+
+
अन्तर्वार्ता | विश्वप्रकाश शर्मा :

‘मलाई दुई पटक संसद पठाउन नसकेकाेमा मतदातालाई पछुतो छ’

‘विश्वप्रकाशले हार्दा त यति काम भयो भने जित्दा के होला भन्ने उहाँहरुमा छ’

कतिपयले प्रत्यक्षमै लड्ने हो भने झापा १ मा किन जाने ? काठमाडौं ५ मा गए भो, अन्त गए भो भनिरहँदा मैले आमाबाट पिटिएको मान्छे रुँदै रुँदै आमाकै काखमा पुग्छ भनेँ । झापा १ मेरा लागि आमा हो, हिजो पुग्ने गरी मत पाइनँ होला । तर म झापा–१ नै जान्छु भनेँ ।

गौरव पोखरेल गौरव पोखरेल
२०७९ मंसिर १ गते १८:३१

१ मंसिर, काठमाडौं । पार्टी प्रवक्ताका रुपमा कांग्रेस नेता, कार्यकर्ताका मन जितेका विश्वप्रकाश शर्मा गएको कांग्रेस महाधिवेशनमा देउवा समूहबाट विद्रोह गरेर महामन्त्री निर्वाचित भए ।

अर्का महामन्त्री गगन थापाले ‘मिसन पीएम’ घोषणा गरेर संसदीय दलमा चुनौती दिने उद्घोष गर्दा शर्मा पनि एकै ठाउँमा छन् । उनले भनेका छन्, ‘गगनले प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्दै गर्दा म आफैं प्रस्तावक बस्छु ।’

१३ औं महाधिवेशनमा शर्मालाई देशभरका प्रतिनिधिहरुले केन्द्रीय सदस्यमा निर्वाचित गराएका थिए । यसपालि कांग्रेसले पार्टीको घोषणा–पत्र तयारी टोलीको नेतृत्व गर्ने जिम्मेवारी पनि शर्मालाई नै सुम्पिएको थियो ।

पार्टी राजनीतिमा हस्तक्षेपकारी भूमिकामा देखिए पनि शर्मालाई संसदीय निर्वाचनमा चाहिँ हालसम्म फापेको देखिन्न । गगन थापा दुईपटक निर्वाचित भएर मन्त्री भइसक्दा उनले हालसम्म संसदीय अनुभव लिन पाएका छैनन् ।

दुई निर्वाचनमा झापा क्षेत्र नं. १ बाट पराजित भइसकेका शर्मा तेस्रो पटक सोही क्षेत्रबाट प्रतिस्पर्धा गर्दैछन् । भन्छन्, ‘०७० सालको निर्वाचन मेरो लागि परीक्षाको निर्वाचन भयो, ०७४ सालको निर्वाचन अनुभवको निर्वाचन र ०७९ सालको निर्वाचन परिणामको निर्वाचन बन्दै गरेको देखिन्छ ।’

प्रस्तुत छ, कांग्रेस महामन्त्री शर्मासँग उनको चुनावी अभियानमा केन्द्रित भएर गरिएको कुराकानीको सम्पादित अंशः

आज राति देखि मौन अवधि सुरु हुँदैछ । यो अवधिमा सबै मतदाता भेट्न सक्नुभयो ?

घरदैलो भनेर सबै घरमा पुग्न सम्भव थिएन । त्यसैले यो क्षेत्रमा रहेका २७६ टोलहरु मध्ये २६६ वटामा टोल पदयात्रा गरेको छु । सबै टोलहरुमा घुम्दै गर्दा त्यहाँ रहनु भएका ज्येष्ठ नागरिक आमाबुबाहरुको आशिर्वाद लिएको छु ।

बाटोमा हिँड्दै गर्दा कुनै घरमा बिरामी हुनुहुन्छ भन्ने सुनेको घरमा पनि पुगेको छु । सकेसम्म बढीभन्दा बढी टोलहरुमा पुग्ने प्रयास भएको छ । यसक्रममा दैनिक मैले २०/२२ किलोमिटर हिँडेर टोल पदयात्रा गरेको छु । दैनिक ८/९ वटा टोलमा हिँडेर अहिले अभियान अन्तिममा पुगेको छ ।

संसदीय प्रतिस्पर्धाका क्रममा तेस्रो पटक मतदाता माँझ गएर अपिल गर्दै हुनुहुन्छ, कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?

