+
+

अदालतको आदेशपछि शोभराजको योजना : हायातमा बस्ने, मुटुको उपचार गराउने

किन छुटे शोभराज ? अब के गर्छन् ?

गौरव पोखरेल गौरव पोखरेल
२०७९ पुष ६ गते २२:२१

६ पुस, काठमाडौं । विकिनी किलरका रुपमा कुख्यात चार्ल्स शोभराज यस्ता अपराधी हुन्, जो जेलभित्र रहँदा होस् या बाहिर सधैँ अन्तर्राष्ट्रिय चर्चाको केन्द्र बनिरहे ।

९ महिनाअघि मात्रै पनि केन्द्रिय कारागारबाटै बेलायती पत्रिका मिरर र डेलिमेललाई तीनदेखि चार हप्तामा छुट्न लागेको भन्दै सनसनीपूर्ण अन्तरर्वार्ता दिएपछि उनी विवादमा आए ।

मिररका संवाददाता डन वारर्बोटनले अनलाइनखबरसँग बताएअनुसार आफन्तमार्फत शोभराजसँग टेलिफोनमा कुराकानी गर्ने अवसर मिलेको थियो ।

‘म अर्को प्रसंगमा काठमाडौं आएको थिएँ, कारागारका अधिकारीहरुले उनीसँग भेट गर्न दिएनन्’, उनले भनेका थिए, ‘पछि फोनमा कुरा भयो ।’ त्यहीँ कुराकानीले नेपालको गृह प्रशासनमा चाहिँ बबण्डर मच्चायो ।

शोभराजको अन्तर्वार्ता आएपछि कारागार व्यवस्थापन विभागले छानबिन समिति नै गठन गर्नुपर्‍यो । समितिले कारागारभित्र जाली नोट कारोबारी युनुस अन्सारीको ज्यान मार्ने उद्योगमा पनि शोभराज दोषी भएकाले उनी तत्काल नछुट्ने देखिएको बतायो ।

शोभराजले चाहिँ आफूलाई भेट्ने जो कोहीलाई छिट्टै छुट्न लागेको दाबी गर्न छाडेनन् । एक महिना अघि कारागारका सुरक्षामा खटिएका अधिकृतहरु गोलघर पुग्दा समेत उनले उही दाबी दोहोर्‍याए, ‘म छिट्टै छुट्दैछु ।’

तर उनको दाबीलाई धेरैले पत्याउन छाडेका थिए । कतिसम्म भने उनका कानून व्यवसायी शकुन्तला विश्वास र दोस्रो पत्नी भनिएकी निहीता विश्वास पनि कारागार पुग्न लगभग छाडिसकेका थिए ।

तर बुधबार सर्वोच्च अदालतले शोभराजलाई छाड्न आदेश दिएको छ । स्रोतका अनुसार यो आदेशबारे खबर आउँदा सुरुमा केन्द्रीय कारागारका अधिकारीहरुलाई विश्वास लागेन । किनकि, पटकपटक अदालतले उनको विपक्षमा आदेश दिइरहेको थियो । ‘यसपालि उसको पक्षमा आदेश आउँदा सुरुमा त पत्याउनै गाह्रो पर्‍यो’, कारागारका एक अधिकारी भन्छन्, ‘तर यो पटक साँच्चै छुट्ने भएछन् ।’

कानून व्यवसायी सकुन्तलाको भनाइमा यो एकैपटकमा सम्भव भएको भने होइन । विश्वास भन्छिन्, ‘चार वटा परमादेशपछि मात्रै यो आदेश प्राप्त भएको हो ।’

कारागार नियमावली, २०२० को नियम २९ (२ क) ले ६५ वर्ष उमेर पुगेका कैदीहरुलाई असल चालचलनको आधारमा वा ओछ्यानमा परि निको हुन नसक्ने अवस्थामा ७५ प्रतिशतसम्मको कैद सजाय छोट्याउन सक्ने व्यवस्था गरेको छ ।

चार वर्षअघि नै शोभराज उमेरले ७४ वर्ष पुगिसकेका थिए । कारागार नियमावलीअनुसार शोभराज छुट्नु पर्ने दाबी गर्दै बन्दी प्रत्यक्षीकरणको रिट परेको थियो।

