+
+

अमेरिकी चुनावका ५ टिप्स : नेपाली मतदाताले पनि सिक्ने कि ?

अमेरिकामा चुनावलाई मनको भन्दा मस्तिष्कको विषय बनाइन्छ। अमेरिकी मतदाता मतदानका लागि कि विचार छान्छन् कि एजेण्डा। पार्टीका मतदाताले विचार छान्छन्, तटस्थ मतदाताले एजेण्डा। विचारको मत स्थायी प्रकृतिको हुन्छ, एजेण्डाको मत अस्थायी। विचारले आधार दिन्छ, एजेण्डाले निष्कर्ष। अमेरिकी चुनावको यो सफल प्रयोगलाई नेपाली मतदाताले पनि पछ्याउने कि ?

सूर्य थापा सूर्य थापा
२०७९ कात्तिक ३० गते १६:४८

मङ्सिर ४ को चिरप्रतीक्षित आमचुनाव अब केही दिन मात्र टाढा छ। यतिबेला सिंगो नेपाल निर्वाचनमय भएको छ। घर–देशमा त चुनाव लागेकै छ, यता सात समुद्रपार परदेशको अमेरिकामा पनि त्यसको तरङ्ग सहजै अनुमान गर्न सकिन्छ।

आउँदो पाँच वर्षका लागि कुन दलको भरोसामा नेपाल र नेपालीको भविष्य सुम्पने भन्ने कुराको निर्णय गर्ने यो चुनावले ठूलो महत्व राख्छ। त्यसैले यसका बारेमा सबै तह र तप्का, वर्ग र उमेर समूहका मानिसको चासो बढ्नु स्वाभाविकै हो। त्यसमा पनि राजनीतिक चेतनाका हिसाबले उन्नत नेपाल जस्ता तेस्रो विश्वका विकासोन्मुख मुलुकमा चुनावको पारो अलि बढी नै तातो हुन्छ।

नेपालमा रहँदा होस् वा अमेरिकामा पुगेपछि होस्, मस्तिष्कमा नेपाल र मनमा नेपाली बोकेर हिंडेको एकजना सञ्चारकर्मी भएकोले मलाई पनि यो चुनावले छपक्कै छोएको छ। भौतिक रूपमा नेपाल नपुगे पनि इन्फर्मेसन सुपरहाइवेमार्फत क्षण–क्षणमा नेपाल पुगिएकै छ। नेपालमा रहँदाभन्दा पनि बढी चुनावलाई नजिकबाट अनुभूत गर्न सकियो। लाग्छ, यतिबेला स्मार्टफोन नै नेपाल हो र यो मात्र फिङ्गरपोइन्ट टाढा छ।

यसपटकको नेपालको चुनावलाई हेर्दा पहिलाभन्दा पनि बढी गिजोलिएको जस्तो छ। लाग्छ, यो आवधिक जनमत प्रकट गर्ने प्रजातान्त्रिक उत्सवभन्दा पनि जनतालाई दिग्भ्रमित बनाउने एक किसिमको जात्रा हो। र, यो जात्रामा सहभागी सबै यो वा त्यो नामको भ्रमकै खेती गर्न लागेका छन्, मात्रामा केही तल–माथि होला, त्यो भिन्नै कुरा हो।

वर्षौं भइसक्यो नेपालमा चुनावका नाममा उही भैरहेको छ। पञ्चायतदेखि, प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रसम्म पुगिसक्यो नेपाल तर चुनावको रूप र प्रवृत्तिलाई हेर्दा कुनै फरक देखिंदैन। लाग्छ, आज पनि चुनाव चार वर्षमा आउने एक किसिमको हल्काफुल्का जात्रा हो।

वास्तवमा आवधिक चुनाव भनेको लोकतान्त्रिक व्यवस्थाको सबैभन्दा सुन्दर पक्ष हो। यसले जनतालाई निश्चित समयका लागि आफ्नो प्रतिनिधि छान्ने सुनौलो अवसर दिन्छ। मुलुकले दलीय व्यवस्था अपनाएकाले स्वभावत: त्यस्तो पहिलो विकल्प आफूले अंगीकार गरेको विचार र एजेण्डा बोक्ने दलले दिन्छ र दिनु पनि पर्छ।

