+
+

मन्त्री नहुने अठोटमा पूर्णबहादुर कति कायम ?

लिलु डुम्रे लिलु डुम्रे
२०७९ मंसिर २३ गते १८:३६

२३ मंसिर, काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र भरोसा गर्ने सिमित नेता छन् । संस्थापन समूहमा उनका केही विश्वासपात्र छन् । विश्वासपात्रमध्ये उच्च भरोसा भने देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई गर्छन् ।

खड्का देउवाका अविछिन्न सारथि हुन् । पार्टीभित्र देउवाको मन जित्न सफल खड्काले गठबन्धनका दलका नेताहरुसँग पनि नजिकको सम्बन्ध बनाएका छन् । त्यसैका कारण उच्च तहका नेताहरुको संवाद हुँदा खड्का छुट्दैनन् । देउवा सहभागी हुन नसकेका कांग्रेसको बैठकमा अध्यक्षता खड्काले गरेका हुन्छन् ।

सुर्खेत–१ बाट फराकिलो मतान्तरले प्रतनिधि सभा सदस्यमा निर्वाचित भएर काठमाडौं फर्के लगत्तै खड्काको सक्रियता थप बढेको छ । सुर्खेतबाट फर्किएर बधाई साटासाट गर्न सभापति देउवालाई भेटे लगत्तै उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न पुगे । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनमत पार्टीका अध्यक्ष सिके राउतसँग संवाद गरे ।

खड्काको बढ्दो सक्रियतालाई लिएर भावी सरकारमा उनको इच्छासँग जोडेर हेरिएको छ । त्यसो त, खड्काले मन्त्री नबन्ने भनेर सात वर्षअघि नै घोषणा गरेका थिए । २०७२ सालको पुसमा अर्घाखाँचीमा बोल्ने क्रममा जीवनकालमा मन्त्री नहुने घोषणा कार्यकर्ता माझ गरेका थिए । त्यसअघि उनले पटक पटक गरी आठ मन्त्रालय सम्हालिसकेका थिए ।

कांग्रेसका पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका ‘सच्चा अनुयायी’ का रुपमा खड्काले आफूलाई चिनाउँछन् । भट्टराईबाट प्रशिक्षित कार्यकर्ता भएकोमा आफूलाई गर्व हुने उनी बताउँछन् । भट्टराई, गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा प्रधानमन्त्री बनेकाबेला मन्त्री बनेका खड्का सोही पदमा दोहो¥याउने पक्षमा छैनन् ।

खड्काका निकटवर्तीहरुका अनुसार उनको इच्छा उपप्रधानसहित गृह मन्त्रालय हो । ‘उहाँले मन्त्री पो बन्दिन भन्नु भएको हो । गृह मन्त्रालय सहित उपप्रधानमन्त्री बन्ने चाहना छ’, खड्का निकट एक नेताले बताए । उपप्रधानमन्त्रीको जिम्मेवारी सहित सरकारमा जाने मनस्थितिमा खड्का छन् ।

मन्त्री बन्ने पूर्व प्रतिबद्धता कायमै रहेको भन्दै खड्काले उपप्रधानमन्त्री बन्ने संकेत अनलाइनखबरसँग पनि गरे । उपप्रधान सहितको जिम्मेवारीमा जाने अवसर आएको अवस्थामा के गर्नुहुन्छ भनि गरिएको प्रश्नमा उनले भने, ‘त्यो पछिको कुरा हो । अहिले केही भन्दिन ।’

निर्वाचित भएर काठमाडौं फर्के लगत्तै उनको सक्रियता गृह मन्त्रालयको लागि भएको भनि चर्चा कांग्रेस भित्र र बाहिर भएको थियो । मन्त्री नहुने पूर्व प्रतिवद्धता कायम रहेको उनले सामाजिक सञ्जालबाट नै स्पष्टीकरण दिएका छन् । ‘म मेरो राजनितिक जीवनमा जनताका अगाडि गरेका वचनबद्धता, आफ्नो वचन, विचार र आफूले लिएको अडानमा कहिल्यै पनि बिचलित भएको छैन, हुँदैन पनि सबै भ्रमबाट मुक्त हुनु होस मित्रहरु’, उनले आश्वस्त पारेका छन् ।

देउवाको भरोसायोग्य पात्र, पार्टी भित्रको वरियता, गठबन्धनको सरकार लगायतले खड्काले उपप्रधानमन्त्रीमा दाबी गर्नु स्वभाविक हुने बुझाई कांग्रेस नेताहरु बताउँछन् । कांग्रेसले सरकारको नेतृत्व गर्दा विगतमा गृह मन्त्रालय सम्हालेको एउटा नजिर छँदैछ । अर्कोतर्फ, माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने अवस्था आए पनि उपप्रधान सहित गृह मन्त्रालयको हिस्सेदारी कांग्रेसले खोज्नसक्छ । कांग्रेसले नेतृत्व गरेका सरकार होस् वा माओवादीले नेतृत्व गर्दा दोस्रो वरीयतासहित सत्तामा खड्का पुग्ने आकलन नेताहरु गर्छन् ।

खड्काका लागि अनुकूल वातावरण पार्टी भित्रैबाट पनि बनेको छ । संस्थापन पक्षका बालकृष्ण खाण पराजित हुँदा उनले उपप्रधान सहित गृहको दाबी गर्न सहजता थपिएको छ । खाण निर्वाचित भएको भए उनको सोही मन्त्रालयमा दाबी हुने थियो । उनलाई दोहोर्‍याउन नहुने संस्थापन पक्षबाट नै देउवा माथि दबाब पर्ने सम्भावना समेत हुने थियो ।

उपप्रधानसहित गृह मन्त्रालयको आकांक्षी नेता विमलेन्द्र निधि पनि रहेको नेताहरु बताउँछन् । त्यसकै लागि निधिले जनमत पार्टीका अध्यक्ष शेरबहादुर देउवासँग भेटाउन र जनमत पार्टीको समर्थन लिन भूमिका खेलेको उनीहरु बताउछन् । तर समानुपातिक तर्फबाट नाम निश्चित हुन बाँकी रहेकाले निधि त्यसअघि मुख खोल्ने पक्षमा देखिएका छैनन् ।

पार्टी भित्रको वरीयता र आफूलाई हरबखत साथ दिएको आधारमा देउवाले निधिलाई भन्दा खड्कालाई रोज्ने कांग्रेसभित्र चर्चा हुन्छ ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?