+
+
फिफा विश्वकप :

अष्ट्रेलियाकाे नयाँ स्वर्णिम पुस्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १५ गते १४:४५

१५ मंसिर, काठमाडौं । बुधबार म्याथ्यु लेकीले डेनमार्कविरुद्ध गोल गरेपछि १-० को नतिजा सहित अष्ट्रेलियन फुटबल टिम विश्वकप इतिहासमा दोस्रो पटक अन्तिम १६ मा स्थान बनाउन सफल भयो ।

यो अष्ट्रेलियन फुटबलका लागि ठूलो उपलब्धी हो । यो सफलतापछि प्रशिक्षक ग्राहम अर्नोल्डले यो पुस्ता अष्ट्रेलियन फुटबलका लागि स्वर्णीम पुस्ता हुन सक्ने बताए ।

सन् २००६ मा जमर्नीमा आयोजना भएको विश्वकपमा अष्ट्रेलिया पहिलो पटक अन्तिम १६ सम्म पुगेको थियो ।

प्रशिक्षक अर्नोल्ड भन्छन्, ‘मलाई निकै गर्व लागेको छ । हामीले समर्थकको अनुहारमा खुसी ल्याउन सक्यौं । विश्वकपमा अष्टेलियाको टिमले सिधै दुई खेल जित्न यो पहिलो टिम हो । हामी एक नयाँ स्वर्णीम पुस्ताको बारेमा कुरा गदैछाैं ।’

२००६मा पहिलो पटक अन्तिम १६ मा पुगेको अष्ट्रेलिया त्यसपछि सधैं समूह चरणबाट बाहिरिएको थियो । यो पटक एक नयाँ जोस फर्किएको खुसीमा राष्ट्रिय बिदा नै दिने गरी खुसी मनाउन सकिने अर्नोल्डले बताए ।

उनले थपे, ‘यो एउटा ठूलो उपलब्धी हो । यसमा राष्ट्रिय बिदा नै दिन सकिन्छ । मानिसहरुलाई केही आराम र खुसी साट्ने मौका हुन्छ ।’

१९३० देखि सुरु भएको विश्वकप फुटबलमा अष्ट्रेलिया १९६२ को विश्वकप आयोजना हुँदा सम्म फिफाको सदस्य राष्ट्र नै थिएन । १९६६ र १९७० मा मा अष्ट्रेलिया विश्वकपका लागि छनोट हुन सकेन । १९७४ मा पहिलो पटक विश्वकप खेलेको अष्ट्रेलिया समूह चरणबाटै बाहिरियो ।

त्यसयता तीन दशकसम्म छनोट हुन सकेन । २००६ मा अष्ट्रेलियाले राम्रो पुनरागमन ग¥यो र अन्तिम १६ सम्म पुग्यो । त्यसपछिका हरेक संस्करणमा अष्ट्रेलिया समूह चरणबाटै बाहिरिएको थियो ।

अष्ट्रेलियाका लागि म्याथ्यु लेकी नयाँ पुस्ताको उदाहरणीय खेलाडी हुन सक्छन् । उनको खेल हेर्दा उनीले अष्ट्रेलियाको नयाँ पुस्ताको नेतृत्व गर्न सक्ने क्षमता राख्छन् ।

खेलमा विजयी गोल गरेका म्याथ्यु भनछन्, ‘मैले गोल गरेपछि स्याबासी स्वरुप कम्तीमा पनि १०० बटा थप्थपाइ पाएँ,’ उनी भन्छन्, ‘हामी समूह चरणबाट माथि उठ्न चाहन्थ्यौं । सायद यो सहि तरिका थियो । हामीले आज निकै मेहनत गर्यौं जसको फल हामीले पायौं । अब अन्य खेलहरुमा पनि हामीले ठिक यस्तै तरिकाले खेल्नुपर्छ ।’

अष्ट्रेलिया समुह डी को उपविजेता बन्दै अन्तिम १६ मा स्थान बनाउन सफल भएको हो ।

मध्यरातमा अष्ट्रेलियामा छाएको खुसीको लहर

कतारी भूमिका अष्ट्रेलियाले डेनमार्कलाई पराजित गर्दै गर्दा, अस्ट्रेलियाको मेलवर्नमा बिहान साढे ३ भएको थियो । रातको समयका बाबजुद घरेलु भूमिमा छुट्टै खुसीको माहोल थियो ।

निकै नै खास थियो त्यो खुसी जुन, अष्ट्रेलियन फुटबल समर्थकका लागि १६ वर्षपछि फर्किएको थियो । अष्ट्रेलियमा पाँचौं लोकप्रिय खेल फुटबलको यो एउटा उत्सव भयो ।

विश्व फुटबलको दशौं वरीयतामा रहेको डेनर्माकलाई पराजित गर्दै अष्ट्रेलियाका लागि विश्वका उत्कृष्ट १६ फुटबल टिममध्ये एक बन्ने अवसर मिल्यो ।

‘यो यस्तो माहोल थियो, जुन मैले अष्ट्रेलियामा देखेको थिइनँ । जब म्याथ्युले गोल गरे तब त्यो भावना यहाँ अष्ट्रेलियामा देखिएको थियो’ राष्ट्रिय टिमबाट २७ गोल गरेका अस्ट्रेलियाका पूर्व स्ट्राइकर, ‘यो निकै अविश्वसनीय थियो । सबैजना आधा रातमा रमाइलो गरिरहेका थिए । माहोल यस्तो छ कि यहाँ राष्ट्रिय बिदा नै हुनेवाला छ ।’

पहिला अष्ट्रेलियामा ह्यारी केवल, मार्क स्वार्जरलाई फुटबल लेजेन्डका रुपमा हेर्ने गदर्थे भने अब नयाँ पुस्ताले म्याथ्युलाई लेजेन्डका रुपमा लिनेछन् ।

२०२३ मा घरेलु मैदानमा महिला विश्वकप आयोजना गर्न लागेको अष्ट्रेलियाका लागि यो निकै महत्वपूर्ण समयमा मिलेको सफलता हो ।

यो जित अष्ट्रेलियामा दशकैसम्म याद राखिनेछ । उत्सव पनि क्रिकेट एएफएल र एनआरएललाई छाँयामा पर्ने जस्तै देखियो । यो उत्सवले अष्ट्रेलिया फुटबलमा स्वर्णीम पुस्ताको उदय भएको देखिएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?