+
+

चित्रबहादुर केसीको डेरा दुःख

८० वर्षे सासंद चित्रबहादुर केसी शहरमा डेरा खोज्दैछन् । मुलुकको उपप्रधानमन्त्रीसम्म भएका केसी ‘राजनीति गर्नेले पदको दुरुपयोग नगरे सम्पत्ति जोड्न सक्दैन्’ भन्ने जीवन्त प्रमाण हुन् ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७९ मंसिर २९ गते १८:४५

२९ मंसिर, काठमाडौं । नाम चित्रबहादुर केसी । उमेर ८० वर्ष । पद बाग्लुङ–१ बाट प्रतिनिधिसभा सदस्य । हाल बानेश्वर आसपासमा राम्रो र सस्तो डेराको खोजीमा । चित्रबहादुर केसीको जीवनमा काठमाडौको डेराका अनगिन्ती किस्साहरु छन् ।

चुनाव जितेर काठमाडौं फर्किएपछि कपनस्थित राष्ट्रिय जनमोर्चाको कार्यालयमा बसिरहेका केसी भन्छन्, ‘कार्यालयमै बस्न हुन्थ्यो तर, सहज लागेन । डेरा खोज्दैछु ।’

बागलुङको गलकोटमा जन्मिएका केसी नेपालले अभ्यास गरेको तीन वटा शासन व्यवस्था (पञ्चायत, बहुदल र संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था) का सक्रिय साक्षी हुन् । २०१४ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका केसी त्यसयता निरन्तर राजनीतिमा छन् ।

केसीले २०४८ सालको पहिलो चुनाव बहिस्कार गरे । २०५१ मा बागलुङबाट चुनाव लडे तर, हारे । २०५६ सोही क्षेत्रबाट चुनाव जिते लगत्तै काठमाडौं आएर घट्टेकुलोमा डेरा लिए । एउटै डेरामा २१ वर्ष बिताए । ‘मेरा घरबेटी नै तीन पटक फेरिए तर, मेरो न हैसियत फेरियो न डेरा’, केसी सुनाउँछन्, ‘एक हजार थियो सुरुमा डेरा भाडा । छोड्दा (२०७४ सालमा) ९ हजार थियो ।’

उनी भन्छन्, ‘म काठमाडौंमा १४ वर्षको उमेरमै डेरा लिएर बसेको मान्छे हुँ ।’ उनी १४ देखि १७ वर्षको उमेरसम्म एसएलसी दिन काठमाडौं बसेका थिए । त्यसबेला पाँच रुपैयाँमा कोठा लिएका केसी पछि आईए र स्नातक पढ्दा साथीहरुसँग मिलेर फ्ल्याटमा बसेका थिए ।

‘कपनस्थित नारायण चौरमा पाँच रुपैयाँमा फ्ल्याट नै लिएर बसेका थियौं’ केसी सम्झन्छन् । उनले २०२५ सालमा स्नातक गरेका हुन् ।

राज्य खोसिएपछि काठमाडौं

केसीका बुबा बागलुङको गल्कोटे राजाका भान्से थिए । उनका भनाइमा, तत्कालिन प्रधानमन्त्री के.आई सिंहले २०१४ सालमा गल्कोट राजाको सत्ता खोसे । राज्य खोसे पनि देवानी अड्डा नहटाइयोस् भनेर राजा महेन्द्रलाई बिन्तीपत्र बुझाउन गलकोटको टोली कामठाडौं आउँदा बुबासँगै चित्रबहादुर केसी पनि आएका थिए । पोखरासम्म हिँडेर आएको टोली त्यहाँबाट जहाजमा काठमाडौं आएको थियो । त्यसबेला जहाजको भाडा ६० रुपैयाँ थियो ।

२०५६ देखि २०७४ सम्म निरन्तर एउटै कोठामा बसेका चित्रबहादुर केसी अहिले फेरि काठमाडौंमा डेरा खोज्दैछ्न् । दुःख उस्तै छ । कुनै बेला केसीलाई पाँच रुपैयाँ भाडा तिर्दा घर जाने खर्चको जोहोमा बढ्ता चिन्ता थियो । अहिले महंगीको चिन्ता ज्यादा छ ।