तर कारागार नियमावलीमा भनिएको यो सुविधा नेपाली नागरिकले मात्रै पाउने व्याख्यासहित उनको विपक्षमा आदेश भयो । यद्यपि अदालतले १२ फागुन २०७५ मा मुटु सम्बन्धी रोगको नियमित उपचार समेत गराइरहेका शोभराजले ७५ प्रतिशत कैद भोगिसकेकाले किन कैद सजाय मिनाह किन नगर्ने भन्दै सरकारलाई प्रश्न गरेको थियो ।

फैसला शोभराजको मागअनुसार नआएपनि त्यो बेला नै सर्वोच्चले ‘उनको सम्बन्धमा मानवोचित र विवेकपूर्ण निर्णय तत्काल हुनु बाञ्छनीय देखिएको’ भन्दै तीन महिनाभित्र आवश्यक निर्णय गर्न गृह मन्त्रालयको नाममा परमादेश जारी भएको थियो ।

किन छुटे शोभराज ?

पछिल्लो पटक फेरि बन्दी प्रत्यक्षीकरणको रिट पर्‍यो । उनले १९ वर्ष अर्थात् ९५ प्रतिशत जेल सजाय पनि भोगेका थिए ।

त्यसको सुनुवाइका क्रममा बुधबार न्यायाधीश सपना मल्ल प्रधान र तिलप्रसाद श्रेष्ठको इजलासले सर्वोच्चको परामादेश कार्यान्वयनमा वेस्वाता गरेको नोट गर्‍यो । र, केन्द्रीय कारागारले ७ असार २०७९ मा उनीबारे पठाएको पत्रलाई पनि आधार बनाउँदै थुनामुक्त गर्न आदेश दिएको छ ।

कारागारले पठाएको पत्रमा शोभराजको स्वास्थ्य अवस्था हाल सामान्य रहेपनि पाँच किसिमको औषधि सेवन गरिरहेका भनिएको थियो । साथै हालसम्म कारागारमा नकारात्मक कार्य गरेको नदेखिएको पनि पत्रमा उल्लेख थियो ।

चालचलनलाई आधार बनाएर कैद भुक्तानीमा छुट दिन उनी यसअघि दुई पटक सिफारिसमा पनि परेका थिए ।

पुनरावेदन अदालत, पाटनले २७ वैशाख २०७३ मै शोभराजलाई गोलघरमा नराखी कारागारभित्र उपयुक्त ठाउँमा राख्न आदेश दिएको थियो । तर हालसम्म उनी गोलघरमा राखिएका छन् । गोलघरलाई कारागारभित्रको पनि कारागार भनेर चिनिन्छ, जहाँ सुरक्षा खतरा भएका वा अन्य कैदीबन्दीलाई असर पुर्‍याउन सक्ने व्यक्तिलाई राखिन्छ ।

केन्द्रिय कारागारले चाहिँ अत्याधिक चापका कारण कारागारभित्र उपयुक्त स्थानको छुट्टै व्यवस्था नहुँदा गोलघरभित्रै राखिएको बताउने गरेको थियो ।

सकुन्तला विश्वास र उनकी छोरी निहिता विश्वास ।

बुधबार शोभराजलाई छाड्ने आदेश दिने क्रममा इजलासले अदालतको एकपछि अर्को आदेश पालना नहुनु, स्वास्थ्य अवस्था कमजोर बन्दै जानु जस्ता आधारलाई टेकेको छ । ‘यसबाट बन्दीमाथि गरिने व्यवहारसम्बन्धी न्यूनतम मापदण्ड मण्डेला नियम, २०१५ समेत विपरित व्यवहार भएको देखिन्छ’, अदालतको संक्षिप्त आदेशमा भनिएको छ, ‘उच्च र सर्वोच्च अदालतबाट समेत पटकपटक परामादेश जारी भइ तोकिएको समयभित्र कारागार नियमावली, २०२० को नियम २९ (२ क) बमोजिम सुविधा प्रदान गर्नेतर्फ कुनै निर्णय भएन ।’

१९ वर्ष कैद सजाय भोगिसकेका ७८ वर्षका शोभराजले कानून अनुसार पाउनसक्ने सुविधाबारे गृह मन्त्रालयले समयमा निर्णय नगरिदिँदा उनको बाँच्न पाउने हक र एकान्त काराबासविरुद्धको हकमा समेत असर पर्न गएको अदालतले भनेको छ ।

‘उनलाई निरन्तर कैदमा राखी राख्नु कैदीबन्दीको मानव अधिकार मापदण्ड, संविधान तथा कानून प्रदत्त अधिकार अनुकूल देखिएन’, आदेशमा भनिएको छ, ‘अन्य मुद्दामा थुनामा राख्नुपर्ने नभए उनलाई आजै कैदबाट छाडी दिन तथा यो आदेश भएको १५ दिनभित्र आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउन समेत यो आदेश जारी गरिएको छ ।’

अब के गर्लान् शोभराज ?