यदि दिएन भने त्यसको विकल्प अर्को विचार र एजेण्डा बोक्ने दल नै हो। त्यसको लागि अर्को एक अवधि पर्खनुपर्छ। यही नै लोकतन्त्र हो। तर, अब प्रश्न उठ्छ के हामीले नेपालमा लोकतन्त्रको यही चुरो कुरोलाई अर्जुनदृष्टि बनाएर दल र नेता चुन्ने गरेका छौं त ? म अमेरिकी भुईंमा टेकेर मस्तिष्कले अमेरिका भोगिरहे पनि मनमा नेपाल राखेर बाँचेको एक नेपाली हुँ।

यही पृष्ठभूमिमा मलाई अमेरिका र नेपालको चुनावका एक पक्ष र प्रवृत्तिलाई लिएर तुलना गर्न मन लाग्छ। अझ यसपटक त यता अमेरिकामा मध्यावधि चुनावको परिणाम आइनसक्दै उता नेपालमा मतदान सुरू हुने समय जुरेको छ। यसरी लगभग एकै समयमा नेपाल र अमेरिकामा आमचुनाव भैरहेकाले यसपटक अरू समयमा भन्दा अरू बढी नै यी दुई देशबीचको चुनावी तुलना सान्दर्भिक हुने देखिन्छ।

हो, कतिपय अर्थमा नेपाल र अमेरिकाबीचको चुनावी तुलना हुन नसक्ला तर मूलत: यी दुवै देशमा चुनावले गर्ने मूल काम त एउटै हो, जनप्रतिनिधि छान्ने। यस अर्थमा भने तुलना नहुने हैन, मज्जैले गर्न सकिन्छ र गर्नु पनि पर्छ। यही पृष्ठभूमिमा तुलनात्मक कोणबाट मेरो मनमा केही प्रश्न उब्जिएका छन्।

जनताले नै नेता बिगारेको हो कि त ?

गत साता अमेरिकामा मध्यावधि निर्वाचन थियो। सिनेटका ३५ स्थान, हाउसका सबै ४३५ स्थान, ३६ राज्यका गभर्नर र राज्य सांसद लगायतको चुनाव थियो। अमेरिकामा सामान्यत: तीन किसिमले मतदान गर्न सकिन्छ। पहिलो, अर्लि भोटिङ अर्थात् निर्वाचन दिनभन्दा पहिल्यै मतदान गरेर, दोस्रो मेल इन ब्यालेट अर्थात् हुलाकबाटै मत मगाएर मतदान गरेर र तेस्रो निर्वाचन दिनमै मतदान गरेर।

यसपटकको निर्वाचनको दिन नोभेम्बर ८ मा एक मतदान केन्द्रमा पुग्दा एकजना महिला प्ले कार्ड बोकेर एक्लै मत मागिरहेकी थिइन्। मतदानस्थल बाहिर आउनेलाई मत मागिरहेकी उनको नजिकै पुगेर कुरा गर्दा उनी त्यस क्षेत्रबाट डेमोक्रेटिक पार्टीकी राज्य सांसदको उम्मेदवार रहिछन्।

उनी राज्य सांसद उम्मेदवार रहेछिन् भन्दा सँगै रहेकी मेरो श्रीमतीलाई विश्वास नै लागेन। उनले त नेपालमा जतिबेला पनि कार्यकर्ताले घेरेको र चाकरी गरेको मान्छे नेताका रूपमा देखेकी थिइन्।

उनले त्यसरी एक्लै प्रचार गरेको देखेपछि मलाई नेपालको चुनावमा सानो होस् या ठूलो सबै दलका नेतालाई कार्यकर्ताले चाकरी र अनावश्यक वाहवाही गरेर नै बिगारेका पो हौं कि जस्तो लाग्यो।

युवा हुँदैमा सक्षम र बुढो हुँदैमा नेता अक्षम हुने हो त ?

