+
+

सातै प्रदेशमा कांग्रेस संसदीय दलको नेतामा देउवा पक्ष

लिलु डुम्रे लिलु डुम्रे
२०७९ पुष १८ गते १५:०७

१८ पुस, काठमाडौं । संसदीय दलको नेता चयन भएका छ प्रदेशमा कांग्रेसको संस्थापन पक्ष हाबी भएको छ । सुदूरपश्चिम बाहेकका प्रदेशमा संसदीय दलको नेता चुनिँदा दुई स्थानमा मात्रै संस्थापनइतरले उम्मेदवार बनाएको थियो ।

प्रदेश १ मा केदार कार्की र गण्डकीमा भोजराज अर्याल बाहेक अन्यत्र संस्थापनइतरले उम्मेदवार बनाएन । सुदूरपश्चिममा संस्थापनइतरका सांसदको संख्या न्यून रहेकाले उक्त प्रदेशमा उम्मेदवार बनाउने सम्भावना नरहेको प्रदेशका नेताहरु बताउँछन् ।

उद्धवको पक्षमा देउवा खुलेपछि

प्रदेश १ मा संसदीय दलका उम्मेदवार उद्धव थापालाई संस्थापन पक्षको साथ थियो । नेता कृष्णप्रसाद सिटौला पक्षधर थापालाई सभापति देउवाले पनि साथ दिएका थिए । थापा १८ मत ल्याएर दलको नेतामा चुनिइसकेका छन् ।

सभापति नै थापाका पक्षमा उभिएपछि देउवा निकट उम्मेदवार अमृत अर्यालले मात्रै २ मत पाए ।

नेता शेखर कोइराला पक्षले आफ्नो मत बचाउन सकेको छ । शेखर निकट केदार कार्कीले ९ मत ल्याए । कार्कीलाई जिताउनका लागि शेखर विराटनगर पुगे पनि उनको प्रयासले सार्थकता पाउन सकेन ।

मधेसमा संस्थापन पक्षकै प्रतिस्पर्धी

मधेस प्रदेशको संसदीय दलको नेतामा संस्थापन पक्षबीच मै प्रतिस्पर्धा भयो । संस्थापनइतरले उम्मेदवारी दिने आँट गरेन । सभापति देउवा र नेता बिमलेन्द्र निकट दुई जनाले प्रतिस्पर्धा गरे ।

देउवा पक्षबाट प्रदेश सभापति समेत रहेका कृष्णप्रसाद यादव उम्मेदवार बनेका थिए । निधि निकट रामसरोज यादव संसदीय दलको नेताका लागि भिडे । अघिल्लोपटक संसदीय दलको नेता रहेका रामसरोजलाई देउवा पक्षीय कृष्ण यादवले हराइदिए ।

निर्वाचित र पराजित दुई यादव बीचको मतान्तर फराकिलो बन्यो । निर्वाचित यादवले उनले २२ मध्ये १८ मत पाउँदा रामसरोजले मात्र ४ मत पाए ।

बागमतीमा सभापति नै बहादुरको पक्षमा देखिँदा

पार्टी सभापति शेरबहादुर देउवा सहित संस्थापन पक्षका केन्द्रीय नेताहरु बहादुर सिंह लामातिर खुलेपछि इन्द्र बानियाँ पराजित हुन पुगेका छन् ।

इन्द्र बानिया र बहादुर सिंह लामा ।

दोस्रोपटक संसदीय दलको नेता चुनिने प्रयासमा बानियाँका लागि संस्थापन पक्ष नै बाधक बन्यो । लामाले २१ मत पाएर निर्वाचित हुँदा बानियाँले १६ मत पाए । सभापति देउवाले फोन गरेर नै बहादुर सिंह लामालाई जिताउन निर्देशन दिएको प्रदेश सांसद मीना पोखरेलले बताइन् ।

