+
+

सुनसरी ४ मा ज्ञानेन्द्रबहादुर कार्कीको सकसपूर्ण जित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १५ गते ११:२२

१५ मंसिर, सुनसरी  ।  निर्वाचितलाई सधैं सत्ताको पहुँचमा पुर्‍याइरहने सुनसरी ४ यो पटक पनि तीव्र विवादका बीच अन्तिम निर्णय दिन सफल भएको छ । बाकसभित्रका मतलाई तीन दिनसम्म अनिर्णयको घेरामा राखिए पछि अन्तत: सकसपूर्ण जित निकाल्दै नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की झिनो मतले विजयी भए ।

निकटतम प्रतिद्वन्द्वी प्रदेश १ का पूर्व वन वातावरण तथा पर्यटन मन्त्री जगदीशप्रसाद कुसियैत बहालवाला सञ्चार तथा सूचना प्रविधि मन्त्री कार्कीसँग ११२ मतले पराजित भए ।

कार्की ३० हजार ४८३ मत सहित बिजयी भए भने उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका जगदिश प्रसाद कुसियैतले ३० हजार ३७१मत ल्याए ।

सुनसरी ४ बाट निर्वाचन जित्नेहरू सबै सत्तामा पुगेका छन् । स्व. गिरिजाप्रसाद कोइराला ०४८, ०५१ र ०५६ साल गरी तीनपटक यसै क्षेत्रबाट निर्वाचित भएका थिए । कोइराला पाँच पटक प्रधानमन्त्री बने ।

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव ०६४ र ०७० सालको संविधानसभा निर्वाचनमा यहाँबाट विजयी भए ।

०७४ को निर्वाचनमा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भए । विजयी कार्की र पराजित कुसियैत दुवै राजनीतिको केन्द्रमा छन् ।

कुसियैत ०५६ सालको उपनिर्वाचनमा विजयी भएका थिए । उनी ०७४ मा प्रदेश सभा ४ ‘२’ बाट विजयी भएका थिए ।

०७४ मा क्षेत्र परिवर्तन गर्दै सुनसरी आएका कार्कीले एमालेका उम्मेदवार रमेश श्रेष्ठलाई ६ हजार ५ सय ९७ मतान्तरले पराजित गरेका थिए ।

निर्वाचनमा मत दिएर जिताएर पठाएका व्यक्ति देशको मन्त्री र प्रधानमन्त्री बने पनि यो क्षेत्रको विकास र समृद्धिमा नेताले ध्यान नदिएको यस क्षेत्रका मतदाताको आरोप छ ।

०७४ मा भोजपुर छाडेका ज्ञानेन्द्रबहादुर कार्की सुनसरी–४ बाट विजयी भए । उनी अर्थ, कानुन र सञ्चारमन्त्री बने ।

तर यही क्षेत्रका कतिपय स्थान आज पनि सञ्चार सुविधाविहीन रहेको यहाँका वासिन्दाले गुनासो गर्दै आएका छन् । तर कार्कीले आफूले प्रतिबद्धताको ८० प्रतिशत काम पूरा गरेको दाबी गरेका छन् ।

स्थानीय निर्वाचनमा यो क्षेत्रमा पर्ने रामधुनीबाहेक सबै पालिकामा कांग्रेस विजयी भएको थियो । कोशी गाउँपालिकामा ऐयुब अन्सारी दोस्रो पटक अध्यक्षमा निर्वाचित भए । हरिनगर गाउँपालिकामा गफार अन्सारी पनि दोस्रो पटक अध्यक्षमा विजयी भए ।

सुनसरी ४ को प्रदेश सभामा १ बाट कांग्रेसका सदानन्द मण्डल निर्वाचित भए भने प्रदेश सभा २ बाट कांग्रेसकै इसराइल मन्सुरी निर्वाचित भइसकेका छन् ।

सुनसरी ४ मा रामधुनी नगरपालिकाका ४, बराहक्षेत्र ६, ७, ८, ९, १० र ११ पर्छन् । कोशी गाउँपालिकाका सबै वडा यसै क्षेत्रमा पर्छन् ।

इनरुवा ३, ४ र ८, भोक्राहा गाउँपालिकाका सबै वडा र हरिनगरका १, २, ४, ५, ६ र ७ पनि यसै क्षेत्रमा पर्छन् ।

मन्त्री कार्की र कुसियैतको रोमाञ्चक प्रतिस्पर्धा

सुनसरी क्षेत्र नं. ४ को मतगणना कोशी गाउँपालिका वडा नं. ८ बाट सुरु भएको थियो । पहिलो १ सय मत गणना गर्दा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुरुवाती अग्रता लिएका थिए ।

प्रदेश १ का पूर्व वन, वातावरण तथा पर्यटन मन्त्री कुसियैतले ३८ मत प्राप्त गर्दा मन्त्री कार्कीले ४५ मत प्राप्त गरेका थिए ।

२०० गणना गर्दा मन्त्री कार्कीले ३० मतान्तरको अग्रता लिएका थिए । घोषणा गरिएको ३ सय, ४ सय ६ सय हुँदै १ हजार २ सय मत गणना गर्दा कार्कीले ५ सय ३० मत प्राप्त गरेका थिए । कुसियैतले ३ सय ८८ र स्वतन्त्र उम्मेदवार खालिद हुसैन हकले १ सय ९ मत प्राप्त गरेका थिए ।

कोशी ८, इनरुवा ३, रामधुनी ४, भोक्राहा नरसिंह १ को मत गणना गर्दा समेत कार्कीले १ सय १३ मतको अग्रता लिएका थिए ।

