+
+
काठमाडौं–२ को चुनावी मुद्दा :

माधव नेपाललाई गीत गाउन बाध्य पार्ने जोरपाटी-साँखु सडक

‘जोरपाटी–साँखु सडकका लागि मैले कति मिहिनेत गरें हुँला’ माधव नेपालले भनेका छन्, ‘त्यो बाटो नबनोस् भनेर केपी ओलीले भूमिका खेले । मैले संसदमा आवाज उठाउनुपर्‍यो । मैले गीतै गाउनु पर्‍यो– म देशमा एउटा मानिस खोजिरहेको छु !’

रामकुमार डिसी रामकुमार डिसी
२०७९ कात्तिक १६ गते २०:३०

१६ कात्तिक, काठमाडौं । राजधानी शहर भन्नेवित्तिकै सहज र सुगम ठाउँ भनेर बुझिन्छ । शहरमा न्यूनतम आवश्यकता (सडक, खानेपानी, बिजुली र स्वास्थ्य चौकी) उपलब्ध नहोला भन्ने सायदै कसलाई लाग्ला ।

तर, यही काठमाडौं शहरमा यस्ता पनि बस्ती छन्, जसले हामीले बनाएको यो अवधारणा च्यातचुत पारिदिन्छ । काठमाडौं-२ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र प्रसिद्ध पशुपतिनाथ मन्दिर भएको निर्वाचन क्षेत्र हो । यही क्षेत्रमा पर्ने काठमाडौं महानगरपालिकाका दुई वडा (९ र ३२) छाडेर थोरै पर कागेश्वरी मनोहरा वा शंखरापुर पुग्दा देखिने दृश्य फरक छन् ।

चुनावी रिपोर्टिङ गर्ने सिलसिलामा हामी पेप्सीकोला भन्दा केही अघि बर्माटोल–पेप्सीकोला सडक खण्डमा पुग्यौं । साढे चार किलोमिटर लामो यो सडक हुँदै अगाडि जाँदा जो–कोहीलाई विरक्त लाग्छ । सडकमा ठूला–ठूला खाडल । सुक्खा मौसमको समय भएर मात्रै नभए भैंसी आहाल खेल्न मिल्ने पोखरी सडकमै बन्थे । ढल छैन, भएको पनि अस्तव्यस्त ।

पूर्व सभामुख दमननाथ ढुंगाना, राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले जितेर गएको क्षेत्र हो यो । कागेश्वरी मनोहराका वडा नं. ४, ५, ६, ७ र ८ का बासिन्दाको बसोबास क्षेत्रको यो हालतले यहाँका पूर्व सांसद र स्थानीय तहका पदाधिकारीको विकासप्रतिको व्यवहार उपेक्षापूर्ण देखिन्थ्यो ।

‘बिरामी भइयो भने एउटा एम्बुलेन्स आउने अवस्था छैन’ दुःखेसो पोख्दै कागेश्वरी मनोहरा–५ का यमबहादुर कार्कीले भने, ‘मोटरसाइकल लिएर हिंडेको छोरो सकुशल घर नफर्किने हो कि भन्ने चिन्ता हुने खालको छ यो सडक ।’

स्थानीयका अनुसार यो बाटो पहिले सानो थियो । अहिले ३६ फिटको भएको छ । ६ वर्षदेखि यो सडकमा सुधारको केही काम भएको छैन । ‘६ वर्ष भयो ठेक्का लागेको, अहिलेसम्म काम भएको छैन, अति भयो’ कार्कीले आक्रोश पोखे । हामी मिडियाबाट आएको भन्ने थाहा पाएपछि अर्का युवकले पनि आक्रोश थपे, ‘यो त अत्ति नै भयो ।’ उनीहरूले आफूहरूलाई सरकारले साह्रै नै हेपेको भनेर आवाज उठाइदिन आग्रह गरे ।

यही क्षेत्रमा २०७४ मा जग्गा किनेका थिए, फत्तप्रसाद वाग्लेले । अर्को वर्ष घर पनि बनाए । घर बनाए पनि सडक, खानेपानी, बत्ती जस्ता केही सुविधा नभएको उनको गुनासो छ ।

उनले तार र पोलमा आफैंले ३३ हजार रुपैयाँ खर्च गरेर जसोतसो बिजुली घरमा पुर्‍याएका छन् । उनको प्रश्न छ, ‘बाटो बनाउँछु भनेर चुनावमा भोट माग्ने तर जितेर गएपछि फर्केर नआउने, यस्तो पनि हुन्छ ?’ उनले थपे ‘कतिपटक भोट दिएर जिताइयो, जितेर गएपछि हामीलाई चिन्दैनन् ।’ उनका भनाइमा ‘चुनाव पछि, नेताले भुसुनाको जस्तै व्यवहार गर्छन् ।’

