+
+
वार्ता :

‘सबैको सहयोग पाएको छु, चुनाव जित्नेमा आशावादी छु’

यसको भूगोल १० वटा कोर सिटीमा पर्छ । त्यसको अलावा इच्छाकामना पालिका छ । त्यसैगरी, कालिका नगरपालिकामा चेपाङ बस्ती छन् । मलाई सबै साथी, कांग्रेसका साथीहरूले सहयोग गर्नुभएको छ । त्यसकारण म जित्नेमा आशावादी छु ।

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २५ गते १९:५२

२५ कात्तिक, काठमाडौं । दुई पटक समानुपातिक सांसद भइसकेका उमेश श्रेष्ठ यो पटक प्रत्यक्ष चुनाव लडिरहेका छन् । चितवन–१ बाट चुनाव लड्न चाहेका उनलाई कांग्रेसले चितवन–२ मा टिकट दियो, यहाँ लगातार दुई पटक चुनाव जितेका नेकपा एमालेका कृष्णभक्त पोखरेल र सञ्चारकर्म छाडेर राजनीतिमा होमिएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने उम्मेदवार छन् । तीनै जना उम्मेदवार आफ्नो पक्षमा जनमत बनाउन लागिपरेका छन् ।

प्रस्तुत छ, कांग्रेस उम्मेदवार श्रेष्ठसँग अनलाइनखबरले गरेको कुराकानीको सम्पादित अंश :

तपाईंको माहोल कस्तो चलिरहेको छ ?

माहोल एकदमै उत्साहको पाइरहेको छु । धेरै जनताले समर्थन गरिरहेका छन् । सुरुमा तपाईं यो क्षेत्रबाट लड्न नपरे जस्तो मानसिकतामा हुनुहुन्थ्यो, तर तपाईंलाई यो क्षेत्र पर्‍यो नि !

मेरो घर पनि १ नम्बर क्षेत्रमा छ । मेरो नाम क्षेत्र नम्बर १ र २ दुवैबाट सिफारिस भएर गएको थियो । तर गठबन्धनको छलफलबाट मलाई क्षेत्र नम्बर २ पर्‍यो, यसमा मलाई कुनै दुःख छैन । यही ठाउँमा विगत ३२ वर्षदेखि हेरिरहेकाले सहज रूपमा ठानेको छु ।

यहाँका स्थानीय समस्या के-के रहेछन् ?

म धेरै परिचित नै छु । मेरो घर कतै पनि नहुँदा पहिला नै मैले यहीं बनाएको थिएँ । यहाँका व्यक्ति बाहिरबाट आएका छन् । उनीहरू शिक्षित र चासो राख्ने खालका धेरै हुनुहुन्छ । यहाँ मुख्य समस्या रोजगार हो । यहाँ ठूलो आर्थिक हब हुनसक्ने सम्भावना छ ।

शिक्षा र स्वास्थ्यको पनि हब हुनसक्छ । यो असाध्यै सुविधायुक्त ठाउँ हो । किनभने सबै ठाउँमा बाटो, पानी पुगेको छ । यहाँ कृषिलाई व्यवसायीकरण गर्ने, देशको पर्यटन क्षेत्रको राम्रो ठाउँ भएकाले आर्थिक क्षेत्रको सम्भावना भएको ठाउँ देख्छु ।

यहाँ पूर्वाधार छ । योजनाबद्ध रूपमा यसलाई केको हब बनाउने ? नारायणीको तीर, पर्यटनको क्षेत्रमा लैजाने लगायत कुराहरू सोचेर अगाडि बढ्न जरूरी छ ।

तपाईंको मुख्य प्रतिस्पर्धा को-सँग होला ? विगतमा निर्वाचन जितेर जानुभएको कृष्णभक्त पोखरेललाई नेकपा एमालेले उम्मेदवार बनाएको छ । नयाँ उम्मेदवार रवि लामिछानेको पनि प्रवेश भएको छ । बाहिर हेर्नेहरूले त्रि–पक्षीय प्रतिस्पर्धा हुन्छ भनेका छन् । तपाईं आफैंले चाहिं यसलाई कसरी विश्लेषण गर्नुभएको छ ?

