+
+

‘मालामा नउनिएका फूलहरू’ले बनेको फूलबारी

चिरञ्जीवी बराल चिरञ्जीवी बराल
२०७९ मंसिर २४ गते ९:४९

जीवनको तीन चौथाइ समय शिक्षा सेवामा समर्पित गरेका र लेखनकर्ममा रमाउने डा. खगराज बरालद्वारा लिखित पुस्तक ‘मालामा नउनिएका फूलहरू’ एउटा गैरआख्यानात्मक कृति हो । शिखा बुक्सले प्रकाशन गरेको ३२४ पृष्ठको यस पुस्तकमा विभिन्न २० वटा लेखहरू छन् ।

पुस्तकमा समसामयिक¸ सामाजिक¸ राजनीतिक¸ धार्मिक¸ शैक्षिक¸ आध्यात्मिक¸ बौद्धिकदेखि पशु अधिकारसम्मका विषयवस्तु समेटिएका छन् भने समाजमा आफै‌ंले देखेका¸ भोगेका र अनुभूत गरेका परिघटनाहरूलाई लेखकीय शिल्पका माध्यमद्वारा लेखकले ज्युँकात्युँ प्रस्तुत गरेका छन् । ‘आमाबाबुका कुरा’, ‘हिजो र भोलि’, ‘ बिहेका कुरा’ र ‘खाना सबैका लागि’ जस्ता शीर्षकहरू हेर्दा खासै के होला र जस्तो लाग्ने तर हाम्रै घर समाजमा घटेका घटनाहरूको जानकारी सूक्ष्म रूपमा केलाइ समाजमा चेतना जगाएर समाजलाई सही बाटोमा डोर्‍याउने काम यी लेखले गरेका छन् भने ‘कुकुरका कुरा’, ‘मृगसँग बातचित’ र ‘कृष्णसारका कष्ट’ ले पशु अधिकारका बारेमा सटिक तरिकाले वकालत गरेका छन् । ‘फिलिपिन्सको सङ्घीयता’ र ‘संसद विघटनदेखि संसद विघटनसम्म’ ले राजनीतिक सचेतना जगाउने जमर्को गरेका छन् ।

डा. बरालका अधिकांश कृतिहरू पढ्ने अवसर पाउने पाठकमध्येको एक जना म पनि हुँ । अहिलेसम्म उहाँका १६ वटा कृति र दर्जनौं फुटकर रचना पढिसकेको नाताले उनको लेखनशैलीप्रति थोरबहुत परिचित हुने मौका पाएको छु । उनका सिर्जनाहरू या त साहित्यिक हुन्छन् या त शिक्षासँग सम्बन्धित वा शिक्षाप्रद हुन्छन् । अरूले बेवास्ता गरेका¸ महत्त्वहीन ठानेका सूक्ष्म कुराहरू उनका माइक्रोस्कोपिक आँखाले देख्छन् । उनी तिनै सूक्ष्म विषयवस्तुको खानीभित्र छिरेर खनिज निकाल्न खप्पिस छन् ।

काल्पनिकता कम र यथार्थता बढी हुने डा. बरालका कृतिहरूको निरन्तरता हो मालामा नउनिएका फूलहरू । अपवादका रूपमा मृगसँग बातचित शीर्षकको लेखबाहेक अन्य लेखहरू आफैंले देखेका, भोगेका घटनाहरूका टुँडाटुँडी कुँदेर सिनित्त पारिएका गैरआख्यान हुन् । घटनाका तिथिमिति र कतिपय स्थानमा स्रोतसमेत उल्लेख गरेर लेखकले पुस्तकमा आफ्ना भनाइलाई सकेसम्म विश्वसनीय र प्रमाणमा आधारित बनाउने प्रयास गरेका छन् ।

स्थानीय जनबोलीका शब्दहरूलाई आवश्यकताअनुसार लेखनीमा उतार्न सक्नु लेखकको लेखकीय खुबी हो । अरिन्च¸ टोड्का¸ कापा¸ घराँ¸ बोलाम्चस्¸ कल्लाई¸ सप्पै¸ हुनुहुन्तो जस्ता शब्दहरूले पाठकलाई आफ्नै कथा बोलिदिएको महसुस गराएका छन् । लेखक आफैँ पनि गण्डकी क्षेत्रका भएका हुनाले भाषामा आञ्चलिकतास्वरूप गण्डकी क्षेत्रको लबज देखिनु अस्वभाविक होइन । तर¸ लेखकले शैलीमा थप मिठास भर्न सचेत रूपमा नै यसो गरेका हुन सक्छन् । यद्यपि¸ विषयवस्तु जुन स्थानसँग सम्बन्धित छ त्यही स्थानको लबज प्रयोग गर्नबाट लेखक चुकेका छैनन् । उदाहरणका लागि बझाङमा उनले भोगेको परिघटना पस्किने क्रममा ‘ताही क्या कुरा अद्दा हौ सरले पनि’ भन्नेजस्ता वाक्यांश प्रयोग गरी लेखकले लेखप्रति आमबझाङीहरूको मन जित्न सफल भएका छन् ।