यसअघिका जनप्रतिनिधि माधवकुमार नेपालप्रति उनको बढी नै गुनासो रहेछ । उनले भोट माग्न आएको तर जितेर गएपछि अनुहार नदेखेको दुखेसो गरे । ‘एक पटक भोट माग्न आउनुभयो, त्यसपछि टिभीमा बाहेक आजसम्म हामीले उहाँको अनुहार देखेका छैनौं ।’

‘माधवकुमार नेपालको घर यहीं कोटेश्वरमा छ, यही बाटोको कुरा लिएर त्यहाँ मेरी छोरी दुई पटक पुगिन् । काम पनि गर्छु भने तर केही गरेनन्’, उनले भने ।

काठमाडौं–२ छाडेर रौतहट झरेका माधवकुमार नेपालले भने सो सडकका लागि आफूले सक्दो गरेको बताएका छन् । एक टिभी अन्तर्वार्तामा उनले त्यसको दोष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीतिर देखाएका थिए ।

‘जोरपाटी–साँखु सडकका लागि मैले कति मिहिनेत गरें हुँला’ उनले भनेका थिए, ‘त्यो बाटो नबनोस् भनेर केपी ओलीले भूमिका खेले । मैले संसदमा आवाज उठाउनुपर्‍यो । मैले गीतै गाउनुपर्‍यो– म देशमा एउटा मानिस खोजिरहेको छु ।’

यहाँका स्थानीयका मनमा सडक किन बनेन र कहिलेसम्ममा बन्छ भनेर गर्ने प्रश्न पनि हराउँदै गइरहेको छ । तर पनि उनीहरूको मनमा ‘दुःख गरी बनाएको घरसम्म पुग्न सजिलो बाटो भए हुन्थ्यो’ भन्ने चाहिं छ । यस्तो बेलामा कसैले ‘स्मार्ट सिटी’ भन्यो भने त उनीहरूलाई आफू माथि मजाक गरे जस्तो लाग्दोरहेछ ।

काठमाडौं उपत्यका विकास प्राधिकरणले कागेश्वरी मनोहराका पाँच वडा (४, ५, ६, ७ र ९) लाई समेटेर स्मार्ट सिटी बनाउने भन्दै २०७४ असारमा जग्गा कारोबार रोक्का गरेको छ । त्यसयता यहाँ कसैले जग्गा किनबेच गर्न र घर बनाउन पाएका छैनन् ।

पाँच वर्षअघि घडेरी किनेकी संगीता कट्टेल यसैमध्येमा पर्छिन् । उनले भनिने, ‘स्मार्ट सिटी बनाउने भनेर घरको नक्सा पास गर्न दिएको छैन ।’

काठमाडौं उपत्यका विकास प्राधिकरणका सूचना अधिकारीको भनाइ सुन्दा यो परियोजना चार वर्षअघिकै ठाउँमा रहेको स्पष्ट हुन्छ । परियोजना स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाएको भए पनि अझै त्यो छलफलकै चरणमा रहेको सूचना अधिकारी सौरव ढकालले बताए ।

ढकालले भने ‘भौतिक विकास योजना तयार गरेर हामीले स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाएका थियौं । कार्यक्रम संचालन गर्ने आर्थिक मोडालिटी ल्याउनु भनेर त्यहाँबाट अर्थ मन्त्रालयमा पठाएको रहेछ । हामीले आर्थिक मोडालिटी बनाएर अर्थ मन्त्रालयमा पठाएका छौं । अहिले त्यो मन्त्रालयमा छलफलकै क्रममा छ ।’

लामो समयदेखि अड्केर बसेको परियोजनाले मन्त्रिपरिषदबाट स्वीकृति पाउँछ या पाउँदैन टुंगो छैन । पाएको खण्डमा स्थानीय पालिकासँग सहकार्य गरेर कार्यान्वयन गर्नुपर्ने हुन्छ । कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की भने स्मार्ट सिटी बन्न असम्भव जस्तै रहेको ठान्छन् ।

‘नीतिगत काम भयो, सरकारले जग्गा रोक्का गर्‍यो’ उनी भन्छन्, ‘डीपीआर तयार भयो भन्ने कुरा छ । यसमा हामीसँग कुनै सहकार्य छैन । यसमा काम हुन लगभग असम्भव छ ।’

स्मार्ट सिटी नबन्ने अनि सर्वसाधारणको जग्गा कहिलेसम्म रोक्ने त भन्ने प्रश्नमा उनले अब आफूले जग्गा रोक्का फुकुवाको प्रयास गर्ने आश्वासन दिए ।

