+
+

डेंगु प्रकोप फैलिनुको मुख्य कारण सेरोटाइप–३

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०७९ मंसिर २५ गते १९:२०

२५ मंसिर, काठमाडौं । नेपालमा यस वर्ष डेंगुको प्रकोप फैलिनुमा ‘सेरोटाइप ३’ को मुख्य भूमिका रहेको पाइएको छ । इपिडडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) गरेको एक अध्ययनमा यस वर्ष डेंगु प्रकोप फैलिनुमा सेरोटाइप ३ को मुख्य भूमिका छ । डेंगुका १, २, ३ र ४ गरी चार प्रकारका सेरोटाइप हुन्छ ।

नेपालमा यो वर्ष डेंगुका कारण साउनमा पहिलो मृत्यु भएको थियो भने १५ मंसिरसम्म मृत्यु हुनेको संख्या ६२ पुगेको छ । १५ मंसिरपछि भने डेंगुबाट मृत्यु भएको छैन । तर यस अवधिमा ५० हजार भन्दा धेरै संक्रमित हुनु र तीमध्ये धेरैजसोको स्वास्थ्यमा जटिलता देखिएर अस्पतालमा लामो उपचार गर्नुपरेको थियो ।

देशभरबाट लिइएको ३३४ नमुनाबाट सेरोटाइप १, २ र ३ पुष्टि भएको कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा.गोकर्ण दाहालले जानकारी दिए । महाशाखाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २७२, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ५० र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १२ वटा नमूना परीक्षण गर्दा सेरोटाइप १, २ र ३ देखिएको हो ।

दाहालका अनुसार १५४ नमुनामा सेरोटाइप १, ३४ वटा नमुनामा सेरोटाइप २ र ८१ वटा नमुनामा सेरोटाइप ३ देखिएको हो । त्यसैगरी, ६ वटा नमुनामा मिश्रित सेरोटाइप र ५९ वटा नमुनामा नेगेटिभ देखिएको छ ।

यी नमुनाहरु शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रादेशिक अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेत प्रादेशिक अस्पताल, सेती प्रादेशिक अस्पताल, कोसी प्रादेशिक अस्पताल र जनकपुर प्रादेशिक अस्पताल लगायतका अस्पतालबाट लिइएको थियो ।

सन् २०१९ मा परीक्षण गर्दा सेरोटाइप १ र २ मात्रै पुष्टि भएको थियो । तर, यसबर्ष सेरोटाइप ३ पनि थपिएको छ ।

‘यो बर्ष डेंगुको १ र ३ सेरोटाइप धेरै फैलिएको देखिन्छ । सेरोटाइप ३ बढी फैलिँदा संक्रमणका साथ–साथै जटिलता बढेको देखिन्छ’, दाहालले अनलाइनखबरसँग भने, ‘प्रत्येक बर्ष फरक–फरक सेरोटाइप पुष्टि हुँदा लक्षणमा देखिने जटिलता थपिँदै जान्छ ।’ उनका अनुसार यसबर्ष डेंगुबाट संक्रमण र मृत्यु गराउनका मुख्य भूमिका सेरोटाइप ३ को छ ।

पहिलो पटकभन्दा फरक प्रकार (सेरोटाइप) को डेंगु संक्रमण भए स्वास्थ्यमा जटिलता निम्तने जोखिम बढी हुने उपचारमा संलग्न चिकित्सक बताउँछन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन फरक सेरोटाइपको संक्रमण भएमा जटिलता बढी हुने बताउँछन् ।

पुनका अनुसार पहिलो पटक डेंगुको जुन सेरोटाइपले संक्रमण गर्‍यो अर्को पटक पुनः त्यही सेरोटाइपले संक्रमण गरेमा भने स्वास्थ्य जटिलता न्यून हुन्छ । तर, दोस्रो पटक–फरक खालको सेरोटाइपले संक्रमण गर्दा जटिलता बढी हुन्छ ।

‘चार प्रकारका सेरोटाइपमध्ये पहिले जुन प्रकारले संक्रमण गर्‍यो पुनः त्यही सेरोटाइपले संक्रमण गर्‍यो भने जटिलता हुने सम्भावना न्यून हुन्छ । तर, फरक सेरोटाइपले संक्रमण गर्‍यो भने त्यो धेरै कडा हुनसक्छ’, डा. पुनले अनलाइनखबरसँग भने, ‘अघिल्ला बर्षभन्दा यसबर्ष धेरै बिरामीमा जटिलता देखिएको थियो ।’

‘डेंगु संक्रमित बिरामीमा गिजा तथा नाकबाट रगत आउने, बाह्य रक्तस्राव हुने देखिएको थियो । यस्तो जटिलता तुलनात्मक रुपमा सन् २०१९ मा देखिएको बढी अनुभव गरिएको छ,’ डा. पुनले थपे ।

यसबर्ष डेंगुले नेपालको इतिहासमै ठूलो महामारीको रूप लिएको छ । एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु संक्रमण सन् २००४ मा चितवनमा आएका एक विदेशी नागरिकमा भएको थियो । त्यसपछि सन् २००६ मा तराई र भित्री मधेशका केही जिल्लामा डेंगुका बिरामी भेटिएका थिए ।

यसपछि सन् २०१६ मा चितवन, झापा र रूपन्देहीमा महामारीकै रूपमा डेंगु देखियो । सन् २०१९ मा धरानबाट फैलिएको डेंगुबाट १८ हजार मानिस संक्रमित भएका थिए । ४३ जिल्लामा फैलिएको डेंगुले १२ जनाको मृत्यु भएको थियो । त्यसयता क्रमशः डेंगु संक्रमितको संख्या मात्रै बढेन संक्रमण अन्य जिल्लाहरुमा समेत फैलियो ।

