+
+

काठमाडौं महानगरमा कृषियोग्य जमिन भेटिएन, कित्ताकाट खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते १८:२२

७ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिका भित्र कृषियोग्य जमिन नभेटिएपछि कित्ताकाट खुलेको छ । महानगरले आफ्नो पालिका भित्र भू-उपयोग परिषद् गठन गरेर अध्ययन गर्दा कृषि योग्य जमिन नरहेको पाइएको महानगरले जनाएको छ ।

भू-उपयोग कार्यान्वयन समितिको सिफारिसका आधारमा परिषद्ले यस्तो निर्णय गरेको महानगरले जनाएको छ । बुधबार महानगरका मेयर बालेन्द्र (बालेन) साहको अध्यक्षता भू-उपयोग कार्यान्वयन समितिको बैठक बसेको थियो ।

बैठकमा परिषद्का सदस्य सचिव एवं महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले कार्यान्वयन समितिबाट आएको सिफारिसका विषयमा जानकारी गराउँदै कृषि योग्य जमिन नभएको सिफारिसका आधारमा निर्णय हुन प्रस्ताव पेस गरेका थिए । बैठकमा परिषद्‍का सदस्य एवं कार्यपालिका सदस्यहरु सहभागी थिए ।

निर्णयपछि बोल्दै बालेनले संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख साहले, काठमाडौं महानगरपालिका क्षेत्रको जमिन गैरकृषि क्षेत्रका रुपमा वर्गीकरण भएको बताए । बालेनले भने, ‘बैठकको निर्णयपछि यसअघि रोक्का भएको जमिनको कित्ताकाट र अंशबण्डा फुक्का भएको छ ।’

यसअघि २ कात्तिकमा वडाध्यक्षको संयोजकत्वमा वडा सचिव सदस्यसचिव रहने गरी भू-उपयोग कार्यान्वयन उपसमिति गठन गरेको थियो । उक्त उपसमितिलाई आफ्नो वडामा भएको जमिनलाई कृषि र गैरकृषि क्षेत्रमा वर्गीकरण गर्ने जिम्मेवारी दिइएको छ ।

भू-उपयोग ऐन २०७६ को व्यवस्थापनअनुसार पालिकाका प्रमुखको अध्यक्षता रहने परिषद्‍मा प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहने व्यवस्था छ । ऐन बमोजिम कार्यपालिकाले परिषद्‍का रुपमा काम गर्नेछ । प्रमुखकै अध्यक्षतामा रहने कार्यान्वयन समितिमा पनि प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?