+
+

प्रचण्डलाई टोपबहादुरको घोचपेच : यो त हुनु नै थियो

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १२ गते १९:३०

१२ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री पदको शपथ लिदा दौरासुरुवालमा थिए ।

पदमा हुँदा होस् वा नहुँदा, औपचारिक कार्यक्रममा सधैं टाइसुट र भादगाउँले टोपी लगाउने उनी यसपटक दौरा सुरुवालमा देखिदा विभिन्न टिकाटिप्पणी भइरहेको छ ।

टिकाटिप्पणी यसकारण भइरहेको छ कि माओवादी नेताहरुले दौरा सुरुवाललाई ‘सामन्ती पहिरन’ भन्ने गरेका थिए ।

सोमवार शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद र गोपनीयताको शपथ लिइसकेपछि प्रचण्डलाई बधाई दिने लाइनमा हाल नेकपा (एमाले) का सचिव रहेका पूर्वमाओवादी टोपबहादुुर रायमाझी पनि थिए ।

उनले तेस्रो पटक मुलुकको प्रधानमन्त्री बनेका आफ्ना पूर्वपार्टी नेतालाई फूलसहित बधाई दिदै पहिलेजसरी दह्रोसंग हात मिलाए ।

बधाई दिएर हिँड्नै आँटेका उनलाई रोक्दै प्रचण्डले भने, ‘अहो, टोपबहादुरजी फेरि एकै ठाउँमै भइयो है ।’

रायमाझीले पनि भनिहाले, ‘ये तो होना ही था ।’ (यो त हुनु नै थियो)

त्यतिकैमा माओवादीका अरु नेताहरुले उनलाई जिस्काउँदै भने, ‘फूल मात्र ल्याउनु भएछ, खै त माला ?’

‘माला त कति लगाइयो–लगाइयो, त्यसैले फूल मात्रै’, रायमाझीले भने ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विवाद बढ्दै गएपछि रायमाझी केपी शर्मा ओलीसँग नजिकिएका थिए । ५ पुस २०७७ मा ओलीले संसद विघटन गरेपछि नेकपा दुई ध्रुबमा विभाजित भएको थियो ।

ओली पक्षको बैठक बालुवाटार र प्रचण्ड–माधव नेपाल पक्षको भेला बबरमहलस्थित कार्की पार्टी प्यालेसमा भएको थियो । ७ पुसमा भएको उक्त भेलामा अनुपस्थित भएर रायमाझीले प्रचण्डसंगको लामो सहकार्य टुटाएका थिए ।

उनीसंगै रामबहादुर थापा बादल, लेखराज भट्ट, मणि थापा, प्रभु साह, गौरीशंकर चौधरी लगायत नेताले प्रचण्डको साथ छाडेका थिए ।

सर्वोच्च अदालतले २३ फागुनमा ओलीले गरेको संसद विघटन र नेकपा एकता समेत बदर गर्दै नेकपा एमाले र माओवादीलाई पुरानै ठाउँमा फर्कादियो ।

त्यसपछि एमालेमै रहेका बादल, रायमाझी, भट्ट लगायतलाई पार्टीमा फर्किन माओवादीले आह्वान गर्‍यो । फर्किन अस्वीकार गरेपछि माओवादीले कारबाही गरेर उनीहरुको संसद पद खारेज गरिदियो । त्यसपछि उनीहरु संवाद–सम्बन्धमा थिएनन् ।

त्यसयता प्रचण्डसंग रायमाझीको पहिलो बोलचाल नै सोमवार राष्ट्रपति भवनमा भएको थियो । त्यसबेला उनीहरुसंगै रहेका एक माओवादी नेताले अनलाइनखबरसंग भने, ‘टोपबहादुरजीले घुमाउरो पारामा आखिर तपाई पनि हाम्रै ठाउँमा आइपुग्नुभयो भन्नुभयो ।’

संसद विघटन प्रकरणपछि अलग भएका ओली–प्रचण्ड करिब डेढ बर्षपछि एकै ठाउँमा आइपुगेका छन् । ओलीको साथ र सहयोगबाट प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बनेका छन् ।

तिक्ततापूर्ण अवधिमा प्रचण्डले ओलीलाई प्रतिगमनकारी, दक्षिणपन्थी भनेका थिए । ओलीले पनि प्रचण्डलाई षड्यन्त्रकारी भन्थे ।

सत्ता संघर्षको क्रममा नाटकीय रुपमा मिल्न पुगेका ओली र प्रचण्ड अहिले कुनै तुष नभएको भागभंगीमामा छन् । एउटै सरकार र गठबन्धनमा रहेकाले अब अरु माओवादी–पूर्व माओवादी नेताहरुले पनि वहुतै ‘कमरेडी’ देखाउनुपर्ने अवस्था आइलागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?