म काम गरेर आएको व्यक्ति भएकाले जनताले विश्वास गरेका छन् । जीवनमा मैले हारेको पनि छैन । धेरै ठाउँमा जितेको छु । काम गर्नका लागि प्रतिबद्धता लिएर आउने हो । लोकतान्त्रिक भएको हुनाले राज्यसत्तामा गएर समृद्धिको लागि काम गर्नुपर्छ ।

हामीले संविधान बनायौं, लोकतन्त्र, गणतन्त्र ल्यायौं, तर, नागरिकमा नैराश्यता भनेको जागिर नपाउने, आर्थिक गतिविधि नहुने, देशमा गरिबीको समस्या धेरै भएको हुँदा यस्ता विषयलाई चिरेर जानुपर्छ भन्ने खालका कुराहरू मेरो पहिलो प्राथमिकतामा छन् ।

तपाईंले मुख्य प्रतिस्पर्धी कसलाई ठान्नुभएको छ ?

अहिले तीन जना साथीहरू नै हुनुहुन्छ । प्रतिस्पर्धाको हिसाबले यो माथि, यो तल भनेर हिसाब पनि गरेको छैन । तर मलाई के आशा छ भने कृष्णभक्तजीले दुई पटक जितिसक्नुभएको छ ।

उहाँ विगत १० वर्षदेखि यहाँ हुनुहुन्छ । उहाँले के गर्नुभयो भनेर मैले भनिरहनुपर्दैन, नागरिकलाई थाहै छ । रविजी नयाँ हुनुहुन्छ । उहाँलाई ल्याउँदा फाइदा छ कि मलाई ल्याउँदा फाइदा हुन्छ स्थानीयले भन्ने कुरा हो ।

मेरो परिचय पनि पेश गरेको छु । म काम गरेर आएको मानिस भएकाले सब छोडेर जनताको सेवा गर्ने, देशको लागि समृद्धि लैजाने, रोजगारको वातावरण, महिलालाई सीपयुक्त विकास गर्ने र केही न केही नीति परिवर्तन गरेर पब्लिक–प्राइभेट पार्टनरसिपको मोडलबाट लैजाने बाटो देखेको छु ।

त्यसका लागि लगानीको वातावरण बनाउने, अन्तर्राष्ट्रियदेखि राष्ट्रिय लगानीकर्तालाई अवसर नदिई देश समृद्ध हुन सक्दैन । यस्ता कुराको लागि सशक्त वातावरण बनाउने सोच बनाएको छु ।

तपाईंका लागि कांग्रेसभित्रको समीकरण कति अनुकूल, कति प्रतिकूल छ ? कतिपय पार्टीभित्र तपाईंसँग फरक मत राख्ने बाहुल्य भएको जिल्ला चितवन हो । यसलाई कसरी हेर्नुभएको छ ?

पार्टीमा फरक मत राख्ने पक्कै पनि हुन्छन् । तर, मैले के सोचेको छु भने आठ–दश दिन यस्तो ढिक्का भएका छौं कि प्रतिस्पर्धी, पुराना–नयाँ साथीले म न्युट्रल किसिमको नाताले उहाँहरूले एकदमै सहयोग गर्नुभएको छ । यहाँ २८ वटा वडा पर्छन् ।

यसको भूगोल १० वटा कोर सिटीमा पर्छ । त्यसको अलावा इच्छाकामना पालिका छ । त्यसैगरी, कालिका नगरपालिकामा चेपाङ बस्ती छन् । मलाई सबै साथी, कांग्रेसका साथीहरूले सहयोग गर्नुभएको छ । त्यसकारण म जित्नेमा आशावादी छु ।

मेरो जित निश्चित छ । मैले मुख्य सम्बोधन गर्ने विषय गरिबी, शिक्षा, बेरोजगार, उद्योग, व्यवसाय हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?