+
+
विश्वकप इतिहास :

विश्वकप १९८६ : जब म्याराडोनाले फुटबलको संसारलाई उज्यालो बनाए

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ३ गते १९:३९

३ मंसिर, काठमाडौं । मेक्सिको फिफा विश्वकप फुटबल दोस्रो पटक आयोजना गर्ने पहिलो राष्ट्र बन्यो । यसअघि १९७० मा मेक्सिकोले पहिलो पटक आयोजना गरेको थियो । सुरुमा कोलोम्बियालाई विश्वकप आयोजक तोकिएको थियो तर आर्थिक कारण देखाउँदै उसले नाम फिर्ता लियो ।

त्यसपछि क्यानडा, अमेरिका र मेक्सिकोले विश्वकप आयोजनामा दाबी गरेको थियो । फिफाले मेक्सिकोलाई आयोजक तोकेको थियो ।

विश्वव्यापी रुपमा विश्वकपको चर्चा बढेपछि विश्वकपका लागि छनोटमा प्रतिस्पर्धा गर्ने टिम संख्या बढेर १२१ पुग्यो । अफ्रिका र एसिया लाई दुई–दुई कोटा दिइएको थियो । युरोपबाट १४ र  अमेरिकाबाट ४ कोटा थियो ।

क्यानडा, डेनमार्क र इराकले मेक्सिकोबाटै विश्वकपमा डेब्यू गरे ।

२५ वर्षीय म्याराडोनाले अर्जेन्टिनाको कप्तानी गर्दै विश्वकप जित्दा हरेक मिनेट खेले । उनले ५ गोल गर्नुका साथै ५ असिस्ट समेत गरे ।

डेनमार्कले शानदार डेब्यू गर्दै समूह चरणका सबै खेल जित्यो । तर, दोस्रो चरणमा स्पेनसँग पराजित हुँदै बाहिरियो । साविक विजेता इटली दोस्रो चरणमा फ्रान्ससँग पराजित हुँदै बाहिरियो ।

फ्रान्स, बेल्जियम र पश्चिम जर्मनी पेनाल्टी सुटआउटमा जित निकाल्दै सेमिफाइनल पुगे । अर्जेन्टिना र इंग्ल्याण्डबीचको क्वाटरफाइनल भने रेगुलर समयमै सकियो । यो खेल उत्साहजनक रह्यो ।

म्याराडोनाले पहिलो गोल हातले गरे जुन हेडले गरेजस्तो थियो । पछि यसलाई ह्याण्ड अफ गड अर्थात भगवानको हात भनियो ।

दोस्रो गोल सन् २००२ मा फिफा वेवसाइट गोल अफ दी सेन्चुरी नै बनेको थियो । म्याराडोनाले मैदानको बिच भागबाट बल अगाडि बढाउँदै इंग्ल्याण्डका पाँच खेलाडीलाई छलाउँदै र गोलकिपरलाई पनि जिल्याउँदै गोल गरे ।

यो खेल सन् १९८२ मा दुई राष्ट्रबीच भएको फकल्याण्ड युद्धलगत्तै भएको थियो।

अर्जेन्टिनाले फाइनलमा पश्चिम जर्मनीलाई पराजित गर्दै उपाधि जित्यो । सुरुमा अर्जेन्टिनाले दुई गोलको अग्रता बनाएको थियो । तर जर्मनीले पुनरागमन गर्यो ।

तर, खेल सकिन ६ मिनेट बाँकी छँदा म्याराडोनाको पासमा जोर्ज लुइस बुरचागाले गोल गर्दै अर्जेन्टिनालाई ३–२ को जितसहित दोस्रो पटक विश्वकप उपाधि जिताए ।

यस विश्वकपको सबैभन्दा उत्कृष्ट क्षण भनेकै म्याराडोनाको मनमोहक प्रदर्शन रह्यो । यस्तै क्यानडा, डेनमार्क र इरानको डेब्यू पनि उल्लेखनीय पक्ष बन्यो । मेक्सिकन वेभको सुरुवात पनि यसै विश्वकपबाट भयो । तर, आयोजक छनोटको विवादले पनि चर्चा पायो ।

तथ्यांकमा विश्वकप १९८६

आयोजकः मेक्सिको
टिमः २४
फम्र्याटः समूह चरण, नकआउट
खेलः ५२
गोलः १३२
विजेताः अर्जेन्टिना
उपविजेताः पश्चिम जर्मनी
गोल्डेन बुटः ग्यारी लिनेकर (इंग्ल्याण्ड)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?