+
+
काठमाडौं ८ :

स्थानीय एजेण्डा बोक्ने विराजभक्तलाई मतदाताको अनुमोदन

काठमाडौं – ८ का मतदाताले यसपालि स्थानीय एजेण्डा उठाउने विराजभक्त श्रेष्ठ र सुमन सायमीलाई मुख्य प्रतिष्पर्धी बनाए । पूर्वप्रदेश सांसद समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्तलाई निर्वाचित गराए ।

गौरव पोखरेल गौरव पोखरेल
२०७९ मंसिर ७ गते ६:२८

६ मंसिर, काठमाडौं । काठमाडौंको ‘कोर एरिया’ मानिने कालिमाटी र डल्लु क्षेत्र पर्ने क्षेत्र नं. ८ मा विगतझैँ यसपालि पनि परम्परागत दलहरुबीच नै मुख्य प्रतिस्पर्धा हुने ठानिएको थियो ।

एकीकृत समाजवादीका नेता एवं वहालवाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ र नेकपा एमालेका उम्मेदवार शिवसुन्दरराज वैद्यबीच नै बलियो प्रतिस्पर्धा हुने अनुमान थियो ।

यद्यपि, स्थानीय चुनावमा काठमाडौं महानगरमा पनि राम्रो मत ल्याएका कारण सुमन सायमीले पनि राम्रो उपस्थिति जनाउने आशंका थियो । सायमीले पनि स्थानीय निर्वाचनबाट चुनावी ‘क्यापेन’ कसरी गर्नुपर्छ भन्ने सिकेको बताउँदै यसपालि जित निकाल्ने गरी तयारी गरेको अनलाइनखबरसँग बताएका थिए ।

तर, काठमाडौं – ८ ले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठलाई जिताएर ‘सरप्राइज’ दिएको छ भने एकीकृत समाजवादी र नेकपा एमालेलाई तेस्रो र चौथो शक्तिमा सीमित गराइदिएको छ ।

श्रेष्ठ १० हजार १०५ मत ल्याएर संघीय संंसदमा निर्वाचित हुँदा उनका निकटम प्रतिद्वन्द्वी हाम्रो नेपाल पार्टीको लौरो चुनाव चिह्न लिएर उम्मेदवारी दिएका सायमीले ६ हजार १७४ मत पाएका छन् । सायमी सडक विस्तार अभियानविरुद्ध चलेको आन्दोलनबाट चिनिएका अभियन्ता हुन् । ‘कोर’ काठमाडौंको एजेण्डा सधैँ उनको प्राथमिकतामा पर्ने गरेका छन् ।

स्थानीय एजेण्डाबीच प्रतिस्पर्धा 

डल्लुस्थित गीता माता विद्यालयमा भएको गणनाको सुरुवातबाटै राष्ट्रिय स्वतन्त्र पार्टीका श्रेष्ठ र हाम्रो नेपाल पार्टीका सायमीबीच तीब्र प्रतिष्पर्धा देखियो । राष्ट्रिय स्वतन्त्र पार्टीका घण्टी चिह्न बाहक श्रेष्ठ र लौरो चुनाव चिह्नका सायमीको मत अघि–पछि भइरह्यो ।

अन्तिममा श्रेष्ठले बाजी मारेका छन् । श्रेष्ठ विवेकशील नेपाली दलको पृष्ठभूमिबाट राजनीतिमा आएका आएका हुन् । उनी २०७४ सालको निर्वाचनअघि उज्ज्वल थापासँगै विवेकशील नेपाली दलको अभियानमा लागेका थिए ।

२०७२ सालको महाभूकम्पपछि राहत र उद्धार अभियानका लागि विवेकशीलले सुरु गरेको अभियानमा सरिक भए । त्यसबेला उनले नेतृत्व गरेको स्वयंसेवक टोलीले राहत संकलन, वितरण र उद्धार अभियानसँगै मुस्ताङ र बर्दिवास जिल्लामा विपन्न समुदायका लागि स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।

श्रेष्ठले त्यो बेला वातावरण संरक्षणका लागि ‘फोर्स नेपाल’ संस्था खोलेर वृक्षरोपणको लागि ‘वान ट्री–मेरो जिम्मेवारी’ अभियान पनि चलाइरहेका थिए । विवकेशील र साझा पार्टीबीच एकता भएपछि चाहिँ श्रेष्ठ केन्द्रीय सदस्य बनेका थिए ।

२०७४ सालको निर्वाचनमा विवेकशीलको समानुपातिक सूचीबाट बागमती प्रदेशसभा सदस्य बनेका श्रेष्ठले प्रदेशसभामा पनि स्थानीय एजेण्डालाई प्राथमिकता दिए । उनले वार्षिकरुपमा आफूले संसदमा रहेर गरेका कामबारे प्रतिवेदन पनि सार्वजनिक गरे ।

‘पाँच वर्ष प्रदेश सभामा रहँदा नेपाल भाषा र तामाङ भाषालाई वागमती प्रदेश सरकारको कामकाजको भाषा बनाउने कानुन पारित गराउन खास भूमिका खेलेजस्तो लाग्छ’, श्रेष्ठ भन्छन्, ‘पारदर्शिता होस् भनेर हरेक वर्ष आफूले गरेको कामबारे प्रतिवेदन निकालें ।’

श्रेष्ठ विवेकशीलका संस्थापक नेता स्वर्गीय उज्जवल थापा जस्तै चुपचाप काम गर्नेमध्येमा पर्छन् ।