अहिले आमरुपमा मतदाताले अत्यन्त स्नेह गर्नुभएको छ । शुभेच्छा राख्नुभएको छ । कयौंले विगतमा मत दिन सकिएन ।

नदिएर पो चुकियो कि, यो पटक चाहिँ जित्नु, यसपटक चाहिँ साथ दिन्छौं भन्नुभएको छ । विश्वप्रकाश हामीलाई चाहिने मान्छे हो । हामी जिताउँछौं भन्ने कुरा गर्नुभएको छ ।

झापा–१ को स्थानीय र राष्ट्रिय एजेण्डाहरु के–के हुन् ?

राष्ट्रिय एजेण्डाको दुई पाटो छ । एउटा चाहिँ यो व्यवस्था जुन छ, त्यो ठीक छ । त्यसैले अवस्था बदलौं भन्ने हो । मैले पार्टीमा महामन्त्रीको उम्मेदवार बन्दा पनि जे भनेको थिएँ, त्यसैलाई दृढतापूर्वक उठाइरहेको छु ।

हिजो राजनीतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन । राष्ट्रियरुपमा त्यो कार्य सम्पादन गर्न जरुरी छ । किनभने, सिंहदरबार सुध्रियो भने जिल्लाको सीडीओ कार्यालय आफैं सुध्रिन्छ । सीडीओ कार्यालय सुध्रियो भने मालपोत कार्यालय सुध्रिन्छ ।

प्रशासनिक झञ्झट, साना–साना गर्न सकिने काममा समय लागेका कारण जनतालाई दुःख भएको छ, वितृष्णाहरु पैदा भएका छन् । त्यसलाई अन्त्य गर्नुपर्ने छ । राजनीतिमा सहिष्णुता बढाउनुछ । राजनीतिमा अरुको कुरा काट्ने भन्दा पनि आफ्नो कुरा गर्ने विषय बढाउनुछ । त्यसैले मैले रुपान्तरणको कुरा उठाउँदै आएको छु ।

अर्को चाहिँ समुन्नतिसम्बन्धी एजेण्डाका दुई पाटो छन् । कतिपय विषय स्थानीय छन्, केही स्थानीय विषय नै भएपनि देशव्यापी समस्या छन् । जस्तै हात्तीको समस्या समाधान गर्ने विषयलाई प्रथम प्राथमिकतामा राख्नुपर्छ भन्दै गर्दा यो झापा १ को मात्र समस्या होइन । चितवन, बारा, मोरङ, सुनसरीको पनि समस्या हो । देशभरिको चाहिँ होइन ।

यसलाई हल गर्ने विषयमा पनि हाम्रा केही दृष्टिकोणहरु छन् । ०७० सालमा म उपविजेता हुँदा पनि सुशील कोइराला प्रधानमन्त्री रहेका बेला तत्कालीन वनमन्त्रीलाई अग्रसर गराएर विश्व बैंकबाट लगानी ल्याएर सोलार फेन्सिङ गरेका थियौं । जसले त्यसबेला राम्रै काम गर्‍यो ।

अहिलेसम्म पनि झापा १ मा हात्तीको समस्या त ज्यूँका त्यूँ छ नि !

