+
+

शासन सञ्चालन सिंहदरबार कि बालुवाटारबाट ?

बालुवाटारबाट शासन चलाउने परिपाटीका कारण गतिहीन भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय आगामी दिनमा कत्तिको प्रभावकारी हुन्छ, प्रधानमन्त्री प्रचण्डको प्राथमिकता र रवैयामा भर पर्ने देखिन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १८ गते १९:२१

१८ पुस, काठमाडौं । शेरबहादुर देउवाले प्रधानमन्त्रीको रुपमा १७ महिना १० दिन मुलुकको शासन सत्ता सञ्चालन गर्दा मन्त्रिपरिषदको बैठकबाहेक मुश्किलले प्रधानमन्त्री कार्यालयमा पाइला टेके ।

सचिवहरुको एकाध बैठकलाई उनले प्रधानमन्त्री कार्यालयबाटै सम्बोधन गरे । यसबाहेक सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा नियमित ब्रिफिङ, बैठक, छलफल हुन सकेन ।

१७ महिना भन्दा बढी मुलुकको शासकीय नेतृत्व गरेका देउवा कुनै पनि साता आइतबारदेखि शुक्रबारसम्म लगातार कार्यालयमा नगएको एक सहसचिव बताउँछन् । यो अवधिमा करिव एक सयभन्दा बढी मन्त्रिपरिषद बैठक बसे । मन्त्रिपरिषद बैठकबाहेक मुश्किलले ५० दिन कार्यालयमा उपस्थित भएको हुनसक्ने ती सहसचिव बताउँछन् । भन्छन्, ‘प्रधानमन्त्रीज्यूलाई हाजिर गर्नुपर्ने बाध्यता छैन, त्यसैले कार्यालय उपस्थित अनिवार्यजस्तो देखिएन ।’

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास नै सबै कामकारवाही र पार्टीका क्रियाकलाप सञ्चालन गर्ने थलो बन्यो । मन्त्री नहुँदा कतिपय मन्त्रालय प्रधानमन्त्रीको प्रत्यक्ष मातहतमा रह्यो, त्यो बेलामा सचिवहरु फाइल बोकेर आफैं बालुवाटार पुग्ने गर्थे ।

उनीहरुमध्ये केही सचिवहरुका अनुसार, बालुवाटारमा पार्टीका नेता कार्यकर्ताबीच भेटघाटमा व्यस्त हुने देउवालाई कुनै फाइल बोकेर पर्खनु निकै पीडादायी हुन्थ्यो ।

‘मुख्यसचिवज्यूले कहिल्यै व्यक्त त गर्नुभएन । तर फाइल बोकेर बालुवाटार कुद्नु मर्यादाको विषय होइन, नबोले पनि कताकता ग्लानी हुन्छ’ एक सचिव भन्छन्, ‘पछिल्लो डेढ वर्ष सचिवहरुले कार्यालयमै प्रधानमन्त्रीलाई भेटेर फाइल बुझाउन र त्यसमा निर्णय गराउने अवसर विरलै पाए ।’

देउवामात्र होइन उनीअघिका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बालुवाटारबाटै शासन सञ्चालनको अभ्यास गरे । विगतका प्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको शासन सञ्चालन शैली पनि यस्तै थियो ।

पछिल्लो समय बालुवाटारबाट मुलुक चलाउने अभ्यास गर्दा राज्यका कयौं संयन्त्र र निकायहरुले गति लिन नसकेको राष्ट्रिय सभाका सदस्य डा. खिमलाल देवकोटा बताउँछन् ।

‘संघीयता कार्यान्वयन गर्ने विभिन्न संयन्त्रहरु निष्क्रिय छन् । संघीय सरकारको प्रमुख र प्रदेश सरकारबीच नियमित औपचारिक संवाद छैन, स्थानीय तहको समस्याबारे संघीय सरकार बेखबर छ, यस्तो प्रवृत्तिले कसरी संघीयताको प्रभावकारी कार्यान्वयन हुन्छ ?’ देवकोटा प्रश्न गर्छन् ।

संघीयता बलियो बनाउन संविधानमा परिकल्पना गरिएका संयन्त्रहरुलाई देउवाले कहिल्यै सक्रिय बनाउन चाहेनन् । प्रधानमन्त्रीको नेतृत्वमा गठन हुने अन्तरप्रदेश परिषद उनको कार्यकालमा निष्क्रिय भयो । राष्ट्रिय समन्वय परिषद, राष्ट्रिय सुरक्षा परिषदजस्ता संयन्त्र निष्प्रभावी बने ।

संघीयतालाई चलायमान बनाउन परिकल्पना गरिएका निकायलाई गति दिन नसकेका प्रधानमन्त्री देउवाले आफ्नै कार्यालयलाई गति दिने कुरै भएन ।

देवकोटा भन्छन्, ‘आफ्नो सचिवालय, मन्त्रालयहरु र प्रशासन संयन्त्रको अधिकतम उपयोग गर्नुपर्नेमा सरकारले सुविधास्वरुप दिएको आवास क्षेत्र (बालुवाटार) बाट शासन सञ्चालन गर्नु कुनै पनि दृष्टिकोणले उचित होइन । यस्तो प्रवृतिले संघीयता मात्रै होइन, आफ्नै कार्यालयको समेत संस्थागत क्षमतामा ह्रास आउछ ।’

राष्ट्रिय गौरवका आयोजनाबारे देउवा बेखबरजस्तै रहे । मेलम्चीमा बाढी आउनसक्ने जोखिमले बन्द गरिएको अम्बाथानस्थित इन्टेकबाट फेरि पानी पठाउँदासमेत मन्त्री गएर उद्घाटन गरे, तालुक निकायले रोक्न सकेन ।

