+
+

कपिलवस्तुका मतदाताको प्राथमिकता सिंचाइ, उम्मेदवारसँग छैन स्पष्ट खाका

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २२ गते ७:३०

२२ कात्तिक, कपिलवस्तु । चुनावी माहोल तताउँदै कपिलवस्तुमा उम्मेदवारहरु मत माग्दै घर दैलोमा पुग्ने गरेका छन् ।

निर्वाचन क्षेत्र नम्बर २ मा मत माग्दै आएका उम्मेदवारसँग स्थानीयले सिंचाइको प्रवन्ध गरिदिन माग गरेका छन् । उनीहरुले धन रोप्ने बेलामा भोग्दै आएको पानी र मल अभावको समस्या समाधान हुनु पर्ने माग राखेका छन् ।

‘धान रोप्ने बेला सिंचाइको लागि पानी हुँदैन, गहुँ लगाउने समयमा पनि समस्या छ । खोलाबाट पनि तान्न पम्पसेट छ । मोटर जडान गर्न बिजुलीको व्यवस्था छैन । महँगो इन्धनले गर्दा दैनिक एक हजारको हाराहारीमा खर्च आउँछ,’ कपिलवस्तु बुद्धभूमि नगरपालिका १० लोहरौलाका कृषक कृष्णमोहन भन्छन् ।

कृष्णमोहनले जस्तै समस्या सुनाउँछन् महाराजगञ्ज नगरपालिकाका धनीराम कोरी । ‘कपिलवस्तु जिल्ला कृषिको उर्बर भूमि समेत हो । यहाँका अधिकांश जनता कृषिमा निर्भर छन् । तीन तहको सरकारलाई समेत थाहा छ । कृषिमा सम्भावना भए पनि सिंचाइको समस्याले हरेक वर्ष कृषक समस्यामा परेका छन्,’ उनी भन्छन् ।

प्रमुख प्रतिस्पर्धी उम्मेदवारलाई पनि आफ्नो क्षेत्रको आवश्यकता सिंचाइ हो भन्ने थाहा छ । उनीहरुले पहिलो प्राथमिकता कृषिलाई दिने भन्दै सिंचाइको समस्या समाधान गर्ने प्रतिवद्धता गरेका छन् । कपिलवस्तु २ बाट प्रतिनिधि सभामा ३ पूर्वमन्त्रीसहित ११ जना चुनावी मैदानमा छन् । उनीहरुसँग सिंचाइ समस्या समाधान गर्ने ठोस योजना भने छैन ।

एमालेका उम्मेदवार इञ्जिनियर बृजेशकुमार गुप्ता पूर्वकानुन मन्त्रीसमेत हुन् । सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका प्रदेश महामन्त्री तथा पूर्व सिंचाइ राज्यमन्त्री सुरेन्द्रराज आचार्य उम्मेदवार छन् । लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार अधिवक्ता अकवाल अहमद शाह समेत पूर्व कृषि मन्त्री हुन् ।

एमाले उम्मेदवार गुप्ता आफ्नो क्षेत्रमा मात्र नभएर जिल्लाको प्रमुख समस्या नै सिंचाइ र मलखादको अभाव रहेको बताउँछन् । उनी भन्छन्, ‘कृषकको समस्या देशकै समस्या हो । यहाँको पनि यही समस्या देखिन्छ ।’

कपिलवस्तुको सिंचाइको समस्या दीर्घकालीन रुपमा समाधान गर्न नौमुरे आयोजना सञ्चालन गर्नुपर्ने उनी बताउँछन् । बुद्धभूमि ७ को मानपुर सेखुनिया ताल र वडा नम्बर १ गुडरुङ सिंचाइ आयोजनाबाट तत्कालका लागि समस्या समाधान हुने उनको भनाइ छ ।

मानपुर सेखुनिया ताल

तर सेखुनिया ताल अतिक्रमणको चपेटामा परेको छ । स्थानीय सरकार र समुदायले अपनत्व नलिँदा तालको पश्चिमतर्फको डिल भत्काएर घर निर्माण र खेतीपाति गरिएको छ । आधा भूभाग अतिक्रमण भएर बचेको तालमा बुद्धभूमि नगरपालिकाले माछा पालनको लागि ठेक्का दिएको छ ।

सेखुनिया तालको सिंचाइ आयोजनाको लागि बजेट परे पनि विवाद हुँदा योजना फ्रिज भएको छ  । गुप्ता आफ्नो पहलमा सिंचाइ आयोजनाको लागि २७ करोड रुपैयाँ बजेट आएको दाबी गर्छन्, कांग्रेस उम्मेदवार आचार्य पनि यो आयोजनाका लागि आफूले नै पहल गरेको दाबी गर्छन् । तर निर्माण समितिले चासो नदिँदा त्यो रकम फ्रिज भएको हो ।

सत्ता गठबन्धनका उम्मेदवार आचार्यले पूर्व मन्त्री समेत भएकाले आफूलाई सिंचाइ सम्बन्धी अनुभव भएको बताउँछन् । उनी समस्या समाधानको लागि गुडरुङ सिंचाइ आयोजना पूरा गर्ने र डिप वोरिङ हाल्ने बताउछन् ।

आचार्यकै घरछेउमा एक दशकअघि बाँधको काम पूरा भएको गुडरुङ सिंचाइ आयोजना नहरको काम नहुँदा पूरा हुन सकेको छैन । तीन महिना सिंचाइ राज्य मन्त्रीसमेत भएका आचार्यले आफ्नो गृह नगरमा बनेको तटबन्धको काम अगाडि बढाउन नसकेको आरोप समेत छ ।

