+

पोषणविद्लाई प्रश्न : खानपानमा कटौती गरे मोटोपन नियन्त्रण हुन्छ ?

२०७९ पुष  १४ गते १२:१९ २०७९ पुष १४ गते १२:१९
पोषणविद्लाई प्रश्न : खानपानमा कटौती गरे मोटोपन नियन्त्रण हुन्छ ?

काठमाडौं । तौल बढ्दा शरीर भद्दा देखिने त छँदैछ । यसले स्वास्थ्यमा निकै समस्या ल्याउँछ । मोटोपनका कारण उच्च रक्तचाप, मधुमेहजस्ता दीर्घरोगको जोखिम बढ्छ । त्यसैले अहिले शरीरको तौल नियन्त्रण गर्नु ठूलो चुनौती बनेको छ ।

आफ्नो तौललाई नियन्त्रणमा राख्न विभिन्न डाइट प्लान र फास्टिङ गर्नेहरु बढेका छन् । तर के खानपान कटौतीले मोटोपन नियन्त्रणमा राख्न सकिन्छ ? मोटोपन बढ्नुको मुख्य कारण के हो ? यिनै विषयमा पोषणविद् वर्षा भट्टराईसँग गरिएको कुराकानी :

मोटोपन बढ्नुमा खानपान नै मुख्य कारक हो ?

मोटोपन बढ्नुमा खानपान नै मुख्य कारक हो । खानपानसँगै जीवनशैलीको पनि भूमिका यसमा हुन्छ । शरीरलाई चाहिनेभन्दा बढी खाना खाने अनि शारीरिक रूपमा सक्रिय नहुने व्यक्तिमा मोटोपन बढ्ने हो । हाम्रो दैनिक क्रियाकलापको लागि खानपान चाहिन्छ । तर शरीरलाई चाहिनेभन्दा बढी खाना खाँदा त्यो खाना बोसो भएर जम्छ र मोटोपनको समस्या हुन्छ ।

कस्तो खानाले मोटोपन बढ्छ ?

बजारमा पाइने जंकफुड प्याकेट फुड मात्र होइन, घरमै बनेका खाना पनि आवश्यकता भन्दा बढी खाँदा तौल बढ्ने नै भयो । तर आजभोलि मानिसहरूमा अल्छीपन बढेको छ धेरै समय मेहनत खर्च गरेर खाना बनाउनुभन्दा फास्टफुड ल्यायो खायो । तारेको, भुटेको खानाको स्वाद मीठो हुने भयो त्यसैले पनि यस्ता खानाप्रति मानिसहरूको आकर्षण बढेको छ । जसले मोटोपनको समस्या बढिरहेको छ ।

यस्तो खानपान हुन्छ, जसले मोटोपन नियन्त्रण गर्न सकियोस् ?

सबै प्रकारका खानेकुरा मात्रा मिलाएर खाइयो भने मोटोपन नियन्त्रण हुन्छ । कार्बोहाइड्रेट, खनिज, प्रोटिन, भिटामिन, फ्याट, मिनरल्स र सूक्ष्म पोषकतत्त्व शरीरलाई जरुरी हुन्छ । यी सबै पोषकतत्त्व पाइने खाना मात्रा मिलाएर खाइयो भने तौल नियन्त्रण हुन्छ ।

नेपाली खाना एकदमै सन्तुलित र पोषकतत्त्वले भरिपूर्ण हुन्छ । मोटोपन नियन्त्रण गर्न चाहिरहेका व्यक्तिले भात चाहिं चटक्कै खान छोड्छन् । मैले त भात खाएको छैन म दुब्लाउँछु भन्छन् । तर मोटोपन घटाउने यो सही तरिका होइन ।

भात चटक्कै खान छोड्ने भन्दा पनि भात थोरै खाने र सलाद हरियो तरकारी धेरै खाने गर्नुपर्छ । भात, दाल, तरकारी, माछा मासु, सलाद सबै यसरी मात्रा मिलाएर दैनिक सेवन गर्दा मोटोपन नियन्त्रण हुन्छ ।

प्रायः मान्छेले मोटोपन घटाउने चक्करमा खानाको मात्रा नै कम गर्छ नि, यो तरिका कति उचित हो ?

खाना खाएर म धेरै मोटाएँ भनेर खाना नखाएर सुप मात्र खाएर बसेको पनि देखिन्छ । हाम्रो शरीरमा फ्याट, मांसपेशी, पानी, हड्डी सबैको तौल हुन्छ । त्यसैले सबैलाई सन्तुलित राख्नुपर्छ । खाना छोडेर सुप मात्र सधैं खाएर त सकिंदैन । कुनै न कुनै बेला त खाना खाइन्छ  । भात खान छोड्दैमा त्यो खानै मन नलाग्ने त होइन झन् त्यो खान पाए हुन्थ्यो जस्तो लाग्छ र एकै पटक धेरै भात खाइन्छ । यसरी त तौल नियन्त्रण हुँदैन । त्यसैले खाना चटक्कै छोड्ने भन्दा पनि कम गर्नु उचित हुन्छ ।

यहाँ मोटोपन मात्र होइन, दुब्लोपन पनि समस्या भएको छ । दुब्लोपन हुनुमा खानपानको भूमिका छ ?

दुब्लोपन हुनुमा खानपानको भूमिका हुन्छ । तर सबै दुब्लोपनको कारण खानपान मात्र नहुन सक्छ । कुनै स्वास्थ्य समस्याको कारण दुब्लोपन हुन सक्छ । कुनै पनि स्वास्थ्य समस्या छैन खाना नरुचेर दुब्लोपन भएको छ भने त्यो चाहिं खानपान मिलाएर मोटाउन सकिन्छ ।

खानपान नमिलेर वा नपुगेर दुब्लोपन भएकालाई क्यालोरी बढी भएको खाना दिनुपर्छ । क्यालोरी पर्याप्त भएका खाना मात्रा मिलाएर खाँदा दुब्लोपनबाट छुटकारा पाइन्छ ।

आयुर्वेदमा खानालाई औषधि भनिएको छ, कस्तो खाना, कसरी खाँदा त्यो औषधि समान हुन्छ ?

खाना वास्तवमा औषधि पनि हो । जसरी हामी डाक्टरले दिएको औषधि मात्रा मिलाएर समयमा खान्छौं । खानेकुरा पनि मात्रा मिलाएर खाने हो भने औषधि जस्तै हुन्छ ।

बजारमा पाइने स्वादिला खानेकुराले  विभिन्न स्वास्थ्य समस्या निम्ताएको छ । त्यसैले बजारको खानेकुरालाई कम गरेर घरमै बनेका ताजा खानेकुरालाई हामीले प्राथमिकतामा राख्यौं भने विभिन्न स्वास्थ्य समस्याबाट बच्न सकिन्छ । खाना नै हाम्रो औषधि हुन्छ । खानासँगै शारीरिक रूपमा पनि सक्रिय हुन जरुरी छ । स्वास्थ्य खानपान र स्वास्थ्य जीवनशैलीले हामीलाई धेरै रोगबाट बचाउँछ ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

पोषणविद् मोटोपन
लेखक
सुमित्रा लुईटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय