+
+
अनलाइनखबरमा साम्राज्ञी र पुष्प :

एक्टरको रुपमा ‘ग्रो’ हुन चाहन्छिन् साम्राज्ञी, पुष्पलाई ‘स्टार’को लोभ छैन

विष्णु शर्मा विष्णु शर्मा
२०७९ पुष ११ गते १३:००

काठमाडौं । साम्राज्ञी शाह र पुष्प खड्का पछिल्लो समय नेपाली फिल्ममा चम्किएका कलाकार हुन् । फिल्म ‘मारुनी’मा सहकार्य गरेर यो जोडीले ‘तिम्रो मेरो साथ’मा दोस्रोपटक टिमअप गरेको छ ।

थ्रिलर र प्रेमकथामा आधारित ‘तिम्रो मेरो साथ’ रमेश एमके पौडेलको डेब्यु निर्देशन पनि हो जुन यही पुस २९ गते देशव्यापी प्रदर्शन हुँदैछ । प्रायः फिल्ममा ‘एंग्री’ मुडमा देखिने साम्राज्ञी यसमा पनि उस्तै छिन् । पुष्प इमान्दार प्रेमीको रुपमा यसमा छन् ।

अनलाइनखबरको स्टुडियोमा यी दुई अनस्क्रिन कपलले अभिनय, बक्स अफिस, चरित्र चित्रण र स्टार हुनुको अर्थबारे गफ गरे । यो फिल्ममा पुष्प प्रेमीको भूमिकामा छन् । ट्रेलर हेर्दा उनी व्यवसायीको चरित्रमा छन् । साम्राज्ञीको रोल भने उनको भन्दा भिन्न छ ।

भूमिकाबारे साम्राज्ञी भन्छिन्, ‘माया गरेपछि आँखा नदेखी माया गर्ने । हरेक इमोसन र शतप्रतिशत दिने । रोकतोक र स्वार्थ केही छैन । एकदमै सफा मनले माया गर्ने पात्र । ऊ प्राक्टिकल र जिम्मेवार व्यक्ति पनि हो ।’

पुष्प चाहिं आफ्नो रोललाई साम्राज्ञीको चरित्रलाई झेल्ने चरित्र भएको बताउँछन् । फिल्मको पात्रमा जस्तो स्वभाव छ, उस्तै स्वभाव आफ्नो पर्सनालिटीमा समेत रहेको उनले सुनाए ।

‘प्रेम र महसुसको द्वन्द्व म यो क्षेत्रमा आउनुभन्दा अघिदेखि नै थियो । कतै यो कुराले मलाई काममा डाइभर्ट गर्ने हो कि भन्ने कुराले । रमाइलो, रोमान्स र लभले मलाई कतै उद्देश्यबाट विचलित तुल्याउने पो हो कि भन्ने कुराबाट अहिले पनि भागेको छु । त्यो चीजमा अझै पनि म अडिग छु ।’

फिल्ममा पुष्पको डायलग छ- ‘व्यापारी हुँ म, हरेक पटक दिमागबाट सोच्नुपर्छ भन्दे ।’ यो संवादले आफ्नो व्यक्तित्व नझल्काए पनि फिल्मभित्रको चरित्रलाई प्रतिविम्बित गर्ने उनी बताउँछन् ।

साम्राज्ञीको पनि मर्मस्पर्शी संवाद छ- मान्छे नदेखिने मनले चल्छ, कहिले के बिग्रन्छ, पत्तै हुँदैन ।’ साम्राज्ञी यो संवाद वास्तविक जीवनमा पनि आफूलाई निकै मनपर्ने बताउँछिन् । ‘यो कुरा मैले वास्तविक जीवनमा पनि महसुस गरेको छु,’ उनी भन्छिन् ।

साम्राज्ञीले पनि महसुस गरेको कुरा हो, उनको व्यक्तित्व देखेर निर्माता र निर्देशक पनि उनलाई रिबेलियस क्यारेक्टरको प्रस्ताव राख्छन् । तर उनको रुचि ‘गर्ल नेक्स्ट डोर’ टाइपको चरित्र होइन, उनलाई कमेडी, थ्रिलर, हरर वा दन्त्यकथामा आधारित पात्रमा अभिनय गर्न रुचि छ ।