केन्द्रीय कारागारका जेलर डोलेन्द्र निरौलाका अनुसार बुधबार रातिसम्म अदालतको आदेश औपचारिकरुपमा प्राप्त भइसकेको छैन ।

आदेश प्राप्त हुने वित्तिकै उनलाई छाड्ने प्रक्रिया अघि बढ्छ । विदेशी नागरिक भएकाले उनलाई कारागारबाट अध्यागमन विभाग बुझाइने निरौलाको भनाइ छ । त्यसपछि विभागको निर्णय अनुसार उनलाई डिपोर्ट गर्ने प्रक्रिया अघि बढ्ने अधिकारीहरु बताउँछन् ।

विभागका निर्देशक प्रदर्शनी कुमारीका अनुसार कारागारबाट विभागमा उपस्थित गराएपछि उनको भिसालाई अध्यावधिक गराइनेछ । ‘अदालतबाट पक्राउ पर्दादेखि मुद्दा चलेर जेल बसेको प्रमाण माग्छौं’, उनी भन्छिन्, ‘त्यसपछि उनलाई डिपोर्ट गर्ने प्रक्रिया अघि बढ्छ ।’

शोभराजले स्वयम्ले चाहिँ केही समय नेपालमै बस्ने इच्छा व्यक्त गरेका छन् । शोभराज निकट स्रोतका अनुसार उनले हाजिरी जमानीमा बाहिर बस्न अपिल गर्दै बिहीबार निवेदन दिनेछन् ।

फ्रान्सबाट आफन्त, केही विदेशी पत्रकार र लेखकलाई पनि काठमाडौं बोलाएका छन् । आफन्तहरु होटल हायातमा बस्ने भन्दै आफू पनि त्यहीँ बस्ने प्रबन्ध मिलाइदिन उनले प्रस्ताव गरेको स्रोतले अनलाइनखबरलाई बतायो । ‘शोभराजको विषयमा किताब लेख्नेहरु पनि आउँदै हुनुहुन्छ, उहाँहरुसँग काठमाडौंमै भेट्ने इच्छा जनाउनु भएको छ’, उनी निकट स्रोतले भन्यो ।

चार्ल्स शोभराजसँग डा. रामेश कोइराला । फाइल फोटो ।

बाँसबारीस्थित शहीद गंगालाल अस्पतालमा गएर स्वास्थ्य परीक्षण गर्ने पनि उनको योजना छ । शोभराजको २९ जेठ २०७४ त्यहीँ मुटुको शल्यक्रिया गरिएको थियो । बाँसबारीमा डा. रामेश कोइराला नेतृत्वको टोलीले उनको मुटुको ‘माट्ररियल भल्व’ फेरेको थियो ।

डा. कोइरालाका अनुसार तीन महिना अघि मात्रै शोभराजको अनुरोधमा कारागारले उनलाई अस्पतालमा आउने व्यवस्था मिलाइदिएको थियो । ‘त्यसबेला उहाँको स्वास्थ्य अवस्था ठिकठाकै थियो’, उनले अनलाइनखबरसँग भने ।

अध्यागमन विभागका निर्देशक प्रदर्शनी कुमारीका अनुसार शोभराजले नेपालमा लामो समय भने नेपाल बस्न पाउने छैनन् ।

अदालतले नै १५ दिनभित्र स्वदेश फर्काउन आदेश दिएको छ । ‘कागजात बनाएर प्रक्रिया पुर्‍याउञ्जेल आफन्त वा कसैलाई जिम्मा जमानीमा चाहिँ छाड्न सक्छौं, नभए अध्यागमनले नै निगरानीमा राख्नसक्छ’, उनले अनलाइनखबरसँग भनिन् ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?