फेरि चुनाव आएको छ । उम्मेदवार गाउँ पस्न थालेका छन् । उनीहरूले ठूला–ठूला आश्वासन बाँडिरहेका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी ओनसरी घर्तीले यही सडकको स्तरोन्नति र स्मार्ट सिटी बनाउने योजना पूरा गर्छु भनिरहेकी छिन् ।

‘जोरपाटी–साँखु सडकको स्तरोन्नति तथा सम्पन्न गर्ने काम ढिलाइ भयो’ ३० असोजको चुनावी कार्यक्रममा उनको दाबी थियो, ‘म घोषणा गर्न चाहन्छु आगामी दुई वर्षमा त्यो मैले सम्पन्न गर्न सकिनँ भने राजीनामा गर्छु । आज नोट गर्नुहोस् ।’

त्यही कार्यक्रममा ओनसरीका पक्षमा माहोल बनाउँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओनसरीलाई जिताए विकासे मन्त्री बनाउने बाचा गरेका थिए ।
एमालेका उम्मेदवार मणिराम फुयालले पनि स्थानीयले उठाएका यी सबै विषयमा काम गर्ने बताए । उनी यसअघि प्रदेश सांसद पनि थिए । हामीले अहिलेसम्म यी काम किन भएनन् भन्ने प्रश्न उनलाई सोध्यौं । उनले यसमा आफ्नो जिम्मेवारी रहेको अस्वीकार गरे ।

‘गर्न खोज्दा खोज्दै नभएको हो भने हामीले त्यस्ता संस्था, नेतृत्वलाई शंकाको लाभ पनि दिनुपर्छ’ फुयालको तर्क छ, ‘गर्न नै नखोजेको हो भने जिम्मेवारी कसको हो, कमजोरी पनि त्यसकै हो ।’

आधारभूत सेवाबाटै वञ्चित यहाँका मतदाताको कुनै ठूलो आकांक्षा छैन । स्थानीय चुनावमा पनि सडक बनाइदिन माग गरेको र यसपालि पनि त्यही कुरा माग्ने बताउँछन्, फत्तप्रसाद वाग्ले । सडक बनाउने ग्यारेन्टी लिनेलाई आफन्तसहितको १५० मत जाने उनको भनाइ छ । ‘मेरो माग अरू केही पनि छैन, त्यो बाटो ग्राभेल गर्नेलाई बाहिरै छाप लगाएर भोट दिन्छु’, उनले भने ।

सुन्तली गजुरेल जोरपाटी–साँखु सडक अन्तर्गत कालोपत्रे हुन बाँकी थली क्षेत्रमा सानो फलफूल पसल गर्छिन् । सडक कालोपत्रे होस् भन्ने उनको पनि इच्छा हो । ‘हामीले यहाँ धुलो खान थालेको ६ वर्ष भयो’ भन्छिन्, ‘दशैंमा कालोपत्रे हुन्छ भनेको तिहार गइसक्यो, कहिले हुन्छ थाहा छैन ।’

बैंकबाट १० प्रतिशत ब्याजमा ऋण लिएर घर बनाएकी उनी अहिले ब्याजदर बढेर १८ प्रतिशत पुग्दा मर्कामा छिन् । सडक नै नबनाउने नेता र सरकारसँग आफ्नो यो समस्या समाधान गर्ने क्षमता छ भन्ने पत्यार उनलाई छैन । तैपनि उनको प्रश्न छ, ‘दिनमा २–४ हजारको सानो व्यापार गरेर बैंकको ऋण तिर्ने कि छोराछोरी पढाउने कि, खाने बस्ने ? साह्र्रै समस्या छ । यो कसले बुझिदिने ?’

काठमाडौं–२ मा प्रतिनिधिसभातर्फ घर्ती र फुयालका अलावा अरू धेरै उम्मेदवार पनि छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोविता गौतमले आफ्नो प्रचार अभियान चलाइरहेकी छिन् । एकताकाका सनसनी खोज लेखक पुण्य प्रसाईं पनि चुनावी मैदानमा छन् ।

कसले जित्छ, कसले हार्छ ? कस्तो राजनीतिक समीकरण बन्छ जस्ता ठूला कुरामा हेपिएको यो गाउँलाई उतिसारो चासो छैन । मात्र सजिलो गरी हिंड्ने बाटो बनोस् र नबन्ने स्मार्ट सिटीका नाममा आफ्नो जग्गा रोक्का नहोस् भन्ने चाहन्छन् यहाँका बासिन्दा ।

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?