 
																			७ पुस, काठमाडौं । नेकपा एमालेभित्र रोल्पाकी ईश्वरी जीएमका नाममा दुई ‘रेकर्ड’ बनेका छन् । पहिलो, उनी नेकपा एमालेकी कान्छी केन्द्रीय सदस्य हुन् ।
एक वर्षअघि चितवनमा भएको नेकपा एमालेको १० औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यमध्ये यिनी कान्छी हुन् ।
त्यसको एक वर्षपछि उनले अर्को ‘रेकर्ड’ बनाइन् । हालै सम्पन्न प्रतिनिधि सभामा समानुपातिक पद्धतिबाट उनी सांसद निर्वाचित भइन् । जो एमालेबाट प्रतिनिधि सभामा निर्वाचित ७८ सांसदमध्ये सबैभन्दा कान्छी हुन् ।
छोटै समयमा छलाङ
रोल्पामा लामो समयदेखि एमालेको राजनीति गरेका धेरै नेता छन् । तर, छोटो समयमै केन्द्रीय समितिदेखि सांसदसम्म बन्न सफलता ईश्वरीले हात पारिन् ।
२०४६ सालमा जन्मिएकी ईश्वरी २०६२ सालदेखि एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा आबद्ध भएकी थिइन् । त्यसपछि पार्टी राजनीतिमै रहेकी ईश्वरी केही समय पत्रकारितामा पनि गरिन् ।
एमालेको पत्रकार संगठन प्रेस चौतारीको जिल्ला अध्यक्ष र नेपाल पत्रकार महासंघको सचिव रहेकै बेला पत्रकारिता छाडेर उनी पूर्णकालीन राजनीतिमा लागिन् ।
त्यसपछि केही समय एमालेको महिला संगठन, एमाले जिल्ला कमिटी, एमाले प्रदेश समिति हुँदै केन्द्रीय सदस्यसम्म बन्न सफल भइन् ।
कम उमेरमै सफलता हासिल गर्नुमा उनी माओवादीको प्रभाव क्षेत्रमा पार्टीको संगठन विस्तार गर्न आफूले खेलेको भूमिका प्रमुख कारण रहेको ईश्वरी बताउँछिन् ।
माओवादीको सशस्त्र युद्ध उत्कर्षमा पुगेका बेला भूमिगत शैलीमा एमालेको संगठन विस्तार गर्नुपरेको अनुभव उनीसँग छ । ‘रोल्पामा नेकपा एमाले र नेकपा एमालेको कार्यकर्ताको रुपमा आउन निकै चुनौतीपूर्ण थियो’, उनी सम्झिन्छिन्, ‘हामीले लुकीछिपी संगठन निर्माण गर्ने र लुकीछिपी संगठनका गतिविधि गर्नुपर्ने अवस्था थियो ।’
रोल्पा माओवादी केन्द्रको बलियो संगठन भएको क्षेत्र हो । केही स्थानीय तहमा नेपाली कांग्रेस र एमालेका जनप्रतिनिधि निर्वाचित भए पनि प्रदेशसभा र प्रतिनिधि सभामा माओवादी केन्द्रकै उम्मेदवार निर्वाचित भइरहेका छन् ।

सांगठनिक हिसाबले रोल्पामा माओवादी पहिलो छ भने कांग्रेस दोस्रो र एमाले तेस्रो छ । प्रत्यक्षतर्फ आफ्ना जनप्रतिनिधि निर्वाचित नभएको भए पनि एमालेले समानुपातिकतर्फबाट रोल्पालीलाई जनप्रतिनिधि बनाइरहेको छ ।
२०६४ मा रिमा नेपालीलाई समानुपातिकतर्फबाट सभासद बनाएको थियो भने २०७० मा गोकुल घर्ती पनि सांसद बनेका थिए । अहिले पनि अवसर दिनुलाई नेतृत्वले रोल्पातर्फ ध्यान दिन थालेको रुपमा ईश्वरीले बुझेकी छिन् ।
‘पार्टीले रोल्पा जिल्लालाई हिजो जुन तरिकाले हेर्यो, अलिकति अवसर नदिँदा हाम्रो संगठन कमजोर भयो कि भन्ने अनुभव नेतृत्वलाई भयो कि भन्ने लाग्छ,’ उनी भन्छिन् ।
समानुपातिकतर्फबाट आएका कतिपय सांसदलाई पहुँच र प्रभावका रुपमा आएको आरोप पनि लाग्छ । ईश्वरी भने आफू राजनीतिमा नातावादको विरोधी रहेको र आफ्नै दुःखले यहाँसम्म आइपुगेको ठान्छिन् ।
‘म आफैं दुःख गरेर, आफैं स्थापित भएर यहाँसम्म आएकी हुँ भन्न सक्छु,’ उनको भनाइ छ, ‘किनभने मेरो बुबा आमा पनि नेता होइन । मेरो श्रीमान् पनि नेता होइन । मबाहेक मेरो परिवारका कोही पनि राजनीतिमा सहभागी हुनुहुन्न ।’
राज्यसँग युद्धकालको क्षतिपूर्ति माग्ने
जनप्रतिनिधिका रुपमा रोल्पाका जनतालाई केन्द्रको सरकारसँग जोड्ने ईश्वरी बताउँछिन् ।
यद्यपि आफ्नो निर्वाचन क्षेत्र मात्रै भन्ने र शक्तिशाली नेताले आफ्नो क्षेत्रमा मात्रै बजेट लैजाने कुराको आफू विरोधी भएको उनको भनाइ छ ।
‘रोल्पालगायत जति पनि विकासबाट पछि परेका भूभागहरुलाई समग्र न्याय हुने हिसाबले नीति निर्माण गर्न भूमिका खेल्छु’, ईश्वरी भन्छिन् ।
२०६२/२०६३ यता निरन्तर रोल्पाका माओवादी नेताहरुले अवसर पाए पनि जनताले भने खासै परिवर्तनको अनुभूति गर्न नपाएको उनको हठर छ ।
‘दर्जनौं नेता मात्रै होइन, मन्त्रीदेखि राज्यको शक्तिशाली पदसम्म पुग्ने माओवादी पाउनुभयो’, उनको दाबी छ, ‘तर, रोल्पाली जनताले खासै परिवर्तनको अनुभूति गर्न पाएका छैनन् ।’
कुनै बेला रोल्पामा माओवादीको सशस्त्र युद्ध मौलाउनुको कारण राज्यले त्यहाँका जनताप्रति गरेको उपेक्षा भनिन्थ्यो । ईश्वरी अहिले पनि त्यस्तो उपेक्षा कायमै रहेको बताउँछिन् ।
युद्ध अवधिभर रोल्पाका लागि छुट्याइएको बजेट राज्यकोषमै फिर्ता भएको भन्दै उनी रोल्पामा क्षतिपूर्तिसहितको विकास माग्ने पक्षमा रहेको बताउँछिन् ।
‘रोल्पा जिल्लामा १० बर्से सशस्त्र युद्ध हुँदाखेरि राज्यका नामबाट त्यहाँ कुनै पनि बजेट खर्च भएन, त्यो बेला माअेावादीले काम गर्न दिएन’, उनको भनाइ छ, ‘अब १० वर्षको क्षतिपूर्तिसमेत हुने गरी बजेट विनियोजन गर्नुपर्छ ।’
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4