यतिबेला अमेरिकामा राष्ट्रपति, वर्तमान सभामुख, सिनेटमा ठूलो दलका नेता, प्रतिपक्षका नेता लगायत अधिकांश नेता ७० भन्दा माथिको उमेरका छन्। अमेरिकी राष्ट्रपति बाइडेन ७९ वर्ष लागे। उनको यो कार्यकाल सकिंदा ८१ वर्षका हुन्छन्। अझै अर्को काल उठ्छु भन्दैछन्।

यसको अर्थ उनी ८५ वर्षसम्म अमेरिकी राष्ट्रपति हुने सुरसारमा छन्। यसअघिका राष्ट्रपति डोनाल्ड ट्रम्प ७६ वर्षका भए, २०२४ मा चुनावको प्रत्यासी हुँदा ७८ वर्षका हुन्छन्। त्यसपछि जिते पनि अर्को चारवर्षे कार्यकाल जोड्दा ८२ वर्षका हुन्छन्।

अहिलेको स्थिति हेर्दा अमेरिकामा यिनै दुईबीच प्रतिस्पर्धा हुने देखिन्छ। अर्थात् ८१ वर्षीय बाइडन र ७८ वर्षीय ट्रम्पबीच चुनाव। यसलाई चाहिं के भन्ने ? यो उमेरमा पनि उनीहरू अमेरिका मात्र नभएर सिंगो विश्वकै एक किसिमको नेतृत्व गरिरहेकै छन्।

अझ उदारवादी खेमाका बर्नी स्याण्डर्स जो अहिले पनि सिनेटर छन् अहिले उनी ८१ वर्षका छन्। उनको विचार र एजेण्डा सुन्ने हो भने २४ वर्षको जस्तो सुनिन्छ। उनै ८१ वर्षीय बर्नी अमेरिकी युवाका आदर्श हुन्। उनका अधिकांश समर्थक युवा छन्।

तर, उता नेपालमा भने यतिबेला नेपालमा बुढापाका नेताहरू अक्षम र युवाहरू सक्षम भन्ने एक किसिमको भाष्य बनाउन खोजिएको छ। नो नट एगेन जस्तो अभियान नै चलाइएको छ। यसको अर्थ कतै हामी सक्षम ज्येष्ठ नागरिकको योगदान र अनुभवको अपमान गर्दै उमेरकै आधारमा युवा भनेर राजनीतिको कुनै अनुभव नै नभएका अक्षम युवाहरूको पक्षपोषण त गरिरहेका छैनौं ?

वर्तमान मात्र हेर्ने कि विगत पनि ?

अमेरिकामा हरेक चुनावको बेला उठ्ने उम्मेदवार होस् या महत्वपूर्ण पदहरूमा नियुक्ति पाउने बेला किन नहोस् उसको विगतको चरित्र कस्तो थियो भन्ने कुराले सर्वाधिक महत्व राख्छ।

उसले विगतमा महिलाहरूप्रति कस्तो व्यवहार गरेको थियो ? व्यक्तिगत चरित्र कस्तो थियो ? सार्वजनिक सम्पत्तिको हिनामिना गरेको थियो कि थिएन ? अझ, त्योभन्दा अगाडि बढेर उसका परिवारका सदस्यहरूको समेत व्यक्तिगत चरित्र र आनीबानीलाई ध्यानमा दिइन्छ।

तर, नेपालमा भने यी सबै कुरालाई कुनै महत्व नै दिएको पाइँदैन। उम्मेदवारको चरित्रलाई लिएर प्रश्नहरू उठेका छन् ? उसको राष्ट्रियतालाई लिएर पनि प्रश्न तेर्सिएका छन्। तर मूल्य, मान्यता र आदर्शमा बाँचेको पूर्वीय समाज र सभ्यताको केन्द्रविन्दु मानिने नेपालमा यी सबै कुरा गौण बनाइएका छन्।

उम्मेदवारको चिल्लो वर्तमान र चिप्ला कुरालाई नै आधार मानेर जनता भाइरल उम्मेदवारको पछि लागेको देखिन्छ। त्यसैले नेपालमा पनि अमेरिकामा जस्तै उम्मेदवारको वर्तमान र मीठा कुरा मात्र नभएर विगतको इतिहास पनि हेर्ने कि ?

मस्तिष्कलाई सुन्ने कि मनलाई ?

