+
+

गण्डकीबाट निर्वाचित हेभीवेट : प्रचण्डदेखि चित्रबहादुरसम्म

विकास रोकामगर विकास रोकामगर
२०७९ मंसिर ९ गते १९:३६

९ मंसिर, पोखरा । अघिल्लो पटक चितवनबाट निर्वाचित भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यसपटक गोरखा रोजे ।

प्रचण्डले उक्त क्षेत्रबाट दोब्बर मतान्तरसहित प्रतिनिधि सभा चुनाव जितिसकेका छन् । उनको निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी रहे ।

यसपटक राष्ट्रिय राजनीतिको केन्द्रविन्दुमा गण्डकी प्रदेश प्रचण्डका कारणमात्रै रहेन, प्रदेश तथा प्रतिनिधि सभामा पनि थुप्रै ‘हेभीवेट’ केन्द्रीय नेता प्रतिस्पर्धामा उत्रिएका थिए । लमजुङमा नेकपा एमालेका उपमहासचिव तथा गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र माओवादी महासचिव देव गुरुङको प्रतिस्पर्धा पनि चासोकै विषय थियो । जसमा पृथ्वीसुब्बाले बाजी मारे ।

पृथ्वीसुब्बाले माओवादी महासचिव देवलाई ३ हजार बढी मतान्तरले पराजित गरे । उनले ३४ हजार ९६९ मत ल्याउँदा देवले ३१ हजार ७८१ मत पाएका छन् ।

बागलुङमा सरकारका शिक्षामन्त्रीसमेत रहेका नेकपा माओवादीका देवेन्द्र पौडेल चुनावी मैदानमा थिए । बागलुङ क्षेत्र नं. २ बाट उम्मेदवार बनेका उनले नेकपा एमालेकी मञ्जु शर्मालाई पराजित गरेका छन् । पौडेलले २४ हजार ७७९ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी शर्माले २० हजार १८० मत पाइन् ।

यसपटकको निर्वाचनमा अर्को सबैभन्दा चर्चा स्याङ्जा क्षेत्र नं. २ को भयो । जसमा नेकपा एमालेकी सचिव पद्मा अर्याल र नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ मुख्य प्रतिस्पर्धामा छन् । निर्वाचनकै दिन विवाद हुँदा प्रहरीले एक राउन्ड हवाइ फायर पनि गर्नु परेको थियो ।

मतदान सकिएको ५ दिन बितिसक्दा समेत उक्त निर्वाचन क्षेत्रमा मतगणना सुरु हुन सकेको छैन । नेकपा एमालेले सत्तारुढ गठबन्धनले चापाकोटका ४ वटा मतदान केन्द्र कब्जा गरेर मृतकको नाममा पनि मतदान गरेको आरोप लगाउँदै निर्वाचन आयोगमा उजुरी दिएको छ । ती केन्द्रमा पुनः मतदान गर्नुपर्ने एमालेको माग छ ।

तर, यता नेपाली कांग्रेससहितका गठबन्धन घटक पार्टीले भने तत्कालै मतगणना हुनुपर्ने मागसहित उम्मेदवार गुरुङ नै धर्ना बसेका छन् । स्याङ्जा वालिङस्थित निर्वाचन अधिकृतको कार्यालय परिसरमा एकातर्फ एमालेले पुनः मतदान गर्न नाराबाजी गर्न गर्दै आएको छ भने अर्कोतर्फ नेपाली कांग्रेसले मत गणनाको माग गरेको छ ।

स्याङ्जा–२ बाट एक जनामात्रै संसद प्रवेश गर्ने निश्चित छ । प्रतिनिधि सभातर्फ गण्डकीबाट १८ सिटमा अब स्याङ्जाको उक्त क्षेत्रको मात्रै मत गणना गर्न बाँकी छ ।