निबन्धका शीर्षकहरू अनुप्रासयुक्त छन् वा तिनमा ध्वनीसमता छ । उदाहरणका लागि कृष्णसारको कष्ट¸ कुकुरका कुरा¸ अतिथि आसनमा अलमल¸ विद्वान र बुद्धिजीवी¸ के राम्रो के नराम्रो¸ बालीको बास¸ संसद विघटनदेखि संसद विघटनसम्म¸ नेपाली शिक्षामा मेकालेको मनोमानीलगायतका शीर्षकहरूमा अनुप्रास वा ध्वनीसमता पाइन्छ । यसले पुस्तकप्रति पाठकको रुचि पक्कै बढाएको छ । यसले विलियम शेक्सपियरको नाटक ‘द टेम्पेस्ट’मा भएको कवितात्मक खण्ड ‘फूल फ्यादम फाइभ दाइ फादर लाइज’को वाक्यांशमा प्रयोग भएको अनुप्रासले दिएको मिठासको झल्को दिलाउँछ ।

‘अदावी’ शीर्षकअन्तर्गतको लेख पढ्दा भारतका सुपरस्टार अमिताभ बच्चनअभिनित ‘कोइ किसी से कम नहीँ’ चलचित्रमा अमिताभ बच्चनले खेलेको एक सच्चा र इमान्दार मेडिकल डाक्टरको भूमिकाको खुब याद आउँछ । अदावी वा त्यागको क्षमता विकास गर्न सके समाज साँच्चिकै स्वर्ग बन्ने थियो भन्ने अप्रत्यक्ष सन्देश हो यसमा लेखकको । दधिची, राम,  कर्ण,  हरिश्चन्द्र, युधिष्ठिर¸ गणेशमान सिंह, लालबहादुर शास्त्री, नेल्सन मण्डेलालगायत शिव कङ्गाल र लोकबहादुर लामासम्मका प्रेरक व्यक्तित्वहरूका त्यागका प्रसङ्गमार्फत लेखकले पाठकलाई त्यागका लागि प्रोत्साहित गरेका छन् ।

बडामहाराजाधिराज पृथ्वी नारायण शाहले नेपालको जातीय¸ भाषिक¸ धार्मिक¸ सांस्कृतिक एवम् भौगोलिक विविधतासहितको सुन्दरतालाई सांकेतिक रूपमा चार जात छत्तिस वर्णको फूलबारी भनेका थिए । यसले नेपालको मात्रै वर्णन गरेन बरू सुन्दरता विविधतामा हुन्छ भन्ने एउटा गतिलो जीवन दर्शन पनि दियो । एकरूपताले निरसता उत्पन्न गराउँछ । एकरूपतामा भविष्यवाणी गर्न सकिन्छ । विविधताले कौतुहलता जगाउँछ ।

भविष्य रहस्यमय हुनुमै जीवनको सुन्दरता लुकेको छ । मृत्यु कुन दिन हुन्छ थाहा हुने भएको भए जीवन कति वेचैन र कष्टकर हुन्थ्यो होला । कति निरस हुन्थ्यो होला¸ रस निचोरिएको छोक्राजस्तो । डा. बरालले मालामा नउनिएका विविध फूलहरू संकलन गरेर फूलबारी पो सिर्जना गर्नुभएको छ¸ विविधतासहितको फूलबारी । कौतुहलता जगाउने फूलबारी ।

विविधता भएको यस संसारका सबै कुरा एकै ठाउँमा एकिकृत गर्न असम्भवप्राय: हुन्छ । तर¸ लेखकले विविध विषयवस्तुलाई एउटै पुस्तकमा समावेश गरेर यस्तो कार्य असम्भव होइन¸ कठीन अवश्य हो भन्ने सन्देश दिएका छन् । यसका पछाडिको मेहेनत त नाप्न सकिँदैन¸ अनुमान मात्र गर्न सकिन्छ । यो पुस्तक यस अर्थमा फूलरूपी यी विविध विषयवस्तु समेटिएको एउटा रंगीन फूलबारी हो ।

यो पुस्तक अनुभव र अवलोकनको अदित्तीय सङ्गालो हो । पुस्तक सरल र सरस छ । पढ्न सुरु गरेपछि नसकिञ्जेलसम्म छोड्नै मन लाग्दैन । यसमा विभिन्न २० शीर्षकका माध्यमबाट विभिन्न क्षेत्रका बारेमा यथार्थपरक ज्ञानमार्फत् समाज परिवर्तनका लागि सकारात्मक सन्देश प्रवाहित छन् । यसर्थ¸ समाजमा सकारात्मक परिवर्तन ल्याउने दिशामा यस पुस्तकको महत्त्वपूर्ण योगदान हुन सक्छ भन्नेमा विश्वास गर्न सकिन्छ । पुस्तकभित्रका अधिकांश निबन्धले आदर्श र सभ्य समाजको परिकल्पना गरेका छन् । खास गरी पूर्वीय दर्शन¸ संस्कृति र परम्पराप्रति आकर्षित देखिने डा. बरालको यस कृतिभित्रका निबन्धले पनि पाठकलाई यस्तै दर्शन¸ संस्कार¸ संस्कृति र परम्पराको सम्मान गर्न प्रेरित गरेका छन् । यो पुस्तक पठनीय र सङ्ग्रहणीय छ । यस्तो अमूल्य कृति पाठकमाझ ल्याइदिनुभएकोमा लेखकलाई धेरै धेरै धन्यवाद । अरू थप कृतिहरू पनि निरन्तर पढ्न पाइयोस् । लेखकीय सफलताको असीमित शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?