संघीय सरकारले गुठी विधेयक सदनमा पेश गरेपछि सरोकारवाला समुदाय आन्दोलित हुँदा उनले सडक र प्रदेश सभा दुवै ठाउँबाट विधेयकको विरोध गरे । उनले काठमाडौं–२४ स्थित इन्द्रचोक र ऐतिहासिक ‘बंघः दबू’को पुनर्निमाण सम्पन्न गर्न पनि महत्वपूर्ण भूमिका खेले ।

शंखधर स्वास्थ्य नागरिक पार्क निर्माणमा पनि उनको भूमिका महत्वपूर्ण रह्यो । पार्क निर्माणपछि हाल उपभोक्ता समितिमार्फत वडा नं. २० लाई हस्तान्तरण भइसकेको छ ।

श्रेष्ठले बागमती प्रदेश सभाको उद्योग, पर्यटन, वन तथा वातावरण समितिमा रहेर पनि काम गरे । सदनको उद्योग समितिद्वारा गठित पर्यटन मन्त्रालयसम्बन्धी सुझाव कार्यदलको संयोजक पनि रहे । नेपाल तेक्वान्दो संघ, काष्ठमण्डप पुनर्निर्माण समिति र हनुमानढोका दरबार क्षेत्र व्यवस्थापन कार्यदलमा रहेर काम गरेको अनुभव पनि श्रेष्ठसँग छ ।

इन्द्रचोकका रैथाने श्रेष्ठले ‘बिजनेस एड्मिनिस्ट्रेशन’मा स्नातक उत्तीर्ण गरेका छन् । श्रेष्ठ व्यापारिक पृष्ठभूमिबाट आएका व्यक्ति हुन् । उनले अध्ययनपछि आर्थिक रूपमा सक्षम रहन होटल–रेस्टुरेन्टहरू चलाए ।

विभिन्न अस्पताल, कम्पनी र परियोजनामा व्यवस्थापकको जागिर पनि खाए । कामसँगै राजनीतिमा सक्रिय उनी विवेकशील साझाका तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले राजावादी दस्तावेज ल्याएपछि पार्टीबाट अलग भए ।

पार्टी छाडेपछि उनीसँग न संगठन थियो न त प्रतिस्पर्धीलाई झैँ गठबन्धनको बल थियो । त्यसैले श्रेष्ठ स्वयम्ले अनलाइनखबरसँग भनेका थिए, ‘भेट्दा त सबैले भोट दिने भन्नुहुन्छ, तर उहाँहरुको भनाइ मतपेटिकासम्म पुग्छ पुग्दैन भन्ने हो ।’

बरु सायमी चाहिँ उनीभन्दा बढी विश्वस्त देखिन्थे ।

अघिल्लो निर्वाचनको राम्रो परिणामबाट हौसिएका उनले काठमाडौं महानगरमा बालेनको उदयले चुनाव जित्न संगठन नचाहिने देखिएको बताउँदै भनेका थिए, ‘अहिले संगठनले होइन, कामले मत पाउने हो । त्यसैले म नै निर्वाचित हुन्छु ।’

तर चुपचाप बसेका चुनावी तयारी गरेका श्रेष्ठको एजेण्डालाई मतदाताले अनुमोदन गरिदिएका छन् । चुनावी अभियानमा सहयोग गरेका सायमीका एकजना सहयोगीका अनुसार अपूर्व क्षितिज प्रकरणमा सायमीको भूमिकाले उनलाई ‘ब्याकफायर’ हुँदा त्यसको फाइदा श्रेष्ठलाई भयो ।

सायमीको दाबीमा कमेडियन अपूर्वको पक्राउमा उनको हात थिएन । तर, उनको अगुवाइमा क्षितिजविरुद्ध जाहेरी दिएको भाष्य स्थापित भएपछि उनलाई प्रत्युत्पादक भएको ती सहयोगी बताउँछन् । नेवा समुदायमाथि अभद्र टिप्पणी गरेको आरोपमा क्षितिज पक्राउ गरेका थिए ।

माफी मागेर भिडियो डिलिट गरिसक्दा पनि उनलाई पक्राउ गरेर थुनिएको भन्दै क्षितिजको पक्षमा माहोल सिर्जना भएको थियो । सायमीले अरु बेला पनि जातीय मुद्दालाई प्राथमिकता दिने गरेका थिए । तर, विराजभक्त ठिक विपरित थिए । ‘कोर एरियालाई जातीय दृष्टिकोणबाट मात्र हेर्न नहुने’ मान्यता राख्थे । उनका लागि यही विषय काठमाडौं–८ मा उदाउन फाइदाजनक भएको छ । त्यसमाथि देशैभर लहर सिर्जना गरिरहेको चुनाव चिह्न घन्टीको पनि उनले भरपुर फाइदा उठाए ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए ‘देशमा व्याप्त भ्रष्टाचारविरुद्ध र सुशासन प्रबद्र्धनका लागि सदन र सडक दुवैबाट आवाज बुलन्द’ गर्ने उनको वाचा–पत्रमा उल्लेख छ । उनले सामाजिक र सांस्कृति सद्भावलाई बलियो बनाउन नेपालभर फैलिएका संस्कृतिक विधिताअन्तरगत राष्ट्रिय पहिचानका धरोहरहरु संस्कृति, संस्कार र सम्पदालाई स्थानीयको अपनत्व हुने गरी संरक्षण गर्ने पनि भनेका छन् ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?