+

विश्वकप १९६६ : अफ्रिकाको बहिष्कार, पेलेको चोट र इंग्ल्याण्ड च्याम्पियन

२०७९ कात्तिक  २९ गते ५:५७ २०७९ कात्तिक २९ गते ५:५७
विश्वकप १९६६ : अफ्रिकाको बहिष्कार, पेलेको चोट र इंग्ल्याण्ड च्याम्पियन

२९ कात्तिक, काठमाडौं । सन् १९३० मा विश्वकप सुरु भएको ३६ वर्षपछि फुटबल सुरु भएको देश बेलायतले पहिलोपल्ट आयोजनाको अधिकार पाएको थियो । इंग्ल्याण्डले विश्वकप आयोजना अधिकार पाउँदा विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता ८ वर्षपछि युरोप फर्किएको थियो ।

यही प्रतियोगितादेखि डोपिङ परीक्षण सुरु गरिएको थियो । बेलायतका सात शहरका ८ रंगशालामा विश्वकपका खेल सञ्चालन गरिएका थिए ।

करिव १ लाख दर्शक क्षमताको वेम्बली रंगशालाले सबैभन्दा धेरै खेलको आतिथ्य गरेको थियो । जहाँ फाइनलसहित इंग्ल्याण्डका सबै खेल खेलाइएको थियो ।

मुख्य ड्रमा आफ्नो निश्चित कोटा माग गरे पनि उपलब्ध नभएपछि अफ्रिकी देशले यो विश्वकप बहिस्कार गरेका थिए ।

प्रतियोगितामा सहभागी १६ मध्ये १० टिम युरोपका थिए । उत्तर अमेरिकाबाट मेक्सिको र एसियाबाट उत्तर कोरियाले प्रतिनिधित्व गरेका थिए । दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल, उरुग्वे र चिली थिए ।

आयोजक इंग्ल्याण्डले उरुग्वेसँगको निराशाजनक बराबरीका साथ विश्वकपको सुरुवात गरेको थियो । तर, दुवै टिमले नकआउट चरणमा स्थान बनाएका थिए । अन्य युरोपेली टिम र अर्जेन्टिना पनि नकआउट चरणमा पुगेको थियो । उत्तर कोरियाले इटलीलाई हराएर क्वाटरफाइनलमा पुग्दै सम्पूर्ण विश्वलाई चकित पारिदिएको थियो ।

पोर्चुगल आफ्नो हाइ स्कोरिङ नतिजाका कारण उपाधिको मुख्य दावेदारका रुपमा देखिएको थियो । उसका स्ट्राइकर उसेवियोले विश्वकपमा सर्बाधिक ९ गोल गरेका थिए । उनकै प्रभावशाली प्रदर्शनले पोर्चुगल सेमिफाइनलसम्म पुग्यो । तर, इंग्ल्याण्डसँग पराजित भयो ।

खचाखच भरिएको वेम्बली रंगशालामा पश्चिम जर्मनी र इंग्ल्याण्डबीचको फाइनल खेल ऐतिहासिक सावित भयो । इंग्ल्याण्डले पहिलोपल्ट विश्वकप उपाधि उचाल्नै लागेका बेला जर्मनीले अन्तिम मिनेटमा बराबरी गोल फर्कायो ।

जियोफ हर्स्टको गोलबाट इंग्ल्याण्डले खेलमा अग्रता बनाएको थियो । त्यो गोल विश्वकप फाइनलको सबैभन्दा विवादास्पद गोल हो । उनको प्रहार क्रसबारमा लागेर गोललाइनमा झरेको थियो । रेफ्रीले इंग्ल्याण्डलाई गोलको मान्यता दिएर दशकौंसम्म चल्ने विवादको सुरुवात गरिदिए ।

हर्स्टले ह्याट्रिक पूरा गरे । विश्वकप फाइनलमा ह्याट्रिक पूरा गर्ने उनी अहिलेसम्मकै एकमात्र फुटबलर हुन् । अतिरिक्त समय सकिएसँगै सम्पूर्ण दर्शक वेम्बलीको मैदानमा ओर्लिएका थिए ।

यो विश्वकप पहिलोपल्ट सेटलाइटबाट प्रत्यक्ष प्रशारण गरिएको थियो । विश्वकपमा पहिलोपल्ट फ्लडलाइटको प्रयोग गरी डे/नाइट खेल खेलाइएको थियो ।

उसेवियोले ह्याट्रिकसहित ९ गोल गरेर गोल्डेन बुट जिते । उनले आफ्नो टिम पोर्चुगललाई पहिलोपल्ट सेमिफाइनलसम्म पुर्‍याए ।

विश्वकपको ट्रफी प्रतियोगिता सुरु हुनुभन्दा चार महिनाअघि चोरी भएको थियो । ट्रफीलाई एउटा बगैँचामा फालिएको अवस्थामा पिकल नामक कुकुरले फेला पारेको थियो ।

आफ्नो उपस्थितिको निश्चित कोटा नभएका कारण अफ्रिकाले बहिस्कार गरेपछि यो विश्वकप चर्चामा थियो । महान खेलाडी पेले समूह चरणको खेलमै चोटग्रस्त बनेपछि लगातार दुईपल्टको साविक विजेता ब्राजिल क्वाटरफाइनलमै पुग्न सकेन । इटली पनि लगातार दुई खेलमा पराजित भएपछि सुरुमै बाहिरियो । उसलाई उत्तर कोरियाले पनि हराएको थियो ।

तथ्यांकमा विश्वकप १९६६

आयोजकः इंग्ल्याण्ड
टिमः १६
फर्म्याटः समूह चरण, नकआउट
खेलः ३२
गोलः ८९
विजेताः इंग्ल्याण्ड
उपविजेताः पश्चिम जर्मनी
गोल्डेन बुटः उसेवियो (पोर्चुगल)

फिफा विश्वकप विश्वकप इतिहास विश्वकप १९६६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय