+
+

एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला : यूएईविरुद्ध जितको प्रतीक्षामा नेपाल

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ कात्तिक ३० गते ७:१६

३० कात्तिक, काठमाडौं । नेपाल र यूएईबीच बुधबार दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेट हुँदा नेपाल यूएईसँगको हारको शृखंला टुङ्गाउने योजनामा हुनेछ ।

नेपालले यूएईलाई पराजित गर्न नसकेको तीन वर्ष भन्दा बढी भइसकेको छ ।

सन् २०१९ जनवरी/फेब्रुअरीमा यूएई भ्रमणमै नेपालले पछिल्लो पटक यूएईलाई टी-२० आई र ओडीआई दुवैमा पराजित गरेको थियो ।  त्यसयता नेपालले यूएईलाई दुवै फर्म्याटमा पराजित गर्न सकेको छैन । ओडीआईमा नेपाल यूएईसँग निरन्तर पराजित भइरहेको छ भने नेपालको टी-२० विश्वकप खेल्ने सपना पनि यूएईले नै खोसेको थियो ।

यूएई नेपालको लागि परिचित प्रतिद्वन्द्वी  नै हो । नेपालले पनि यूएईलाई धेरै पटक हराइसकेको छ । तर, सन् २०१८ मा ओडीआई मान्यता पाएपछि भने नेपालका लागि यूएई बलियो चुनौती बन्दै आएको छ ।

पछिल्लो पटक यूएईमै नेपालले ओडीआईमा यवूएईलाई पराजित गर्दा पूर्व कप्तान पारस खड्काले शतक प्रहार गरेका थिए । नेपालका लागि ओडीआईमा शतक प्रहार गर्ने पहिलो खेलाडी बन्दै कीर्तिमान बनाएका पारसको ११५ रन मद्दतमा नेपालले यूएईले दिएको २५५ रनको लक्ष्य ३२ बल अगावै ६ विकेट गुमाएर पूरा गरेको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेटबाटै सन्यास लिइसकेका उनै पारस सोमबार यूएई विरुद्धको पहिलो ओडीआई खेल हेर्न कीर्तिपुरस्थित टीयू मैदानमा उपस्थित थिए । तर नेपालको हारले उनी निराश हुँदै फर्किएका थिए ।

त्यसबेला ओडीआई र टी-२० आई दुवैमा पहिलो खेल हारे पनि नेपालले पुनरागमन गर्दै दुवै शृंखला २-१ ले जितेको थियो । नेपालले २०१९ फेब्रुअरी ३ मा भएको टी-२० आईमा यूएईलाई १४ रनले पराजित गरेको थियो ।

ओडीआईमा २०१९ पछि नेपाल यूएईसँग तीन खेलमा पराजित भइसकेको छ । क्रिकेट विश्वकप लिग टु अन्तर्गत गत मार्चमा यूएईमै भएको दुवै खेलमा नेपाल पराजित भएको थियो ।

यस्तै दुई दिनअघि घरेलु मैदानमा पराजित भएपछि ओडीआईमा नेपालले यूएईसँग लगातार तेस्रो हार बेहोरेको हो । अर्को खेल आज हुँदैछ । यो खेलमा नेपालले जितको प्रतीक्षा गरिरहेको छ ।

नेपाल र यूएईबीच ओडीआईमा अहिलेसम्म ७ खेल हुँदा यूएईले ५ खेल जित्दा नेपालले जम्मा २ खेल मात्र जितेको छ । त्यो २०१९ को यूएई भ्रमणमै थियो ।

यस्तै टी-२० मा नेपालले २०२२ फेब्रुअरीमा यूएईविरुद्ध खेलेका दुवै खेलमा पराजय बेहोरेको थियो । ओमानमा भएको चारदेशिय टी-२० शृंखलामा नेपाल यूएईसँग २५ रनले पराजित भएको थियो ।

यस्तै फेब्रुअरीमै ओमानमा भएको आईसीसी टी-२० विश्वकप छनोटको सेमिफाइनलमा नेपाल यूएईसँग ६८ रनले पराजित भएको थियो । त्यही हारपछि नेपालको ८ वर्षपछि टी-२० विश्वकप खेल्ने सपना चकनाचुर भएको थियो । नेपाललाई हराउँदै टी-२० विश्वकपमा छनोट भएको यूएई टिम भने भर्खरै अष्ट्रेलियामा टी-२० विश्वकप खेलेर नेपाल आएको हो ।

नामिबियामा डिसेम्बर पहिलो साता हुने आईसीसी क्रिकेट विश्वकप लिग टु शृखंलालाई मध्यनजर गर्दै नेपालले यूएईलाई शृंखला खेल्न बोलाएको हो । टिममा १६ खेलाडी राखेको नेपालले तीन खेलमा सबैलाई खेल्ने अवसर दिने योजनासहित यूएईविरुद्ध परीक्षण गरिरहेको छ ।

पहिलो खेलमा रोहितले ओडीआईमा कप्तानी डेब्यु गर्दा हरिशंकर शाह र अर्जुन साउँदले ओडीआईमा डेब्यु गरे । पहिलो खेलमा अर्जुनसँगै दीपेन्द्र सिंह ऐरीले अर्धशतक बनाउनु बाहेक नेपालको सम्झनलायक प्रदर्शन रहे । पहिलो खेलमा कुशल भुर्तेलाई सातौं नम्बरमा ब्याटिङमा पठाएको नेपालको ब्याटिङ अर्डर नै अनौठो थियो ।

खेलपछि कप्तान रोहितले तीन खेलमा सबैलाई अवसर दिने र नामिबियाका लागि राम्रो कम्बिनेस छनोट गर्ने प्रतिक्रिया दिएका थिए । त्यसैले पहिलो खेलमा बेन्चमा बसेका आरिफ शेख, आदिल आलम, कमल सिंह ऐरी, सागर ढकाल र भीम सार्की मध्ये केहीले दोस्रो खेलमा अवसर पाउने सम्भावना छ ।

यूएईलाई पहिलो खेलमा जित दिलाउन १७ वर्षीय स्पीनर आयन अफ्जल खानले ओडीआई डेब्युमै ४ विकेट लिएका थिए । यस्तै ब्याटिङमा रोहन मुस्ताफाले अर्धशतक प्रहार गरेका थिए ।

यस्तो छ नेपाल-यूएईको हेड टु हेड

एसिया कप छनोट २०१८ अगस्ट : यूएई ७८ रनले विजयी

नेपाल टुर टु यूएई २०१९ जनवरी : यूएई ३ विकेटले विजयी

नेपाल टुर टु यूएई २०१९ जनवरी : नेपाल १४५ रनले विजयी

नेपाल टुर टु यूएई २०१९ जनवरी : नेपाल ४ विकेटले विजयी

क्रिकेट विश्वकप लिग टु २०२२ मार्च : यूएई ४८ रनले विजयी

क्रिकेट विश्वकप लिग टु २०२२ मार्च : यूएई ९९ रनले विजयी

यूएई टुर टु नेपाल २०२२ नोभेम्बर : यूूएई ८४ रनले विजयी

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?