‘रिबेलियस’ टाइपका पात्र धेरै गरें, हुँदा हुँदा यो पात्र ‘स्टेरियोटाइप’ नै लाग्न थाल्यो । ‘अब म ग्रो हुन चाहन्छु । मलाई प्रेरणा दिने र रमाइलो लाग्ने पात्र गर्न मन छ,’ उनी भन्छिन् ।

पुष्प पनि साम्राज्ञीको भनाइमा सहमत छन् । ‘नेपाली फिल्म क्षेत्रमा आर्टिस्टले जस्तो रोल गर्दै आइरहेका छन्, त्यस्तै अफर आउँदो रहेछ । उद्योगकै नियम हो कि क्या हो यो ? फरक अप्रोच हुनुपर्ने,’ उनी भन्छन् ।

पुष्प आफूलाई एग्रेसिभ, एक्सन र बायोपिक गर्न मनदेखि लागेको बताउँछन् । ‘किनभने बायोपिकमा पूर्ण जीवन हुन्छ,’ उनी भन्छन् ।

साम्राज्ञीलाई स्टार वा एक्सनमध्ये कुनले अर्थ राख्ला ? साम्राज्ञी भन्छिन् , ‘मलाई एक्टर र स्टार दुवैले अर्थ राख्छ । दर्शकको मायाले मलाई जसरी स्टार बनाइदिनुभएको छ, राम्रो ठाउँमा पुर्‍याउनुभएको छ । यो दुवै महत्वपूर्ण छ । म अभिनेत्रीको रुपमा ग्रो हुन चाहन्छु ।’ तर यो कुरामा पुष्पको मत चाहिं भिन्न छ । पुष्प एक्टरलाई पहिलो प्राथमिकतामा राख्छन् । ‘स्टार भनेको केही समय बलेको ताप मात्र हो । तर स्टार बन्ने उद्देश्य राख्नु राम्रो कुरा हो,’ उनी भन्छन् ।

साम्राज्ञी आफ्नो लागि फिल्मले पैसा कमाउनु जरुरी रहेको बताउँछिन् । ‘मेरा लागि बक्स अफिस महत्वपूर्ण छ किनभने निर्माताले पछि गएर राम्रो मुभी बनाउन सक्नुहुन्छ । तर यतिबेला नयाँ फिल्म बनाउनुपरे विदेश भासिनुपर्ने अवस्था छ । हामीले निर्मातालाई बचाउनुपर्छ,’ उनी भन्छिन् ।

पुष्पलाई पनि बक्स अफिसको लोभ छ । भन्छन्, ‘यो सिर्जना हो र व्यवसाय पनि हो । कतिपय फिल्म चलेको हुँदैन हामीले क्रेडिट पाइरहेका हुन्छौं । आर्टिस्टले त फाइदा लियो तर मेकर लिएन नि त । मेरा फिल्मले ठीकठीकै कमाएका हुन्छन् र प्रशंसा पनि पाएको हुन्छ । तर के-के चित्त नबुझेकोजस्तो हुन्छ । बक्स अफिस रेकर्ड ब्रेक गरोस् भन्ने लोभ पक्कै छ ।’

पुष्प र साम्राज्ञी एकअर्कालाई प्रशंसा गर्छन् । पुष्पलाई साम्राज्ञी ट्यालेन्टेड लाग्छ । ‘मेकरले धेरै चीज निकाल्न सक्छन् । म निर्देशक भए धेरै कुरा निकाल्थें । कतै बचपना छ तर स्ट्रेट फरवार्ड पनि छ साम्राज्ञीमा,’ पुष्प भन्छन् । साम्राज्ञीलाई पनि पुष्प इमान्दार र शालीन लाग्छ ।

तस्वीर/भिडियो : शंकर गिरी/अनलाइनखबर

भिडियो सम्पादन : नवराज महरा

लेखकको बारेमा
विष्णु शर्मा

शर्मा अनलाइनखबर डटकमका उपसम्पादक हुन् । उनी कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?