राष्ट्रिय राजनीतिमा यसपालि तनहुँको पनि राम्रै चर्चा भयो । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका थिए । उनले नेकपा एमालेका एकबहादुर रानालाई हराउँदै अघिल्लो हारको बद्ला लिए । ०४८ देखि निरन्तर संसदीय निर्वाचनमा भाग लिँदै आएका पौडेलले ०७४ मा मात्रै हार व्यहोर्न पुगेका थिए ।

पौडेल अघिल्लो पटक तत्कालीन नेकपा एमालेका किसान श्रेष्ठसँग पराजित भएका थिए । किसान अहिले गठबन्धन घटक नेकपा एकीकृत समाजवादीमा छन् । उनले पौडेललाई आफ्नो क्षेत्र छोडर बारा ४ बाट जित निकालिसकेका छन् ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको बागलुङ १ बाट दिएको उम्मेदवारी पनि चासोकै विषय थियो । उनीसँग नेकपा एमालेका निवर्तमान सांसदसमेत रहेका डा सूर्य पाठक पराजित भए । केसीले २१ हजार ४५१ मत पाउँदा पाठकले १८ हजार ८२५ मत पाए ।

गण्डकीबाट प्रतिनिधि सभामा विजय हुने ‘हेभिवेट’मध्ये नवलपुर क्षेत्र नं. १ का नेपाली कांग्रेसका शशांक कोइराला पनि छन् । उनले नेकपा एमालेका कृष्णप्रसाद पौडेललाई पराजित गरेका छन् । अघिल्लो पटक गण्डकीबाट प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्यमा जित निकाल्ने उनी एक्लो थिए ।

निर्वाचन जितिसकेपछि कोइरालाले आफू प्रधानमन्त्रीका लागि तयार रहेको प्रतिक्रिया दिइसकेका छन् । तपाईं प्रधानमन्त्रीको लाइनमा हो ? सञ्चारकर्मीको प्रश्नमा उनको जवाफ थियो, ‘हो नि ! नत्र राजनीति किन गर्ने ? महामन्त्री भएर पार्टी चला’छु, चार पटक जित्या’छु । विकास ग¥या’छु । योभन्दा बढ्ता के चाहियो ?’

कोइरालाजस्तै नेकपा माओवादी केन्द्र अध्यक्ष प्रचण्ड पनि प्रधानमन्त्रीका दाबेदार हुन् । तनहुँबाट निर्वाचन जितेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि प्रधानमन्त्री बन्ने दौडमै छन् । यसअघि १७ पटक प्रयास गर्दा पनि असफल भएका पौडेलले आफू प्रधानमन्त्री हुने नै अन्तिम इच्छा भएको अभिव्यक्ति दिँदै आएका छन् ।

गण्डकीबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरुः

कास्की

१ मनबहादुर गुरुङ (नेकपा एमाले)

२ विद्या भट्टराई (नेकपा एमाले)

३ दामोदर पौडेल बैरागी (नेकपा एमाले)

गोरखा

१ राजेन्द्र बजगाईं (नेपाली कांग्रेस)

२ पुष्पकमल दाहाल प्रचण्ड (नेकपा माओवादी केन्द्र)

स्याङ्जा

१ राजु थापा (नेपाली कांग्रेस)

२ मतगणना गर्न बाँकी

तनहुँ

१ रामचन्द्र पौडेल (नेपाली कांग्रेस)

२ शंकर भण्डारी (नेपाली कांग्रेस)

लमजुङः

पृथ्वीसुब्बा गुरुङ (नेकपा एमाले)

मनाङः

टेकबहादुर गुरुङ (नेपाली कांग्रेस)

मुस्ताङः

योगेश गौचन थकाली (नेपाली कांग्रेस)

पर्वतः

पदम गिरी (नेकपा एमाले)

बागलुङः

१ चित्रबहादुर केसी (राष्ट्रिय जनमोर्चा)

२ देवेन्द्र पौडेल (नेकपा माओवादी केन्द्र)

म्याग्दीः

खमबहादुर गर्बुजा (नेपाली कांग्रेस)

नवलपुरः

१ शशांक कोइराला (नेपाली कांग्रेस)

२ विष्णुकुमार कार्की (नेपाली कांग्रेस)

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?