०७१ सालमा जुन सोलार फेन्सिङ बनाइयो, त्यसले हात्तीलाई राम्रोसँग छेक्यो । दुई अढाइ वर्षसम्म मान्छेहरुले धान लगाउन पाए । सुरक्षित हुन पाए । तर फेरि समस्या बल्झियो । त्यसैले यसको दीर्घकालीन समाधान भनेको त्यसको किनारामा चाहिँ तटबन्ध नै हो । नदीलाई तटबन्ध गरेर सँगैमा सोलार फेन्सिङ बनाएर मजबुत ढंगले त्यसलाई रोक्नुपर्ने देखिन्छ ।

त्यसकारणले तटबन्ध, त्योसँगै बाटो र सोलार फेन्सिङ गर्ने उद्देश्य छ । यो भारतबाट आउने हात्ती छेक्नका लागि गर्नुपर्ने उपाय हो । तर, देशभित्रै पनि हात्ती छन् । झापा १ मा वहुवनको जंगलमा हात्ती छन् । दक्षिणतिर जाँदै गर्दा जलथलमा छन् । त्यसको सन्दर्भमा चाहिँ कसरी घेरेर राख्ने अथवा कसरी अर्को ठाउँमा पुर्‍याउने भन्नेमा चाहिँ साझा दृष्टिकोण बनाउनुपर्ने जरुरी छ ।

तपाईंले मतदाताले विगत दुई निर्वाचनमा आफूलाई भोट नदिएर पछुतो मानेको बताउनुभयो । यो अवधिमा तपाईंले झापा–१ का लागि के–के गर्नुभयो, जसका कारण मतदाताले यसपालि तपाईंलाई जिताउँछन् ?

यसलाई दुईवटा पाटोबाट म हेर्छु । विश्वप्रकाश शर्मालाई अहिले क्षेत्रले किन रुचाइरहेको छ भने ०७० सालमा विश्वप्रकाश उपविजेता भयो । तर पार्टीभित्रको चुनावमा देशभरिको भोट ल्याएर केन्द्रीय सदस्य भयो । फेरि ०७४ सालमा उपविजेता भयो ।

तर पार्टीको आधिकारिक धारणा बोल्ने प्रवक्ता भयो । अहिले चुनाव लड्न आउँदै गर्दा विश्वप्रकाश शर्मा महामन्त्री भइसक्यो भनेपछि विश्वप्रकाशलाई सांसद नबनाउँदा पनि देशभरिको पार्टी पंक्तिले भोट दिएर विश्वप्रकाश माथि उठिरहेको छ भन्ने उहाँहरुलाई परेको छ ।

त्यो देशभरिकाले गरिरहेको विश्वासमा झापा १ ले किन नगर्ने भन्ने मनस्थिति छ । अर्को कुरा के हो भने हारेको मान्छे कि थाक्छ, कि भाग्छ । तर विश्वप्रकाश शर्मा कस्तो मान्छे हो भने ऊ भागेन पनि थाकेन पनि ।

हारेको मान्छे आउँदैन भन्ने चलन छ देशभरि तर हारेको मान्छे विश्वप्रकाश आइरह्यो । कोरोनाका बेलामा मान्छे घरमा थुनिएका बेला अक्सिजन कन्सन्ट्रेटर बोकेर आइपुग्यो । पीपीई सेट बोकेर आइपुग्यो । हरेक क्वारेन्टाइनको भ्रमण गर्दै आइपुग्यो । डेंगुको बेलामा हरेक क्वारेन्टिनमा विश्वप्रकाश शर्माले अघि बढायो । विश्वप्रकाश शर्मा हार्दै गर्दा पनि सोलार फेन्सिङ बनायो ।

पहिलो चोटी हारेकै बेलामा सुरु गरेको परियोजनाले अहिले रिङ रोड काँकडभिट्टाबाट सतिघट्टा हुँदै बन्ने क्रममा छ । मैले मेचीदेखि महाकालीसम्म तराई, मधेशमा ५४ जति रिङ रोडहरु चाहिन्छ भनेर गरेको परिकल्पना बमोजिम शुशील कोइरालाले त्यसबेला कन्भिन्स भएर सुरु भएको योजना थन्किएर बसेको थियो ।