सिंचाइ आयोजना निर्माण समितिका अध्यक्ष श्यामप्रसाद खनालले जनप्रतिनिधिले चासो नदिँदा नहरको काम हुन नसकेको बताउँछन् । काम गर्दागर्दै वनले रोकेपछि नाला खन्ने काम रोकिएको र पछि स्थानीय सरकारलाई पटक–पटक पहल गर्दा पनि चासो नदिएको खनालको आरोप छ । उनले चुनावको बेला मात्र बाँधको कुरा उठ्ने गरेको तर अरु बेला दलहरुले बाँधको कुरा सुन्नै नचाहेको बताउँछन् ।

गुडरुङ सिंचाइ आयोजनाको बाँध

युवा समाजसेवी गंगेशनाथ तिवारी कृषकलाई सिंचाइ र मल, पुल तथा सडकको पहुँच र शिक्षामा सुधारलाई उम्मेदवारहरुले जोड दिनु पर्ने बताउँछन् ।

योजनाविना युवा स्वरोजगारको सपना

आचार्य र गुप्ता दुबवको समान एजेण्डा युवा स्वरोजगार छ । दुवैले यसलाई दोस्रो महत्वपूर्ण संकल्पको रुपमा लिन्छन् । तर स्वरोजगारको लागि स्पष्ट खाका देखिँदैन ।

आचार्यले थप २ महत्वका योजनामा युवा रोजगारी र स्वास्थ्य सेवा सुधारलाई लिएका छन् । उनले युवाहरुलाई रोजगारी दिलाउनका लागि बाहिरी लगानीलाई प्रोत्साहन गरी उद्योग कलकारखाना खोल्ने  बताएका छन् ।

एमालेका उम्मेदवार गुप्ताले पनि युवा स्वरोजगारलाई महत्वपूर्ण एजेण्डा मान्दै आएका छन् । युवाहरुलाई सीपयुक्त तालिम, कृषिमा अवसर दिएर रोजगारी सिर्जना गर्ने उनी बताउँछन् । कपिलवस्तुका उद्योगमा सीपयुक्त जनशक्ति नहुँदा भारतीय प्राविधिकले काम पाएको भन्दै उनी स्थानीय युवाहरुलाई इलम सिक्न प्रोत्साहन गर्ने बताउँछन् ।

गुप्ताको प्राथमिकता नागरिकता, आचार्यको स्वास्थ्य

गुप्ता नागरिकताबाट बञ्चित हुँदा नागरिकले सास्ती खेपेको बताउँछन् । नागरिकता समस्या समाधानका लागि सरकारले ल्याएको नागरिकता विधेयक अघि बढाउन गुप्ताकै दल एमालेले नै असहयोग गरेको थियो । संसदबाट पारित भएको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरिनन्, जसलाई एमालेले समर्थन गरेको छ ।

यो प्रसंग बिर्सिएर एमाले उम्मेदवार गुप्ता आफूले नागरिकता विधयेक पास गरी नागरिकता विहीनलाई नागरिकताको दायरामा ल्याउने बताउने गरेका छन् । यसका अलावा उनी पूर्वाधार विकासतर्फ सडक र पुल निर्माण, भूमिको समस्या समाधान र खरको छानो मुक्त अभियानमा जोड दिने बताउँछन् ।

आचार्यले भने हरेक पालिकामा एक वटा आधारभूत तहको अस्पताल निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । स्थानीय जनताहरु सामान्य उपचारको लागि टाढा जानु पर्ने बाध्यता अन्त्य होस् भन्नका लागि अस्पताल निर्माणको लागि प्राथमिकता दिएको उनी बताउँछन् ।

सामाजिक अभियन्ता के भन्छन् ?

लामो समयदेखि मधेशको क्षेत्रमा पैरवी गर्दै आएका सामाजिक अभियन्ता रवीन्द्रनाथ ठाकुरले राजनैतिक दलहरुले चुनावी घोषणा पत्र तयार गर्दा जनता र विज्ञहरुको मत नलिँदा भौतिक पूर्वाधार विकासका सवाल मात्र घोषणा पत्रमा उल्लेख हुने गरेको बताउँछन् ।

शिक्षाको गुणस्तर नहुँदा हरेक क्षेत्रको विकासमा कपिलवस्तु पछि परेको तर यो मुद्दा उम्मेदवारको प्राथमिकतामा नपरेको ठाकुरले बताए । कपिलवस्तु र लुम्बिनी पर्यटकीय क्षेत्र रहे पनि राजनैतिक दलको घोषणा पत्रले पर्यटनलाई समेट्न नसकेको उनी बताउँछन् ।

स्थानीय तह निर्वाचनको मत

२०७४ को निर्वाचनमा गुप्ता र आचार्यबीच नै प्रतिस्पर्धा थियो । नेकपा माओवादी केन्द्रको साथ पाएर त्यतिबेला गुप्ता ३५ हजार १४७ मतसहित सांसद चुनिए ।

नेपाली कांग्रेसका आचार्यले ३१ हजार ५६६ मत प्राप्त गरेका थिए । अघिल्लो चुनावमा गुप्तालाई सघाएको माओवादीले यस पटक आचार्यलाई साथ दिएको छ ।

स्थानीय तह चुनावको मतपरिणाम हेर्दा कपिलवस्तु २ मा कांग्रेस पहिलो दल हो । कपिलवस्तु २ मा कांग्रेसका वडाध्यक्षले ३० हजार ९९८ मत पाएका थिए  । नेकपा एमालेले २७ हजार २९८ मत पाएको थियो ।

जनता समाजवादी पार्टीले ६९०८ र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले ६ हजार ३८६ मत पाएका थिए । माओवादीले भने ४ हजार ४५९ मत पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?