+
+

सुरक्षाका ६ सामग्री, जुन मोटरसाइकल चलाउँदा लगाउनैपर्छ

प्रकाश लिम्बू प्रकाश लिम्बू
२०७९ कात्तिक १४ गते १२:४३

सडक दुर्घटनाको तथ्यांक निकै अत्याउने खालको छ । नेपाल प्रहरीको तथ्यांकले भन्छ, दैनिक सरदर नेपालमा २५ वटा सडक दुर्घटना हुने गरेको छ । यसमा औसत ७ जनाको मृत्यु हुन्छ भने धेरै जना घाइते हुने गरेका छन् ।

यसरी हुने दुर्घटनामध्ये स्कुटर, मोटरसाइकल अगाडि छन् । आफ्नो त्रुटिले मात्र होइन, अरु गाडीको ठक्करबाट पनि स्कुटर, मोटरसाइकलमा सवार हुनेहरु दुर्घटनामा पर्ने गरेका छन् ।

त्यसैले मोटरसाइकल, स्कुटर चलाउने वा त्यसमा यात्रा गर्नेले सुरक्षा सामग्री प्रयोग गर्नैपर्छ । सुरक्षा सामग्री भन्नासाथ हामी हेल्मेट मात्र सम्झिन्छौं । त्यो पनि ट्राफिक नियम पालना गराउन मात्र लगाउनुपर्छ भन्ने हाम्रो बुझाइ हुन्छ । यद्यपि हेलमेट एकदमै प्रभावकारी सुरक्षा सामग्री हो, जसले दुर्घटनाका क्रममा हुने कतिपय जोखिमबाट बचाउन सक्छ ।

तर हेल्मेट मात्र काफी छैन । सडक दुर्घटनामा टाउकोमा चोट लाग्नुका साथै हात, खुट्टा भाँचिने, जोर्नीहरु खुस्किने जस्ता हुनसक्छ । यसबाट बच्नका लागि बजारमा थुप्रै सुरक्षा सामग्री पाइन्छन् ।

मोटरसाइकलबाट हुने सम्भावित सवारी दुर्घटनाबाट बच्न हेल्मेट, बुट, ग्लोब्स, निप्याट, ज्याकेट तथा ब्याग निकै महत्वपूर्ण मानिन्छन् । पछिल्लो समय हेभी मोटरसाइकल कुदाउने चालकले भरपर्दो र अन्तर्राष्ट्रियस्तरका सेफ्टी इक्विपमेन्ट खोज्ने गरेको भए पनि बजारमा उपलब्ध नहुँदा सुरक्षा चुनौती बढ्दै गएको छ ।

हेभी बाइक चालकले जीउज्यानको सुरक्षाका लागि आईएसओ सर्टिफाइड राइडिङ गियर खोज्छन् । तर नेपालमा त्यस्ता अन्तर्राष्ट्रिय स्तरका सामग्री नै उपलब्ध छैनन्, भए पनि सबैले किन्न सक्दैनन् ।

सुरक्षित मोटरसाइकल कुदाउन आवश्यक सामग्री

हेल्मेट : हेभी मोटरसाइकल चलाउँदा भरपर्दो र गुणस्तरयुक्त हेल्मेटको प्रयोग गर्नुपर्छ । बजारमा थुप्रै ब्राण्डका हेल्मेट उपलब्ध छन् । जसले अन्तर्राष्ट्रिय गुणस्तर र मापदण्ड पूरा गर्न सकेका छैनन् । यस्ता सस्ता र कमजोर हेल्मेटको प्रयोग गर्दा टाउकोमा लाग्नसक्ने चोटबाट बच्न सकिंदैन ।

हेल्मेटको मुख्य काम दुर्घटना भइहाले टाउकोलाई सुरक्षा प्रदान गर्नु हो । हेल्मेट बलियो, नफुट्ने र सामान्यतया नखुल्ने किसिमको हुनुपर्छ ।

