+
+

माओवादीमा प्रारम्भिक समीक्षा : कांग्रेससँगको गठबन्धन प्रत्युत्पादक

२०७४ को प्रतिनिधिसभा चुनावमा निर्णायक तेस्रो हैसियतमा रहेको नेकपा माओवादी केन्द्र यसपाली कमजोर देखिएको छ । प्रत्यक्षमा माओवादीलाई २० सिट पनि पुर्‍याउन मुस्किल छ भने समानुपातिकमा एमाले, कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी भन्दा पनि पछि परेको छ ।

रामकुमार डिसी रामकुमार डिसी
२०७९ मंसिर ८ गते १७:४०
सत्ता गठबन्धनले आयोजना गरेको चुनावी सभामा माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा । फाइल तस्वीर

८ मंसिर, काठमाडौं । २०७४ को प्रतिनिधिसभा चुनावमा निर्णायक तेस्रो हैसियतमा रहेको नेकपा माओवादी केन्द्र यसपाली कमजोर देखिएको छ । प्रत्यक्षमा माओवादीलाई २० सिट पनि पुर्‍याउन मुस्किल छ भने समानुपातिकमा एमाले, कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी भन्दा पनि पछि परेको छ ।

चुनावको प्रारिम्भक समीक्षामा माओवादी नेताहरुले यसपटकको चुनावी गठबन्धन आफूहरुका लागि प्रत्युत्पादक बनेको टिप्पणी गरेका छन् । उपमहासचिव हरिबोल गजुरेलले अघिल्लो बाम गठबन्धनको असफलताबाट निराश भएका मतदाताले यसपटकको चुनावी गठबन्धनलाई अस्वीकार गरेको बताए ।

‘अघिल्लो गठबन्धनको सरकार पाँच वर्ष पनि चलेन’, उनले भने, ‘त्यसपप्रतिको असन्तुष्टि र वितृष्णास्वरुप नै मतदाताले अहिलेको गठबन्धन पनि स्वीकार नगरेका हुन् ।’ यद्यपि गजुरेलले अघिल्लो पटकको गठबन्धनको सरकार ढलेपछि माओवादीका लागि अहिलेको गठबन्धन बाध्यात्मक रहेको बताए ।

सचिव गणेश साहले पनि चुनावी गठबन्धन प्रतिउत्पादक रहेको टिप्पणी गरे । ‘यो नसोचेको परिणाम होइन कि आउनुपर्ने नै आयो’, उनले भने, ‘यो विजातीय गठबन्धन हो । सरकार चलाउनसम्म यो गठबन्धन ठीक थियो । मेरो विचारमा गठबन्धन चुनावमा प्रतिउत्पादक सावित भयो ।’

यो नतिजाको सन्देश चुनावमा गठबन्धन गर्न हुन्न भन्ने रहेको भन्दै साहले बरु एक्लै लडेको भए माओवादीले राम्रो परिणाम ल्याउने दाबी समेत गरे ।

माओवादीका युवा नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ पनि गठबन्धनबाट अपेक्षित सफलता नभएको बताउँछन् । काठमाडौं लगायतका धेरै क्षेत्रमा गठबन्धनमा मत ‘ट्रान्सफर’ नहुँदा माओवादीका धेरै उम्मेदवार पराजित भएको उनको भनाइ छ ।

माओवादीको राम्रो मत रहेका उदयपुर, सोलुखुम्बु, मकवानपुर, रामेछाप, धादिङ, सल्यान लगायतका जिल्ला पनि गठबन्धनका कारण अर्को दललाई छोड्नुपरेको सापकोटा बताउँछन् ।

सुध्रिने अन्तिम मौका

माओवादीका धेरै नेताहरुले यो चुनावी धक्कालाई सुध्रिने अन्तिम मौका भनि अथ्र्याएका छन् । माओवादीका तल्लो तहका कार्यकर्तादेखि माथिल्लो तहका नेताहरुले पनि पार्टीमा व्यापक सुधार नगरे अवस्था अझैं दयनीय हुने टिप्पणी गरेका छन् ।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले चुनावी परिणामबारे फेसबुकमा टिप्पणी गर्दै यसबाट सुध्रिने मौका पनि रहेको बताएका छन् । उनले भनेका छन्, ‘सबै आँधीबेहेरीहरु तपाईंको जीवन ध्वंश गर्न मात्र आउदैनन्, कुनै तपाईंको बाटो सफा गर्न पनि आउँछन् ।’

उपमहासचिव गजुरेल आफूले पार्टी नेताहरुको कार्यशैली, आचारण सुधार गर्ने कुरा चार वर्षदेखि उठाइरहेको भन्दै अहिलेको परिणाममा त्यो पनि कारक रहेको बताए । ‘म त चार वर्षदेखि नै पार्टीलाई करेक्सन गर्नुपर्छ, नीति विधिमा चल्नुपर्छ र प्रचण्डको कार्यशैली बदल्नुपर्छ भनेर लागेको छु’, उनले भने, ‘सकभर बामपन्थी फुट्न नदिएको भए र हामी अलि फरक ढंगले चलेको भए यो अवस्था आउन थिएन ।’

अब विचार, नीति र कार्यशैलीमा अपडेट गर्नुपर्ने गरेर जानुपर्ने बताउँदै गजुरेल संसद, पार्टी र सरकार पृथक ढंगले चलाउनुपर्ने बताउँछन् ।

सत्ता गठबन्धनले काठमाडौं २ मा गरेको चुनावी सभामा सहभागी नेताहरु । तस्वीर : अनलाइनखबर

सचिव साह माओवादी यसपालि सरकार भन्दा परै बसेर आफ्नो संगठन सुधार तथा वामपन्थीहरुलाई एकतावद्ध गर्नेतर्फ लाग्नुपर्ने बताउँछन् । ‘माओवादी अहिले सरकार भन्दा अलि परै बस्नुपर्छ’, उनको भनाइ छ, ‘आफ्नै संगठनमा सुधार गरेर आगामी दिनम अरु वामपन्थीहरुलाई साथमा लिएर जानुपर्छ ।’

नेता रामप्रसाद सापकोटा पनि माओवादी अब सरकारमा जान नहुने बताउँछन् । आफूले प्रचण्डलाई भेटेर सत्ताबाहिरै बस्नुपर्ने सुझाव दिएको बताए । ‘मैले चाहिँ अस्ति अध्यक्षलाई भेटेको थिएँ’, उनी भन्छन्, ‘अब सत्ताबाहिर बस्नुपर्छ, सिंहदरबार फर्केर पनि हेर्न हुँदैन भन्ने सुझाव दिएको छु ।’

यसबारे आफूहरुले सबै परिणाम आएपछि पार्टीभित्र बहस गर्ने समेत सापकोटाको भनाइ छ ।

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?