नेपालमा पछिल्लो समय क्षणमै भाइरल हुने र क्षणभरमै समाप्त हुने डरलाग्दो चलन बढेको छ। यसका लागि सामाजिक सञ्जाल र अन्य श्रव्यदृश्य माध्यमको चरम दुरूपयोग भइरहेको छ।

अनलाइन पोर्टलहरू पनि भाइरल खेतीमा लागेका छन्। त्यसको एकसरो प्रभाव मूलधारका मिडियाहरूमा पनि नजानिंदो किसिमले परेजस्तो देखिन्छ। किनकि, मूलधारका मिडियाको आधारभूत चरित्र लोकप्रियता हो।

यी सबै मिडिया कन्टेन्ट हेर्‍यो भने सबै भाइरलको मूल आधार गसिप, अफवाह, बढाइँचढाइ, चरित्रहत्या नै भेटिन्छ। अर्थात्, नेपालीको सजिलै तात्ने, सेलाउने र भावुक हुने चरित्रमाथि अधिक मिडिया ट्रायल भएको देखिन्छ।

केही छोटो समयका लागि प्रभाव पार्ने विषयवस्तुका लागि त केही सीमासम्म ठीकै पनि होला तर आमचुनाव जस्तो कम्तीमा पाँच वर्ष प्रभाव पार्ने विषयमा भने यस्तो खेलबाड गरिनुहुन्न।

अमेरिकामा चुनावलाई मनको भन्दा मस्तिष्कको विषय बनाइन्छ। उनीहरू मतदानका लागि कि विचार छान्छन् कि एजेण्डा। पार्टीका मतदाताले विचारलाई मत दिन्छन्, त्यो एक किसिमले आस्थाको मत भएकाले स्थायी किसिमकै हुन्छ। तटस्थ मतदाता आस्थालाई हैन एजेण्डालाई मतदान गर्छन्, त्यसले हरेक आवधिक चुनावको जित–हारको अंकगणितलाई फरक पारिदिन्छ।

तर, नेपालमा मस्तिष्कको कम सुनिन्छ, मनकै धेरै सुनिन्छ। यसले गर्दा भावनामा बगेर मतदान गर्नेहरूको संख्या अत्यधिक हुन्छ। त्यसले प्रकारान्तरमा हतारमा निर्णय गरेर फुर्सदमा पछुताउनुपर्ने स्थिति सिर्जना हुन्छ।

धेरै दल र स्वतन्त्र कि स्थापित दल ?

अमेरिका बहुदलीय भनिए पनि मूलत: दुईदलीय ध्रुवीकरणमा छ। यसो गर्दा समाजलाई ध्रुवीकरणको आधार र पृष्ठभूमि सहज बन्छ। जनतासँग कुनै अमूर्त हैन, देखिने किसिमको विकल्प हुन्छ। यहाँ स्वतन्त्रका नाममा मूल दलले नै समर्थन गरेका सिनेटमा दुई स्वतन्त्र सदस्य छन्। तर, उनीहरू पार्टीकै ककसमा हुन्छन्।

अमेरिकामा यो प्रयोग लामो समयसम्मको अभ्यासबाट आएको हो। धेरै दल र स्वतन्त्रले समय, स्रोत र साधनको दोहन मात्र हुने भएकाले अमेरिकीहरू सचेतनाका साथ यो निर्णयमा पुगेका हुन्।

नेपालले पनि यो उन्नत अभ्यासबाट सिकेर समय, स्रोत र साधनको अनावश्यक दोहन नगर्ने कि ?

अन्त्यमा, मनमा सधैंभरि नेपाल बोके पनि सात समुद्रपार परदेशमा रहेको एक सञ्चारकर्मीका नाताले यसैलाई मतदान गरौं भन्नु त ठाडै पक्षधरता होला। त्यसो गर्न नसकिए पनि यतिचाहिं भन्न सकिन्छ कि, अमेरिकी मतदाताले आवधिक चुनावको क्रममा गर्ने केही परिष्कृत प्रयोगहरू अवलम्बन गरियो भने त्यसबाट अन्तत: नेपाल र नेपालीकै भलो हुन्छ।

नेपाली जनता जनार्दन हुन्, के गर्दा नेपाल र नेपालीको भलो हुन्छ, त्यसैलाई केन्द्रविन्दुमा राखेर निर्णय दिने नै छन्। बाँकी उहाँहरूकै विवेकको मतको सम्मान गरौं।

हालः टेक्सास, अमेरिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?