अहिले तीन वर्षपछि त्यो फेरि पैसा परेर रिङ रोडको काम सुरु भयो । अर्को महत्वपूर्ण कुरा विश्वप्रकाशकै पहलमा केशव निरौला भूमि आयोगको राष्ट्रिय अध्यक्ष भएर उहाँको पदभार ग्रहण गरिसक्नु अगाडि अध्यक्ष भइसक्ने वित्तिकै झापाको भ्रमण गराएर बुद्धशान्तिमा धनीपूर्जाका लागि जग्गा नाप्ने काम सुरु भएको छ ।

बुद्धशान्तिको २ नं. वडा मेरो क्षेत्रमा पर्दैन, तर गाउँपालिकामा पर्ने वडामा थोरै भएको सुकुम्बासीलाई नापी गर्ने काम भइसक्यो । चर्को कर भयो भनेर मैले आफैं पहल गरेर रोकौं, पछि कर घटाउने व्यवस्था गरौं भनेँ । तटबन्धनको काममा होस्, चाहे भूमिहीनको काममा होस्, चाहे बाटोको काममा होस् । मतदाताले के बुझ्नुभएको छ भने हारेको विश्वप्रकाशले यति काम गर्‍यो भने जिताएर पठाएको विश्वप्रकाशले कसो नगर्ला ? यो भावना मतदातामा छ ।

तर, तपाईंका प्रतिस्पर्धीले मैले गरेको कामको १० प्रतिशत काम पनि गरेको देखाउन कसैले सक्छ भने हेरौंला भन्नुभएको रहेछ नि !

उहाँको कुरामा मैले त्यति धेरै जवाफ दिनु राम्रो हुँदैन । विगतमा सधैँ एमालेले जितेको भन्ने कुरा भ्रम फैलाउने प्रयास मात्रै हो । किनभने, ०५६ सालमा एमाले पराजित भएको हो । ०६४ सालमा पनि पराजित भएको हो ।

मेची नगरपालिकाको मेयरमा ०७४ सालमा कांग्रेसले जितेको हो । बुद्धशान्तिमा ०७४ र अहिले पनि कांग्रेसले प्रमुख जितेको हो । सधैँ जितेको भन्ने कुरा तथ्यपूर्ण विल्कुलै होइन ।

यो हाम्रो भोट बैंक हो भन्नु अलोकतान्त्रिक कुरा हो । काठमाडौंका मतदाताले पनि यो कुरा पुष्टि गर्नुभयो नि । कांग्रेस र एमालेको आधार क्षेत्र त भत्कियो नि । बालेन शाह नाम गरेका युवकले मतलाई प्रभावित गरेर भोट सबै लानुभयो । त्यसले के प्रमाणित गर्छ भने नोटको बैंक हुन्छ, भोटको हुँदैन । रिजिड भएर बैंकमा राखे जस्तो गरेर ती भोट सबै मेरो हुन भन्ने दिन गए । त्यसैले गर्दा पुर्पुरोमा लेखिने दिन गए भनेजस्तै भोट बैंक भन्ने दिन पनि गए ।

अब मतदाताले कस्तो एजेण्डालाई, कस्तो व्यक्तिलाई भन्ने कुरामा विवेक पुर्‍याएर मतदान गर्नुहुन्छ । त्यो भन्दै गर्दा झापा १ का मतदाताको विवेक बुझेर बोल्नु राम्रो हुन्छ ।

झापा २ मा तयारी गरिरहेका नेकपा एमालेका नेता अग्नि खरेल झापा १ मा तपाईंसँग प्रतिस्पर्धा गर्न आउनु भएको छ, कत्तिको चुनौती देख्नुभएको छ ?

