+
+

चक्र मल्ल : गठबन्धनबाट लड्दा हारे, एक्लै लड्दा जिते

रामहरि ओझा रामहरि ओझा
२०७९ मंसिर १० गते २१:४१

१० मंसिर, डोटी । मंसिर ७ गते बिहानसम्म एमाले कार्यकर्ताहरु डोटी प्रदेश सभा १ बाट चक्रबहादुर मल्ल जित्नेमा ढुक्क थिए ।

मतगणनाको सुरुदेखिनै मल्लले अग्रता कायम राखेका थिए । तर जब शिखर नगरपालिकाको मत गणना सुरु भयो, तब मतान्तर लगातार घट्दै गयो । त्यसपछि एमाले कार्यकर्ताहरुमा चिन्ता बढ्यो । नेता कार्यकर्ताहरुबीच मतको हिसाब किताब सुरु भयो, झिनो मतान्तरले जित्ने निश्कर्ष एमालेले निकाल्यो । अन्तिम गणना परिणाम आउँदा मल्ल ४५० मतको अन्तरले प्रदेशसभामा निर्वाचित हुन सफल भए ।

एमाले डोटी जिल्ला अध्यक्षसमेत रहेका मल्लले नेपाली कांग्रेस डोटी जिल्ला सभापतिसमेत रहेका सत्ता गठवन्धनका ा उम्मेदवार नरेन्द्रबहादुर खड्कालाई पराजित गरे । मल्लले १५ हजार २७९ पाउँदा सिंहले १४ हजार ८२९ पु¥याए ।

०७४ सालको निर्वाचनमा मल्ल सोही पदका लागि चुनावी मैदानमा थिए । तत्कालीन बाम गठबन्धनका साझा उम्मेदवार हुँदाहुँदै पनि उनी ६१४ मतान्तरले पछि परे । बाम गठबन्धनसंग प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर खड्काले १७ हजार ४०६ मत पाउँदा मल्लले १६ हजार ७९२ मत पाएर पराजित भएका थिए ।

प्रतिनिधि सभा र प्रदेश सभा ‘२’ बाट बाम गठबन्धनका उम्मेदवारहरुले जित्दा मल्लले हार्नु पार्टीभित्रैबाट घात भएको एमालेको निश्कर्ष थियो । अन्तर्घातको आरोपमा ४ जनालाई एमालेले कारबाहीसमेत गरेको थियो । त्यतिबेला उनी हार्नुमा उनको स्वभावलाई पनि जोडिएको थियो । यस पटक भने उनले गठबन्धनका साझा उम्मेदवारलाई हराउँदै बदला लिएका छन् ।

कठोर परिश्रमपछिको संसदीय बाटो

०७० को संबिधान सभा सदस्य निर्वाचनमा पनि मल्ल आकांक्षी थिए । पार्टीको जिल्ला कमिटीबाट उनको नाम पहिलो नम्बरमा सिफारिस भएको थियो । तर उनले टिकट पाएनन् । आफूले टिकट नपाएका कारण अन्तर्घात गरेको आरोप त्यतिबेला मल्ललाई लागेको थियो ।

०७४ सालमा उनीसंगै अन्य आकांक्षीहरु पनि जिल्लाबाट सिफारिस भएका थिए । उनले टिकट त पाए तर जित्न सकेनन् । ‘त्यतिबेला उहाँ हार्नुमा अन्तर्घातनै पहिलो कारण हो’ एक एमाले कार्यकर्ता भन्छन् ‘दोस्रो कारण उहाँको स्वभाव पनि हो । उहाँ अलि रुखो स्वभावका हुनुहुन्छ ।’

यस पटक उनी प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवार बन्न चाहन्थे । पार्टीको निर्वाचन क्षेत्रीय कमिटी र जिल्ला कमिटीले उनको नाम प्रतिनिधि सभाकै लागि सर्वसम्मत सिफारिस गरेको थियो ।

तर पार्टी केन्द्र्रले उनलाई प्रदेशमा झा¥यो । ‘म प्रदेशमा चुनाव लड्ने मानसिकतामै थिइन, मैले चाहेको प्रतिनिधिसभामै हो’ मल्ल भन्छन्, ‘पार्टीले प्रदेशका लागि निर्णय गरिसकेपछि मैले साथीहरुसंग सल्लाह गरेँ, सबैले लड्नुपर्छ भन्नुभयो, अनि तयार भएको हुँ ।’

कसरी सम्भव भयो जित ?

