+
+

झगडा छुट्याउन जाँदा परिवारकै बेहाल : दाजु मारिए, दुई भाई अशक्त

हरि अधिकारी हरि अधिकारी
२०७९ पुष १८ गते २०:११

१८ पुस, विराटनगर । २०७७ साल भदौ १२ गते दिउँसो बेलबारी नगरपालिका– ५ कसेनीस्थित लोहन्द्रा खोलामा दुई समूहबीच झडप भयो । खोलाको अस्थायी पुलमा गाउँका युवामाथि हातपात भएको देखेर स्थानीय ४० वर्षीय चन्द्रकुमार राई छुट्याउन गए ।

गाउँबाहिरबाट आएको २० जनाको समूह उनीमाथि खनियो । दाजुमाथि कुटपिट भएको देखेपछि भाइ समुन्द्रराज राई छुट्याउन गए । त्यसपछि दाइ सइकुमार र भतिज गौरब पनि पुगे । जेठा दाजु धनकुमारले प्रहरीलाई खबर गरे । उक्त समूहले बञ्चरो, खुकुरी लगायतका हतियारले आक्रमण गरिसकेको थियो । घाइते भएका चन्द्रकुमारको अस्पताल पु¥याएलगत्तै मृत्यु भयो । घटनामा चन्द्रकुमारका दाजु सइकुमार, भाइ समुन्द्रराज र भतिज गौरव घाइते भए । सइकुमार र समुन्द्रराज अझै अशक्त छन् ।

आक्रमणबाट गम्भीर घाइते समुन्द्रराज लामो अस्पतालको बसाइपछि अशक्त भएर घर फर्किए । घटनाको अढाइ वर्षसम्म उनको शल्यक्रिया पूरा भएको छैन । विराट मेडिकल कलेजमा टाउकोको शल्यक्रिया गर्दा उनको टाउकोको हड्डी निकालिएको थियो । उनी अहिले आफ्नो टाउकोको हड्डी प्लास्टिकको बट्टामा बोकेर हिँडिरहेका छन् ।

उनी काम गर्न सक्दैनन्, बढी गर्मी र जाडो सहन सक्दैनन् । भिडभाडमा एक्लै हिँड्न पनि सक्दैनन् । ‘डाक्टरले यो हड्डी भएको ठाउँमा स्टिल हाल्नु भनेका छन्, तर सकेको छैन’, उनले भने, ‘टाउकोको एउटा भागमा हड्डी छैन, छालामात्रै छ, केही काम गर्न पनि सक्दिन ।’ उनलाई दाजु धनकुमारले हेरचाह गरिरहेका छन् ।

धनकुमारका अर्का भाइ सइकुमार पनि पहिले जसरी काम गर्न सक्दैनन् । ‘हामी त सामान्य परिवारको मान्छे, निर्माण मजदुरी गरेर परिवार चलाउँछौं’, धनकुमारले भने, ‘चार जनाको उपचारमा मात्रै २५ लाख खर्च भयो, उपचार खर्च थिएन, सबै चन्दा उठाएर गर्यौं ।’

साइलो भाइ समुन्द्रको तत्कालै उपचार गर्नुपर्ने अवस्था भएपनि नसकेको उनले बताए । ‘फेरि टाउकोकोे अप्रेशन गरेर हड्डी निकालिएको ठाउँमा स्टिल हाल्नुपर्ने छ, डाक्टरले पाँच लाख लाग्छ भनेका छन्’, उनले भने, ‘जोहो गर्न सकेको छैन, टाउकोको हड्डी बोकेर बसिरहेका छौं ।’ औषधि उपचारका लागि भएको एक कट्ठा जग्गा पनि साहूलाई जिम्मा लगाउनुपर्ने अवस्था आएको धनकुमारले बताए ।

अदालतबाट भएन न्यायको अनुभूति

कसेनीस्थित लोहन्द्रा खोलामा भएको सामूहिक आक्रमण घटनासँग सम्बन्धित मुद्दा झण्डै अढाइ वर्षपछि जिल्ला अदालत मोरङले किनारा लगाएको छ । घटनामा संलग्न भएको अभियोगमा २० जनाविरुद्ध कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दा दर्ता भएको थियो ।

बिहीबार न्यायाधीश राजेशकुमार कटुवालको इजलासले मुख्य योजनाकार बेलबारीका विनयकुमार सरदार, विशालकुमार खवास, ग्रामथान गाउँपालिकाका वीरेन्द्रकुमार खाँ, दिपेन भनिने दीपेन्द्र चौधरी, राजेन्द्र राई (थुलुङ) र के के भनिने कृष्णकुमार चौधरीसमेत ६ जनालाई कसुरदार ठहर गरेको छ ।

