+
+

फिल्म हेरेर सबै बुझ्छन्, कक्षामा पढेको किन सहजै बुझ्दैनन् बालबालिका ?

राम वि शाम राम वि शाम
२०७९ मंसिर १ गते १४:३६

झट्ट सुन्दा उट्पट्याङ जस्तो लाग्छ, तर यो गहिरो कुरा छ ।

बालबच्चाले दुई घण्टाको फिल्म हेरेर सबै कुरा हुबहु बुझ्न सक्छन् । कथा, घटनाक्रम, दृश्य, संवाद, कलाकारको हाउभाउ उनीहरुले याद गर्न सक्छन् । फिल्मको कथा कस्तो थियो ? हिरो–हिरोइन कस्ता थिए ? उनीहरु नबिराई भनिदिन सक्छन् ।

तर कक्षाकोठामा पढेको पाठ नि ?

बालबच्चाले कक्षाकोठामा औसत सात घण्टा बिताउँछन् । त्यस अवधिमा उनीहरुलाई विभिन्न पाठ पढाइन्छ । त्यसरी पढेका र पढाइएका पाठ उनीहरुले सरसर्ती बुझ्न सक्दैनन् । पढेकामध्ये थोरै कुरा मात्र उनीहरुले ग्रहण गर्छन् । त्यसैले त दिनभर पढाइका कुरा पुनः स्मरण गरोस् भनेर गृहकार्य दिने गरिन्छ ।

फिल्मका दृश्यहरु झैं पाठ्यक्रमका अक्षरहरु किन छिचोल्न सक्दैनन् बालबच्चाले ?

तपाईंलाई लाग्दो हो, फिल्म भनेको मनोरञ्जन हो । मनोरञ्जन गर्नु र पाठ पढ्नु अलग कुरा हो । तर मूल कारण त्यसो होइन ।

फिल्ममा कुनै कथा हुन्छ र त्यसलाई प्रस्तुत गर्ने श्रव्यदृश्यको माध्यम अपनाइएको हुन्छ । त्यहाँ घटना, संवाद, पात्र, हाउभाउ, ध्वनि सबै कुरा हुन्छ । यसलाई दृश्यभाषा पनि भनिन्छ । दृश्यभाषालाई हाम्रो मस्तिष्कले सहजै ग्रहण गर्छ ।

राम वि शाम

तर हाम्रो पठन विधि पुरातन ढर्राको छ । पाठ्यपुस्तकको अक्षरहरु घोकाउने वा शिक्षकले एकोहोरो पाठ पढाउने प्रवृत्ति छ । यस्तो अवस्थामा बालबच्चाले पाठ्यपुस्तक पढेर वा शिक्षकको कुरा सुनेर कुनै कुरा याद गर्नुपर्ने हुन्छ । त्यसैले कक्षाकोठामा कुनै शिक्षकले पाठ पढाउँदा त्यसको आशय अनुसार आफ्नो आवाजमा उतारचढाव ल्याउने, हाउभाउ देखाउने र सदृश्य प्रस्तुत गर्ने हो भने बालबच्चाले सो कुरा सहजै ग्रहण गर्न सक्छन् । मनन गर्न सक्छन् । मन्थन गर्न सक्छन् ।

सिकाउने सही तरिका

सबै बालबालिकाले एउटै तरिकाले सिक्छन् भन्ने हुँदैन । उसको सिक्ने तरिका के हो थाहा पाएर त्यही तरिका अनुसार सिकायो भने उसले त्यो कुरा छिटो सिक्छ । कोही बच्चा ‘अडियोटरी’ अर्थात् सुनेर सिक्ने हुन्छ, कुनै बच्चा ‘भिजुअल’ अर्थात् देखेर सिक्ने हुन्छ भने कुनै ‘काइनेस्थेटिक’ अर्थात् हाउभाउले सिक्ने हुन्छ ।

आफ्नो बच्चा कस्तो छ भनेर कसरी थाहा पाउने भन्ने तनाव अभिभावकलाई हुन सक्छ । त्यस्तोमा कुनै बच्चालाई जाऊ चिया बनाएर ल्याऊ भनेर अह्राउनुभयो । ग्याँस बाल, त्यसपछि पानी राख, चिनी, चियापत्ती राख भनेर पठाउनुभयो र उसले चिया बनाएर ल्यायो भने ऊ ‘अडियोटरी’ हो । उसले सुनेर नै बुझ्छ ।

बच्चालाई भनेर मात्र हुँदैन उसले तपाईंले एक पटक बनाएर देखाउनुस् अनि म बनाउँछु भन्यो भने उ ‘भिजुअल’ हो । बच्चाले म बनाउँछु, तपाईं नजिक बसेर सिकाउनु सँगै बनाऊँ भन्छ भने ऊ ‘काइनेस्थेटिक’ हो ।