लोकतन्त्रमा जहाँको मान्छे जतासुकै गएर चुनाव लड्न पाउँछ । उहाँ झापा गौरादहको मान्छे, केपी कमरेड रहँदासम्म उहाँको पालो नआउने भयो । उहाँ उठ्न छाडेपछि हिक्मत कार्की, दीपक कार्कीहरु छँदै हुनुहुन्छ । त्यसकारण राजनीतिक मान्छेले आफ्नो लागि ठाउँ खोज्छ ।

त्यसका लागि कहाँ जाउँ भन्दा झापाको २ नम्बर क्षेत्र जान्छु भनेर उहाँ आएर दुई वर्षअघि घर किनेर लगानी गरेर बस्नु भएको थियो । त्यसैले तुलानात्मक रुपले उहाँका लागि चुनाव लड्न २ नम्बर क्षेत्र नै हुन्थ्यो । तर, एकाएक के भयो भने झापा १ मा पठाइयो ।

पठाउँदै गर्दा पनि झापा १ मा एमालेले सर्वसम्मत रुपमा सिफारिस गरेको मित्रको नाम हटाएर उहाँको राखियो । त्यसकारण उहाँलाई पनि असहज भएको अफ्ठ्यारो भएको अवस्था स्वभाविकरुपमा छ । तर प्रतिष्पर्धीलाई कमजोर वा बलियो भन्ने मनोविज्ञानमा म छैन ।

स्वस्थ प्रतिस्पर्धा गर्नुपर्छ भन्नेमा छु । कुनै पनि सभामा विश्वप्रकाश शर्माको भाषण सुन्ने हो भने विश्वप्रकाशले गाली गरिरहेको हुँदैन । प्रेमको कुरा गरिरहेको हुन्छ, प्रेमको कुरा, क्षमा, शान्ति र सहिष्णुताको कुरा गरिरहेको हुन्छ । उहाँको मञ्चमा अलि बढी नै विश्वप्रकाशतर्फ प्रहार गर्ने, गाली गर्ने खाल्को अभिव्यक्ति राख्नुहुन्छ भनेर साथीहरु भिडियो खिच्दै पठाउनुहुन्छ । म हेर्छु ।

अरुतिर गठबन्धनका अरु दलको भोट ट्रान्सफर हुन्छ हुँदैन भन्ने चिन्ता हुन्छ तर, झापा–१ मा चाहिँ कांग्रेसकै भोट विश्वप्रकाशलाई जान्छ, जान्न भन्ने चुनौति छ भनेर पनि भनिँदो रहेछ ! झापाकै नेता कृष्णप्रसाद सिटौलासँगको सम्बन्धलाई लिएर गरिने यस्तो टिप्पणीलाई के भन्नुहुन्छ ?

अहिले हाम्रो नेता कृष्णप्रसाद सिटौला अघिअघि हुनुहुन्छ । र, उहाँको साथमा मसँग सँगै उभिएको छु । दुईजना उम्मेदवारी चयन गर्ने बेलामा पनि काठमाडौंमा सँगै थियौं । उम्मेदवारी दर्ता गर्न आउने बेला पनि झापामा सँगै एउटै विमानमा आयौं । सँगै बसेर आन्तरिक छलफल गरेका छौं । कार्यक्रमहरुमा पनि केही दिनअघि एउटै मञ्चमा सँगै उभिएर एकअर्काको प्रशंसा गर्ने र एकआपसको योग्यता के हो भन्ने कुरामा बोलेका छौं ।

विश्वप्रकाशले बोल्दै गर्दा उहाँको सन्दर्भमा र उहाँले बोल्दै गर्दा मेरो सन्दर्भमा कुरा भएको छ । उहाँसँग नजिक भएका साथीहरुले उहाँको तर्फबाट उम्मेदवारका रुपमा गोपाल तामाङ प्रदेशमा उम्मेदवारका रुपमा मसँग हुनुहुन्छ । उहाँसँगै नजिक रहेका भनिएका साथीहरुमध्ये झापाको सिंगै कार्यबाहक सभापति केशव पाण्डे विश्वप्रकाश शर्माका लागि मैदानमा हिँड्नुभएको छ ।

