+
+

नो नट अगेन अभियानलाई चेतावनी दिएको भन्दै निर्वाचन आयोगविरुद्ध रिट दायर

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १४ गते १८:३९

१४ कात्तिक, काठमाडौं । नो नट अगेन अभियान विरुद्ध निर्वाचन आयोगले जारी गरेको चेतावनीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आयोगले जारी गरेको सूचना खारेज हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् ।

नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्ध आयोगले दूषित मनसायले सूचना जारी गरेको भन्दै उनले त्यसलाई अन्तरिम आदेशमार्फत तत्काल निस्तेज बनाउन र खोज गर्न माग गरेका छन् ।

निर्वाचनका क्रममा नागरिकले आफ्नो हक र स्वतन्त्रताको शान्तिपुर्ण रुपमा उपभोग गर्न पाउनुपर्ने भन्दै त्रिपाठीले आयोगले जारी गरेको सूचनाले नागरिकको संवैधानिक स्वतन्त्रतालाई निष्प्रभावी बनाउने दावी गरेका छन् ।

‘यो सूचना आफैंमा स्वेच्छाचारी एवं बदनियतपूर्ण छ । संबैधानिक स्वतन्त्रतालाई पूर्णरूपमा निष्प्रभावी तुल्याउन खोजिएको छ’ उनले रिट निवेदनमा भनेका छन्, ‘निर्वाचन आयोगले संबिधानले तोकेको भन्दा फरक बिषयवस्तु तथा आधारमा नागरिक स्वतन्त्रतालाई प्रतिबन्धित वा कुण्ठित गर्नु स्वेच्छाचारिताको नमूना हो ।’

निर्वाचनका क्रममा नागरिकले मन परेको उम्मेद्वारलाई मत दिन अनि मन नपरेको उम्मेद्वारलाई मत नदिन अभियान चलाउन स्वतन्त्र हुने भन्दै उनले आयोगको सूचनाले नागरिकको हक कुण्ठित भएको दावी गरेका हुन् ।

आयोगको सूचना अनुसार नो नट अगेन अभियानमा संलग्न हुनेमाथि एक लाख रुपैयाँ जरिवाना, विद्युतीय कारोवार ऐन अनुसार कारबाही वा अन्य कारबाहीको चेतावनी थियो । रिट निवेदनमा त्यो सूचना निस्तेज बनाउनुपर्ने माग गरिएको छ । मंगलबार रिट निवेदनमाथि सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?