पहिलो विवाद

रामधुनी ४ मा खसेको मतमा १० मत बढी भेटिएको र बदर मत १७२ गणना भएको थियो । तर पुन: गणना रुजु गर्दा बदर मत २ सय २९ भेटिएको थियो ।

सो विवाद मिलाउन मुख्य निर्वाचन अधिकृतले उम्मेदवारबीच दुई पक्षीय छलफल गरी समस्या समाधान गरेका थिए ।

रामधुनीको मत गणना सुरु भएपछि पहिलो पटक कुसियैतले कार्कीलाई १ सय २२ को मतान्तरले पछि पारेका थिए । मन्त्री कार्कीले ३ हजार ६ सय ५७ मत प्राप्त गर्दा कुसियैतले ३ हजार ७ सय ७९ मत प्राप्त गरेका थिए ।

कुसियैतले मतान्तर बढाउँदै ८ सय ८० सम्म पुर्‍याएका थिए । कुसियैतले ८ हजार ३ सय १५ मत प्राप्त गर्दा मन्त्री कार्कीले ७ हजार ५ सय १० मत प्राप्त गरेका थिए ।

३२ वटा वडा रहेको सुनसरी ४ मा १२ वटा वडाको मतगणना सम्पन्न गर्दा मन्त्री कार्कीले १ सय ७५ मतले पछि परेका थिए । कार्कीले १२ हजार ७ सय ७२ मत प्राप्त गर्दा कुसियैतले १२ हजार ९ सय ४७ मत प्राप्त गरेका थिए ।

इनरुवा ३, ८, रामधुनी ४, कोशी १, २, ७, ८, भोक्राहा १, ३, हरिनगर १, २, बराहक्षेत्र ६ र ७ को मतगणना सकिंदा पुन: कुसियैत ८ सय ५७ मतले अगाडि देखिएका थिए । मतान्तर बढाउँदै कुसियतले १ हजार १ सय ७१ पुर्‍याएका थिए ।

हरिनगर २, ४, ५ भोक्राहा ३, ४, ५, ६, कोशी २, ३, ४, इनरुवा ४, बराहक्षेत्र ८ सम्मको मतगणना सकिंदा मन्त्री कार्कीले मतान्तर ७३ मा झारेका थिए । कार्कीले १९ हजार १७ मत प्राप्त गर्दा कुसियैतले १९ हजार ९० मत प्राप्त गरेका थिए ।

दोस्रो विवाद

बराहक्षेत्र ९ को मत गणना गर्ने क्रममा पुन: विवाद उत्पन्न भएको  थियो । कर्मचारीले मतपेटिकामा नभएको ६ सय ६ मत एमालेलाई जोडिदिएको भन्दै मन्त्री कार्कीले मतगणना स्थगित गर्न माग गरेका थिए ।

मंसिर ९ गते दिउँसो ३ बजेबाट बराहक्षेत्र ९ को मत गणना हुँदै गर्दा स्थगित भएको मतगणना ३ दिनसम्म रोकियो । निर्वाचन आयोगले रोकिएको ठाउँबाटै मतगणना सुरु गर्न निर्देशन दिएपछि ३ दिनपछि मंसिर १३ गतेबाट मतगणना पुन: सुरु भयो ।

बराहक्षेत्र ९ को २ हजार ७ सय मत गणना सम्पन्न हुँदासम्म मन्त्री कार्कीले कुसियैतलाई १ सय ३६ मतले पछि पारेका थिए । कुसियैतले २३ हजार ४ सय ४ मत प्राप्त गर्दा मन्त्री कार्कीले २३ हजार ५ सय ४० मत प्राप्त गरेका थिए ।

कोशी गाउँपालिका ५ को मतगणना सम्पन्न हुँदासम्म मन्त्री कार्कीको अग्रता २ सय ८६ पुगेको थियो । कार्कीले अग्रता थप गर्दै भोक्राहा ७ र बराहक्षेत्र ११ को मतगणना जारी हुँदै गर्दा ३ सय ३७ को अग्रता बनाएका थिए ।

बराहक्षेत्र १० र कोशी ६ को मतगणना बाँकी रहँदै अरु सबै वडाको ७५ हजार ४१ मत गणना हुँदा कुसियैतले मतान्तर कम गर्दै ९५ मा झारेका थिए । कुसियैतले २८ हजार ७१ मत प्राप्त गर्दा मन्त्री कार्कीले २८ हजार १ सय ६६ मत प्राप्त गरेका थिए । कोशी गाउँपालिका ६ सकिंदा पुनः कुसियैतले ८२ मतको अग्रता लिए । कुसियैतले कोशी ६ मा १ हजार १ सय ८६ मत प्राप्त गर्दा मन्त्री कार्कीले ५ सय २४ मत प्राप्त गरेका थिए ।

बराहक्षेत्र १० को मत गणना सुरु भएपछि मन्त्री कार्कीले अग्रता लिए । बराहक्षेत्र १० को २ हजार ९ सय ३ मत गणना हुँदा कुसियैतले जम्मा  ३० हजार १ सय ३९ मत प्राप्त गर्दा मन्त्री कार्कीले ३० हजार १ सय ७० मत प्राप्त गरी ३१ मतको अग्रता लिए ।

यो वडाको सबै मत गणना सक्दा कार्की ११२ मतले विजयी भए । कार्कीको कुल ३० हजार ४८३ मत आयो भने कुसियैतले ३० हजार ३७१मत ल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?