+
+

पेले पछ्याउँदै एमबाप्पे

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ११ गते १५:३९

११ मंसिर, काठमाडौं । कतारमा भइरहेको विश्वकपमा क्रिस्टियानो रोनाल्डो, लिओनल मेसी, किलिएन एमबाप्पे जस्ता स्टार खेलाडीले कीर्तिमान बनाइरहेका छन् ।

सम्भवतः आफ्नो अन्तिम विश्वकप खेलिरहेका रोनाल्डो र मेसीले पाँच विश्वकप खेल्ने कीर्तिमान बराबरी गरिसके । यस्तै ३७ वर्षीय रोनाल्डोले पाँच विश्वकपमा गोल गर्ने र ३५ वर्षीय मेसी पाँच विश्वकपमा असिस्ट गर्ने पहिलो खेलाडीको कीर्तिमान पनि बनाए ।

अर्का युवा सुपर स्टार एमबाप्पेले भने वर्षौं अघि पेलेको राखेको कीर्तिमान बराबरी गर्दै आएका छन् ।

उनले कतारमा ३ गोल गरिसकेका छन् । २०१८ को विश्वकपमा ४ गोल गरेका एमबाप्पेले विश्वकपमा कूल ७ गोल गरिसकेका छन् । उनले २४ वर्ष लाग्नुअघि विश्वकपमा ७ गोल गर्ने पेलेको कीर्तिमान बराबरी गरेका छन् ।

चार वर्षअघि रुसमा भएको विश्वकपमा फ्रान्सले उपाधि जित्दा पनि एमबाप्पेले पेलेकै कीर्तिमान बराबरी गरेका थिए । उनी फाइनलमा गोल गर्ने पेले पछि पहिलो टिनएजर खेलाडी बनेका थिए भने विश्वकपको एकै खेलमा दुई गोल गर्ने पेले पछिकै पहिलो खेलाडी बनेका थिए । पेलेले सन् १९५८ मा १७ वर्षको उमेरमै विश्वकपमा गोल गरेका थिए । एमबाप्प्ले १९ वर्षको उमेरमै विश्वकप पनि जिते ।

अहिले उनै एमबाप्पेको प्रदर्शनमा फ्रान्स लगातार दोस्रो पटक विश्वकप जित्ने लक्ष्यमा छ ।

अहिले कतारमा भइरहेको २२औं संस्करणको फिफा विश्वकपमा एमबाप्पेले आफूलाई प्रमाणित गरिरहेका छन् ।

एमबाप्पेकै दुई गोल मद्दतमा शनिवार डेनमार्कलाई २-१ ले हराएर फ्रान्स जारी विश्वकपको अन्तिम १६ मा स्थान बनाउने पनि पहिलो टिम बनेको छ । एमबाप्पेले विश्वकपमा जम्मा ९ खेल खेल्दा नै ७ गोल गरेका हुन् ।

एमबाप्पे अहिले उत्कृष्ट लयमा छन् । पेरिस सेन्ट जर्मेनबाट खेल्ने उनले फ्रान्सका लागि पछिल्लो १२ खेलमा १४ गोल गरिसकेका छन् ।

अहिलेको पुस्ताका उत्कृष्ट खेलाडी क्रिस्टियानो रोनाल्डो र लिओनल मेसीले पाँच पटक विश्वकप खेल्दा भर्खर ८ गोल पुर्याएका छन् । तर, एमबाप्पेले भने २३ वर्षको उमेरमै विश्वकप जित्नेदेखि ७ गोल गर्ने सफलतासम्म हात पारिसकेका छन् ।

यस्तै उनी फ्रान्सका लागि सर्वाधिक गोल गर्नेमा जिनेदिन जिदानसँगै संयुक्त रुपमा सातौं स्थानमा उक्लेका छन् । दुवैले समान ३१ गोल गरेका छन् । जिदानले त्यसका लागि १०८ खेल खेलेका थिए । एमबाप्पेले ६१ खेलमै उक्त उपलब्धी हात पारिसकेका छन् ।

भेट्रान फरवार्ड करिम बेन्जेमा देखि मिडफिल्डर पउल पोग्बासम्म चोटका कारण कतार विश्वकपमा छैनन् । फ्रान्सको उपाधि रक्षा अभियान धेरै हदसम्म एमबाप्पेकै प्रदर्शन निर्भर रहनेछ ।

सन् १९६२ मा ब्राजिलपछि लगातार दुई विश्वकप जित्ने लक्ष्यमा रहेको फ्रान्सका लागि एमबाप्पेकै प्रदर्शन महत्वपूर्ण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?