उक्त टोली नक्सालस्थित गल्कोट दरवारमा हप्ता दिन बस्यो । राजा महेन्द्रलाई बिन्तीपत्र बुझायो तर, त्यसको सुनुवाइ भएन । त्यसपछि टोली गाउँ फर्कियो । गाउँ फर्किने बेलामा राजाले चित्रबहादुरका बाबुसँग उनलाई काठमाडौंमै छाडिदिए पढाउने आश्वासन दिए । हार्न नसकेर केसीलाई दरबारमै छाडेर उनका बुबा बागलुङ फर्किए ।

राजाले केसीलाई दरवारमा राखे तर, पढाएनन्, भाडा माझ्न लगाए । ‘६ महिना भाडा माझेर बसेँ’ उनी भन्छन्, ‘दरबारमा भाँडा माझ्दा मिठो मसिनो नाकबाट मात्रै छिर्ने हो । घाँटीबाट त उसिनेको चामल र गुन्द्रुक मात्रै ।’

६ महिनापछि उनले आमालाई चिठी लेखे । केसीका अनुसार चिठीको ब्यहोरा थियो, ‘बुबाले मलाई छाडेर जानुभयो । भाँडा माझ्दा माझ्दा मेरो हातका छाला गए । अब म सक्दिन ।’

चिठी पाएपछि आमाले कानमा लगाएको दुई तोलाको ढुङ्ग्री पठाइदिइन् । सुन बेच्ने निहुँमा उनी दरबारबाट निस्के । त्यसपछि दरबार फर्किएनन् । उनी भन्छन्, ‘असनमा लगेर ढुंङग्री बेचेँ ।’

नक्सालमै नन्दी रात्री पाठशाला हाइस्कुल थियो । केसीले पाँच रुपैयाँ भाडा तिर्ने गरी हाइस्कुल नजिकै डेरा लिए । त्यही डेरामा बसेर उनले एसएलसी पास गरे ।

केसीका अनुसार, त्यसबेला ३ वर्षमै एसएसली पास गराइन्थ्यो । ‘पहिलो कक्षामा पाँचसम्मको, दोस्रो कक्षामा आठसम्मको र तेस्रो कक्षामा ९ र १० कक्षाको पाठ्यक्रम पढाइन्थ्यो’ उनी भन्छन्, ‘६० रुपैयाँ घर जानलाई प्लेन भाडा लुकाएर राखेर बाँकीले डेरा खर्च र आफ्नो खर्च पुर्‍याएँ ।’ पछि उनले प्राइभेट पढेर आईए र स्नातक पनि उतीर्ण गरे ।

२०१४ देखि २०२५ सालसम्म उनले काठमाडौंमा कहिले एक्लै र कहिले साथीहरुसँग मिलेर कोठा र फ्ल्याटमा बिताए । २०२६ सालमा तत्कालिन सरकारले पक्राउ गर्नेको सुचीमा राखेपछि उनले काठमाडौं छाडे । त्यसपछि २०५६ मा चुनाव जितेपछि निरन्तर काठमाडौं बस्न थाले ।

२०५६ देखि २०७४ सम्म निरन्तर एउटै कोठामा बसेका चित्रबहादुर केसी अहिले फेरि काठमाडौंमा डेरा खोज्दैछ्न् । दुःख उस्तै छ । कुनै बेला केसीलाई पाँच रुपैयाँ भाडा तिर्दा घर जाने खर्चको जोहोमा बढ्ता चिन्ता थियो । अहिले महंगीको चिन्ता ज्यादा छ ।

सरकारले संघीय सांसदलाई घर भाडा बापत मासिक १८ हजार रुपैयाँ दिन्छ । त्यही पैसामा केही बचाउने गरी उनी वानेश्वर आसपास डेरा खोजिरहेका छन् । ‘बस्न मिल्ने खालको फ्ल्याटलाई त ४० हजारसम्म भन्दा रहेछन्’ उनको आश चाहिँ ‘१८ हजारमा केही बचाउन सकिए अन्यत्र खर्च गर्न मिल्थ्यो’ भन्ने छ ।

