+
+

धानको समर्थन मूल्य तोक्न ढिलाइ

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २० गते १८:०३
फाइल तस्वीर

२० कात्तिक, काठमाडौं । सरकारले धानको समर्थन मूल्य तोक्न अलमल गरेको छ । कृषि मन्त्रालयबाट वाणिज्य मन्त्रालय हुँदै मन्त्रिपरिषद्‍मा पुगेको धानको सर्मथन मूल्य तीन महिनामा पनि नतोकिएको कृषि मन्त्रालयका एक अधिकारीले बताए ।

कृषि तथा पशुपन्छी विकास मन्त्राालयले गत साउन अन्तिम साता धानको सर्मथन मूल्य प्रस्ताव गरेको थियो । जसअनुसार मोटा धानका लागि २ हजार ८६७ रुपैयाँ प्रतिमेट्रिकटन र मसिनो मध्यम धानका लागि प्रतिमेट्रिकटन ३ हजार १२८ रुपैयाँ मूल्य सिफारिस भएको थियो ।

मन्त्रालयकाअनुसार मोटा धानको सिफारिस मूल्य गत वर्ष भन्दा प्रतिक्विन्टल ११५ रुपैयाँ र मध्यम धानको मूल्य २२६ रुपैयाँले धेरै हो ।

कृषिले वाणिज्य मन्त्रालयमा पठाएको सिफारिस दुई महिना बढी थन्किएको थियो । सचिव परिवर्तन र मन्त्रालयकै वेवास्ताका कारण धानको मूल्य मन्त्रिपरिषद् पेश हुन नसकेको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

तर, तिहारको केही अघि मात्रै मन्त्रालयमा आएका वणिज्य सचिव तोयम रायले धानको मूल्य मन्त्रिपरिषद्‍मा पेश भइसकेको बताए । ‘निर्वाचन आयोगसँग सहमति लिएर मन्त्रिपरिषद्‍मा मूल्य सिफारिस गरिएको छ । केही दिनमा निर्णय आउला,’ सचिव रायले भने । गत वर्ष २९ भदौमा सरकारले धानको सर्मथन मूल्य तोकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?