+
+
जनप्रतिनिधिलाई सन्देशः :

‘ठूला कुरा होइन, केजरीवालले जस्तै साना काम गर’

नेपालले संविधानमा कल्पना गरेको समाजवाद उन्मुख राष्ट्र प्राप्तिको लागि केजरीवालका कामहरू उदाहरण बन्न सक्छन् । हरेक जनताको पहुँचमा रहने निःशुल्क शिक्षा, स्वास्थ्य समाजवादका प्रमुख आधारहरू हुन् ।

ई. श्यामकृष्ण कार्की ई. श्यामकृष्ण कार्की
२०७९ पुष २ गते १७:४५

नेपालमा भर्खरै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएको छ । समाजवाद उन्मुख संविधान कार्यान्वयनका लागि मत पाएका नवनिर्वाचित सांसदहरूले भारतका उदीयमान नेता अरविन्द केजरीवालबाट धेरै कुरा सिक्न सक्छन् । उनको जीवन तथा कार्यशैलीबाट जनताको सामिप्यतामा कसरी रहने र जनमुखी कार्यसम्पादन कसरी गर्ने भन्ने शिक्षा लिन सकिन्छ ।

जनता जगाउने नेता
केजरीवालले भारतका प्रधानमन्त्री मोदीको राजनीतिक उद्गमस्थल गुजरातमा राम्रो सफलता हासिल गर्न नसके पनि पञ्जाबको पछिल्लो राज्यसभाको चुनावमा चमत्कारिक नतिजा निकाल्दै भारनीय राजनीतिमा तहल्का मच्चाए । मध्यम वर्गीय परिवारमा जन्मेका आईआईटीका ईन्जिनियर छात्र केजरीवाल सरकारी कर्मचारी हुँदै समाज परिवर्तनमा होमिए । आम आद्मी पार्टीका राष्ट्रिय संयोजक साथै दिल्लीका मुख्यमन्त्री केजरीवालले जनतालाई आश्वासन मात्र बाँडेनन्, प्रतिबद्धता पूरा गर्दै दिल्लीलाई आफ्नो बनाए । रफ्तारमा भारतभर फैलिइरहेका उनले छिमेकी राज्य पञ्जाबमा समेत ऐतिहासिक जित दर्ज गराए ।

सन् १९६८ मा हरियाणा राज्यमा जन्मेका उनी आयकर अधिकृतमा कार्यरत थिए । सरकारी जागिर त्यागेर सूचनाको हक सम्बन्धि आन्दोलनलाई जनतामाझ सक्रिय बनाउन थाले । सरकारलाई जनताप्रति जवाफदेही बनाउनुका साथै गरीब नागरिकहरूलाई भ्रष्टचार विरुद्ध लड्न सचेत बनाउन थाले । यहीक्रममा उनी सन् २००६ मा एसियाको नोबेल पुरस्कार मानिने म्यागासेसेबाट समेत सम्मानित भए ।

जीवनशैली
गरीब असहाय जनताको समस्यालाई राम्रोसँग बुझेका केजरीवालको जीवनशैली अत्यन्तै सरल र सामान्य छ । प्रायः चप्पल र कमिज पहिरनमा देखिने केजरीवाल दिल्लीको चिसो मौसममा पनि स्वेटर र गलबन्दीमा मात्र भेटिन्छन् । शाकाहारी भोजन गर्ने केजरीवाल अध्ययन, योग विपासना, स्केचिङ्ग तथा चेस खेलमा रुचि राख्छन् ।

ई. श्यामकृष्ण कार्की

सरकारी सेवामा रहँदा समेत कार्यालय सहयोगी लिन ईन्कार गरेका केजरीवाल चिया कफी आफैं बनाएर पिउँछन् । आफ्नो टेबल कुर्सी आफैं पुछ्ने गर्दथे । मदर टेरेसा, अन्ना हजारे जस्ता व्यक्तित्वसँग समाजसेवा गरेका केजरीवाल उनीहरूकै सादगी र सरल जीवनशैलीबाट प्रभावित भएको पाइन्छ ।

आफ्नो छोराछोरीको जन्मदिन समेत नमनाउने उनले २०२० को दिल्ली चुनावी परिणामको दिन आफ्नी श्रीमती सुनिताको जन्मदिन पार्टी कार्यालयमा केक काटेर मनाए भने सुनिताले जन्मदिनको उपहारको रूपमा पार्टीलाई जित दिलाएकोमा दिल्लीका जनतालाई कृतज्ञता प्रकट गरिन् ।

कार्यशैली
अरविन्द केजरीवालले कामका प्रत्येक फाइल लाइनबाई लाइन मार्करले चिन्ह लगाएर पढ्छन् र सही छ÷छैन सुनिश्चित गर्छन् । चर्चित जनलोकपाल विधेयक उनले सय पटकभन्दा बढी अध्ययन गरेका थिए ।

आफ्नो रिसलाई तुरुन्त नियन्त्रण गर्न सक्ने उनको खुबी छ । सहकर्मीहरूसँग रिसाउँदा उनी केही समय मौन बस्ने गर्छन् । उनी आफ्नो गल्ती स्वीकार्न कति पनि लाज मान्दैनन् जसलाई एक सफल राजनीतिज्ञको गुणको रूपमा लिन सकिन्छ ।

