+
+

आफ्नै कार्यकर्ता चिढ्याउँदा चुनाव हारेका गृहमन्त्री

सत्ताको बागडोर सम्हालेको कांग्रेसका प्रभावशाली नेतासमेत रहेका उनलाई गृहमन्त्री हुँदा सम्पन्न भएको निर्वाचन बिर्सनलायक बनेको छ ।

लिलु डुम्रे लिलु डुम्रे
२०७९ मंसिर १० गते १९:५६

१० मंसिर, काठमाडौं । दीपक बोहरालाई यो चुनावमा नबोलेर फाइदा भयो, बालकृष्ण खाँणलाई बोलेर नोक्सान ।

अघिल्लो चुनावमा कांग्रेसको साथ पाउँदा हारेका राप्रपा नेता बोहरालाई योपल्ट एमाले कार्यकर्ता फकाउनुपर्ने, कांग्रेसको विरोध गर्नुपर्ने हुन्थ्यो । तर उनले बोलेनन् । जबकि गृहमन्त्री तथा शेरबहादुर देउवा मन्त्रिपरिषदका सबैभन्दा शक्तिशाली मन्त्री खाँण भने आफ्नै अभिव्यक्तिहरुका कारण एकपछि अर्को विवादमा तानिँदै गए ।

रुपन्देही–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक बोहरालाई लङ कोभिडका कारण चिकित्सकले ‘भ्वाइस रेष्ट’ को सुझाव दिएका थिए । चुनावी प्रचारका क्रममा उनले भाषण गर्न स्वास्थ्यले साथ दिएन । चिकित्सकबाट नबोल्न भनी सुझाव पाएका बोहरालाई मतदाताले संसदमा गएर ‘हाम्रो आवाज बोल’ भनी पठाइदिए ।

बोहरासँग बहालवाला र त्यसमा पनि शक्तिशाली गृह मन्त्रालय सम्हालेका खाँण पराजित भए । वर्तमान मन्त्रिपरिषदका पराजित हुने मन्त्रीहरुमा सर्वाधिक शक्तिशाली उनै हुन् । सुरक्षा कायम गर्ने सर्वोच्च निकाय गृह मन्त्रालय सम्हालेका खाँणले जितमार्फत आफ्नै सुरक्षा गर्न सकेनन् ।

सत्ताको बागडोर सम्हालेको कांग्रेसका प्रभावशाली नेतासमेत रहेका उनलाई गृहमन्त्री हुँदा सम्पन्न भएको निर्वाचन बिर्सनलायक बनेको छ ।

कांग्रेसको १४ औं महाधिवेशन, परिवारवाद, आफ्ना विवादित अभिव्यक्ति लगायतका कारण उनी पराजित हुने पुगेको रुपन्देहीका कांग्रेस नेताहरु बताउँछन् । महाधिवेशनमा शक्तिको दुरुपयोग तथा संस्थापन पक्षको बलमा खाँणले अर्को पक्षलाई दुःख दिएको आरोप छ । पार्टीको संस्थापनइतरले रुपन्देही जिल्ला अधिवेशन हुँदा निर्वाचनको माग गरेको थियो । तर, खाँणले सहोदर भाइ रामकृष्ण खाँणलाई जिल्ला सभापति बनाउन निर्वाचनका लागि तयार भएनन् । सर्वसम्मतको नाममा खाँणलाई जिल्ला सभापति बनाइएको थियो ।

संस्थापन पक्षका नेता तथा पूर्व सांसद भरत शाहकी पत्नी डा. अनिता शाहलाई उपसभापति बनाइयो । गृहमन्त्रीका भाइ रामकृष्ण हाल तिलोत्तमा नगरपालिकाको मेयर छन् ।

महाधिवेशनमा तिक्तता बढेकै थियो । निर्वाचनको नजिक आउँदा खाँण थप विवादित हुन पुगे । उनी विवादित हुनुको कारण श्रीमतीलाई समानुपातिक तर्फको उम्मेदवार बनाउनु थियो । खाँणकी श्रीमती मञ्जु खाँणको नाम समानुपातिक तर्फ महिलाको सूचीमा छैटौं नम्बरमा राखिएको छ ।

