+
+

किटो डाइट शरीर सुहाउँदो भोजन होइन, यसले हानि गर्छ

अनुश्री आचार्य अनुश्री आचार्य
२०७९ पुष ३ गते १८:००

किटो डाइटबारे अहिले सत्य कम र भ्रम बढी छ । कतिपयले त किटो डाइटलाई नै सम्पूर्ण उपचार भनी भ्रम फैलाइरहेका छन् । टिकटक, फेसबुकजस्ता माध्यमबाट प्रचार गरी सर्वसाधरणलाई दुविधामा पारिएको छ ।

खासमा किटो डाइट के हो, यसले कसरी काम गर्छ भन्ने प्रश्नसँगै जान्नैपर्ने कुरा के छ भने यो हाम्रो शरीर सुहाउँदो आहार हो वा होइन । किनभने किटो डाइट सन् ८० को दशकमा मिर्गी रोग (इपिलेप्सी) असर नियन्त्रणका लागि तय गरिएको थियो । पछि नयाँ उपचार विधि आएपछि किटो डाइट पाखा लगाइयो । अहिले आएर भने मोटोपन घटाउन भन्दै मान्छेहरु अन्धाधुन्ध किटो डाइट लिन थालेका छन् ।

भनिहालौं, यसले क्षणिक रुपमा राम्रो नतिजा दिए पनि दीर्घकालमा जटिल रोग निम्त्याएका छन् । हामीकहाँ पनि यस्ता उदाहरण प्रशस्तै छन् । त्यसैले मोटोपन घटाउन, मधुमेह र उच्च रक्तचाप नियन्त्रणका लागि किटो डाइट लिनुअघि यसको सत्य र भ्रमबारे जान्नैपर्ने हुन्छ ।

सरल भाषामा किटो डाइट

किटो डाइट भनेको यस्तो आहार व्यवस्थापन हो जसमा बोसो र प्रोटिन तत्वको मात्रा उच्च हुन्छ । कार्बोहाइड्रेटको मात्रा न्यून हुन्छ । यस अन्र्तगत पर्याप्त रातो मासु, माछा, अण्डा, बोसो, चीज सामेल गरिन्छ ।

बृहत पोषक तत्वको अभाव 

यस्तो आहार लिंदा मल्टी भिटामिनको कमी हुने एवं बृहत पोषक तत्वको अभाव हुन्छ । हाम्रो मस्तिष्कलाई चलायमान राख्न ग्लुकोज जरुरी हुन्छ, जसको मुख्य आपूर्ति कार्बोहाइड्रेटले गर्छ । जब शरीरमा कार्बोहाइड्रेट कमी हुन्छ, ऊर्जा शक्ति कमी हुन्छ ।

तौल घट्छ ?

अहिले किटो डाइटको धन्दा यसकारण पनि चल्तीमा छ कि मान्छेहरु मोटोपनले हैरान छन् । त्यसैले प्रचार गर्नेहरुले पनि मोटोपन घटेको फोटो राखेर मान्छेलाई आकर्षित गरिरहेका छन् ।

एउटा स्वस्थ व्यक्तिले तीन महिना अवधिसम्म किटो डाइट लिएको छ भने तौल घट्छ । तर जब किटो डाइट छाड्छन् तब शरीरमा बोसो जम्न थाल्छ । त्यसो हुँदा आजीवन नै किटो डाइट लिनुपर्ने हुन्छ । जबकि यसले पार्न सक्ने दुष्प्रभाव बढी छ ।

स्वस्थ व्यक्तिलाई मात्र लाभ

खासमा किटो डाइट व्यक्तिको स्वास्थ्य अवस्था हेरेर व्यावसायिक पोषकविद्को सल्लाहमा मात्र खान दिइन्छ । किनभने जथाभावी वा जस्तोसुकै स्वास्थ्य स्थिति भएका व्यक्तिलाई किटो डाइट गराउँदा गम्भीर समस्या हुने भय छ ।

मधुमेह र उच्च रक्तचापमा क्षणिक लाभ

उच्च रक्तचाप र मधुमेह हुने अनेक कारण हुन्छन् । त्यसमध्ये एक हो मोटोपन पनि । किटो डाइटबाट मोटोपन नियन्त्रण भएसँगै मान्छेको रक्तचाप र मधुमेह नियन्त्रणमा आएको देखिन्छ । झट्ट हेर्दा त राम्रै नतिजा देखिन्छ तर यो दिगो व्यवस्थापन होइन ।

मिर्गौलालाई हानि

किटो डाइटमा उच्च पोटासियम, उच्च सोडियम र उच्च प्रोटिन हुन्छ । उच्च प्रोटिन र बोसो मिर्गौलाका लागि राम्रो मानिंदैन । दैनिक यस्ता खानेकुरा खाँदा मिर्गौलाले थेग्न सक्दैन । क्रमशः मिर्गौला कमजोर हुन थाल्छ । अन्धाधुन्ध किटो डाइट लिएर मिर्गौलाको समस्या भएकाहरु नेपालमै बढ्दो छ ।

एउटै आहार सबैलाई उचित नहुन सक्छ

एउटा मान्छेको मोटोपन नियन्त्रण भयो भन्दैमा अर्को मान्छेलाई पनि यसले लाभ दिन्छ भनेर भ्रममा पर्न सकिन्छ । जबकि कुनै पनि खानेकुराको असर मान्छेको शरीरअनुसार फरक हुन्छ । मान्छेको प्राकृतिक रहनसहन, हावापानी, रक्त समूहअनुसार मान्छेको शरीरमा खानाको प्रभाव तलमाथि पर्न सक्छ ।

जरुरी छ कार्बोहाइड्रेट

किटो डाइटको प्रचार गर्नेहरुले कार्बोहाइड्रेटमा कटौती गरिरहेका छन् । जबकि यो हाम्रो मूल खान्की हो । चामल, आलु हाम्रो खान्कीको मुख्य अंश हुन् । यसलाई छाडेर उच्च प्रोटिन र बोसो लिंदा त्यसलाई शरीरले समायोजन गर्न सक्दैन ।

नेपाली थाली सही पोषण

आयुर्वेद वा आहार विज्ञानको साझा निचोड के छ भने हाम्रो शरीरले हामी हुर्केको माटो, हावापानी अनुरुपकै खानपान खोज्ने गर्छ । भूगोल, समय अनुसारको खानपान तालिका नै हामीले अपनाउनुपर्ने हुन्छ ।

यसर्थ हामीले सदियौंदेखि जुन खानेकुरा खाइरहेका छौं, त्यो यहीका उत्पादन हुन् । यही खानेकुरा नै हाम्रो लागि उचित र सही हो । जब आफ्नो परिवेशको खानेकुरा छाडेर फरक खानपान अपनाउन थाल्छौं, त्यसले शरीरमा अर्को समस्या थप्ने जोखिम हुन्छ । दाल, भात, तरकारी र घिउ संसारकै उत्कृष्ट खानपान संयोजन हो ।

(पोषणविद् आचार्यसँग मनिषा थापाले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?