+
+

इन्गेजमेन्ट टुटेपछि जलेको अवस्थामा भेटिएकी युवतीको मृत्यु, ४ जनाविरुद्ध जाहेरी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २० गते १२:०५

२० मंसिर, काठमाडौं । दरबारमार्गस्थित केल्मी ब्राण्डको शोरुम सञ्चालक पुष्पा न्यौपानेको जलेर मृत्यु भएको छ ।

विवाहका लागि गरिएको इन्गेजमेन्ट टुटेपछि केटा पक्षकहाँ गएकी उनी आइतबार जलेको अवस्थामा भेटिएकी थिइन् । उनको मृत्यु शंकास्पद भएको भन्दै परिवारले प्रहरी वृत्त, महाराजगञ्जमा किटानी जाहेरी दिएको छ ।

प्रहरी वृत्त, महाराजगञ्जका अनुसार न्यौपानेले आइतबार केटा पक्षको धुम्बाराहीस्थित घर गेट अगाडि आत्महत्या गर्न  पेट्रोल खन्याएकी थिइन् । तर, उनलाई बचाउनुको साटो नरोकी आत्महत्या गर्न दुरुत्साहन गरेको परिवारको दाबी छ ।

परिवारले प्रहरीमा दिएको किटानी जाहेरीमा केटा पक्षले घरमा समेत बोलाएर मानसिक यातना दिएको भनिएको छ । प्रहरीका अनुसार शरीरमा पेन्ट्रोल खन्याएर आगो लगाएको अवस्थामा उनलाई उद्दार गरेर कीर्तिपुरस्थित बर्न सेन्टरमा पुर्‍याइएको थियो ।

सोमबार बिहान साढे ९ बजे उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।

न्यौपानेको मृत्यु भएपछि न्यौपानेको परिवारले इन्गेजमेन्ट गरेका २९ वर्षका सुधन संग्रौलासहित उनको परिवारका मधु संग्रौला, ५७ वर्षका दिनेश संग्रौला र बिन्दु संग्रौलाविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दिएको छ । एसपी मैनाली भन्छन्, ‘जाहेरी दर्ता भएपछि प्रहरीले अनुसन्धान गरिरहेको छ ।’

परिवारका अनुसार संग्रौला दरबारमार्गस्थित शोरुममा आउने क्रममा २०७८ को माघ महिनादेखि चिनजान भएको थियो । एकअर्काबीच फोन र सामाजिक सञ्जालमा कुराकानी हुने क्रममा उनीहरु प्रेम सम्बन्धमा थिए । त्यसक्रममा एकअर्काको घरमा समेत आउजाउ हुने गरेको उनीहरुको भनाइ छ ।

त्यसक्रममा दुवै जनाले विवाह गर्ने भनेपछि दुवै पक्षको मञ्जुरीमा १८ भदौमा इन्गेजमेन्ट भएको न्यौपाने पक्षको भनाइ छ । त्यसक्रममा एक वर्षभित्र विवाह गर्ने सहमति भए पनि १७ कात्तिकमा एकाएक केटा पक्षले इन्गेजमेन्टको दक्षिणा र गरगहना फिर्ता गरेको केटी पक्षको भनाइ छ ।

‘प्रतिवादीले मानसिक यातना दिएपछि घटना हुनुअघि उनले म मर्नुभन्दा अर्को विकल्प रहेन भन्दा पनि घरमा बोलाएर समेत मानसिक यातना दिए’, न्यौपानेले दिएको जाहेरीमा भनिएको छ ।

परिवारले प्रहरीसँग सुधन र पुष्पाबीच फेसबुक म्यासेन्जर, भाइबर र ह्वाटस एपसहित कल डिटेल विवरण बुझेर अनुसन्धान गर्न पनि माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?