संस्थापन पक्षका दुई प्रतिस्पर्धी हुँदा इतर पक्षले उम्मेदवार बनाएन । इतर पक्षको बैठकले बागमती प्रदेशमा संसदीय दलको नेता चयनको समन्वय गर्ने जिम्मा महामन्त्री गगनकुमार थापा र नेता अर्जुनरसिंह केसीलाई दिएको थियो । थापा र केसीले प्रदेशसभा सदस्यलाई आफ्नो अनुकुलता अनुुसार मत दिन सुझाएका थिए ।

संस्थापनइतरलाई गण्डकीले पनि साथ दिएन

शेखर–गगन पक्षलाई गण्डकीमा आफ्नो समूहबाट संसदीय दलको नेता चुनिने आशा थियो ।

१३ पुसमा बसेको उक्त पक्षको बैठकमा गण्डकीमा आफ्नो समूहले जीत निकाल्ने आकलन गरिएको थियो । उपसभापति धनराज गुरुङले स्याङ्जा–२ को प्रदेश सभा १ बाट निर्वाचित भोजराज अर्याललाई उम्मेदवार बनाउनुपर्ने अडान राखे । अर्यालले जित्ने गुरुङको दाबी अनुसार उनलाई प्रतिस्पर्धी बनाइएको थियो ।

सुरेन्द्र पाण्डे र भोजराज अर्याल ।

देउवा समूहमा १४ र देउवाइतर शेखर कोइराला–गगन थापा पक्षमा १३ जना सांसद रहेको हिसाबकिताब धेरैले गरिरहेका थिए ।

तर गत बुधबार भएको निर्वाचनमा अर्यालले आफ्नो पक्षको मत समेत बचाउन सकेनन् । देउवा पक्षीय सुरेन्द्र पाण्डे १८ मत ल्याएर निर्वाचित हुँदा अर्यालले ८ मतमा चित्त बुझाउन पर्‍यो । एक मत भने बदर भएको थियो ।

शेखर–गगन पक्षकै नवलपुरका महेन्द्रध्वज जिसीलाई पछि हटाएर अर्याललाई उम्मेदवार बनाइएको थियो । अर्यालको तुलनामा नवलपुरका जिसीले प्रदेश संसदीय दलमा चुनाव लड्न राम्रो तयारी गरेका थिए । तर, उनी प्रतिस्पर्धी हुन पाएनन् । धनराज स्वयं जिसीलाई रोकेर विश्वास पात्र अर्याललाई उम्मेदवार बनाउन चाहन्थे ।

कांग्रेस मुस्ताङका सभापतिसमेत रहेका पूर्व मन्त्री रोमी गौचनले अर्याल उम्मेदवार बने आफ्नो जिल्लाका दुई मत पर्ने विश्वास दिलाएका थिए । उक्त विषयलाई धनराजले आफ्नो समूहको बैठकमा पनि सुनाएका थिए ।

लुम्बिनीमा रज्जाक पछि हट्दा डिल्ली सर्वसम्मत

लुम्बिनी प्रदेशमा प्रतिस्पर्धा भएको भए संस्थापन पक्ष नै भिड्ने अवस्था थियो । संस्थापन पक्षबाट डिल्ली चौधरी, राजु खनाल, अब्दुल रज्जाक र जन्मजय तिमिल्सिनाले संसदीय दलको नेतामा दाबी गरेका थिए । संस्थापनइतरबाट वीरबहादुर राना र निमा गिरी आकांक्षी थिए ।

आइतबार साँझसम्म अन्य आकांक्षी प्रतिस्पर्धाबाट पछि हट्न तयार भए पनि रज्जाक चुनावको पक्षमा देखिए ।

सोमबार निर्वाचन हुने गरी कार्यतालिका समेत प्रकाशित गरिसकिएको थियो । बिहान बसेको बैठकमा भने रज्जाक पनि सर्वसम्मत चौधरीलाई नेता चयन गर्न तयार भए ।