मातहतका मन्त्रालय, सातवटा प्रदेश र स्थानीय तहसँग समेत समन्वय गर्नुपर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मुख्यसचिव र अरु थप ६ जना सचिवको दरबन्दी छ । सचिवहरुले ११ वटा महाशाखा हेर्छन् ।

मातहतका निकायबाहेक प्रधानमन्त्री कार्यालयले संवैधानिक अंग र निकायहरु, विभिन्न प्रयोजनले स्थापित मातहतका निकायमाथि समेत निगरानी र समन्वय गर्छ ।

सिंहदरबार टेक्नसमेत रुची नराखेका देउवाले त्यहाँभित्र निर्माण भएका संरचना र प्रणाली सञ्चालनमा चासो राख्ने कुरै भएन । मुलुकका विभिन्न भागमा सञ्चालित आयोजनाहरुको सोझै र अद्यावधिक जानकारी लिने प्रयोजनका लागि ओली सरकारको पालामा निर्मित ‘वार रुम’मा पाइला समेत टेकेनन् ।

सिंहदरबारमा प्रधानमन्त्रीको अनुपस्थितिले समन्वय र अनुगमनसमेत फितलो भएको थियो । प्रधानमन्त्री बालुवाटारमा सीमित हुँदा प्रधानमन्त्री कार्यालय हेर्ने जिम्मेवारी पाएका राज्यमन्त्री उमेश श्रेष्ठले सक्रियता देखाउन खोजेका थिए । तर मन्त्रीहरुले आपत्ति जनाएपछि उनी पनि रोकिए ।

स्रोतका अनुसार उनले उर्जा क्षेत्रमा देखिएका समस्या सम्बोधनका लागि सरोकारवालाहरुको बैठक डाके । उर्जामन्त्री पम्फा भूसाल पनि बैठकमा जानुपर्ने भयो । उनी श्रेष्ठले डाकेको बैठकस्थल सिंहदरबार होइन, बालुवाटार पुगिन् । उनले प्रधानमन्त्रीसमक्ष ‘राज्यमन्त्रीले डाकेको ठाउँमा मन्त्री हाजिर हुनुपर्ने कस्तो परम्परा हो ?’ भन्दै आक्रोश पोखेपछि श्रेष्ठ रोकिएका थिए ।

‘समन्वय र सहकार्यमा हुने यस्ता व्यवधानमा प्रधानमन्त्रीले सहजीकरण गर्नुपर्ने हो’ प्रधानमन्त्री कार्यालयका एक उपसचिवले अनलाइनखबरसँग भने, ‘सधै बालुवाटारमा बस्ने र सिंहदरबार आउनै रुची नगर्ने प्रधानमन्त्रीबाट समन्वय र समस्या समाधानको सहजीकरणको सम्भावना नै थिएन ।’

प्रचण्डले के गर्लान् ?

देउवाको स्थान लिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने सिंहदरबारबाटै शासन सञ्चालन गर्नेमा आशावादी छ, कर्मचारीतन्त्र । प्रधानमन्त्री प्रचण्डले सोमबार नै सचिवहरुको बैठक डाके र उनीहरुको ब्रिफिङ सुने । यो बैठकले मंगलबारसमेत त्यसले निरन्तरता पाउने छ ।

प्रधानमन्त्री कार्यालयका एक सचिव यसअघि पनि प्रचण्ड नियमित रुपमा कार्यालय आउने गरेको स्मरण गर्दै फाइल बोकेर बालुवाटार धाउने परिपाटीबाट छुटकारा पाउनेमा आशावादी छन् ।

उनी भन्छन्, ‘कम्तीमा पनि उहाँ नियमित रुपमा प्रधानमन्त्री कार्यालय आउने गर्नुहुन्छ । उहाँको अघिल्लो स्वभावले निरन्तरता पाए कर्मचारीहरुले आत्मसम्मानको महशुस गर्ने थिए ।’

एक सहसचिवका अनुसार, प्रधानमन्त्रीले सामान्य सक्रियता देखाउँदा नै सचिवहरु आ–आफ्नो मन्त्रालयको कामकारवाहीवारे अद्यावधिक भएर कागजात सहित प्रस्तुत भएका छन् ।

‘प्रधानमन्त्रीले कुनै मन्त्रालयलाई संकेत गरेर त्यहाँको समस्या औल्याउने हो भने ४५÷५० जना सहकर्मीमाझ त्यो सचिवले निकै दवाव महसुस गर्छन्’ ती सहसचिवले भने, ‘त्यसैले पनि मन्त्रालयहरुको पनि मन्त्रालय भनिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रधानमन्त्रीको नियमित सक्रियता रहनुपर्छ भनिएको हो ।’

राष्ट्रिय सभाका सदस्य डा. देवकोटा पनि नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डलाई केही वर्षयता बालुवाटारबाटै शासन चलाउने विसंगति तोड्ने मौका मिलेको बताउँछन् ।

‘प्रधानमन्त्री सिंहदरवार नजानु भनेको मुख्यसचिव र सचिवहरुलाई गतिहीन बनाउनु हो’ उनी भन्छन्, ‘विहान कार्यालय खुल्नुअघि नै प्रधानमन्त्री कार्यकक्षमा पुग्ने हो भने मन्त्रीहरु पनि नियमित रुपमा मन्त्रालय जान्छन् । कर्मचारीसंयन्त्र स्वतः सतर्क बन्छ र कामकारवाहीले गति लिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?