हाल संघीय संसद भवन नयाँ बानेश्वरमा छ । नयाँ भवन सिंहदरवारभित्र बन्दैछ । पुरानोबाट नयाँ भवनमा संसद बैठक बस्न थालेपछि पनि कोठा सर्न नपरोस् भन्ने उनलाई लाग्छ । त्यसमा पनि संसद बैठकमा जाँदा–आउँदा गाडी चढ्न नपरोस् भनेर उनले बानेश्वर आसपासमा डेरा खोजेका हुन् ।

उसो त, केसी उपप्रधानमन्त्रीसम्म भएका व्यक्ति हुन् । २०७२ सालमा उपप्रधानमन्त्री, सहकारी तथा गरिबी निवारण मन्त्री भए । तर, नेपाली समाजमा गरिने आम अपेक्षा बमोजिम उनले आफ्नै गरिबी उकासिने गरी सम्पत्ति भने जोडेनन् ।

‘तपाईं उपप्रधानमन्त्रीसम्म हुनुभयो तर, फेरि डेरा खोज्दै हुनुहुन्छ’ भन्ने जिज्ञासामा उनी कड्किएर भन्छन्, ‘मन्त्री भएकै पैसा कमाउनलाई भन्ने बुझ्नेहरु पनि छन् । म मन्त्री भएको कालो धन कमाउन हो र ? त्यस्तोबाट प्रभावित भइएन, अब पनि हुँदिन ।’

८० वर्षीय केसीसँग लामो राजनीतिक अनुभव मात्रै छैन, काठमाडौं र शहरका डेरावालहरुको दुखःको गहिरो अनुभूति पनि छ । संसदीय समितिको सभापति, मन्त्री, उपप्रधानमन्त्रीसम्म भएका केसी राजनीति गर्नेले पदको दुरुपयोग नगरी सम्पत्ति जोड्न सक्दैन भन्ने जीवन्त प्रमाण हुन् ।

केसीकी ७५ वर्षीया श्रीमती छन् । उनी मधुमेहको बिरामी छन् । नियमित औषधि सेवन गर्नुपर्छ । दुई छोरा छन् । एक जना जापान छन् भने अर्का छोरा जापानबाट नेपाल फर्किएका छन् । तर, दुबैले शहरमा घर घडेरी जोडेका छैनन् । छोरीको घर भैरहवा हो ।

२०७० सालमा बागलुङबाट चुनाव जितेका केसी ०७४ सालमा समानुपातिकतर्फ उम्म्मेदवार थिए । तर पार्टीले थ्रेसहोल्ड कटाउन नसक्दा उनी सांसद चुनिएनन् । त्यसपछि उनले २०५६ सालदेखि बस्दै आएको मैतीदेवीस्थित डेरा छाडेका थिए । त्यसपछि उनी छोरीको घर भैरहवा गएर बसेका थिए ।

अहिले चुनाव जितेपछि उनी फेरि काठमाडौं आएका छन् र डेरा खोजिरहेका छन् । आफ्नो चाहना काठमाडौं फर्किने नभएको तर, परिस्थितिले डोर्‍याएको उनको भनाइ छ । २०७४ मा सांसद नछानिएपछि भैरहवास्थित छोरीको घरमा बसेका बेला केसीले अनलाइनखबरसित भनेका थिए, ‘बुढाबुढीलाई काठमाडौं बसिसक्नु नाइँ, खान र बस्नै गाह्रो । अब यतै बस्छु, सायद काठमाडौं फर्किन्न ।’

तर, ४ मंसिरमा भएको प्रतिनिधिसभाको चुनावमा बागलुङ १ बाट फेरि जिते । ‘अब फर्किन्न भनेर छाडेको काठमाडौं’ मा उनी फेरि फर्किएका छन् । अब यो प्रतिनिधिसभाको कार्यकालभरि अर्थात् पाँच वर्ष काठमाडौंमै बस्ने गरी आएका छन् केसी ।

‘०७४ को चुनाव पनि हारियो, मुलुक राजनीतिक स्थायीत्वतिर गयो भन्ने लागेको थियो’ त्यसबेला काठमाडौं फर्किन्न भनेको आफ्नो भनाइको वचाउ गर्दै उनी भन्छन् ‘तर, मुलुकको राजनीतिलाई अस्थिरता तर्फ धकेल्ने प्रयास भएकाले मैले फेरि चुनाव लड्नुपर्‍यो ।’

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?