भाइलाई जिल्ला सभापति बनाउने, मेयरको टिकट दिने र श्रीमतीलाई समानुपातिक सूचीमा राखेका गृहमन्त्री खाँणले भाषणका क्रममा भने गठबन्धनका कारण अरु दललाई सिट छाड्नुपर्ने हुनाले त्याग गर्नुपर्ने अभिव्यक्ति दिन्थे । असोज ८ मा आफ्नै निर्वाचन क्षेत्र रुपन्देहीमा बोल्ने क्रममा उनले भनेका थिए, ‘सबै जना उम्मेदवार हुन सम्भव छैन । राजनीतिमा त्याग गर्न पनि सिक्नुपर्दछ ।’

परिवारका सदस्यको व्यवस्थापन गरेर कार्यकर्तालाई त्यागको राजनीति सिकाएपछि जिल्लाका नेता तथा कार्यकर्ता उनीप्रति थप रुष्ट भए । ‘जिल्ला सभापतिमा निर्वाचन हुनुपर्ने एक पक्षको माग थियो । उहाँले जबर्जस्ती भाइलाई सभापति बनाउनुभयो’, रुपन्देहीका जिल्ला तहका कांग्रेसका एक नेता भन्छन, ‘श्रीमतीलाई समानुपातिकमा राखेर अरुलाई त्याग गर्न सुहाउँछ?’

मतदानको केही दिनअघि जिल्लामा जबर्जस्तको अर्को विषय फैलियो, ‘खाँणले आफू जित्न रुपन्देही २ मा विष्णु पौडेलसँग साँठगाँठ गरेका छन् ।’ एमालेका विष्णु पौडेललाई जिताउन साँठगाँठ गर्नेलाई किन मत दिने भनी कतिपय कार्यकर्तामा पर्‍यो ।

स्थानीय तह निर्वाचनमा वडास्तरमा पाएको मतको आधारमा पनि यो क्षेत्रमा बोहरा सहज स्थितिमा थिए । विपक्षी गठबन्धनमा रहेका नेकपा एमाले, राप्रपा, जनता समाजवादी पार्टीका वडाध्यक्षका उम्मेदवारले पाएको मत करिब ४८ हजार छ ।

तर सत्तारुढ गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका साथै खाँणलाई सहयोग गर्न सहमति जनाएको राष्ट्रिय जनमुक्ति पार्टीको मत जोड्दा करिब ४२ हजार पुग्छ ।

देउवा सरकारका शक्तिशाली मन्त्री भएका कारण सरकारले गरेका आलोचनात्मक कामको असर पनि मन्त्री खाँणको मतमा परेका कारण उनी पराजित हुन पुगेका कांग्रेसका नेताहरु बताउँछन् ।

चुनावी प्रतिवद्धताका क्रममा खाँणले लुम्बिनीको राजधानी बुटवलमा सार्ने बताएका थिए । साथै, रुपन्देहीलाई मुलुककै विकासको केन्द्र बनाउने, सिद्धार्थ रिङरोड, अत्याधुनिक कृषि थोक बजार लगायतका योजना सुनाएका थिए । खाँणका योजनालाई मतदाताले पत्याइदिएनन् ।

कांग्रेस उम्मेदवार खाँणलाई सघाएवापत एक व्यवसायीलाई सिद्धार्थनगर नगरपालिकामामा अर्को पटक मेयर बनाउने समाचार क्षेत्रमा भाइरल बन्यो । उक्त सहमति नै नभएको भनि पछि जिल्ला सभापति रामकृष्ण खाँणले विज्ञप्ति निकाले । असत्य भएको भनिएपनि उक्त समाचारले खाँणको विपक्षमा माहोल बनाउन भूमिका खेल्यो ।

खाँणको पराजयमा उनका प्रतिस्पर्धीको पृष्ठभूमि बलियो हुनु पनि हो । बोहराले पञ्चायत काल र गणतन्त्रपछि गरी सात पटक मन्त्री बनिसकेका छन् । खाँणको प्रभाव रुपन्देही रहेको कांग्रेसका स्थानीय तहका नेताहरु नै स्वीकार्छन् । उक्त कुराको पुष्टि सिद्धार्थनगर नगरपालिकामा राप्रपा मेयरको प्रतिस्पर्धामा दोस्रो स्थानको मत आउनुले देखाउँछ ।

आफ्ना चुनावी क्याम्पेनर निरञ्जन थापासँग दीपक बोहरा ।

यस क्षेत्रका धेरै मतदाता रहेको भैरहवा (सिद्धार्थनगर नगरपालिका) मा राप्रपाका सागरप्रताप राणाले कांग्रेस उम्मेदवारसँग पराजित भएका थिए । भैरहवा रुपन्देहीको दोस्रो ठूलो शहर हो । एकातिर, खाँणले आफ्नै कार्यकर्तालाई चिढ्याउनु र अर्कोतर्फ बोहराले कांग्रेससँग जिल्लामा सम्बन्ध नबिगारेकाले जित सम्भव भएको जिल्लाका नेताहरु बताउँछन् ।