शिक्षकले पनि बच्चा जुन शैलीको हो त्यो थाहा पाएर त्यही अनुसार उसलाई पढाउनुपर्छ । यदि बच्चा ‘भिजुअल’ हो उसलाई ‘अडियोटरी’ शैलीमा पढायो सिकायो भने बुझ्दैन । त्यसो हुनाले यदि बच्चा ‘भिजुअल’ हो कि ‘अडियोटरी’ वा ‘काइनेस्थेटिक’ हो भनेर थाहा छैन भने उसलाई यो तीनवटै शैली अपनाएर पढायौं भने उसले बुझिहाल्छ ।

के पढाउने भन्ने कुरा भन्दा पनि कसरी पढाउने भन्ने कुरा बढी महत्त्वपूर्ण हो । विभिन्न रिसर्चले के भन्छ भने हामीले कुनै पनि कुरा अरूलाई बुझाउन खोज्दा तीन पक्षले बढी महत्त्व राख्छ शब्द, प्रस्तुतीकरण र शारीरिक हाउभाउ ।

कुनै कुरा बुझ्न आवाजको सात प्रतिशत मात्र भूमिका हुन्छ । कुन तरिकाले प्रस्तुत गरिन्छ त्यसले ३८ प्रतिशत भूमिका खेल्छ भने शारीरिक हाउभाउले भने ५५ प्रतिशत भूमिका खेल्छ ।

कनै एउटा फिल्म हामीले दुई घण्टा हेर्दा पूरै याद हुन्छ । किनकि फिल्ममा अडियो, भिजुअल र काइनेस्थेटिक तीनवटै कुरा हुन्छन् । शिक्षकले पढाएको कुरा भने सजिलै बुझ्दैन, किनकि त्यसमा यी शैली अपनाएको हुँदैन । त्यसैले अब बालबालिकालाई विद्यालयमा पढाउँदा पनि यो अडियोटरी, भिजुअल र काइनेस्थेटिक शैली अपनाउनुपर्छ । तब हाम्रो शिक्षा पास हुने मात्र होइन, जीवनमा लागू हुने खाले हुन्छ ।

कुन उमेरमा के सिकाउने ?

अभिभावकले बालबालिकालाई कुनै पनि कुरा सिकाउने तीनवटा उमेर हुन्छ  । पहिलो पाँच वर्षसम्मको उमेर, दोस्रो ६ देखि १६ वर्षको उमेर र १६ देखि २० वर्षको उमेर । पाँच वर्षमुनिको बच्चालाई कुनै पनि कुरा सिकाउँदा होस् वा अन्य समयमा शारीरिक पीडा मात्र होइन, मानसिक पीडा पनि दिनु हुँदैन । त्यो उमेर समूहका बालबालिकालाई हिर्काउने त परको कुरा आँखा तरेर पनि हेर्न मिल्दैन ।

६ देखि १६ वर्षको उमेरको बच्चा हो भने त्यो उमेरमा यो कुरा सही हो र यो कुरा गलत हो भन्ने सिकाउनुपर्छ । त्यो उमेरमा कुनै कुरा फकाएर सिकाउनुपर्छ भने कुनै कुरामा  गाली पनि गर्नुपर्छ ।

१६ वर्षभन्दा माथिको बच्चा हो भने अभिभावक उसको साथी बन्नुपर्छ । नत्र उसले बाहिर साथी खोज्न थाल्छ । १६ देखि २० वर्षको उमेर एकदमै संवेदनशील उमेर हो, त्यसैले उनीहरूसँग साथीको जस्तो व्यवहार गर्नुपर्छ जसले गर्दा उसले आफ्नो सम्पूर्ण कुरा अभिभावकसँग नै सेयर गरोस् । अहिलेका अभिभावक जतिबेला साथी बन्नुपर्ने हो त्यो बन्दैनन् र जुन बेला साथी बन्नु हुँदैन त्यो बेला साथी बनिदिन्छन् । त्यसो गर्दा बालबालिकाहरू अभिभावकले भनेका कुरा नसुन्ने हुन सक्छन् । त्यसैले १६ वर्षको उमेरसम्म सही गलत सिकाउनुपर्छ भने १६ वर्षपछि उसको साथी बनिदिनुपर्छ ।

६ देखि १६ वर्षको बच्चालाई अध्यात्मसम्बन्धी ज्ञान पनि दिनुपर्छ । राम्रो कुरा सिक्नुपर्छ भन्ने विषयलाई उत्प्रेरित गर्नुपर्छ । स्वास्थ्यको विषयमा पनि बालबालिकालाई यही उमेरमा सिकाउनुपर्छ । शारीरिक स्वास्थ्य मात्र होइन मानसिक, भावनात्मक र आध्यात्मिक रूपमा पनि स्वस्थ हुनुपर्छ भन्ने कुरा पनि बच्चालाई सिकाउनुपर्छ । यही उमेरमा मानवता पनि सिकाउनुपर्छ । दान गर्न अरूलाई सहयोग गर्न सिकाउनुपर्छ ।

१६ वर्षको उमेरसम्मका बालबालिकालाई पारिवारिक दायित्वको कुरा पनि सिकाउनुपर्छ । परिवारमा उसको कर्तव्य, जिम्मेवारी पनि सिकाउनुपर्छ । त्यही उमेरमा पैसाको महत्त्व पनि सिकाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?