टाउको शरीरको गम्भीर तथा संवेदनशील भाग भएकाले हेल्मेटले यसको सुरक्षा गर्ने काम गर्छ । सुरक्षित र भरपर्दो हेल्मेटको बजार मूल्य ३० हजारभन्दा माथि हुन्छ । नेपाली बजारमा न्यून गुणस्तरका हेल्मेट आयात हुने गरेकाले त्यस्ता हेल्मेटले दुर्घटनाबाट सुरक्षा प्रदान गर्न सक्दैन । हेल्मेटको प्रयोग गर्दा आकर्षकभन्दा पनि बलियो र भरपर्दोमा ध्यान दिनुपर्छ ।

पञ्जा : मोटरसाइकल चालकका लागि अकोृ आवश्यक सामग्री हो पञ्जा । पञ्जाले हात र औंलाका साथै नाडी र हत्केलाको सुरक्षा गर्छ । यसले औंलाको हड्डीको सुरक्षा पनि गर्छ । मोटरसाइकल दुर्घटना हुँदा हात टेकाइन्छ, हातमा बल पर्दा भाँचिन र चोट लाग्न सक्छ । हात सडकमा जति जोरले थिचिए, घिसारिए र ठोक्किए पनि पञ्जाले सुरक्षा प्रदान गर्छ । पञ्जाले घामपानीबाट समेत हातलाई बचाउँछ ।

बुट : मोटरसाइकलको यात्रा तय गर्दा बुटको प्रयोग निकै महत्वपूर्ण मानिन्छ । बुटको प्रयोग गर्दा दुर्घटना भए पनि त्यसले खुट्टा र जोर्नीलाई बचाउन मद्दत गर्छ । मोटरसाइकल दुर्घटना भए बुटले नली खुट्टाको हड्डीको सुरक्षा गर्छ ।

गुणस्तरीय बुटमा हिलो र पानी छिर्दैन । यसले घुँडाभन्दा तलको भागको सुरक्षा गर्छ ।

नि-प्याट : नि-प्याटले शरीरका जोर्नीहरुको सुरक्षाको काम गर्छ । मोटरसाइकल दुर्घटना भएमा शरीरका हाडजोर्नीलाई बचाउन यसले महत्वपूर्ण भूमिका खेल्छ । यसले कुहिना र घुँडालाई सुरक्षा गर्छ ।

ज्याकेट : हेभी मोटरसाइकलमा यात्रा गर्दा ज्याकेट महत्वपूर्ण हुन्छ । यस्ता ज्याकेटले शरीरमा हावाको प्रवाहलाई रोक्नुका साथै हाडजोर्नीको सुरक्षामा भूमिका खेल्छ । विश्वप्रख्यात र दुर्घटनाबाट ज्यान बचाउन सक्ने ब्राण्डेड ज्याकेट सबैले किन्न सक्दैनन् । यस्ता ज्याकेटको मूल्य निकै महंगो पर्छ । यस्ता ज्याकेटको मूल्य नेपाली बजारमा ५० हजार रुपैयाँसम्म पर्छ ।

स्मा : मोटरसाइकलमा लामो यात्रा गर्दा गुणस्तरयुक्त बलियो चस्माको प्रयोग गर्नु आँखाको सुरक्षाका लागि राम्रो मानिन्छ । हेभी मोटरसाइकल चालकले पोलोराइज चस्माको प्रयोग गर्दा स्पीडका कारण आँखामा आउने तथा हेल्मेटमा ठोक्किन आउने कीराको ठक्करबाट बच्न सकिन्छ । कुनै ठाउँमा मोटरसाइकलको बेगसँग ठोक्किन आएका कीराले हेल्मेटको भाइजर समेत फुट्ने गर्छ । यसरी भाइजर फुट्दा पनि चस्माले आँखालाई सुरक्षा प्रदान गर्छ ।

चस्माले प्रकाशको किरणलाई आँखामा पर्नबाट बचाउनुका साथै बाटो समेत राम्ररी देखाउन मद्दत गर्छ । आँखा संवेदनशील अंग भएकाले यसको सुरक्षा गर्नु निकै आवश्यक छ ।

साथै सुरक्षित राइडिङका लागि मोटरसाइकलको कन्डिसन, चालकको शारीरिक र मानसिक स्वास्थ्य, लेन तथा सडक अनुशासन, सवारीको गति, बाटोको अवस्था र बनोटबारे थाहा हुनुपर्छ ।

(लिम्बू नासा बुलेट क्लबका अध्यक्ष हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?