स्थानीय तहको मतमा यो क्षेत्रमा पहिलो शक्ति कांग्रेस बनेको थियो । साथै, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा लगायतका दलको साथ भएपनि उनले जित निकाल्न सकेनन् । कांग्रेसले ३४ हजार १५३ मत पाएको थियो । एमालेको पक्षमा २९ हजार ४८ मत थियो । राप्रपाको १३ हजार ३९७ मत थियो । जनता समाजवादीका पक्षमा ६ हजार १८३, माओवादी केन्द्र २ हजार ८८१, लोसपाको पक्षमा २ हजार १७४ मत खसेको थियो ।

रुपन्देही–३ मा सिद्धार्थ नगरपालिका, शुद्धोधन गाउँपालिकाका सबै वडासहित तिलोत्तमा नगरपालिकाका १३ र १४ वडा, बुटवल उपमहानगरका १४, १५, १६, १७, १८ र १९ वडा, सियारी गाउँपालिकाका १, २, ३, ४, ५, ६ र ७, मायादेवी गाउँपालिकाका ७ र ८ तथा ओमसतिया गाउँपालिकाको वडा नम्बर २ पर्छ । गत स्थानीय तहमा ओमसतरिया बाहेक अरु पालिकामा कांग्रेसले जितेको थियो । कांग्रेसको मत तथा गठबन्धनको बल उनका लागि काम लागेन ।

नेपाली कांग्रेसमा खाँण कुशल संगठकमा रुपमा चिनिन्छन् । पार्टीका मुख्य दुई भ्रातृ संस्था नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष उनी बनिसकेका हुन् । २०४४ पुसमा नेविसंघको छैटौं महाधिवेशनले उनलाई अध्यक्ष बनाएको थियो । २०५४ सालमा खाँणलाई पूर्व सभापति गिरीजाप्रसाद कोइरालाले तरुण दलको अध्यक्ष बनाएका थिए ।

पञ्चायतको कब्जामा पुगेको तरुण दल २०५४ मा पुनर्गठन भएको थियो । ३७ वर्षपछि तरुण पुनः क्रियाशील हुँदा उनी अध्यक्ष बने । देशव्यापी सञ्जाल भएको नेविसंघबाट आएका युवाहरूलाई एकत्रित गर्न सहज परिकल्पना सहित तरुण दललाई निरन्तरता दिइएको थियो ।

खाँण र बोहरा जिल्लामा प्रतिस्पर्धा गर्दै आएपनि आमने सामने भएको यसैपटक पहिलो हो । २०६४ मा रुपन्देही १ बाट उम्मेदवार बनेका बोहरा पराजित भएका थिए । २०७० सालमा २ बाट जिते । अघिल्लोपटक २०७४ मा एमाले नेता घनश्याम भुसालसँग बोहरा पराजित भएका थिए । तत्कालीन समयमा कांग्रेसले बोहरालाई सघाएको थियो । अघिल्लोपटक कांग्रेसको समर्थन पाउँदा हारेका बोहराले यसपटक एमालेको साथ लिएर कांग्रेसका खाँणलाई हराइदिए ।

२०६४ र २०७० सालमा खाँण यसै क्षेत्रबाट निर्वाचित भएका थिए । २०४८ मा भने उनी बुटवल क्षेत्रबाट जितेका थिए । २०७४ मा भने उनी समानुपातिक सांसद बने । अघिल्लो संसदमा खाँण कांग्रेस संसदीय दलको प्रमुख सचेतक थिए । नेकपा विभाजन भई कांग्रेसको नेतृत्वमा सरकार हुँदा सभापतिका विश्वासपात्र खाँणले गृह मन्त्रालयको जिम्मेवारी पाए । विगतमा खाँणले रक्षा, जलस्रोत तथा सिँचाइ मन्त्रालय सम्हालिसकेका थिए ।

१४ औं महाधिवेशनमा महामन्त्रीको बलियो आकांक्षी रहेका उनले केन्द्रीय सदस्यमै चित्त बुझाउनु पर्‍यो । खुला केन्द्रीय सदस्यतर्फ तेस्रो स्थानको मत २ हजार ८७९ ल्याएर खाँण निर्वाचित भएका थिए ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?