एकातिर कांग्रेस भन्दा एमालेको मत नै कम, त्यसैमा गठबन्धन हुँदा माओवादी र समाजवादीमा मत थपिएपछि चुनाव जित्नु मल्लका लागि फलामको चिउराजस्तै थियो ।

वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतलाई आधार मान्ने हो भने सत्ता गठबन्धनभन्दा एमाले झण्डै १० हजार मतले पछि थियो । धेरैले मल्लले चुनाव नजित्ने आँकलन गरेका थिए । यस पटक पनि चुनाव हारे मल्लको राजनीतिक भविष्य संकटमा पर्ने चर्चा थियो ।

०७४ को स्थानीय तहको निर्वाचन डोटी प्रदेश सभा क्षेत्र १ मा पर्ने आदर्श, सायल, पूर्वीचौकी गाउँपालिका र दिपायल सिलगढी नगरपालिकामा एमालेले जितेको थियो । शिखर नगरपालिकामा कांग्रेस जितेको थियो । शिखरका ११ मध्ये ५ वडा क्षेत्र १ मा पर्छन् । वैशाख ३० गतेको निर्वाचनमा यी सबै पालिकामा कांग्रेसले जितेको छ । सोझो हिसाबले हेर्दा पनि मल्ललाई चुनाव जित्न सम्भव थिएन ।

तर असम्भवलाई सम्भव बनाइदिए मल्लले । आफू चुनाव जित्नुमा पार्टी नेता कार्यकर्ताहरुको खटाइ महत्वपूर्ण भएको मल्ल बताउँछन् । ‘पार्टीका सबै नेता कार्यकर्ताहरुले कडा परिश्रम गर्नु भयो, उहाँहरुको परिश्रमले सहज बनायो,’ मल्ल भन्छन् ‘अन्य पार्टीका साथीहरुले पनि सहयोग गर्नु भयो ।’

गत निर्वाचनमा भएको पराजयले पनि मल्ललाई यस पटक सफलताको सिँढी चढायो । गत निर्वाचनमा हारेको सहानुभूति यस पटक मतमार्फत प्रकट गरे मतदाताले । उनका लागि अर्को बलियो आधार जिल्लाको भूगोल नछोड्नु पनि हो । ‘चुनाव हारेपछि पनि पटक पटक संगठन निर्माणका लागि बस्तीबस्ती धाउनुभयो उहाँले’ उनी निकट एक एमाले नेता भन्छन् ‘यसले उहाँलाई धेरै फाइदा पुर्‍यायो ।’

‘रुखो स्वभाव’ का भन्दै पार्टी कार्यकर्ताहरुबीच पनि आलोचना हुने गरेका मल्लले यस पटक पार्टी नेता कार्यकर्ता र मतदाताबीच आफूलाई सरल रुपमा प्रस्तुत गरेका एमाले नेताहरु बताउँछन् ।

को हुन् चक्र मल्ल ?

२०३७ सालमा आदर्श गाउँपालिका–३, झुँडामा जन्मिएका मल्ल कलिलै उमेरमा बिद्यार्थी राजनीतिमा होमिए ।

२०४९ सालमा डोटीको सीताराम माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्दा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्यमा आवद्ध भएर राजनीतिमा जोडिए उनी ।

विद्यार्थी संगठनको विद्यालय प्रारम्भिक कमिटीको अध्यक्ष हुँदै उनी केन्द्रीय सदस्यसम्म पुगे । मल्ल ०५७ सालमा डोटी बहुमुखी क्याम्पसको स्ववियु सभापति निर्वाचित भए ।

अंग्रेजी बिषयमा स्नातकोत्तर मल्ल विद्यार्थी राजनीतिपछि २०६१ सालदेखि डोटी क्याम्पसमा शिक्षण पेशामा लागे । ०६४ सालतिर नेकपा एमालेको जिल्ला कमिटी सदस्य बनेका मल्ल २०६६ सालमा पार्टीको जिल्ला कमिटी उपाध्यक्ष र ०६९ मा अध्यक्ष भए ।

उनी त्यतिबेला साविकका ७५ जिल्लाका एमाले अध्यक्षहरुमध्ये कान्छा अध्यक्ष थिए । गर्त बर्ष भएको जिल्ला अधिवेशनबाट उनी फेरि अध्यक्ष भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?