+
+

माइराम पोखरीको अतिक्रमण हटाउँदै वीरगञ्ज महानगर

सुरेश बिडारी सुरेश बिडारी
२०७९ कात्तिक २० गते १९:५५

२० कात्तिक, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आदर्शनगरस्थित माइराम पोखरीको जग्गा अतिक्रमण गरेर बनाइएका भौतिक संरचना हटाउने भएको छ । पोखरीको जग्गा अतिक्रमण गरी बनाइएका संरचनाको निस्सा पेश गर्न सम्बन्धित व्यक्तिहरुलाई आग्रह गर्दा प्रमाण देखाउन नसकेपछि अतिक्रमण हटाउने तयारी महानगरले गरेको हो ।

१५ कात्तिकमा दुई दिन भित्र निस्सा पेश गर्न आग्रह गर्दै महानगरले पत्र काटेको थियो । तर, पाँच दिनको समय अवधि सकिंदा एक जना बाहेक कसैले पनि निस्सा पेश नगरेको महानगरको भनाइ छ । आइतबार नगर प्रहरीसहित नक्सा शाखाको टोली सम्बन्धित व्यक्तिहरुकै घरघरमा पुगेर २४ घण्टा भित्र निस्सा बुझाउन आग्रह गरेको महानगरले जानकारी दिएको छ । यसअघि वीरगञ्ज महानगरपालिकाले सडकको दायाँ–बायाँमा पर्ने घरहरुको नक्सा ३५ दिनभित्र महानगरमा बुझाउन सूचना जारी गरेको थियो । महानगरले निस्सा ननभए व्यक्तिहरुलाई आफैंले संरचना भत्काएर सामान सुरक्षित ठाउँमा राख्न भनेको थियो ।

नक्सा शाखा प्रमुख रामसेवक महतोले २४ घण्टाभित्र सबैको कागजात आएपनि/नआएपनि अमिनको टोली खटाएर पोखरीको जमिन नापजाँच गर्ने बताए । ‘२ दिने सूचना जारी गरेको पाँच दिन बित्दा एक जनाले मात्रै कागजात बुझाउनुभएको छ,’ उनले भने, ‘आज प्रत्येक घर घरमा गएर डकुमेन्ट मागेका छौं, कागजात आइसकेपछि अमिनको टोली खटाएर नाप्छौं । त्यसपछि महानगरको निर्णय अनुसार अघि बढ्छ ।’

पुराना नापीमा ८ धुर ४ कनवा जमिन भएका व्यक्तिको नयाँ नापीमा २४ धुर जमिन निस्केको बताउँदै उनले बाँकी जग्गा कहाँबाट आयो त ? भन्दा पोखरी कै हो भन्ने निष्कर्षमा पुगेको बताए ।

०२२ सालको नापीमा पोखरी ४ विघा १३ कठ्ठा क्षेत्रफलमा फैलिएको देखिएको छ । अतिक्रमण गरी निजी भवन, अस्पताल बनाउन थालेपछि पोखरी १८ कट्ठामा मात्रै सीमित बनेको छ । पोखरीको बचेको जग्गामा चिल्ड्रेन पार्क बनाइएको छ ।

पोखरीको वरपर नक्सा पास नगरी बनाइएका संरचना छिट्टै हटाइने मेयर राजेशमान सिंहले जानकारी दिए । ‘पोखरीको जमिनमा संरचना बनेको छ । नक्सा पास नभएको संरचना तोड्ने अधिकार महानगरलाई छ । पत्रकाटिसकेका छौं, कसैले नक्सा ल्याएर बुझाएका छैनन्,’ उनले भने, ‘पहिलो चरणमा नक्सा पास नभएको संरचनलाई हटाउँछौं ।’

४ बिगाहा १३ कठ्ठाको पाखरी १८ कठ्ठामा सीमित भएको बताउँदै उनले पुरानो नक्सा पनि निकालेर अध्ययन भइरहेको बताए । ‘पोखरीको जग्गामा केही व्यक्तिले लालपूर्जा समेत बनाइसकेका रहेछन् । त्यसले केही फरक पर्दैन, पुरानो नक्सा निकाल्न लगाएको छु’ मेयर सिंहले भने ।

 

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?