्ने अनुमान गर्न कठिन छ ।

माओवादी उम्मेदवार पोखरेल भने पार्टीको बलियो संगठन भएको र गठबन्धनको पनि साथ रहेकाले चुनाव जित्ने दाबी गर्छन् । ‘हाम्रो पार्टीको आफ्नै संगठन छ, गठबन्धनको मत पनि मसँग छ’ उनले भने, ‘महोत्तरीको विकासको लागि ठूल्ठूला कार्यक्रम ल्याएको छु, जुन यहाँका जनताले भुलेका छैनन् ।’

बर्दिवासको खयरमारामा शहीद निर्मल लामा बहुप्राविधिक शिक्षालय, गौशालामा इन्जिनियर कलेज र बर्दिबास मेडिकल कलेजको काम अघि बढेको भन्दै उनले भने, ‘कृषि क्षेत्रमा सिंचाइको लागि इनार, नदी कटान क्षेत्रमा तटबन्ध गरी नियन्त्रण प्रयास, सडक बाटो लगायतका थुप्रै काम गरेको छु ।’

स्थानीय चुनावको अंकगणित

बर्दिबास नगरपालिकाका सबै १४ र गौशाला नगरपालिकाका सबै १२ र भंगाहा नगरपालिकाको वडा नं. ३, ४, ५ र ९ चारवटा गरी ३० वटा वडा यस क्षेत्रभित्र पर्दछन् ।

स्थानीय निर्वाचनमा बर्दिबास नगरपालिका कांग्रेसबाट विद्रोह गरेको स्वतन्त्र समूहले जितेको छ भने गौशाला नगरपालिका जसपाले । ३० वटा वडामध्ये कांग्रेस र जसपाले ७–७, माओवादी केन्द्रले ६, एमाले र लोसपाले ३ वडामा जित हात पारेको छ ।

वडाअध्यक्षका उम्मेदवारहरूले पाएको मतका आधारमा माओवादी सबभन्दा अगाडि छ । उसले १५ हजार ८८८ मत पाउँदा कांग्रेसले १३ हजार १४८, एमालेले ८ हजार ३४ मत पाएका छन् । जसपाले ७ हजार २३७, लोसपाले ७ हजार ६९ मत पाउँदा स्वतन्त्र उम्मेदवारहरूले ६ हजार ५१४ मत पाएका छन् ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?