+
+

पोखरा महानगरले आजदेखि प्रयोजन विपरीतका अन्डरग्राउन्ड संरचना हटाउँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १५ गते ९:३३

१५ कात्तिक, पोखरा । पटक–पटक सूचना जारी गर्दा पनि अटेर गरेपछि पोखरा महानगरले मंगलबारदेखि पार्किङ प्रयोजन विपरीत प्रयोग भएका अन्डरग्राउन्ड खाली गराउने भएको छ । महानगरले सोमबार (हिजो) सूचना जारी गरी आज (मंगलबार)बाट अन्डरग्राउन्डमा बनेका व्यवसायिक संरचना खाली गराउने जनाएको हो ।

महानगरको सूचनामा भनिएको छ, ‘पोखरा महानगरपालिका भित्र रहेका भूमिगत पार्किङलाई सोही प्रयोजनमा लागि गर्न÷गराउन सम्बन्धित घरधनी र व्यवसायीहरुलाई सार्वजनिक रुपमा पटक–पटक आग्रह गर्दा पनि अटेर गरी प्रयोजन विपरीतका सञ्चालनमा रहेका भूमिगत पार्किङहरु मंगलबारदेखि महानगर आफंैले खाली गर्ने व्यहोरा जानकारीका लागि सबैमा अनुरोध छ ।’

पोखरा न्युरोड क्षेत्रबाट अन्डरग्राउन्डमा प्रयोजन विपरीत बनेका संरचना हटाइने र अटेरी गरे डोजर चलाएर भए पनि खाली गरिने महानगरले जनाएको छ । ‘धेरैजसोले आफैं हटाइसकेका छन् । नहटाएका ठाउँमा आजदेखि डोजर चल्छ,’ मेयर धनराज आचार्यका प्रेस संयोजक भीम थापाले भने ।

पोखरा महानगरले भदौ १३ गते ३५ दिने म्याद दिएर भवनका भूमिगत तलालाई प्रयोजनअनुरुप नै पार्किङमा प्रयोग गर्न अनुरोध गरेको थियो । म्याद सकिनै लाग्दा महानगरले असोज १२ गते सिर्जनाचोकमा औपचारिक कार्यक्रम गर्दै भूमिगत पार्किङ सुरु भएको उदघोष पनि गरेको थियो ।

तर, समयसीमा सकिएपछि केही व्यापारी, घरधनीले अटेरी गरेपछि सूचना सकिएको १० दिनपछि असोज २१ गते अन्डरग्राउन्ड भवनका व्यावसायिक संरचनाको अनुगमन पनि गरेको थियो । अनुगमनका क्रममा मेयर आचार्यले चाडपर्वका कारण महानगर लचिलो बनेको तर, त्यसपछि भने महानगर कठोर बन्ने चेतावनीसमेत दिएका थिए ।

पोखरामा २ सय ५० भन्दा बढी भवन अन्डरग्राउन्ड सहितका छन् । तर, त्यसमध्ये अहिले आधाभन्दा बढीले महानगरको सूचना पछि आफैं अन्डरग्राउन्डमा बनेका संरचना हटाइसकेका छन् । व्यावसायिक अन्डरग्राउन्डमा दोहोरी साँझदेखि मोटरसाइकल वर्कसपसम्म सञ्चालनमा छन् ।

भवन आचारसंहिताले पनि भवनको भूमिगत तलालाई पार्किङ प्रयोजनकै लागि प्रयोग गर्नुपर्ने उल्लेख गरेको छ । यता, पोखरा महानगरले पनि अन्डरग्राउन्डलाई पार्किङ प्रयोजनकै लागि प्रयोग गर्न राजश्व छुटको समेत व्यवस्था गरेको छ । तर, घरधनीले भने महानगरदेखि अन्डरग्राउन्डको राजश्व छुट लिएर प्रयोजनविपरीत व्यापारका लागि भाडामा दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?