साधारण बोलिचालीको भाषा प्रयोग गर्दै स्रोताहरूको परिकल्पनालाई ध्यानमा राखी प्रभावकारी भाषण गर्दछन् । कठोर निर्णय लिन र त्यसमा अडिग रहन सक्दछन् । भोट बैंकको महत्व बुझेका उनी मतदातालाई सधै खुसी राख्न चतुर छन् ।

सरल, इमान्दार, दूरदर्शी, कुनै नयाँ कार्यक्रम प्रयोग गर्न नडराउने, आफ्नो छविको चिन्ता नगरी मनको कुरा राख्ने प्रष्ट नेता हुन् केजरीवाल । भ्रष्टाचारको खरो विरोधी केजरीवाल भन्छन्, ‘म भ्रष्ट छु भने ४८ घण्टा भित्र जेल पठाऊ ।’

महत्वपूर्ण कामहरू
४९ दिनको पहिलो कार्यकालमा पानी र बिजुली निःशुल्क गरेर चर्चित भएका केजरीवालले जनताको जनजीविकादेखि विकास निर्माणका थुप्रै महत्वपूर्ण उपलब्धीमुलक कार्यहरू गर्दै दिल्लीको मुख्यमन्त्रीको रूपमा तेस्रो कार्यकाल चलाइरहेका छन् । उनले आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण कार्यहरूको सूचि अब लामै भइसकेको छ ।

उनले शिक्षा क्षेत्रको बजेटलाई तीन गुणा बनाए । स्कुलहरूमा २० हजार भन्दा बढी कक्षाकोठाको निर्माण गराए । प्राइभेट स्कुलको नतिजा ९३ प्रतिशत रहँदा सरकारी स्कुलको नतिजालाई ९६ प्रतिशत पुर्‍याए अर्थातसरकारी स्कुलको गुणस्तरलाई बढाए । आफ्नो कार्यकाल भर स्कुलको शुल्कहरू बढ्न दिएनन् । यो वर्ष मात्रै २ लाख ७० हजार विद्यार्थी निजी स्कुलबाट सरकारी स्कुलमा स्थानन्तरण भए ।

कोरोना महामारीमा डटेर लागे । ४०० भन्दा बढी प्राथमिक उपचार केन्द्र खोले । सरकारी अस्पतालमा औषधि, परीक्षण, सर्जरी सबै सेवा निशुल्क गराए । स्वास्थ बजेट दोब्बर बनाए । दिल्लीका २ करोड जनतासँग हातेमालो गर्दै डेंगू विरुद्धको अभियान सफल बनाए ।

विद्युत अवरोध हटाउन पुराना तारहरू फेर्न लगाई दिल्लीमा २४ सै घण्टा बिजुली आपूर्तीको व्यवस्था मिलाए । ३२ लाख जनताको बिजुलीको बिल शुन्य आउने गराए । विश्वमा नै २०० यूनिटसम्म निःशुल्क बिजुली दिने एकमात्र सहरको रूपमा दिल्लीलाई चिनाए ।

५८ प्रतिशत धारामा मात्र आउने खानेपानीको सुविधालाई ९३ प्रतिशतमा पु¥याए । पाइपलाइन बिस्तार गर्दै २० हजार लिटरसम्म खानेपानी बिललाई निःशुल्क बनाए । यातायातको क्षेत्रमा मेट्रोको रुट विस्तार, वृद्धवृद्धालाई निःशुल्क तिर्थयात्रा, ड्राइभिङ्ग लाइसेन्स लगायत सरकारी सुविधाहरूको डेलिभरी घरघरमै कर्मचारी मार्फत पुर्‍याउने व्यवस्था मिलाए ।

महिलाहरूको सुरक्षा हेतु सडकहरूमा सीसी क्यामेरा तथा बत्ती जडान, फ्री वाईफाईका हटस्पटहरू, फरिस्ते अभियान अन्तर्गत घाइतेहरूको उद्धार तथा उपचार लगायत कयौँ सुविधा उपलब्ध गराएर केजरीवाल जनताको दैनिकीको साथी बनेका छन् ।

हुन त कुनै एउटा देशको विकास कार्यक्रम हुबहु कपिपेस्ट गरेर अर्को देशमा लागु गर्नु राम्रो होइन । यो देशको जस्तो ऊ देशको जस्तो बनाउँछु भन्नु त झन मुर्खता हो । आफ्नो देशको पहिचान, मौलिकता, संस्कृति, जलवायु, स्रोतसाधन, क्षमतालाई ध्यान दिएर निर्माण गरिएका विकासका कार्यक्रमहरू मात्र सार्थक र दिगो हुन्छन् ।

नेपालले संविधानमा कल्पना गरेको समाजवाद उन्मुख राष्ट्र प्राप्तिको लागि केजरीवालका कामहरू उदाहरण बन्न सक्छन् । हरेक जनताको पहुँचमा रहने निःशुल्क शिक्षा, स्वास्थ्य समाजवादका प्रमुख आधारहरू हुन् । केजरीवालका जीननशैली, कार्यशैली र कयौँ प्रमाणित उपलब्धीहरू हेर्ने हो भने नेपालका नवनिर्वाचित जनप्रतिनिधिहरूले अरविन्द केजरीवाललाई रोल मोडल मान्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?