डिल्ली चौधरी ।

कांग्रेसका कुल २७ सांसदमा बहुमत संख्या संस्थापन पक्षका छन् । रज्जाक उम्मेदवार बने उनलाई सघाउन इतर पक्ष तयार भएको थियो । तर, रज्जाक प्रतिस्पर्धी बनेनन् ।

सर्वसम्मत चयन भएका चौधरी दाङ क्षेत्र नम्बर ३ (१) बाट दोस्रोपटक प्रदेश सभामा निर्वाचित भएका हुन् । उनी हाल पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री छन् ।

राजीवपछि हटेपछि फेरि पनि जीवन

कर्णालीको मुख्यमन्त्री बन्ने आशा सहित प्रदेश सभाको उम्मेदवार बन्न राजीवविक्रम शाह तयार भएका थिए । संस्थापन पक्षीय उनले दोस्रो कार्यकालका लागि जीवनबहादुर शाहीलाई बाटो छाडे । शाह र शाही दुबै जना संस्थापन पक्षका केन्द्रीय सदस्य हुन् ।

जीवनबहादुर शाही ।

सभापति देउवा र उपसभापति पूर्णबहादुर खड्का शाहीको पक्षमा देखिएपछि राजीवले प्रतिस्पर्धा गर्ने आँट नगरेको प्रदेश तहका एक नेता बताउँछन् । ‘जीवनको पक्षमा देउवा र पूर्णबहादुर देखिए । राजीवले त प्रस्तावक र समर्थक पाउने अवस्था पनि थिएन’, प्रदेश तहका नेता भन्छन् ।

कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री समेत रहेका शाही पुनः सोही पदमा दोहोरिन चाहेका छन् । केन्द्रमा भएको सत्ता समीकरणले कर्णालीमा एमाले र माओवादी केन्द्रको सरकार बन्ने अवस्था छ ।

अघिल्लो पटक ६ सांसद रहेको कांग्रेसले यसपटक प्रदेश सभा सदस्य बढाएर १४ जना बनाएको छ ।

सुदूरपश्चिममा बहादुर सिंह कि प्रकाश देउवा ?

सुदूर पश्चिममा कांग्रेसका १९ सांसदमा इतर पक्षमा २ जना मात्रै खुलेका छन् । संस्थापन पक्ष नै हाबी रहेकाले देउवा पक्षकै चयन हुनेमा शंका छैन । देउवा पक्षबाट कञ्चनपुर २ (ख) बाट निर्वाचित बहादुरसिंह थापा र कैलाली ५ (ख) बाट निर्वाचित प्रकाश देउवा आकांक्षी छन् ।

देउवा प्रधानमन्त्री पत्नि आरजु राणा निकट हुन् । प्रधानमन्त्री देउवा भएको समय उनको सचिवालयमा समेत प्रकाशले काम गरेका थिए । नेता एनपी साउद आफ्नै प्रदेश सभाबाट निर्वाचित बहादुर सिंहलाई संसदीय दलको नेता बनाउने पक्षमा छन् ।

सुदूरपश्चिममा सभापति देउवाले रोजेकै व्यक्ति संसदीय दलमा चुनिने प्रदेश तहका नेताहरु बताउँछन् । संसदीय दलको नेताका लागि आकांक्षी रहेको प्रकाश देउवाले बताए । उनले भने, ‘सर्वसम्मत बनाउनका लागि छलफल गरिरहेका छौं । मेरो पनि दाबी छ ।’

कञ्चनपुर १ (ख) बाट निर्वाचित दिवानसिंह विष्ट संसदीय दलका आकांक्षी हुन् । संस्थापनइतरका उनी पक्षीय सांसदहरुको संख्या न्यून छ ।

सुदूरपश्चिममा कांग्रेस संसदीय दलको नेता चयनका लागि मिति तय भइसकेको छैन ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?