विश्वप्रकाश शर्मालाई ०७० मै जिताउन सकेको भए, यो क्षेत्रले जितेको भए, विश्वप्रकाश शर्माले आज गगन थापालाई प्रधानमन्त्री बनाउनुपर्छ भनेर हिँडिरहेको अवस्था होइन, विश्वप्रकाश चाहिँ प्रधानमन्त्री हुनुपर्छ भनर गगनले भनिरहेको अवस्था हुन्थ्यो भनेर केशवराज पाण्डेले बोलेर हिँड्नुभएको छ । साथीहरु आन्तरिकरुपमा जुटेर हिँड्नु भएको छ । त्यसकारण कुनै पनि भ्रममा हामी छैनौं ।

कसैले पनि भ्रममा नपर्दा हुन्छ । कांग्रेस र माओवादी एक छ । अर्को के पनि छ भने कांग्रेस हिजो ०७४ मा एक्लै चुनाव लड्दा त १४ हजारको फरक थियो, त्यसलाई घटाएर २८६३ मा ल्याएको हो ।

मसँग अरु क्षेत्र रोज्ने वा समानुपातिकमा बस्ने विकल्प पनि थियो । तर, विश्वप्रकाश शर्मा बाँझोमै गएर जोत्नुपर्छ, मेहनत गरेर जनताको बीचमा पुग्नुपर्छ भनिराखेर झापा–१ आएको छ ।

अहिले गएको स्थानीय निर्वाचनको गणितको फरक भनेको ६/७ हजार हो । त्यसलाई चुक्ता राखेर फरकलाई डबर बनाएर जाने अवस्थामा आएको छ । झापा १ को जित भनेको सबैको जित, झापा क्षेत्र नं. १ को जित भन्ने मनोविज्ञान बनेर गएको छ ।

देशभरि अहिले स्वतन्त्र र युवाका पक्षमा लहर देखिएको छ, तपाईं पार्टीको महामन्त्री पनि हो । स्वतन्त्रहरुको लहरलाई कसरी हेर्नुभएको छ ?

लोकतन्त्रको सौन्दर्य भनेकै के हो भने फरक विचार राख्ने, फरक उम्मेदवारी दिने, प्रश्न गर्ने, जवाफ दिने, यो लोकतन्त्रको स्वभाविक सौन्दर्य हो । त्यसकारणले दलको उम्मेदवार जसरी उठ्न पाउँछन्, दल बाहिरबाट पनि अलग्गै व्यक्तिले पनि उम्मेदवारी दिन पाउँछन् । त्यसकारणले यसलाई स्वभाविकरुपमा लिनुपर्छ र यी हरेक प्रस्तुतिहरुबाट दलहरुले आफूलाई सच्याउनुपर्ने, बदलिनुपर्ने सन्देशको रुपमा चाहिँ बुझ्नुपर्छ ।

त्यसकारण अहिले मैले भन्दै गर्दा पनि एजेण्डाका रुपमा पनि तपाईं आफ्नो घर बडार्ने काम गर्नुस्, म आफ्नो घर बढार्ने काम गर्छु भनेको छु । भनेको मतलब कांग्रेसको मञ्चमा उभिएर अर्कोलाई गाली गर्न सजिलो हुन्छ ।

अर्कोको मञ्चमा उभिएर कांग्रेसलाई गाली गर्न सजिलो हुन्छ । तर सबैले आ–आफ्नो दललाई राम्रो बनाउने, घर सफा बनाउँ भन्नेतिर जानु जरुरी छ । त्यसकारण कसैले अलग्गै उम्मेदवारी दिने कुराले पनि लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउने कुरामै योगदान गर्छ ।

तपाईंले महाधिवेशनको बेला पनि परिवर्तनको विषयलाई नै एजेण्डा बनाउनुभएको थियो । स्वतन्त्रहरुले दल बाहिरबाट परीक्षण भइसकेका व्यक्ति दोहोरिने होइन, नयाँले अवसर पाउनुपर्छ भनिरहेका छन् । मुख्य दलहरुभित्र तपाईंहरुले उठाएको र स्वतन्त्रले उठाइरहेको विषय पनि कतै मेल खान्छ ?

