+
+

झपटलाई भीम रावलको विकल्प बन्ने चुनौती

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २३ गते १४:२८

नेकपा एमालेका नेता भीम रावलको अछाम-१ बाट प्रतिनिधिसभा सदस्यमा सर्वसम्मत सिफारिस भएका थिए । तर अध्यक्ष केपी शर्मा ओलीले उनलाई टिकट दिएनन्, बरु नेकपा माओवादी केन्द्रबाट प्रवेश गरेका झपट बोहरालाई उम्मेदवार बनाए ।

एमालेमा पनि बोहराको आवद्धता छोटो छ । र पनि, उनले भीम रावल जस्ता नेतालाई उछिनेर पार्टीको टिकट हत्याए । उम्मेदवारी मनोनयनकै दिन एमाले कार्यकर्ताबाट कालो झण्डाको सामना गर्नुपरेका बोहरालाई अछाममा आफू रावलको विकल्प भएको भनेर बुझाउने पहिलो चुनौती छ ।

२०२४ सालमा अछामको दर्ना गाउँमा जन्मिएका बोहरा राजनीतिमा आएको २०६३ पछि मात्र हो । तर, छोटो समयमै पद र चर्चा पाउने भाग्यमानी राजनीतिकर्मीमा पर्छन् उनी । बैंकिङ क्षेत्रबाट राजनीतिमा आएका बोहराका लागि यो चुनावमा जित निकाल्न निकै मिहिनेत गर्नुपर्ने देखिन्छ ।

माओवादी पार्टी सशस्त्र युद्ध छाडेर शान्ति प्रक्रियामा आउँदै गर्दा झपट बोहरा मालिका विकास बैंकको नेतृत्वमा थिए । त्यो जागिर छाडेर माओवादी बनेका उनी २०७४ मा अछाम–१ (ख)बाट प्रदेश सभामा निर्वाचित भए । सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला मन्त्री हुने अवसर पाए ।

एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित हुँदा एमालेमा गए । एमालेभित्र पनि उनले केपी शर्मा ओली रोजे । परिणाम, अछाम एमालेबाट सर्वसम्मत सिफारिस भएका भीम रावललाई पाखा पार्दै पार्टी अध्यक्ष ओलीले बोहरालाई टिकट थमाए ।

नेपाल बैंकर्स एशोसिएसनको अध्यक्ष रहिसकेका बोहरा एमाले–माओवादी केन्द्र गठबन्धनका कारण सहजै प्रदेश सभा सदस्य र प्रदेश मन्त्री बनेका थिए । प्रतिनिधिसभा निर्वाचनमा भने उनी विरुद्ध सत्ता गठबन्धन छ ।

सत्ता गठबन्धनले नेकपा (एकीकृत समाजवादी)का शेरबहादुर कुँवरलाई उठाएको छ । पहिलो संविधानसभामा अछाम–२ बाट निर्वाचित भएका थिए, कुँवर ।

यसअघिका अधिकांश चुनावमा एमालेले जित निकालेको क्षेत्र हो अछाम–१, जसलाई बोहोराले आफ्नो जितको मुख्य आधार मानेका छन् । ‘यहाँ एमाले निकै बलियो छ’ उनी भन्छन्, ‘जबकि, सत्ता गठबन्धनभित्र अनेक असन्तुष्टि छन् ।’

भीम रावलले टिकट नपाएको असर भने एमालेका मतदाता तहमा नपरेको बोहराको दाबी छ ।

गत वैशाखको स्थानीय चुनावमा वडाअध्यक्षहरूले दलगत रूपमा पाएको मतमा भने एमाले अगाडि छ । एमालेले १६ हजार ९९४, कांग्रेसले १६ हजार ७२८, माओवादी केन्द्रले ६ हजार ७९०, नेकपा (एकीकृत समाजवादी)ले २ हजार ७५२ र स्वतन्त्र उम्मेदवारले १ हजार २१६ मत पाएका छन् ।

स्थानीय चुनावमा एमाले गठबन्धनको तुलनामा केही कमजोर देखिए पनि संसदको चुनावमा यो अंकगणित फेरिने बोहरा बताउँछन् । प्रदेश मन्त्रीको रूपमा आफूले गरेको काम र सत्ता गठबन्धनभित्रको असन्तुष्टिले त्यस्तो फेरबदल ल्याउने उनको दाबी छ ।

अछाम–१ मा कांग्रेसका राजन कुँवरले बागी उम्मेदवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?