
२० मंसिर, काठमाडौं । २०७८ पुसमा दर्ता भएको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइन् ।
सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार रामजनम चौधरीलाई १२ हजार ३२३ मतान्तरले हराउँदै श्रेष्ठ निर्वाचित मात्र भइनन् जेलमा रहेका आफ्नो श्रीमानको साख जोगाउन पनि उनी सफल भइन् । उनीसँगै कैलाली २ र कैलाली ३ बाट पनि उनको पार्टीका उम्मेदवार सांसद निर्वाचित भएर आए ।
प्रतिनिधिसभामा समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउन नसके पनि पार्टीले प्रदेशसभामा सुदूरपश्चिम, लुम्बिनी तथा मधेस प्रदेशमा समेत समानुपातिक सांसद पद पाउने देखिएको छ ।
योसँगै पार्टीका संस्थापक रेशम चौधरीलाई फकाउन गठबन्धनका शीर्ष नेताहरू कारागार धाउन थालेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई तथा लुम्बिनी प्रदेशका सांसद डिल्ली बहादुर चौधरीले डिल्लीबजार कारागार पुगेर चौधरीलाई पालैपालो भेटिसकेका छन् । चुनावी परिणाम र अब बन्ने नयाँ सरकारमा सहभागीता लगायतबारे अनलाइनखबरकर्मी सहदेव चौधरीले नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठसँग गरेको संक्षिप्त कुराकानी :
आम चुनावमा तपाईंको पार्टीले ३ सिट जितेको छ ? यो परिणामलाई कसरी लिनु भएको छ ?
यो आम निर्वाचनलाई हामीले न्यायको रुपमा लिएका छौं । २०७४ सालदेखि अहिले (२०७९)सम्म विजय हासिल गर्यौं । यसलाई हामीले जनताले दिएको न्यायको मतको रुपमा लिएका छौं ।
शीर्ष नेताहरुले जेलमा गएर रेशम चौधरीलाई भेटिरहेका छन् । तपाईंको पार्टी सरकारमा जान लागेको हो ?
सरकारमा जाने/नजाने कुरा पार्टीका संस्थापक रेशम चौधरीसँग छलफल गरेर मात्र पार्टीले निर्णय गर्छ । विभिन्न पार्टीका शीर्ष नेताज्यूहरुले भेट्नु भएको छ भन्ने खबर आएको छ । तर सरकारमा जाने वा नजाने विषयमा हामी छलफल गर्नेछौं ।
अब पार्टीले रेशम चौधरीको मुद्दा मात्रै हेर्छ की थारुहरुको मुद्दालाई पनि संसदमा सम्बोधन गर्छ ?
पार्टीले रेशमको मुद्दा त हेर्छ नै । हामीले यो आवाज पहिलादेखि नै उठाउँदै आएका छौं । तर यसको मतलब थारु समुदायको मुद्दा ओझेलमा पर्दैन । विगतका संसदमा थारुको माग र मुद्दालाई सम्बोधन गरिएन । लोक सेवा आयोगमा आरक्षणका लागि निजामती सेवा ऐनमा थारुलाई बेवास्ता गरियो । मुक्त कम्लरीको व्यवस्थापनबारे विगतमा कुनै थारु सांसदले सदनमा आवाज उठाएका छैनन् । यस्ता विषयमा पार्टीले अबको संसदमा आवाज उठाउँछ ।
सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति ठूलो पार्टीको रुपमा आएको छ । प्रदेश सरकारमा कसरी सहभागी हुन्छ ?
सुदूरपश्चिम सरकारमा पनि जाने, नजानेबारे पार्टीले छलफल गरिरहेको छ । प्रदेश सरकारमा कसरी सहभागी हुने या नहुने विषयमा पार्टीमा छलफलकै क्रममा छौं । अहिले निश्चित भइसकेको छैन ।
जनताको घरदैलोमा पार्टीले कसरी काम गर्ने योजना बनाएको छ ?
नागरिक उन्मुक्ति पार्टीलाई जनताले जुन मत दिएर संसदमा (प्रदेश र प्रतिनिसभामा) जिम्मेवारी दिनुभएको छ । उहाँहरुको समस्या, गुनासा सुन्ने र समाधान गर्न पार्टी लागिपर्छ । विकासका पूर्वाधारमात्रै नभएर स्थानीयस्तरमा हुने सामाजिक पक्षमासमेत पहलकर्ताको रुपमा काम गर्ने योजना छ पार्टीको ।
नागरिक उन्मुक्ति पार्टी अहिले कैलालीमा मात्रै सीमित रहन्छ की देशभरी फैलाउने योजना छ ?
नागरिक उन्मुक्ति पार्टी कैलालीबाट सुरु मात्रै भएको छ । तर देशभरी नै सञ्जाल फैलिएको छ । पार्टीले देशभरीबाट नै प्रदेश र प्रतिनिधिसभाको चुनावमा उम्मेदवार बनाएको थियो ।
पार्टीको सांगठनिक संरचना मजबुत बनाउन र देशभर फैलाउन पार्टीको राष्ट्रिय महाधिवेशन २०८० साल वैशाख ४ गतेदेखि ६ गतेसम्म कैलालीको टीकापुरमा गर्ने निर्णय गरिसकेका छौं ।
महाधिवेशनमा सहभागी हुन पार्टी संगठनमा रहेका सबै जिल्लाका पदाधिकारीहरूलाई आ–आफ्नो जिल्ला, क्षेत्र, पालिका, वडाहरुको गठन, पुनर्गठनमा लाग्न आह्वान पनि गरिसकेका छौं ।
प्रतिक्रिया 4