२९ कात्तिक, काठमाडौं । मुख्य राजनीतिक दलहरुबाट काठमाडौं–१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह र नेकपा एमालेका किरण पौडेल चुनावी प्रतिस्पर्धामा छन् ।
२०७४ मा कांग्रेसका सिंहले चुनाव जित्दा निकटतम प्रतिद्वन्द्वी रवीन्द्र मिश्र थिए । त्यसबेला विवेकशील साझा पार्टीबाट उम्मेदवार रहेका मिश्र यसपटक राप्रपाबाट उठेका छन् ।
यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमको उम्मेदवारीलाई पनि चासोका साथ हेरिएको छ । तर एमाले उम्मेदवार पौडेल भने आफ्नो प्रतिस्पर्धी कांग्रेसका सिंह नै भएको दावी गर्छन् ।
राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष पौडेलको तर्क छ, ‘स्वतन्त्र वा साना दलबाट यो चुनाव जितेर जनताको काम प्रभावकारी हुन सक्दैन ।’ तर लगातार तीन पटक जिताएका प्रकाशमान सिंहले अहिलेसम्म यो क्षेत्रको जनताबारे संसदमा एक शब्द नबोलेकाले यसपटक आफूले जित्ने उनी बताउँछन् ।
पौडेल भन्छन्, ‘बालेनजीले चाहेर पनि गर्न नसक्ने कामहरुको नीतिगत समस्यालाई म संसदमा लैजान्छु । त्यसलाई निर्णायक तहमा पुर्याउन मसँग मुलुककै ठूलो दल हुनेछ ।’ प्रस्तुत छ, पौडेलले प्रस्तुत गरेको तर्क र दावीका सम्पादित अंशः
हामी राजनीतिक रुपमा सक्रिय भइरहँदा ‘पोलिटिक्स इज डर्टी गेम’ भन्ने युवा साथीहरु अहिले जनतासँग मत माग्दै हुुनुहुन्छ । यो स्वागतयोग्य कुरा हो । किनकि मुलुकलाई डोर्याउने भनेको राजनीति र संसदीय प्रणालीले हो ।
तर मैदानमा जति युवा साथीहरु हुनुहुन्छ, उहाँहरु भन्दा म अलिक बढी सहज अनुभव गरेको छु । किनकि युवाहरु र जनताको मुद्दा उठाउन म एक्लै हुने छैन । मुलुकको सबैभन्दा ठूलो दल र त्यससँग जोडिएका सांसदहरुलाई सँगै उभ्याउन सक्छु ।
अब हामीलाई चित्त नबुझे पनि मुलुकको नेतृत्व गर्ने दलले नै हो , सुधार्नुपर्ने दललाई हो । दलभित्र केही गल्ती कमजोरी छन् भने हाम्रो पुस्ताले सच्याउने हो । दल सच्याएरै हाम्रो अपेक्षा सम्बोधन गर्न सक्छौं ।
तर हरेक व्यक्तिलाई उम्मेदवार हुन मन लाग्यो, नयाँ दल खोल्ने, सांसद हुन मन लाग्यो अर्को पार्टी खोल्ने । कुनै व्यक्तिलाई अवकाशपछि फेरि ओहोदाको आकांक्षा भयो, उसले पनि नयाँ पार्टी खोल्ने, यो राम्रो होइन । धेरै कार्यकर्ता हुनुहुँदैन भनेर हिँड्नुहुन्छ, अनि पार्टी खोल्न उहाँहरु नै अग्रसर हुनु राम्रो भएन ।
त्यसैले मेरो प्रतिवद्धतामा भनेको छु, मेरो अग्रज पुस्ताबाट भएको गल्ती र कमी कमजोरी दोहोर्याउने छैन । स्थानीय प्राथमिकताको पहिलो बुँदामा लेखेको छु, विधि पुर्याउन घरदैलोमा अहिले हिँडिरहनु अलग कुरा हो । तर वास्तविक घरदैलो चाहिँ निर्वाचन पछाडि हुन्छ, सांसद भएपछि हुन्छ ।
निर्वाचन जितेपछि प्रत्येक दिन बिहान दुई घण्टा घरदैलो गर्छौं । दुई घण्टा भन्दा बाहिर पनि जनताको चासो र सरोकारका विषयमा हुन्छौं । तर परिभाषित रुपमा दिनको दुई घण्टा जनताकै टोलमा, जनताकै बस्तीमा हुन्छौं । उहाँहरुको समस्या सुन्ने, गुनासो सुन्ने, उहाँहरुको सरोकारको विषय सुन्ने गर्छौं ।
संसदमा कुरा उठाइरहँदा पार्टीले अवरोध गर्ला भन्ने प्रश्न उठ्न सक्ला । त्यो पनि हुँदैन । किनकि एजेण्डा मनासिव हुन्छन्, हरेक जनताको मुहारमा खुशी दिने ढंगले एजेण्डा प्रस्तुत हुन्छ ।
मुख्यगरी संसदबाट नीतिगत वकालत गर्ने हो । कानून बनाउने र नीति बनाउने हो । स्थानीय र प्रदेश सरकारलाई सहजीकरण गर्ने हो । अहिले स्थानीय सरकारले चाहदा पनि धेरै काम गर्न नसकिरहेको स्थिति छ । उहाँहरुलाई सहजीकरण गर्ने हो । जस्तो– हाम्रै घर अगाडिको विजुलीको पोल सार्न महानगरले चाहेर पनि सक्दैन । किनकि कानुन बाधक छ ।