अहिले सन् २०२२ मा आइपुग्दा डेंगुले ५३ हजारभन्दा बढी संक्रमित र ६२ जनाको मृत्यु भइसकेको छ । यो वर्ष डेंगु संक्रमित ७७ वटै जिल्लामा भेटिएका छन् । यसले पनि के देखाउँछ भने तराईदेखि हिमाली क्षेत्रसम्म डेंगु फैलिएको छ ।

डेंगुको सेरोटाइप अध्ययन गरेमा आगामी दिनमा कुन प्रकारको डेंगु आउनसक्छ भनेर नियन्त्रण तथा अस्पताल लगायत विभिन्न व्यवस्थापनका लागि पूर्वतयारी गर्न सकिन्छ ।

सेरोटाइप छुट्टयाउँदा आगामी वर्ष डेंगु संक्रमण नियन्त्रणमा सहयोग पुग्ने कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहाल बताउँछन् । ‘डेंगु संक्रमितलाई देखापर्ने जटिलताको सम्बन्धमा विश्लेषण गर्न सजिलो हुन्छ ।सेरोटाइप छुट्याउँदा आगामी दिनमा संक्रमण नियन्त्रण र उपचारको पाट्टो थप सहयोग पुग्छ,’ दाहालले थपे ।

‘तापक्रमले डेंगु प्रकोप’

दुई दशक अघिसम्म काठमाडौं उपत्यकामा विरलै बाहेक लामखुट्टे पाइँदैनथ्यो । पहाडी र हिमाली जिल्लामा कीराहरूबाट सर्ने ‘कीटजन्य रोग’ सायदै फैलिने गरेको थियो । तर, केही वर्षयता तराईका भू–भागमा मात्रै हुने भनिएका रोगहरू पहाड चढ्दै हिमालसम्मै पुगिसकेका छन् । यसले जनस्वास्थ्य प्रणालीमा ठूलै चुनौती दिइरहेको छ ।

केही वर्ष अघिसम्म तराई तथा धेरै गर्मी हुने ठाउँमा मात्रै डेंगुको संक्रमण बढी देखिन्थ्यो । तर, पछिल्लो समय उच्च पहाडी र हिमाल क्षेत्रमा समेत डेंगु संक्रमण देखिएकाले यसको जोखिम बढ्दो क्रममा छ ।

जनस्वास्थ्यविद्का अनुसार डेंगुको प्रकोप फैलिनुमा बढ्दो तापक्रम, जनघनत्व र अव्यवस्थित शहरीकरण, जलवायु परिवर्तन, वर्षा लामोसम्म हुने र प्रि मनसुन अगाडि भएका कारण, किटाणुमा कम तापक्रममा बाँच्न सक्ने क्षमताको विकास लगायत कारकतत्व छन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अनुसन्धान विभाग प्रमुख डा. मेघनाथ धिमालका अनुसार बढ्दो जनघनत्व, अव्यवस्थित शहरीकरण, किटाणुमा कम तापक्रममा बाँच्न सक्ने क्षमताको कारण पनि लामखुट्टेलाई फैलन र हुर्कन अनुकूल वातावरण बनाइदिएको बताउँछन् ।

‘जलवायु परिवर्तनको असर उच्च भू–भागमा देखिएको छ । हिजोका दिनमा चिसो हुने ठाउँमा तापक्रम बढेसँगै प्रत्यक्ष रूपमा लामखुट्टेले डेंगु फैलिएको छ’, डा. धिमाल भन्छन्, ‘ तापक्रमले जलवायु परिवर्तन तथा अन्य कारणले तराईको रोग पहाड अनि हिमालमा उक्लिएको छ ।’

सन् २०१० बाट २०१९ सम्म आइपुग्दा २० गुणा र सन् २०१९ बाट २०२२ सम्म आइपुग्दा झन्डै साढे दुई गुणाले डेंगु संक्रमितको संख्या बढेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक छ ।

हिजो प्रकोपकै रूपमा तराईमा देखिंदै गएका रोगको संक्रमण बरु त्यहाँ घट्दै गएको छ । किनकि, ४० डिग्री सेल्सियस नाघेपछि लामखुट्टे मर्छ । तर यसको उल्टो पहाडी र हिमाली क्षेत्रमा लामखुट्टेको प्रकोप बढ्दो छ । किनकि विज्ञका भनाइमा १२ र १३ डिग्रीमा पनि डेंगु सहजै फैलिन सक्छ ।

१५ देखि ३५ डिग्रीसम्म लामखुट्टे सहजै हुर्कन सक्छ । पहिलेको तुलनामा काठमाडौंको तापक्रम बढ्दै गएको छ,’ डा. धिमाल भन्छन्, ‘तापक्रम बढ्दै जाँदा लामखुट्टेको जीवनचक्र पूरा गर्न सहज हुने भएकाले संक्रमणको दर पनि बढ्छ ।’

‘बर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गमला, पानीका ट्ंयाकी आदिमा लामखुट्टेले फुल पार्छ । सहरी क्षेत्रमा यस्ता वस्तुहरू थुप्रै हुने भएकाले पनि सहरमा बढी लामखुट्टे देखिने भएकाले काठमाडौं डेंगुको बढी जोखिममा छ’, डा. धिमाल थप्छन् ।

लेखकको बारेमा
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?