बेलबारी–५ का विनयलाई कर्तव्य ज्यान मुद्दामा जन्मकैद (२५ वर्ष) र ज्यान मार्ने उद्योगतर्फ ३ वर्ष कैद सजायको फैसला गरेको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

अदालतले विनयबाट मृतकका परिवारलाई क्षतिपूर्तिवापत १ लाख रूपैयाँ भराउने फैसला पनि गरेको छ । घाइतेमध्येका समुन्द्रराज राईको उपचार खर्चवापत ३ लाख ७० हजार ४ सय ८ रूपैयाँ पनि तिराउन फैसला गरेको छ । अभियुक्तमध्ये ५ जनालाई मतियारका रूपमा कसुरदार ठहर गर्दै जनही २ वर्ष कैद सजायको फैसला भएको छ ।

अदालतले उक्त घटनामा आरोपितमध्ये ९ जनालाई सफाइ दिएको छ । फरार रहेका प्रभात चौधरी, मायालु भनिने दिनेश चौधरी माझी, अशोक खवास, शम्भु भनिने दिनेश मास्के र दीपु खवाससमेत ५ जनाको मुद्दा भने मुल्तवीमा राखेको छ । फैसलाको पूर्णपाठ आउन बाँकी छ ।

मृतक चन्द्रकुमारका दाजु धनकुमारले अदालतको फैसलाले आफूहरुलाई न्याय नमिलेको बताए । ‘घटनामा संलग्न १ जनालाई मात्रै कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरियो । अरुलाई उन्मुक्ति दिइयो’, उनले भने, ‘अदालतबाट हामी पीडितले न्याय पाएनौं ।’

उनले न्याय र भाइको उपचारका लागि पहल गरिदिन आग्रह गरे । ‘मेरो भाइ चन्द्रकुमार राईलाई मार्ने र समुन्द्र राई, सइकुमार राई र भतिज गौरवलाई गम्भीर घाइते बनाउने गरी कुटपिट गर्ने अपराधीहरुलाई कानुन बमोजिम कारवाही नगरी चोख्याउने कार्य भएको र सम्मानित अदालतबाट हामीले न्याय प्राप्त गर्न नसकेको हुँदा हामीलाई थप अन्याय र पीडा भएको छ,’ उनले भने ।

धनकुमारले अदालतको फैसलाबाट थप पीडित बन्नुपर्ने अवस्था आएको गुनासो गरे ।

कसरी भएको थियो घटना ?

सुनसरी–मोरङ सिँचाइ आयोजनाको साइफनसहितको पक्की पुल लोहन्द्रा खोलाले बगाइदिएपछि मानिस र दुई चक्के सवारी साधन आवतजावत गर्न स्थानीयले बाँसको पुल बनाएका थिए । पुल प्रयोग गरेको मोटरसाइकललाई २५ रुपैयाँ शुल्क तोकेका थिए ।

पुलबाट उठाएको पैसाका कारण विवाद भएको थियो । प्रहरी अनुसन्धान प्रतिवेदन अनुसार पुलबाट उठाएको पैसा आफूहरुलाई पनि दिनुपर्ने भन्दै बेलबारी–५ का दिनेश भनिने घलेन्द्र श्रेष्ठलगायतका युवाले २०७७ भदौ ११ गते राति विवाद गरेका थिए । मोटरसाइकलमा आइपुगेका ग्रामथान–२ का केके भनिने कृष्णकुमार चौधरी पनि विवादमा मिसिए । उनले नै विनयकुमार सरदारलाई बोलाएका थिए ।

युवाहरुको टोलीसहित विनय आइपुगेपछि विवाद बढ्योे । त्यसपछि स्थानीयले विवाद साम्य पारेर पठाए । तर, विनयले भोलिपल्ट युवाहरुको टोली लिएर खोला किनार पुगेपछि दुई समूहबीच झडप भएको थियो । झगडा छुट्याउन भन्दै चन्द्रकुमार पुगेका थिए । त्यसपछि अरु स्थानीय पनि आएका थिए । सामान्य विवाद सामूहिक आक्रमणमा परिणत हुँदा एकै परिवारका १ जनाको मृत्यु र ३ जना गम्भीर घाइते भएका थिए ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?