+
+

रौतहट-३ मा प्रभुविरुद्ध बन्ला त महागठबन्धन ?

माओवादीको उम्मेदवारी कायमै रहने र एमाले, जसपा र कांग्रेसले स्वतन्त्र उम्मेदवार जयसवाललाई समर्थन गर्ने हो भने रौतहट–३ मा महागठबन्धन बन्ने छ, जुन स्वतन्त्र उम्मेदवार प्रभुका लागि अनेपक्षित हुनसक्छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २५ गते २१:०१

२५ कात्तिक, रौतहट । नेकपा एमाले र जनता समाजवादी पार्टीको गठबन्धनबाट उम्मेदवारी नै पर्न दिएनन्, सत्ता गठबन्धनको उम्मेदवारी निस्क्रिय बनाएर समर्थन जुटाए ।

दुई गठबन्धनलाई ‘उम्मेदवारबिहीन’ बनाएपछि रौतहट क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साह सबभन्दा सुरक्षित हुनुपर्ने हो । तर यो क्षेत्रमा चुनावी प्रतिस्पर्धा उनले चाहे जस्तो सहज नहुनसक्ने देखिएको छ ।

सत्तारुढ गठबन्धनको एउटा खेमाले स्वतन्त्र उम्मेदवारलाई बोकेर हिँडेको छ भने अर्को खेमाको आफ्नै उम्मेदवार कायमै रहेको बताएको छ । एमाले र जसपा भने प्रभुलाई हराउनसक्ने उम्मेदवारको खोजीमा जुटेका छन् ।

नेकपा विभाजन हुँदा ओलीतिर लागेका प्रभु एमालेका मधेश प्रदेश सह–इञ्चार्ज समेत थिए । लगातार चुनाव जित्दै आएका उनलाई एमालेले रौतहट ३ को टिकट पनि दियो । तर मधेसको नेता बन्ने महत्वकांक्षा पालेका प्रभुले आफू निकट नेताहरुको पनि व्यवस्थापन खोजे ।

त्यो सम्भव नभएपछि एमालेबाट टिकट लिएर स्वतन्त्र उम्मेदवारी दर्ता गराए । यससँगै रौतहट–३ मा एमाले र जसपा उम्मेदवारविहीन भएका छन् ।

साह, आफ्नो पूर्व पार्टी माओवादीका नेताहरुसँग निरन्तर सम्पर्कमा थिए । माओवादी नेताहरुले उनलाई आफ्नै दलको चुनाव चिह्नबाट उम्मेदवार बनाउन चाहेका थिए । सहमति नजुटेपछि अन्तिम समयमा धिरज पटेललाई उम्मेदवार बनायो । तर उम्मेदवारी फिर्ताको समय सकिसकेपछि प्रभु र माओवादीबीच सहमति जुट्यो, पटेलको निस्क्रिय बनाएर समर्थन गर्ने ।

माओवादीले पाएको सिट भएकाले सत्ता गठबन्धनका शीर्ष नेताहरुले पनि सहजै सहमति जनाए । यहाँसम्म रौतहट–३ को चुनावलाई प्रभुले आफ्नो रोडम्यापमा हिँडाएको देखिन्छ । तर अहिले परिस्थिति फेरिएको छ ।

माओवादीको निर्णयअनुसार धिरज पटेल आफ्नो उम्मेदवारी निस्क्रिय बनाउन सहमत भएनन् । पार्टीले कारबाही गरेर साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरे पनि उनी माओवादीको चुनाव चिह्न बोकेर मत माग्दै घरदैलो गरिरहेका छन् । केन्द्रले कारबाही माओवादीका स्थानीय नेता कार्यकर्ताको पनि साथ पाएका छन् ।

मतपत्रमा माओवादीको चुनाव चिह्न कायमै छ । पार्टीले जुनसुकै कारबाही गरे पनि अब आफू फिर्ता नहुने पटेल बताउँछन् । ‘कुनै बेला प्रचण्डमुक्त देश बनाउनुपर्छ भन्ने प्रभु साह अहिले फेरि माओवादीका नेताको खुट्टा ढोग्दै हिँडन थालेका छन्,’ उनी भन्छन्, ‘केपी ओलीले नातागोता र भनेका मान्छेहरुलाई टिकट नदिएपछि उनले षडयन्त्र गरेका हुन् ।’

सत्ता गठबन्धनको दुई घटक कांग्रेस र एकीकृत समाजवादीका नेताहरु भने स्वतन्त्र उम्मेदवार ओमप्रकाश जयसवालसँग मिलेका छन् ।

सत्ता गठबन्धनबाट यो क्षेत्रमा प्रदेशसभातर्फ १ मा एकीकृतका नागेन्द्र यादव र २ मा कांग्रेसका जितेन्द्र यादव छन् । दुबै उम्मेदवार घरदैलो तथा सभाहरुमा स्वतन्त्र उम्मेदवार ओमप्रकाशसँगै देखिने गरेका छन् । कांग्रेस जिल्ला सभापति समेत रहेका जितेन्द्र सत्ता गठबन्धनले केन्द्रबाट जे निर्णय गरेको भए पनि प्रभुलाई मत नदिने बताउँछन् ।

स्वतन्त्र उम्मेदवार साह पनि सत्ता गठबन्धनको समर्थन फिल्डमा नपाएकोे स्वीकार गर्छन् । ‘मलाई आफैं अनौठो लागेको छ । क्षेत्रमा कहीँकतै गठबन्धनले सघाएको छैन’ प्रभुले आनलाइनखबरसँग भने, ‘एमालेले कांग्रेसका लागि भोट मागेको छ, कांग्रेसले स्वतन्त्रका लागि भोट मागेको छ । बिडम्बना पूर्ण अवस्था छ ।’ माओवादीले आफ्ना उम्मेदवारलाई कारबाही गर्नु सकारात्मक भएको बताएका उनले कांग्रेस र एकीकृत समाजवादीका अध्यक्षविरुद्ध सम्बन्धित पार्टीले कदम चाल्नुपर्ने माग गरे ।

प्रभुविरुद्ध बन्ला महागठबन्धन ?

सत्ता गठबन्धनमा आबद्ध दलहरुले वक्तव्य नै निकालेर आफूहरुको समर्थन प्रभुलाई भएको बताए पनि रौतहट ३ मा त्यसको प्रभाव देखिएको छैन ।

बरु प्रभुविरुद्ध एकजुट हुने दाबी गर्न थालेका छन् । आफूले दिएको टिकट फालेर स्वतन्त्र उम्मेदवारी लिएको एमाले कुनै हालतमा समर्थन गर्ने पक्षमा छैन । प्रभुलाई हराउनसक्ने उम्मेदवारको खोजीमा छ ।

कांग्रेस र एकीकृत समाजवादीले समर्थन गरेका स्वतन्त्र उम्मेदवार ओमप्रकाश जयसवाललाई समर्थन गर्ने सम्भावना छ । ‘अहिलेसम्म हेर्दा स्वतन्त्र उम्मेदवार ओमप्रकाश जयसवाल बलियो देखिएका छन् । त्यसैले हाम्रो समर्थन उनैलाई रहनसक्छ,’ एमालेका एक जिल्लास्तरीय एक नेताले भने ।

माओवादीको उम्मेदवारी कायमै रहने र एमाले, जसपा र कांग्रेसले स्वतन्त्र उम्मेदवार जयसवाललाई समर्थन गर्ने हो भने रौतहट–३ मा महागठबन्धन बन्ने छ, जुन स्वतन्त्र उम्मेदवार प्रभुका लागि अनेपक्षित हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?