+
+
उम्मेदवार प्रोफाइल :

सीताराम मेहता : ‘जनताका नेता’लाई साख जोगाउने चुनौती

नवराज विष्ट नवराज विष्ट
२०७९ कात्तिक २४ गते ११:५३

२०४९ सालको स्थानीय निर्वाचन हुँदै संसदीय राजनीतिमा आएका सीताराम मेहताले ‘जनताका नेता’ को छवि बनाएका थिए । पहिले उनलाई मतदाताले नै खर्च जुटाएर चुनावमा उठाउँथे अनि जिताउँथे पनि । नारा नै बनेको थियो– ‘जनताका नेता, सीताराम मेहता ।’

उनले २०७४ सम्मको निर्वाचन अभियान यसरी नै चलाए । उनी २०७० को दोस्रो संविधानसभा निर्वाचनमा सुनसरी–४ र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सुनसरी–२ बाट विजयी भए । २०७३ सालमा यातायात राज्यमन्त्री पनि भए ।

आफूले जिताएको नेतासँग मतदाताका केही अपेक्षा हुने नै भए । सबै मतदाता आफ्नो अपेक्षाले महत्व पाएको हेर्न चाहन्छन् । यसमा भने ‘आफ्नो पृष्ठभूमि बिर्सिएको’ आरोप मेहतालाई छ ।

मेहताले लगाएको कृषि क्रान्तिको नारा व्यवहारमा लागू भएन । अघिल्ला निर्वाचनमा चुनावी नारा बनेको कौवाखोंच–रामधुनी सडकको स्तरोन्नति हुनसकेन ।

यसपटक पनि मेहता सुनसरी–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । नेपाली कांग्रेसका उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।

यसपटक निर्वाचित भए पहिला थालेर अधुरो रहेका कामहरु पूरा गर्ने मेहताले बताएका छन् । अब इनरुवा–कौवाखोंच, इनरुवा–सत्तेरझोडा–विराटनगर र देवानगञ्ज–विराटनगर सडक बनाउने उनको दाबी छ ।

२०१० सालमा सुनसरीको इनरुवामा जन्मिएका मेहता १८ वर्षको हुँदा राजनीतिमा प्रवेश गरे । उनी २०२८ सालदेखि नेपाल विद्यार्थी संघमा सक्रिय भए । उनी २०३१ मा नेविसंघको सुनसरी जिल्ला सभापति र २०३५ सालमा नेपाली कांग्रेस सुनसरी जिल्ला सदस्य भए ।

२०५६ सालमा पार्टी विभाजन हुँदा शेरबहादुर देउवा नेतृत्वको कांग्रेस (प्रजातान्त्रिक)मा लागेका मेहता सुनसरी सभापति र पार्टी एकतापछि जिल्ला सह–सभापति भए ।

इनरुवा नगरपालिकाका स्थायी बासिन्दा मेहताले चुनावी अनुभव भने २०४९ सालको स्थानीय निकाय निर्वाचनबाट गर्न पाए । त्यो बेला इनरुवा नगरपालिकाको उपमेयर निर्वाचित उनी २०५४ सालमा पराजित भए ।

मेहताले २०७४ को चुनावमा वाम गठबन्धनका उम्मेदवार डम्मरु सुवेदी (हिमाल) लाई ६ हजार १४६ मतले पराजित गरेका थिए । त्यो बेला मेहताले ४१ हजार ४९५ र सुवेदीले ३५ हजार ३४९ भोट पाएका थिए ।

अहिलेको चुनावी अंकगणित

गत स्थानीय चुनावमा सुनसरी–२ मा वडाअध्यक्षहरूले पाएको दलगत मतमा नेकपा (एमाले) अगाडि छ । एमालेले ५० हजार ५२९ र नेपाली कांग्रेसले ४९ हजार ४७८ मत पाएका छन् ।

त्यस्तै, विभाजित भइसकेको जनता समाजवादी पार्टी (जसपा)ले ८ हजार २१२, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ५ हजार ७०५, नेकपा (माओवादी केन्द्र)ले ४ हजार ४०१ र नेकपा (एकीकृत समाजवादी)ले २ हजार ५६३ मत पाएका छन् ।

वडाअध्यक्षका स्वतन्त्र उम्मेदवारहरुले पाएको मत ४ हजार ५३९ छ ।

२०७४ मा एमाले–माओवादी केन्द्रका साझा उम्मेदवार डम्मरु सुवेदीलाई ६ हजार भन्दा बढी मत अन्तरले हराएका सीताराम मेहता यसपटक सत्ता गठबन्धनका उम्मेदवार छन् । उनी विरुद्ध संघीय मन्त्री र मुख्यमन्त्री भइसकेका एमालेका अनुभवी नेता भीम आचार्य चुनावी मैदानमा छन् ।

स्थानीय चुनावको अंकगणित हेर्दा मेहताका लागि गठबन्धनको आशालाग्दो देखिए पनि जसपाले पाएको मत तान्न आचार्यले तालमेल गरेका छन् ।

दुवै उम्मेदवार एकअर्काको भोट काट्ने र नयाँ तान्ने रणनीति कार्यान्वयनमा छन् । यीमध्ये को सिकन्दर बन्न सक्लान्, अहिल्यै अनुमान लगाउन कठिन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?