+
+

शोभराजलाई पुनः नेपाल आउन नपाउने गरी फ्रान्स पठाउने तयारी

शोभराजलाई आज अध्यागमन विभाग लगिँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ८ गते ७:४४

८ पुस, काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि रिहा भएका  ‘सिरियल किलर’ चार्ल्स शोभराजलाई फेरि नेपाल आउन नपाउने गरी उनकै देश फ्रान्स पठाउने तयारी गरिएको छ ।

अध्यागमन विभागका अधिकारीहरुले त्यसको तयारी अघि बढाइएको बताएका छन् । केन्द्रीय कारागारमा रहेका उनलाई आज कैदमुक्त गरी अध्यागमन विभागको जिम्मा लगाउने तयारी छ ।

अध्यागमन विभागकी निमित्त महानिर्देशक प्रदर्शनी कुमारीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः नेपाल आउन नपाउने गरी शोभराजलाई फ्रान्स पठाउने तयारी भइरहेको बताइन् । ‘नेपालमा अपराध गरेका विदेशी नागरिकलाई समय तोकेरै नेपाल फर्कन रोक लगाउने कानुनी व्यवस्था छ, त्यसमा टेकेर निर्णय हुने सम्भावना छ,’ उनले अनलाइनखबरसँग भनिन् ।

सर्वोच्च अदालतले शोभराजलाई रिहा गर्न र १५ दिनभित्र स्वदेश फर्काउन बुधबार आदेश दिएको थियो । उनलाई केन्द्रीय कारागारबाट बिहीबारै अध्यागमन विभागको जिम्मा लगाउने तयारी थियो । तर उनी रिहा हुन मानेनन् र बिहीबार केन्द्रीय कारागारमै पाहुनाका रुपमा बसे ।

शोभराजलाई कानुनी सहयोग गरिरहेका अधिवक्ता गोपाल शिवाकोटी चिन्तनका अनुसार उनलाई शुक्रबार (आज) मात्र अध्यागमन विभागमा लगिंदैछ ।

जेलरले अध्यागमनको जिम्मा लगाएपछि उनको पासपोर्ट नवीकरण भए/नभएको हेरिने र भिसा प्रक्रिया अघि बढाएर स्वदेश फर्काउने निमित्त महानिर्देशक कुमारीले बताइन् ।

स्रोतका अनुसार नेपाल आउन नपाउने गरी शोभराजलाई फ्रान्स फर्काउनेबारे अध्यागमनका अधिकारीहरुले गृह मन्त्रालयका उच्च अधिकारीहरुसँग परामर्श पनि गरेका थिए । गृहका अधिकारीहरुले कानुनमा भएको व्यवस्था अनुसार गर्न परामर्श दिएका थिए । सोही आधारमा शोभराजलाई पुनः नेपाल आउन नपाउने गरी स्वदेश फर्काउने तयारी अध्यागमन विभागले गरेको हो ।

शोभराजले भने केही समय नेपालमै बस्ने इच्छा व्यक्त गरेका छन् । फ्रान्सबाट आएका आफन्तहरुसँग होटल हायातमा बस्ने र मुटुको उपचार गराउने भन्दै उनले त्यसको प्रबन्ध मिलाइदिन नेपाल सरकारसमक्ष अनुरोध गरेको स्रोतले अनलाइनखबरलाई बतायो ।

शोभराज सन् १९६३ देखि १९७६ को अवधिमा थाइल्याण्ड, पाकिस्तान, भारत, मलेसिया, फ्रान्स, अफगानिस्तान, टर्की र ग्रिसमा श्रृंखलाबद्ध हत्या गरेर फरार व्यक्ति थिए । उनीविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले ग्रिन कर्नर नोटिस जारी गरेको थियो ।

शोभराजले २१ डिसेम्बर १९७५ मा नेपालको भक्तपुरमा आरमण्ड लरेन्ट क्यारियर र त्यसको दुई दिनपछि कोनिजो ब्रान्ची नामका युवतीको हत्या गरेको बताइन्छ । तर, उनले चाहिँ भक्तपुर घटनामा आफू संलग्न नरहेको बताउने गरेको उनका कानुनी सहयोगी शिवाकोटी बताउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?