यहाँको अरु एजेण्डा मैले राम्रो गरी बुझेको छु । प्रत्येक घरमा युवाहरु घट्दो छ, जेष्ठ नागरिक घरमा भेट्छौं । छोराछोरी, बुहारीदेखि नातिसम्म विदेश गएका छन् । कुनैबेला आकस्मिक समस्या आइलाग्यो अस्पताल पुर्याउने मान्छे छैन । त्यसलाई हल गर्ने कार्यक्रम ल्याउन पनि सदनमै लड्नुपर्नेछ । त्यस्तो कानुन पारित गराउनुपर्नेछ ।
अशक्त नागरिक, गर्भवती र बालबालिकाको उपचार गराउन अहिले भएका स्वास्थ्य चौकी नाम मात्रैको छ । ती स्वास्थ्य संस्थाहरुलाई चुस्त, आकर्षक र सुविधा सम्पन्न बनाउनुपर्नेछ ।
अहिले मेरो चुनावी क्याम्पेनमा मेरो पार्टीका साथीहरु मात्रै हुनुहुन्न । फरक राजनीतिक दलमा आस्था राख्ने साथीहरु पनि हुनुहुन्छ । स्वतन्त्र युवाहरु पनि हुनुहुन्छ ।
किनकि युवाहरुले यो निर्वाचन र स्थानीय निर्वाचनको फरक बुझ्नुभएको छ । स्थानीय चुनावमा कुनै व्यक्ति जितेर गएपछि पाँच वर्षका निम्ति सर्वेसर्वा हो । तर यो निर्वाचन सर्वेसर्वा बनाउन पठाउने होइन । आफ्नो आवाज उठाउन पठाउने हो । र त्यो आवाजलाई सार्थक परिणाममा पुर्याउने हो ।
समाजले खोजी रहेको त युवा हो । तर समाज बुझेको, हरेक घरभित्रको समस्या बुझेको, संघर्षको भूमरीबाट खारिएर आएको युवा खोजिरहेको छ । सही गन्तव्य बोकेको युवाको खोजी भइरहेको छ । कहिल्यै विचलित नहुने युवाको खोजी भइरहेको छ ।
त्यस्तो युवा होइन कि आज एउटा निर्वाचन हार्यो भने पार्टी परित्याग गरेर अर्को पार्टीबाट टिकट लिने । अर्कोपटक पनि पराजित हुँदा राजनीति नै छोडिदिने । र, अर्कोपटक चुनाव हार्दा देशको काम छैन भनेर युरोप र अमेरिका जाने खालको युवा खोजी भएको होइन ।
यो क्षेत्र भनेको कुनै पार्टीको सिद्धान्त हेरेर होइन, व्यक्तिको विगत, वर्तमान र भविष्य हेरेर मतदान गर्ने ठाउँ हो । मदन भण्डारीले यही ठाउँबाट जित्नुभएको हो । यो क्षेत्रले प्रकाशमान सिंहलाई तीन पटक जिताइसकेको छ ।
यो क्षेत्रमा खानेपानी, डुवान, ढलको समस्या छ । भित्री गल्लीको दुरावस्था छ । सार्वजनिक सुरक्षा अझै मजबुत र शान्त छैन । जीवन्त शहरको रुपमा विकास गर्न सकिएको छैन । यसबारे म सचेत छु, समाधान गर्न प्रतिबद्ध छु ।
प्रकाशमान सिंहले लगातार यो क्षेत्रको जनप्रतिनिधि भएर १५ वर्ष बिताउँदा एक शब्द पनि सदनमा उठाउनुभएन । कुनै मिडिया र सदनको रेकर्ड हेर्दा पनि उहाँले आवाज उठाएको सुनिएन ।
अब पाँच वर्ष जाँदा २० वर्ष पुग्छ, एउटा व्यक्तिको जिन्दगीको महत्वपूर्ण समय त्यत्तिकै जान्छ । त्यसैले उहाँको विकल्प यो क्षेत्रले खोजेको छ ।
त्यो विकल्प भनेको नयाँ अनुहार आउने मात्रै होइन । जेनेरेसनको विकल्प मात्रै होइन । सबै कुराको सम्बोधन गर्न सक्ने पात्रको खोजी भइरहेको हो ।
बालेनजीलाई सहजीकरण गर्छु
मैले सदनमा गएर स्थानीय र प्रदेश सरकारलाई सहजीकरण गर्ने हो । नीति नियम र प्रशासनिक जटिलताहरु अन्त्य गर्ने हो । चुस्त कानुन र विधि निर्माण गरिदिने हो ।
बालेनजीले जितेर आउनुभएको छ । उहाँले चाहेर पनि गर्न नसक्ने काम यहाँ थुप्रै छन् । किनकि कानुनी जटिलताहरु छन् । उहाँलाई काम गर्ने बातावरण बनाउन सदनमा गएर आवाज उठाउने र त्यसलाई कार्यान्वयनसम्म लैजाने सामर्थ्य अरुमा छैन ।
दलभित्रकै प्रतिनिधिले सदनमा आवाज उठाउने हो । बालेनजी र बालेनजी जस्ता धेरै प्रतिनिधिहरुलाई काम गर्ने बातावरण बनाइदिने हो ।
त्यो अरुबाट सम्भव छैन । दलीय उम्मेदवार हेर्दा प्रकाशमान सिंह एकजना हुनुहुन्छ । तर १५ वर्षसम्म संसदमा एक शब्द नबोलेको उहाँले आउने पाँच वर्षमा बोल्नुहुन्छ भन्ने अपेक्षा जनतामा छैन । अरुले त बोले पनि केही पनि हुने वाला छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4