विल्कुलै, अरु सबै कुरा अनिश्चित होला । तर परिवर्तन र मृत्यु निश्चित छ । तर, मृत्यु हुने भनेर त्यसको कुनै समय तालिका हुँदैन । परिवर्तनका लागि योजनाबद्ध कर्म चाहिन्छ । मृत्युका लागि योजनाबद्ध कर्म चाहिन्न । त्यो निश्चित समयमा निश्चित वा आकस्मिकरुपमा पनि हुनसक्छ । तर परिवर्तन भनेको आकस्मिक हुँदैन ।

यसका लागि योजनाबद्ध कर्म चाहिन्छ । त्यो कर्मका लागि हामी समर्पित भएर लागेका छौं । त्यो कर्मका लागि दुवै महामन्त्रीको एकता पनि छ । साझा दृष्टिकोण पनि छ । सम्भव भएसम्म पार्टीलाई रुपान्तरण गर्ने, बलियो बनाउने र समग्रतामा आगामी दशकभित्र देशको नेतृत्व गर्ने ढंगले जाँदैछौं ।

जसरी अहिले ‘नो नट अगेन’ भन्ने अभियान चलेको छ, यसप्रति तपाईंको दृष्टिकोण के हो ?

व्यक्तिगतरुपमा वा सामाजिक सञ्जालमा काहीँ कसैले कुनै कुरा राख्दै गर्दा कसैले सकरात्मकरुपमा राख्नु होला । कसैले नकरात्मक रुपमा राख्नु होला । राख्न सकिने संविधानले दिएको अधिकारभित्रबाट गरिने कुनै पनि कुराबारे नकरात्मक टिप्पणी गर्नु उचित हुन्न ।

अन्तिममा झापा १ तिरै फर्किँदा आफ्ना मतदातालाई के भन्नुहुन्छ ?

मैले मतदातालाई गर्ने विनम्र अपिल भनेको के हो भने दुई चोटी हारेको मान्छे मसँग विभिन्न विकल्प थियो । अरु क्षेत्र माग्ने विकल्प थियो । समानुपातिकमा बस्ने विकल्प थियो । समानुपातिकमा बस्दै गर्दा पनि १ नम्बरमा बस्ने विकल्प थियो । किनकि, पार्टीका महामन्त्री त्यो भइहाल्थ्यो ।

महामन्त्री भनेको सांसद मात्र होइन, मन्त्री बन्न पनि भूमिका खेलिरहेको हुन्छ । अनि, झापा गएर कालो गाडीमा झण्डा हल्लाउँदै जाने विकल्प पनि थियो । तर, विश्वप्रकाश शर्मा बाँझोमै गएर जोत्नुपर्छ । मेहनत गरेर जनताको बीचमा पुग्नुपर्छ भनिराखेर झापा–१ आएको छ ।

कतिपयले प्रत्यक्षमै लड्ने हो भने झापा १ मा किन जाने ? काठमाडौं ५ मा गए भो, अन्त गए भो भनिरहँदा मैले के भने भनेँ एउटा चिनियाँ उखान छ, आमाबाट पिटिएको मान्छे रुँदै रुँदै आमाकै काखमा पुग्छ । त्यसकारण मेरो लागि झापा १ आमा हो, झापा १ मा मतदाताले मत पुग्ने गरी दिनुभएन होला । तर मैले के भने भनेँ जसरी आमाबाट पिटिएको मान्छे आमाकै काखामा पुग्छ, त्यसैरी म झापा–१ मै आएको छु भनेर भनेको छु ।

त्यसैगरी देशलाई कसरी अगाडि लैजाने भनेर घोषणा पत्र लेख्ने जिम्मेवारी पाएको मान्छे म । मेरो क्षेत्रको जिम्मेवारी के हो भन्नेमा पनि स्पष्ट छु । हार्दै गर्दा पनि विश्वप्रकाशले कर्म गरेको थियो भने यो पटक यसले जितेर गर्छ भन्ने विश्वास मतदातामा छ ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?